गएको वर्ष जुन महिनामा स्वतन्त्र पार्टीका बारेमा ब्लग लेखेको रहेछु । रवि लामिछानेले राजनीतिक पार्टी खोल्लान् र त्यसका बारेमा गन्थन्-मन्थन् गर्नुपर्ला भनेर २-३ वर्षअघिसम्म सोच्न पनि सकिन्थेन, जुन आज यथार्थ भएको छ । आफैँलाई पनि विश्वास लाग्दैन कि म यही विषयमा दोस्रो पटक ब्लग लेख्दैछु ।
मलाई
थाह छ यो मेरो बेबकुफी हो -सानो सन्तोषको कुरा के भने बेबकुफी स्वयंमा अपराध होइन
।
रमिताको कहिलै कमी नहुने देशमा पाँच-सात वर्ष पहिले निकै ठूलो रमिता भयो । एकजना अमेरिकावासी नेपाली पूर्व-पत्रकारले अनवरत २४ घण्टा अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाउने भए । उनका लागि विशेष स्टुडियो बन्यो । स्टुडियोको भित्तामा ब्यानर थियो –“बुद्ध वज बर्न इन नेपाल !” यो म्याराथन इन्टर्भ्यूको महारमितामा नेपालका गन्यमान्य छोटेमोटेदेखि बडेसम्मका गन्यमान्यको लाइन लाग्यो । अनवरत अन्तर्वार्ता सम्पन्न भयो । गिनिजमा सम्भववत नाम लेखियो र बुद्ध नेपालमा जन्मेको कुरा भारतले चाल पनि पायो ।
त्यसको
केही समयपछि तिनै पूर्व-पत्रकार रवि लामिछाने फेरी नेपाल फर्के । यसपटकको फर्काई
नेपाल मै बसेर पत्रकारिता गर्ने उद्देश्यमा केन्द्रीत थियो । मैले बुझेअनुसार
पत्रकारिता केवल पत्रकारिता थिएन । भ्रष्टाचारी, दुराचारी, व्यभिचारी आदिको
पर्दाफास गर्ने थियो । पत्रकार आफैँ जनताका मुद्दा छान्थे, आफैँ दोषी पत्ता लगाउँथे,
अन्याय भएका र दोषि लुकेका ठाउँमा आफैँ पुग्थे र अभियुक्तलाई आफैँ कारवाही पनि
गर्थे ।
त्यसपछि
वागमती नदिमा धेरै पानी बग्यो । जननायक पत्रकारले पार्टी खोले, जनताले विश्वास गरे
। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी एउटा बलियो जनमतसहित संसद्मा छ । आउने
चुनावमा त बहुमत नै ल्याएर सरकार बनाउने दाउमा छ ।
नेपालमा
पुराना र ठुला भनेर चिनिएका पार्टीले देखाएका रमिताको कुरा गरेर साध्य छैन ।
तिनीहरूले लाजसरमका सबै मानकको धज्जी उडाएका छन् । त्यसबाट आजित आम मानिस आफूले
ढाडमा बोकेको पुराना पार्टीको कुहिएको भारी कसरी बिसाउन सकिएला भनेर चिन्तित छन् ।
मानिसका मनमा एउटा चल्तापुर्जा, इमानदार, टिलिक्क टल्केको नयाँ पार्टी भए त खास्सा
हुन्थ्यो भन्ने छ । ठुला-पुराना पार्टीको यही दिगमिग मेटाउन टक्क आइपुगेको छ
स्वतन्त्र पार्टी ।
अर्थात्
-ठुँस्स गनाउने आधा कुहिएको चामलको भात र उस्तै ननिको गुन्द्रुकको तिहुनको बिकल्पमा
अब हामीसँग छ चिकेनको स्वादमा, लसुनको तेलको स्यासे सहितको तैयारी चाउचाउ -त्यो
पनि बाइ वन गेट वन फ्रि जस्तो लोभलाग्दो अफरमा ! राष्ट्रिय स्वतन्त्र पार्टी ।
उसबेला
रबिन्द्र मिश्रका बारेमा धेरै ब्लग लेखेँ । साझा र विवेकशिल पार्टी गठन गर्दा,
फुटाउँदा, फेरि जोड्दा उनको फुर्तीफार्ती लर्तरो थिएन । त्यसबेला यस्तो लाग्थ्यो
कि नेपालको भविष्य भनेको रबिन्द्र मिश्र नै हुन् । तिनै मिश्र अहिले युपी बिहारतिरको
डिस्टिलरीले बनाएको तेस्रो दर्जाको ह्विस्कीमा मिसाएको बरफको डल्लो जस्तो पग्लेर न
रक्सी न पानी जस्तो भए । उनको राजनीतिका बारेमा माथापच्ची मेरो समयको दुरुपयोग थियो
। तर, समस्या उनको होइन, मेरै हो ।
राष्ट्रिय
स्वतन्त्र पार्टीको हविगत रबिन्द्र मिश्रको जस्तो नहुन सक्छ । चौरासी सालको
चुनावमा स्वतन्त्र पार्टीको बहुमत नै आउन सक्छ । विद्वान स्वर्णीम वाग्लेले विपी
कोइरालासँग तुलना गरेका रवि लामिछाने वास्तवमै प्रधानमन्त्री बन्नसक्छन् ।
राजनीतिमा,
र त्यसमाथि दक्षीण एसियाको राजनीतिमा अचम्म मान्नुपर्ने कुनै कुरा छैन । केपी ओली
वा पुष्पकमल दाहाल नेपालका प्रधानमन्त्री होलान् भनेर २० वर्षअघि कसले कल्पना गर्न
सक्थ्यो ? गोकुल बास्कोटा सञ्चारमन्त्री र सरकारका प्रवक्ता भएर दिनै पिच्छे सारा देशलाई
अर्ति उपदेश दिएको र ज्ञानेन्द्रका मन्त्री टङ्क ढकालले राजनीतिक पार्टीको उछितो
काढेको पनि देखेकै हो । अनिल केशरी शाहलाई संघीय सरकारको मन्त्रीका रूपमा पाउने
भाग्य नेपालीले जन्मदेखि लिएर आएको रहेछ भने कसको के लाग्छ ?! आखिर उनी पनि कम प्रतिभाशाली
होइनन् ।
घघडान
बैंकर । सफल, प्रसिद्ध । यति प्रसिद्ध कि उनको व्यक्तित्व ‘कल्ट’ बनेको छ । यो
कल्टको प्रभाव र प्रवाहलाई मध्यनजर राख्दै उनले केही वर्षपहिले आफ्ना सहकर्मीसँग
एउटा फोटो खिचाएका छन् । त्यो सामुहिक फोटोमा बैंकका सबै कर्मचारी उनै सिइओको
फोटोको मुखुन्डो लगाएर उभिएका छन् । सिइओमात्र बिचमा विशेष हाउभाउसहित खडा
छन् र उनी मात्र मुखुण्डोबिहिन छन् ।
राष्ट्रिय
स्वतन्त्र पार्टीका राजनीतिक प्रशिक्षक हुन् उनी । अर्थात्, राष्ट्रिय स्वतन्त्र
पार्टीका त्यस्ता सदस्य जसले आम जनताका आवश्यकतालाई कसरी सम्बोधन गर्ने भनेर
राजनीतिक विचार बनाउने र त्यसमा पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने जिम्मेवारी
बोकेका छन् ।
उनी
गृह वा परराष्ट्रमन्त्री बन्नु अस्वाभाविक होइन । आखिर अहिलेका मन्त्रीको
पनि हविगत सबैलाई थाहा छ । अहिलेका परराष्ट्र मन्त्रीलाई नै हेरौँ न ! सरकारको काममा आधा र श्रीमतीले सम्हालेको विश्व हिन्दु
परिषद्को काममा आधा व्यस्त छन् । उनको कुर्सी बैंकरको हातमा पर्दा आश्चार्य
मान्नुपर्ने कुनै कुरा छैन ।
एकपटक,
कुनैबेला बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री बन्न सफल भए । सादगी, सदाचारी, भ्रष्टाचारविरोधी,
विद्वान प्रधानमन्त्रीले तुरुन्त घोषणा गरे –‘म विदेशी गाडी चढ्दिन ।’ मुस्ताङ्
गाडीमा गोरखा गएका भट्टराईको लोकप्रियताले आकाश छोयो । नेपालका दुःखका दिन सकिएको
भान धेरैलाई भयो । ‘बाबुरामलाई काम गर्न देऊ’ भन्ने टिशर्ट छापिए । ती टिशर्ट
लगाएर युवाहरू सडकमा निस्के । एउटा गजबको रमिता त्यसबेला पनि भयो ।
बाबुराम
भट्टराई सफल हुन सम्भव थिएन किनकि उनी हिरोपन्थीले देश बनाउने गलत मान्यताबाट गाइडेड
थिए । उनको नयाँ शक्ति पनि यस्तै मान्यताको उपज थियो । देशका समस्या र चुनौती बहुआयामिक
र संरचनागत हुन्छन् । यसका लागि मूल्यमान्यताबाट निर्देशित र दीर्घकालीन दृष्टिकोण
बोक्ने व्यक्ति चाहिन्छ जसले हिरोपन्थीमा होइन सहाकार्यमा विश्वास गर्छ ।
मलाई
लाग्नेचाहिँ के हो भने -जुन कुरा यसअघिको ब्लगमा पनि भनेको छु -रवि लामिछानेको स्वतन्त्र
पार्टी स्वतन्त्र शब्दकै गलत र भ्रामक बुझाइको जगमा खडा भएको छ । एउटा राजनीतिक
पार्टी ‘अरू राजनीतिक पार्टी गलत छन्’ भन्ने आधारमा मात्र अस्तित्वमा रहन सक्दैन ।
देशको इतिहास, वर्तमान र भविष्यका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै
स्पष्ट दृष्टिकोण छैन । पार्टीका मानिसका जति धारणा आएका छन् ती सबै हचुवा,
टालटुले र कामचलाउ छन् ।
नेपालको
बौद्धिक वा बुद्धिजीवीको समूह अपवादलाई छोडेर असाध्यै पिपलपाते अवसरवादी र हचुवा छ
। कृष्णप्रसादले भनेजस्तै -यसको प्रवृत्ति गङ्गा आए गङ्गादास, जमुना आए जमुनादास जस्तो
हो । रवि लामिछानेको व्यक्तिगत प्रवृत्ति र उनी जोडिएका घटनामा प्रश्न गर्ने त
कुरै छौडौँ राष्ट्रिय स्वतन्त्र पार्टीको सतहीपनका बारेमा प्रश्न गर्ने हिम्मत र
हैसियत समेत राख्दैन । बरु नेपालको भविष्य यस्तै चटकेहरू हुन् भनेर एलिट भेटघाटमा
अमूल्य मन्तव्य राख्दै हिँड्छन् ।
मैले ब्लगमा प्रस्ट पार्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टी कति कमजोर छ भनेर होइन । सबै पार्टी कमजोर छन् । सबैमा खराब मानिस (र असल मानिस) छन् । मुख्य कुरा देशका समस्या र तिनको समाधानलाई कसरी बुझ्ने भन्ने हो । यस मामिलामा ठुला वा पुराना पार्टी बइमान छन्, स्वतन्त्र पार्टी अनभिज्ञ छ ।
No comments:
Post a Comment