लामो समयदेखि बहसमा आएको विषय हो पार्टीको सुधार र पुनर्संरचना । तर, के यो भनेजस्तै सजिलो छ ? वा, के सम्भव छ ?
"हामी अब सुध्रिन्छौँ, पार्टीलाई पहिलेको जस्तो हुन दिन्नौँ" भन्ने केही राजनीतिकर्मीको मुखबाट सुन्दा राम्रो लागे पनि यो सजिलो काम होइन । पार्टी संरचना, विधिविधान र आर्थिक गतिविधिलाई समेट्दै समग्र रूपमा पुनर्संरचना नगरी पार्टीका सतहमा देखिएका कमीकमजोरीमा सुधार सम्भव छैन । यस्तो पुनर्संरचना केही व्यक्तिले चाहेर वा अरूले कामना गरेर मात्र पनि सम्भव छैन ।
राजनीतिक पार्टीमा सुधार गर्ने कुरा चल्दा तिनमा भएका मूल समस्या के हुन् भनेर बुझ्न पनि आवश्यक छ । राजनीतिक पार्टीप्रतिको आम असन्तुष्टिको कारण तिनिहरूका अकर्मण्यता, एकदुई गलत काम वा उच्च नेतृत्त्वमा निश्चित मानिसको हालीमुहालीमात्र होइन । नेपालका राजनीतिक पार्टी स्थानीय तहदेखि केन्द्रसम्म सार्वजनिक सम्पत्तिको लुट र गैरकानुनी गतिविधिको संरक्षणमा लिप्त भएका छन् । आर्थिक र सामाजिक अपराधमा राजनीतिक पार्टीको भूमिका सोचेभन्दा भयावह छ । त्यसैले, पार्टी र तिनका नेता-कार्यकर्ताको मानसिकता परिवर्तन गरेर एकाएक असल, साधु बनाउने काम त्यति सजिलै सम्भव छैन ।
राजनीतिक पार्टीको संरचना बृहत् समाजको अवस्थितिसँग जोडिएको हुन्छ । समाजको आर्थिक, सांस्कृतिक वा शक्तिवितरणको तौरतरिकाले राजनीतिक पार्टी कसरी चल्छन् भनेर निर्धारण गर्ने हो । सामाजिक मूल्यमान्यतामा पारदर्शिता, जवाफदेहिता, समावेशिता छैन भने राजनीतिक पार्टीमा पनि यी विशेषता स्वतः हावी हुन्छन् । राजनीतिक पार्टीमा गरिने सुधार समग्र समाजको रूपान्तरणसँग जोडिएको हुन्छ र हुनुपर्छ । सामाजिक संरचनामा रहेका जटिलतालाई सम्बोधन गर्दै पार्टीको संरचना र प्रणाली चुस्त, दुरुस्त बनाउन निकै ठूलो र दीर्घकालीन पहल चाहिन्छ ।
अब यो विषयलाई अर्थराजनीतिको कोणबाट हेरौँ ।
समाज (वा राज्य) हरेक पक्षले देखेको स्वार्थ वा सुरक्षाबाट गतिशिल भएको हुन्छ । नेपाली भाषाको शब्द स्वार्थलाई यस सन्दर्भमा अङ्ग्रेजीको शब्द इन्सेन्टिभ (Incentive) भनौँ । समाज वा राज्यको कुनै अवस्थामा रूपान्तरणको विषय उठ्दा हामीले त्यसका लागि संलग्न विभिन्न पक्षहरूको इन्सेन्टिभ के छ भनेर केलाउनुपर्ने हुन्छ । यसका लागि एउटा प्रश्नले थप सजिलो बनाइदिन सक्छ -राजनीतिक पार्टीमा आवश्यक सुधार ल्याउने चासो र चिन्ता कसमा छ ?
पार्टीलाई सुधार गर्दा आफूलाई फाइदा होला भनेर सोच्ने मानिस राजनीतिक पार्टीमा कति छन् ?
अहिले नेपालका प्रमुख राजनीतिक पार्टीहरूमा आजीवन राजनीतिबाट लाभ उठाउने र राजनीति छोड्नासाथ असान्दर्भिक हुने सीमित मानिसको हालिमुहाली छ । राजनीतिक पार्टीमा सुधार गर्नु भनेको उनीहरूको बर्चस्वको अन्त हो । शेरबहादुर, केपी ओली वा प्रचण्ड र तिनका वरिपरी घुमीरहने स्वार्थ समूहले आफ्नै अहित हुनेगरि पार्टीलाई पुनर्संरचना वा सुधार गर्ने मुद्दामा रुचि राख्लान् भन्ने अपेक्षा गर्न नसकिएला ।
राजनीतिक पार्टीको पुनर्संरचना गर्न अनिच्छुक हुने उच्च तहका नेता मात्र होइन । केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको जस्तो साङ्गठनिक संरचना छ त्यसमा पुनर्संरचना र सुधारको मुद्दा सान्दर्भिक छैन । जसले विभिन्न तहमा पार्टी सङ्गठन चलाइरहेका छन् उनीहरूलाई किन चाहियो सुधार ?!
राजनीतिक पार्टीलाई सुधार गर्ने कुरा किन र कसरी चलिरहन्छ त ?
मलाई लाग्छ यो मूलतः नागरिकको तहमा भएको अपेक्षाको अभिव्यक्ति हो । समाजको बुद्धिजीवी वा चेतनशील भनिएको वर्ग चाहन्छ पार्टीहरू सुध्रिउन् र विगतका गल्तीकमजोरी नदोहोर्याउन् । सुधारको कुरा गर्ने दोस्रो पक्ष ती राजनीतिकर्मी हुन् जो विद्यमान संरचना र प्रणालीबाट सन्तुष्ट छैनन् । तर, बुझ्नुपर्ने कुरा के छ भने पार्टीमा पुनर्संरचना गर्नका लागि उनीहरूको अहिलेको भूमिका पर्याप्त छैन ।
पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ -चाहे त्यो सडकमा होस् वा पार्टीभित्र । यस्तो आन्दोलनका लागि विभिन्न राजनीतिक पार्टीमा रहेका सुधारको कुरा गर्ने राजनीतिकर्मीहरू तयार छन् त ? मेरो विचारमा उनीहरू अझ पनि यो चुनौतिका लागि अझ तयार छैनन् । तयार भए पनि उनीहरूसँग संरचना र सुधारका लागि पार्टीमा सशक्त विद्रोह गर्ने सामर्थ्य छैन ।
तर, म गलत पनि हुन सक्छु । भविष्यले देखाउला ।
(अनुमतिबिना प्रकाशन नगर्न अनुरोध छ ।)
No comments:
Post a Comment