विभिन्न प्रकारका रिआलिटी शो वर्तमान Hyperreal विश्वका दुखान्त तस्वीर हुन् । यस्ता
शोहरूले या त कृतिम नायक, सेलिब्रिटी उत्पादन गर्छन् कि
त क्षमताको पहिचान वा कदर गर्ने गलत तरिकालाई सहीजस्तो बनाएर दर्शक वा आम मानिसलाई
दिग्भ्रमित बनाउँछन् ।
नारायण गोपाल, मेहदी हसन वा जोन लेनन
टिभी शोमा प्रतिश्पर्धा गरेर स्थापित भएका थिएनन् -भलै कतिपय आजका गायक रिआलिटी
शोबाटै स्थापित भएका किन नहुन् । मानिस वास्तविक रूफमा सफल हुने वा प्रतिभाको कदर
हुने रिआलिटी शोमा सफल भएर मात्र पनि होइन ।
सम्भवतः रिआलिटी शोलाई मानिसहरूले केवल मनोरञ्जनमात्र भनेर बुझे त समस्या
हुन्थेन होला । तर, यस्ता शो र तिनमा हुने
प्रतिश्पर्धालाई आम मानिसले आफ्नो वास्तविक जीवनसँग जोडेर हेर्छन् । कतिले यस्ता
शोमा सफल हुन दुखद र निरर्थक प्रयत्न गर्छन् त यसमा पहुँच नहुने धेरैले आफूलाई
असफल मूल्यांकन गर्छन् ।
रिआलीटी शोले देखाउन खोजेजस्तो जीवन कठोर र
अन्त्यहीन प्रतिश्पर्धा होइन । हामी बाँच्ने धेरैभन्दा धेरैको प्रशंसा पाउनमात्र
होइन । सामान्य स्तरको ज्ञान, सामान्य
क्षमता, सामान्य सीप, सीमित
सुभेच्छुक भएर बाँच्नु पनि नराम्रो होइन । यसमा गर्व गर्न सक्नु ठूलो कुरा हो ।
यो सबै कुरा मैले लेखिरहेको ‘द लिडर’ भन्ने नयाँ रिआलिटी शो आउन लागेको
समाचारका सन्दर्भमा हो ।
गीतसंगीत, पकवान, अन्य विभिन्न प्रकारका सीप वा सेलिब्रिटी स्टेटसमा आधारित रिआलिटी शोहरू
आजभोलि बग्रेल्ती छन् । तिनमा मानिसको रुचि छ । टेलिभिजनको व्यापार तिनमा टिकेको छ
। यो अब आश्चार्यको कुरा होइन ।
तर, राजनीतिक नेतृत्त्व चयन
गर्न बनाउन लागिएको रिआलिटी शो भने यी सबैभन्दा पृथक प्रकृतिको पागलपन हो । यो
पागलपनको कुनै विधि वा पद्धति छैन । (There is no method in this
madness.)
वक्तृत्त्वकला, रूप, विशिष्ट विषयगत ज्ञान आदि कुरा वर्तमान युगमा नेतृत्त्वका लागि सहयोगी
होलान् । यद्दपि राजनीतिक नेतृत्त्व यी सबैभन्दा उच्च र बृहत् कुरा हो । असल
नेतृत्त्वका लागि यी कुनै कुरा नभए पनि फरक पर्दैन । यी सबै गुण हुनेहरू अक्सर
नेतृत्त्वमा असफल हुने गर्छन् ।
राजनीतिक नेतृत्त्व विकास गर्नका लागि एउटा व्यक्तिले समाजसँग गहीरो र
अर्थपूर्ण अन्तर्क्रिया गर्नुपर्छ । आम मानिसको व्यक्तिगत जीवनसँग आफूलाई एकाकार
गरेको हुनुपर्छ । रूपान्तरणका लागि आवश्यक गहन र यथार्थपरक दृष्टिकोण बोकेको
हुनुपर्छ ।
राजनीतिक नेतृत्त्व छान्ने रिआलिटी शोले केलाई प्रतिश्पर्धाको आधार बनाउला त ?! रूपरङ्ग, वक्तृत्त्वकला ? हावादारी योजना ?! प्रश्नहरू अनेक छन् ।
तिनै प्रश्नमध्येका थप प्रश्न के भने ‘जज’का रूपमा चर्चामा आएका बाबुराम
भट्टराई र रवीन्द्र मिश्र, जो स्वयं नेतृत्त्वमा
शानदाररूपमा असफल छन्, उनीहरूले अरूको नेतृत्त्व क्षमता
कसरी मूल्याङ्कन गर्लान् ?!
यो रिआलिटी शोमा भाग लिन प्रतिश्पर्धीका रूपमा
आउनेहरू के उद्देश्य बोकेर आउलान् ? सिमेन्ट कम्पनीले घोषणा गरेको उपहार पाउने ?
सेलेब्रिटी बन्ने ? राजनीति गर्ने ?!
'द लिडर' नाम दिइएको
रिआलिटी शोले राजनीतिक नेतृत्त्वका बारेमा आम मानिस र विशेषगरी टेलिभिजनका
दर्शकलाई कसरी प्रशिक्षित गर्ला ? नेता बन्ने, छानिने, नेतृत्त्वमा सफल हुने टेलिभिजन शोमा
भाग लिएर, आफ्नो वक्तृत्त्वकला प्रदर्शीत गरेर ? बाबुराम वा अन्य कुनै प्रशस्त समय र उल्लेख्य काम नभएका तर व्यावसायिक
रूपमा आफूलाई नेता मान्ने मानिसको सल्लाह, सुझाव मानेर ?!
अब बिट मार्नतिर लागौँ -रिआलिटी शोले केही प्रतिभाहरूलाई अवसर दिएको छ ।
यद्दपी समग्रतामा रिआलिटी शोले प्रतिभा र सफलताबारे आम मानिसका बुझाइलाई विकृत
बनाएका छन् । मेरो विचारमा राजनीतिक नेता छान्ने रिआलिटी शो यी सबैभन्दा पत्रु
प्रकारको विकृति हो ।
अन्त्यमा एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु -युक्रेनका वर्तमान
राष्ट्रपती Volodymyr Zelensky टेलिभिजनमा
रिआलिटी शो र कमेडीका कार्यक्रम चलाउँथे । उनले धेरैपटक आफ्ना टेलीभिजन शोहरूमा
राष्ट्रपतीको अभिनय गरे र प्रशंसा बटुले । गत २०१९ मे महिनाको आम चुनावमा भने
साँच्चै राष्ट्रपतीको उमेदवार पनि भए । आम मानिसले के सोचे भने -असल राष्ट्रपतीको
यस्तो राम्रो अभिनय गर्ने मानिसले कसो देश राम्रो नचलाउला त ! जेलेन्स्कीले चुनाव
पनि जिते ।
तर, उनको कार्यकाल र युक्रेन अहिले नराम्रो सङ्कटमा फसेको छ ।
म खुशी यो कुरामा छु कि म आफू रिआलिटी शो
हेर्दिनँ र घरमा मेरा छोराछोरीलाई यस्ता शो हेर् हेर्न हामी अनुमति दिँदैनौ ।
No comments:
Post a Comment