ज्ञान सम्भवत मानिसको सबल पक्ष हो, र आस्था
दुर्बल ।
जब आस्थाको कुरा आउँछ त्यसबेला मानिसको दुर्बल पक्ष छतछुल्ल
हुन्छ । ऊ तर्क र विवेकलाई पाखा लगाएर आफ्नो आस्थाको संरक्षणमा जुट्छ । ज्ञान र
परिवर्तनप्रतिको उसको लगाव पग्लिन्छ । मानिस बिल्कुलै निरिह देखिन्छ ।
सोसल मिडियामा धर्म र गाईका विषयमा हुने बहसले यही देखाउँछन् । आज
गाईको प्रसङ्गलाई हेरौँ ।
गाईलाई हिन्दु धर्ममा देवताका रूपमा पूजिन्छ । केही उत्तरवैदिककालिन हिन्दु
शास्त्रले गाईको धार्मिक महत्त्व स्थापित गराएका छन् । यही महत्त्वका आधारमा गाई
नमार्ने मान्यता हिन्दुहरूमा दृढ छ । धर्म वा परम्परामा आस्था राख्ने हिन्दु
सम्प्रदायका मानिस गाई मार्न वा गाईको मासु खान रुचाउँदैनन् ।
हिन्दु धर्ममा गाईको महत्ताको आर्थिक-सामाजिक पक्षका विभिन्न रोचक
विश्लेषण पनि छन् । कतिपयले हिन्दु संस्कारको विकास भएका क्षेत्रमा स्थीर कृषि
प्रणालीको सुरुआतसँगै पोषण (दूध), उर्जा
(गोबर) र खेत जोत्नका लागि गोरुमाथिको निर्भरताका कारण गाईले उच्च सम्मान पाएको
चर्चा गरेका छन् । दूध दिने र गोरु जन्माउने गाईलाई श्रद्धा गर्ने र काटेर नखाने
प्रचलन सम्भवत तत्कालिन परिवेषमा जीवन निर्वाहका लागि अत्यावश्यक भएको हुनसक्छ ।
धार्मिक ग्रन्थ पनि सामाजिक धरातलका उपज हुन् । कल्पनाशीलता जीवन र जगतको
व्यक्तिको अनुभवसँग गाँसिएको हुन्छ ।
आस्थाको व्याख्या
विज्ञानले गर्न सक्दैनन् । आज जीवन निर्वाहको लागि गाई नचाहिने हिन्दु परम्पराका
अनुयायी पनि गाई खाने कल्पना गर्न सक्दैनन् । गाई नखाने र गाईलाई श्रद्धा गर्ने हिन्दु परम्परागत विश्वास सामान्य आस्थाका रूपमा मात्र सीमित छैन -आजको नेपालको एक अहं प्रश्न बनेको छ ।
धर्म र राज्य पृथक कुरा हुन् । यसो भए तापनि राज्य र धर्मका सीमानाहरूबीचको घर्षण विश्वभर स्वाभाविक बनेका छन् । वर्तमान विश्वका अधिकांश द्वन्द्व
यही घर्षणका कारण जन्मिएका हुन् ।
नेपालमा पनि निश्चित प्रसङ्गहरूमा राज्य र धर्मबीचको घर्षण प्रस्ट देखिन्छ ।
राष्ट्र निर्माणको प्रक्रियामा विगतका शाह र राणा शासकले हिन्दु धर्म
र परम्परालाई आधार बनाए । यो क्रम पृथ्वीनारायण शाहबाट सुरुभएको हो जसले नेपाललाई 'असली हिन्दुस्तान' बनाउने
लक्ष राखे । जङ्गबहादुरले जारी गरेको नेपालको पहिलो मुलुकी ऐनले जात प्रथालाई
न्याय सम्पादनको आधार बनाएको थियो । बेलायतको यात्रामा निस्कँदा जङ्गबहादुरले अरू
कुरासँगै नेपालबाट गाई पनि लिएर गएको चर्चा गरिन्छ । हिन्दुहरूका चाडपर्व, प्रतिक र मान्यतालाई राज्यसंरचनाको संरक्षण
प्राप्त हुने क्रम ज्ञानेन्द्रको शासनकालसम्म पनि चल्यो र हालसम्म पनि जारी छ ।
विगतका शासकले नेपालमा गैरहिन्दुहरू रहेको र उनीहरूका सांस्कृतिक
मान्यता पृथक रहेको तथ्यलाई स्वीकार गर्न कहिलै चाहेनन् । बरु उनिहरूलाई पनि बलको
प्रयोगले हिन्दु बनाउन सकेसम्म प्रयत्न गरे । कसैलै जनजातिलाई दशैँ मान्ने उर्दी
जारी गरे, कसैलै जनै लगाए राजद्रोहमा माफी दिने प्रस्ताव
पठाए ।
यसको एउटा सानो उदाहरण हो मुलुकी ऐनमा गाईसम्बन्धी प्रबन्ध ।
नेपाल बहुसंख्यक भनिएका हिन्दुहरूको मात्र देश होइन । यहाँ ५४ भन्दा
बढी आदिवासी जनजाति समूह छन् । उनिहरू सबै हिन्दु होइनन् र उनिहरूलाई पनि नेपाल
उत्तिकै प्यारो छ -जति हिन्दुलाई छ । यसबाहेक नेपाल अन्य धर्मालम्बी र धर्म
नमान्नेहरूको पनि साझा घर हो ।
यी सबै गैर हिन्दुहरूका लागि गाई केवल एउटा जनावर हो ।
नेपाल आदि कालदेखि हिन्दु राष्ट्र हो भन्ने सोच गलत हो । पञ्चायती संविधान बनाउने
क्रममा राजा महेन्द्रले २०१७ सालको परिवर्तनपछि नेपाललाई हिन्दु राष्ट्रका रूपमा परिभाषित गरेका हुन् ।
अधिकांश जनसङ्ख्या हिन्दु भएको मुलुकमा राज्यका सीमानालाई धर्मसँग जोड्ने
महेन्द्रको नीति पञ्चायती व्यवस्थाको राजनीतिक आधार बन्यो । यसबाट पञ्चायती राजतन्त्रले त प्रशस्त फाइदा उठायो तर यो निर्णयले हिन्दु धर्म
नमान्ने मानिसको राष्ट्रिय पहिचानलाई कुण्ठित बनायो । यो एउटा ऐतिहासिक भूल थियो ।
दोस्रो जनआन्दोलनपछि नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरिँदा
नेपालको उक्त ऐतिहासिक भुल सँच्चिएको हो । राज्य कुनै धर्म विशेषका मान्यता र
संस्कारबाट निर्देशित नहुने असल भविष्यको सुरुआत थियो त्यो । तर, अन्य विभिन्न घोषणा जस्तै पुनर्स्थापित संसदको यो
घोषणा पनि व्यवहारमा अनुवादित हुन सकेन । राज्यले हिन्दु धर्मलाई दिएको असन्तुलित
महत्त्वमा कमी आएन । गाई मारेको कसुरमा मानिसलाई थुन्ने, धम्क्याउने र कुटपिट गर्ने प्रहरीको व्यवहारमा
कानुनी बन्देज लागेन ।
राजनीतिक अन्यौल र बेथितिले गाँजिएको संक्रमणकालमा कानुन निर्माणको
प्रक्रिया ठप्प हुँदा नीतिगत परिवर्तन हुन नसक्नु स्वाभाविक होला । तर, गाईका प्रसङ्गलाई लिएर हिन्दु परम्पराका
अनुयायीमध्ये केहीले गर्ने तर्क ताज्जुबलाग्दा छन् ।
यी मध्ये पहिलो तर्क हो -गाई मारेर अरूको आस्थामा ठेस लगाउनु ग़लत हो
।
आस्था भएकाहरूले आफ्नो आस्थाको रक्षा गर्ने जिम्मेबारी आफूसँग सीमित
राख्नुपर्छ । कुनै मुसलमानले सुँगुर छुँदैन, खाँदैन
भने यो परम्पराको सम्मान ऊ आफैँले गर्ने हो -न कि हिन्दु वा क्रिश्चियनले उसको
आस्था बचाइदिनका लागि सुँगुरबाट टाढा बस्ने । यदि सबै धर्मालम्बीले आफ्नो आस्थाको
बचाउका लागि अरूबाट अपेक्षा राख्दै जाने हो भने संसारमा खाने र गर्ने कुरा केही
बाँकी नरहलान् ।
गाई मारेर खाएको कसुरमा विशेषगरि काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका आदिवासी/जनजाति
समूहका दर्जनौँ मानिसले बर्षौँ जेल सजाय बिताएका छन् । कति मानिस प्रहरी कारबाहीमा
परिने डरले घर छोडेर भागेका छन् । यो क्रम हालसम्म जारी छ । उनिहरूलाई राज्य र
प्रहरीले लगाउने आरोप उही हो- अरूको आस्थामा चोट पुर्याएको ।
मानिसले अरूको आस्थामा चोट पुर्याउन घरभित्र लुकिछिपी जनावर काटेर
खाँदैन ।
दोस्रो तर्क हो -कानुनको पालना गरिनुपर्छ । प्रहरीले गाई काट्न नपाइने
नेपालको कानुनलाई पारिपालना गराएका मात्र हुन् ।
नेपाल कानुनले कति र तजबिजले कति चल्छ भन्ने त सबैलाई थाहा भएको कुरा
हो । तर पनि कानुनी सर्वोच्चतालाई आलोचना गर्नु गलत हो । देश वास्तवमा कानुनले नै
चल्नुपर्छ । कानुनको सम्मान गर्नुपर्ने कुरामा दुईमत हुन सक्दैन ।
यसो भएता पनि कानुनका विज्ञ र सर्वसाधारणले प्रत्यक्ष अनुभव गरेको
कुरा के हो भने कानुन समाजसापेक्ष हुन्छ -समाजभन्दा माथि होइन । कानुन बनाउने
मानिसले नै हो कुनै अलौकिक शक्तिले होइन । मानिसका अपेक्षा र बुझाइलाई आत्मसात
गर्न नसक्ने कानुन कि दराजमा थन्किन्छन् कि परिवर्तन हुन्छन् । यसको उदाहरण हामीले
०४६ वा ०६२/६३ को जनआन्दोलनमा देखिसकेका छौँ । तत्कालिन कानुनको सीमाभित्र रहेर
जनआन्दोलन सफल हुने थिएनन् ।
दुःखका साथ भन्नुपर्दा नेपालमा कानुनको संसोधन वा परिमार्जनको
प्रक्रिया ठप्प भएको झण्डै दुई दशक बित्नलागेको छ । आजको परिवर्तनशील समयमा दुई दशकको
अवधि झण्डै एक जीवनकाल हो । तर, हामी
अनेकन अव्यवहारिक र असान्दर्भिक कानुन घाँटीमा भिरेर बाँचिरहेका छौँ । नेपालको
राजनीतिक द्वन्द्वको तितो परिणति एउटा यो पनि हो ।
तर, यस्तो असान्दर्भिक
कानुनबाट पन्छिने व्यवहारिक उपाय नभएका होइनन् । मानवीय र व्यवहारिक रूपमा लागु
गर्न शोभनीय नहुने कानुनी प्रबन्ध निश्क्रय रहन्छन् र रहनुपर्छ । सार्वजनिक स्थलमा
भेटिएका वयस्क जोडीलाई पक्रिँदै सजाय दिने वा गाई काटेको सूचनाका आधारमा पछ्याउँदै
मानिस समात्न हिडँने कामलाई राज्यप्रशासनले प्रश्रय दिन आवश्यक छैन । आम नागरिकको
सुरक्षाका प्राथमिकतामा पर्ने अरू काम छोडेर ग़रीब जनजातिका बस्तीमा गाई काट्ने
मान्छे खोज्दै हिँड्ने प्रहरीको काम शोभनीय छैन ।
गाई काट्न दिनुहुन्न भन्ने पक्षमा सुनिने तेस्रो तर्क हो - हिन्दु
बहुसंख्यक भएको मुलुकमा हिन्दु धर्मको रक्षा हुनुपर्छ ।
बहुसंख्यक हिन्दु भएको मुलुकमा हिन्दु धर्म आफैँमा संरक्षित छँदैछ ।
त्यसमाथि राज्यसंरचनाले समेत हिन्दु धर्म र परम्परालाई सताब्दिऔँ देखि विशेष
सम्मान दिएको छ । उदाहरणका लागि हिन्दुका चाडपर्व र धार्मिक संस्कारमा जति
सार्वजनिक विदा अन्य धर्मालम्बीले पाएका छैनन् । हिन्दु मठमन्दिर र
संस्थाहरूलाई राज्यबाट सहयोग र संरक्षण प्राप्त भएकै छ । राज्यका विभिन्न अङ्ग र
निकायले हिन्दु परम्परामा आधारित संस्कार र विधिका लागि पैसा खर्च गर्न पाएकै छन्
।
यस्तो परिस्थितिमा हिन्दु धर्म कसरी कमजोर भयो र यसलाई थप संरक्षण किन
चाहियो ?! फेरि, नेपालमा
सम्मान र संरक्षण नपाएको हिन्दु धर्मले होइन -यसबाहेकका अन्य धर्मले हो । आधुनिक
राष्ट्रका रूपमा ३०० वर्ष पूरानो नेपालको इतिहासमा हामीले समावेशिता र परस्पर
सम्मानको कुरा गर्न थालेको दुई दशक पनि भएको छैन । यो गफ व्यवहारमा अनुवाद हुन
भर्खरै प्रारम्भ भएको छ । यो चरणमा हिन्दु संस्कारलाई संरक्षण चाहिन्छ भन्ने तर्क
शोभनीय छैन ।
चौथो तर्क हो गाई राष्ट्रिय जनावर भएकाले काट्न मिल्दैन ।
मयुर भारतको राष्ट्रिय जनावर हो, क्याङ्गारु
अस्ट्रेलियाको र येलोफिन टुना माल्दिभ्सको । यी जनावर तथा पंक्षी खाएको विषयमा यी
देशमा आपत्ति भएको छैन । अस्ट्रेलियामा क्याङ्गारुको बढ्दो जनसंख्या रोक्न सरकारले
क्याङ्गारुको मासु बढी मात्रामा खान आफ्ना जनतालाई आव्हान गरिरहेको छ भने माल्दिभ्समा टुना
अर्थतन्त्रको गतिलो आधार हो । बाघ, गिद्ध, सिंह, उल्लु
वा भालु राष्ट्रिय जनावर भएका मुलुकमा तिनको विशेष संरक्षण हुनु स्वाभाविक हो । राष्ट्रिय जनावर काटेर खान हुन्न भन्ने तर्कमा
आग्रह छ तर आधार छैन ।
पाँचौ तर्क हो सार्वजनिक स्थलमा गाई काट्ने क्रम सुरु भए यसले
द्वन्द्व ल्याउँछ ।
सार्वजनिक स्थलमा पशु बध गर्ने चलन आफैँमा गलत हो । हामी यसमा अभ्यस्त
भएर मात्र जथाभावि जनावर काट्ने कामलाई स्वाभाविक ठान्छौँ । मासुका लागि पशु बध
तोकिएका बधशालामा स्वस्थ र सफा तवरले मात्र गर्ने नियम कडा रूपमा पालना गरिनुपर्ने
हो । हालको चलनले हाम्रो असभ्यता र फोहरीपनको परिचय दुनियालाई गराइरहेको छ ।
तर, अरू सबै जनावर सार्वजनिक स्थलमा खुला काटेकोमा आपत्ति नजनाउने र गाई खुलेआम बाहिर काटिनेछन् भन्ने कुरामा चिन्ता दर्शाउनेहरूले आफ्नो असहिष्णुता मात्र प्रदर्शन गरिरहेका छन् । अन्य धर्म र सम्प्रदायले आफ्नो अधिकार उपयोग गर्दा त्यसबाट असुरक्षित
ठान्ने मानसिकताको अन्त्य हुन ज़रूरी छ । हाम्रो जस्तै धार्मिक र सांस्कृतिक
विविधता रहेको छिमेकी मुलुक भारतमा पनि गाई काटिन्छन् -त्यहाँ यही आधारमा सामाजिक
सद्भाव बिग्रेको छैन । सद्भाव बिग्रने अरूका मान्यता र अधिकारको सम्मान गर्न
नचाहने असहिष्णु प्रवृत्तिले हो ।
हाल नेपालका सबै ठूला होटल र रेस्टुराँमा गाईको मासुबाट बनेका परिकार
बिकिरहेका छन् । यसको स्वतन्त्र उपभोग पनि भइरहेकै छ । नेपालका लागि आवश्यक मासु
भारत तथा अन्य मुलुकबाट ठूलो मात्रामा आयात गरिन्छ । तर, गाई मारेको र खाएको अभियोगमा आदिवासी तथा जनजाति
समूहका गरीब नेपालीले प्रहरी कारबाही भोग्नु परिरहेको छ । यो परिस्थिति आफैँमा
अन्यायपूर्ण छ ।
ज्ञानमाथि आस्थाको विजय सम्भवत मानिसको सबैभन्दा ठूलो कमज़ोरी हो ।
सोसल मिडियामा गाईको विषयमा भइरहेका बहसले यही देखाउँछन् । ज्ञान र दक्षताले
सम्पन्न प्रतिभाशाली मानिसहरू पनि आस्थाको प्रसङ्ग उठ्नासाथ निरिह देखिएर सबै तथ्य
र वास्तविकतालाई पन्छाउन खोज्छन् ।
आस्था स्वतः सम्मानित हुनुपर्छ भन्ने मान्यता पनि सही होइन । आस्थाका
विषयमा पनि बहस हुन्छ र हुनुपर्छ । आस्थाका नाममा सबै सोच र अभ्यासलाई सही मान्ने
हो भने जातीय विभेद, सती प्रथा, दास प्रथा, देउकी प्रथा, कम्लरी र बोक्सीका बारेको
मान्यता पनि शंकाको घेराभन्दा माथि राख्नुपर्ने हुन्छ । आस्था व्यक्तिगत मान्यताको कुरामात्र
होइन –यसको सामाजिक-आर्थिक आयाम पनि छ र यसले सामाजिक न्याय र अधिकारको विषयसँग
पनि सरोकार राख्छ ।
अन्त्यमा, यो लेखमा प्रस्तुत तर्क
गाई काट्नैपर्छ वा खानुपर्छ भन्ने आग्रह पुष्टि गर्ने उद्देश्यका लागि उठाइएका
होइनन् । के खाने वा नखाने भन्ने कुरा व्यक्तिको अधिकार र रुचिको विषय हो जसको
सम्मान सबैले गर्नुपर्छ । मेरो आलोचना गाई हत्याका विषयमा राज्यले सामान्य
नागरिकलाई सजाय दिने अमानवीय प्रवृत्तिका विषयमा हो । यो प्रवृत्ति समावेशीकरण र
परस्पर सद्भावका आधारमा नयाँ र सुदृढ़ राष्ट्र बनाउने नेपालीको चाहनाको प्रतिकूल छ
।
well said
ReplyDelete