अस्ट्रेलियाली प्राध्यापक जोन ग्रेले आजभन्दा झन्डै २० वर्षपहिले काठमाडौँको सडक र सवारीका विषयमा एउटा अनुसन्धानात्मक लेख लेखेका थिए। आफ्नो लेखमा ग्रेले काठमाडौँका सडकमा सवारीको आकारका आधारमा हुने शक्ति प्रदर्शनका विस्तृत पक्षहरूको चर्चा गरेका छन्। लेखको रोचक पक्ष के छ भने ठूला बसले मिनीबसलाई, मिनीबसले कारलाई, कारले मोटरसाइकललाई, मोटरसाइकलले साइकलाई र साइकलले पैदलयात्रीलाई हेप्ने काठमाडौँको सवारी मनोविज्ञानलाई लेखकले हाम्रो सामाजिक संरचना र वर्ग विभाजनसँग जोडेका छन्। ग्रेको विचारमा काठमाडौँका सडकमा देखिने तनाव यहाँको सामाजिक संरचनामा विद्यमान असमानता र यसको अन्तर्विरोधको प्रतिबिम्ब हो।
गएका केही हप्ता सञ्चारमाध्यममा महिलाका विषयमा प्रकाशित केही समाचार र विचारले ग्रेको शैली पछ्याउँदै सामाजिक अन्तर्विरोध केलाउन प्रेरित गरे। सन्दर्भ थिए–बाजुरामा एसएलसी परिक्षार्थीले परिक्षाकेन्द्रमा बच्चा जन्माएको समाचार र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ऐनका विषयमा एक ब्लगरको टिप्पणी।
केही दिनपहिले एक राष्ट्रिय दैनिकमा बाजुरामा ‘अविवाहित’ एसएलसी परिक्षार्थीले परिक्षाकेन्द्रमा बच्चा जन्माएको समाचार प्राथमिकतापूर्वक छापियो। संभवत पत्रकारिताको मर्यादा बचाउन वा गोपनीयताको सम्मान गर्दै ‘अविवाहित’ छात्राको नाम नखुलाइएको भए तापनि जिल्ला, गाविस, विद्यालय र परिक्षाकेन्द्रमात्र नभइ परिक्षाकेन्द्रका नियन्त्रकसम्मको नाम खूलाइएको उक्त समाचारले गोपनीयताको हकको रक्षा गरेको थिएन। तर, त्योभन्दा बढी सम्बन्धित महिलालाई शीर्षकदेखि नै अविवाहितका रूपमा चिनाएर समाचारलाई सनसनीखेज बनाउने पत्रकारको पूर्वाग्रही चिन्तन समाचारमा प्रस्ट देखिन्थ्यो।
बाजुरा मानव विकासका क्षेत्रमा नेपालको सबैभन्दा पछाडि परेका जिल्ला मध्येको एक हो जसका अधिकांश मानव बस्ती दुर्गम र विकट भागमा अवस्थित छन्। सडक, बिजुली, पिउने पानी आदि आधारभूत आवश्यकता बाजुराबासीका लागि लगभग विलासिताका बस्तु हुन्। प्रजनन् स्वास्थ्य, आधारभूत स्वास्थ्य सेवा, सरसफाइ आदि क्षेत्रमा राज्यको सक्रियता र योगदान न्यून छ बाजुरामा। महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसा राष्ट्रिय औसतभन्दा दुई गुना बढी छ। यहाँका बहुसङ्ख्यक महिला भौतिक, सांस्कृतिक र मनोवैज्ञानिक हिंसाबाट पिडित छन् -बलात्कार जसको एउटामात्र पक्ष हो।
बाजुरा मात्र हैन नेपालमा बहुसङ्ख्यक महिला आफ्नो शरीरमाथिको नियन्त्रणको अधिकारबाट वञ्चित छन्। सन्तान कति पाउने र कहिले पाउने भन्ने कुरामा मात्र होइन सुरक्षित यौनसम्पर्कमा उनीहरूको चाहनाले कुनै अर्थ राख्दैन। महिलाले आफ्नो स्वास्थ्य र जीवनरक्षाजस्तो संवेदनशील विषयमा आफैँ निर्णय लिन पाउँदैनन्। बच्चा जन्माएको ४५ मिनेटपछि परिक्षामा सामेल भएकी उक्त परिक्षार्थी स्वयं यसको ज्वलन्त उदाहरण हुनसक्छिन्।
यी सबै बस्तुस्थितिलाई बेवास्ता गर्दै प्रसूतिको जोखिमपूर्ण अवस्थामा परिक्षामा सामेल उक्त परिक्षार्थीका विषयमा समाचार बनाउँदा ‘अविवाहित परिक्षार्थीले बच्चा जन्माएको’ कुरालाई समाचारको आकर्षण बनाइनु दुखद् त थियो नै यसले बच्चा जन्माउने उक्त परिक्षार्थीको व्यक्तिगत अधिकार र गोपनीयताको हकको पनि उत्तिकै गम्भीर उल्लङ्घन गरेको थियो।
यदि साँच्चिकै उक्त परिक्षार्थीले आफ्नो खुशीले विवाहपूर्व यौनसम्पर्कबाट बच्चा जन्माएकी रहिछन् भने पनि यो उनको व्यक्तिगत अधिकारको विषय हो। नेपालमा कतिपय जातीय समूहमा विवाह एक समारोहमात्र हो जहाँ वर्षौँ सँगै बसेका र सन्तान जन्माइसकेका दम्पत्तीले आफ्नो अनुकुलतामा विवाह गर्ने चलन छ। अध्ययन र रोजगारीका लागि विदेश बसिरहेका युवायुवती लामो समय सँगै बसेर आफ्नो अनुकुलतामा विवाह गर्ने चलन पनि स्थापितजस्तै भइसकेको छ। यतिमात्र होइन, लिभ इन सम्बन्धमा रहेर पुरुष-स्त्री सँगै बस्ने र चाहना भए सन्तान जन्माउनेहरू पनि प्रशस्त छन्। सञ्चारमाध्यमले शहरीया जीवनका यस्ता परिवर्तनलाई प्रगति र आधुनिकताका रूपमा व्याख्या पनि गर्ने गरेका छन्। बाजुराका हकमा फरक दृष्टिकोण अपनाइनु न्यायोचित थिएन।
दोस्रो सन्दर्भ थियो यौनजन्य दुर्व्यवहार ऐनका विषयमा एक ब्लगरको टिप्पणी। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ऐनको मस्यौदाको विश्लेषण गर्ने क्रममा सेतोपाटीमा प्रकाशित आफ्नो ब्लगमा लेखकले प्रस्तुत गरेको दृष्टिकोण पुरुषप्रधान समाजमा महिला अधिकारका मुद्दाले सामना गर्नुपर्ने चुनौतीको उदाहरण हुनसक्छ।
ब्लगमा प्रस्तुत लेखकका विविध तर्क व्याख्याका विषय होलान् । तर एक वाक्य विशेषरूपमा उल्लेख्य छ- “कोही कसैले लगाउने पोशाक उसको व्यक्तिगत अधिकारको कुरा हो तर दुनियाँको ध्यान आफूतिर आकर्षित गर्नकै लागि 'टालो' मा सजिने प्रवृतिलाई कसरी व्याख्या गर्ने ?”
पोशाकको छनौट व्यक्तिविशेषको रुचि र चाहनाले निर्धारण गर्ने कुरा हो। मानिसले आफ्नो रुचि, आवश्यकता, सहजता आदिका आधारमा लुगाको छनौट गर्छ – न कि लेखकले भनेझैँ दुनियाको ध्यान आफूतिर तान्न। यदि पोशाकलाई अरूको ध्यान तान्ने माध्यमका रूपमा व्याख्या गर्ने हो भने पुरुषले पनि यसैका लागि लुगा लगाएका हुन्।
छोटा पोशाक पुरुषले पनि लगाउँछन् । अङ्ग प्रदर्शन महिलाले मात्र गर्दैनन् । हामीले सिनेमाका पर्दामा मात्र नभएर सार्वजनिक स्थलमा पनि पुरुषहरूले अङ्ग प्रदर्शन गरेको देखेका छौँ । फेरि हाम्रै देशका विभिन्न क्षेत्रमा गरिबी र अभावका कारण महिलाहरू सम्पूर्ण शरीर ढाक्ने एकसरो लुगा लगाउन नसकेर ‘अङ्ग प्रदर्शन’ गर्न वाध्य छन् । यसप्रति कसैको आपत्ति सुनिएको छैन । तर, महिलाले आफ्नो रुचि अनुसारको पोषाक लगाएकोमा पुरुषहरूमा यति धेरै चिन्ता र चासो किन ? यसको स्वभाविक कारण हो महिलालाई आफ्नो नियन्त्रणभित्र राख्ने पितृसत्तात्मक रहर जसले उनीहरूको शरीरलाई उपभोग्य बस्तुका रूपमामात्र बुझ्छ।
जुन समाजमा महिला शरीरमाथिको अधिकारबाट वञ्चित छन्, ठूलो सङ्ख्यामा छोरीहरू गर्भमै तुहिन्छन्, घरेलु हिंसा र बलात्कारबाट बहुसङ्ख्यक महिला प्रताडित छन्, माइतीबाट अंश नल्याएकोमा महिलाले जिउँदै जलेर मर्नुपर्छ -त्यहाँ संस्कृति र परम्परको संरक्षणका नाममा महिलालाई यस्तो पोषाक लगाऊ भनेर अर्ति दिने काम घिनलाग्दो ठट्टाबाहेक अरू के होला ?
नेपालमा महिला अधिकारको विषय यसबेला चेपुवामा परेको छ । एकातिर महिला अधिकारका मूल पक्षहरूको पहिचान र तिनको सम्बोधनमा राज्य असफल छ भने अर्कोतिर महिला वर्गका समस्याप्रति आवश्यक सचेतना छैन । नागरिकता बनाउने सामान्य प्रशासनिक कामदेखि लिएर सम्पत्तिमाथिको अधिकार स्थापित गर्नमा महिलाले सामना गर्नुपर्ने कानुनी र व्यवहारिक समस्याप्रति गम्भीर चासो र वास्ता कसैलाई छैन । हामीले महिला दोस्रो दर्जाको नागरिक भएको अप्रत्यक्षरूपमा स्वीकार गरेका छौँ– तर यसको ठोस स्वीकारोक्तीका लागि तयार छैनौँ ।
विचारहरू सापेक्ष हुन्छन् । यसमा दुईमत छैन । सत्य सीमित भएझैँ विचार पनि सन्दर्भ, परिस्थितिअनुसार फेरिन्छन् । यसलाई मनन गर्दै हामीले अरूका विचार र सोचलाई सापेक्ष ढङ्गले बुझ्न र व्याख्या गर्न आवश्यक छ ।
तर, सापेक्षतावादलाई निरपेक्ष ढङ्गमा व्याख्या गर्न मिल्दैन । वास्तवमा ‘सबै विचार सही हुन्’ भन्न मिल्दैन । ‘हरेक मानवीय बुझाइ एक व्याख्या हो र कुनै व्याख्या अन्तिम हुँदैन’ भन्ने मान्यतामा आधारित उत्तरआधुनिकतावादले पनि न्याय र समतालाई सापेक्षतावादको पेण्डुलममा झुन्ड्याउन चाहेन । उत्तरआधुनिकतावादी चिन्तकहरूले विज्ञान र आधुनिकताले मानिसलाई पारेका नकारात्मक प्रभाव र सीमान्तीकरणका विरुद्धमा सशक्त आवाज उठाए -उनीहरूले पनि न्याय र समताका पक्षमा वकालत गरे ।
नेपालका सन्दर्भमा पनि राज्य र समाजको संरचनाका कारण अवसर र अधिकारबाट वञ्चित वर्ग वा समूहका विषयमा टिप्पणी गर्दा हामीले सचेत हुन आवश्यक छ । महिलाहरू आफ्नो विषयमा आफैँ निर्णय गर्न पुरुष सरह सक्षम छन्, पुरुषहरूबाट हुने नियन्त्रणको अन्त्य हुनुपर्यो।
Good to read your post. After reading that article in setopati and seeing so many supporters of that article, i really felt bad. But, good to know people like you who really understand the scenario and make it easier for women to survive in this patriarchal society. Thank you.
ReplyDelete