लोकतान्त्रिक पद्धतिमा
जनमतको ठूलो महत्त्व हुन्छ । तर, लोकतन्त्र भनेको निर्वाचन वा मतदानमात्र हैन ।
राज्यका अवयवहरू लोकतन्त्रको मूल्यमान्यताअनुरूप इमानदार र प्रभावकारी ढङ्गले चल्न
नसके निर्वाचन आफैंले वा भनौं यसबाट अभिव्यक्त जनमतले मात्र सुशासन सुनिश्चित हुन
सक्दैन ।
मताधिकारमा ‘अस्वीकारको
विकल्प’का बारेमा सर्वोच्च अदालतको हालसालैको निर्णय लोकप्रिय होला तर परिपक्व छैन
। नेपालले हाल सामना गर्नुपरिरहेको निर्वाचन कानुन र व्यवस्थापनका चुनौतिहरूमा
एउटा अर्को चुनौति थप्ने बाहेक धेरैले सोचेजस्तो यो प्रबन्धले नेपालको राजनीतिक
बेथितिलाई सुधार्ला भनेर आशा गर्नु युक्तिसंगत देखिँदैन ।
विश्वका झण्डै २ दर्जन
मुलुकमा मतदान अनिवार्य छ । यी मुलुकमा सामान्य परिस्थितिमा मतदान नगर्ने नागरिक
राज्यका कतिपय सेवासुविधाबाट वञ्चित हुन्छन् । तर, नेपालको हकमा भोट नहाल्ने नागरिकको
अधिकार सुरक्षित थियो । यस अर्थमा पनि ‘अस्वीकारको विकल्प’ नेपालका लागि आवश्यक
थिएन ।
लोकतन्त्र 'मेरिट'का आधारमा चल्ने पद्दति हैन । निर्वाचनमा
उमेदवार हुने मानिसहरू पनि बृहत् समाजका सदस्य नै हुन् र उनीहरूको प्रमुख योग्यता पनि
नागरिकता नै हो । तसर्थ, मतदाताले भएकामध्ये कुनै पनि उमेदवार योग्य ठान्न नसक्नु
निर्वाचन प्रणालीको दोष हैन, बरु यसले समाजमा विद्यमान विकराल समस्यालाई इंकित
गर्छ, समाजको योग्यतामा प्रश्न उठाउँछ । यसको समाधान निर्वाचन प्रणालीमा खोजेर
हुँदैन ।
नेपालका छिमेकीलगायत संसारभरका
अन्य अल्पविकसित र नयाँ लोकतान्त्रिक मुलुकहरूमा राजनीतिक अनिश्चितता र बेथितिप्रतिको
असन्तुष्टि विगत केही वर्षहरूमा चुलिंदै गएको छ । यसको निशानामा स्थापित राजनीतिक
दलहरूमात्र हैन राजनीतिलाई लामो समयदेखि ‘करियर’ बनाएका ‘नेता’हरू पनि परेका छन् ।
दल र नेताप्रतिको आममानिसको असन्तुष्टि जायज होला तर ‘कुनै पनि उमेदवार ठीक छैनन्’
भनेर सबै उमेदबार बहिष्कार गर्ने प्रबन्धले असन्तुष्टिको अभिव्यक्तिलाई ठोस र
प्रभावकारी बन्न सहयोग गर्दैन । यसबाट आम मानिसको अपेक्षा के हो भन्ने प्रस्ट
हुँदैन ।
राजनीतिमा शुद्धीकरणको
खाँचो अवश्य छ, तर राजनीतिक बेथितिप्रतिको असन्तुष्टि लोकतान्त्रिक मूल्यमान्यताका
विरुद्धमा निर्देशित हुँदै जाने हो भने यसले झन् ठूलो बिपद् निम्त्याउन सक्छ । अब
हुने निर्वाचनका दौरान “सबै उमेदवारलाई बहिष्कार गरौं” भन्ने अभियान/आन्दोलन
नचल्लान् भन्न सकिन्न । यसमा विभिन्न स्वार्थसमूहको संलग्नता पनि हुनसक्छ । यसले
हामीले स्थापित गर्न खोजिरहेको लोकतान्त्रिक पद्दतिलाई नै धरापमा पार्नसक्छ । यसको
जिम्मेवारी भोलि कसले लेला ? उमेदवार बहिष्कार गर्नेले त पक्कै नलेलान् !
आम नागरिकलाई निराशावादी हुने
सुविधा हुन्छ । तर राज्यलाई यस्तो सुविधा हुँदैन । निर्वाचनमा सबै उमेदवार
‘नालायक’ हुनसक्छन् भनेर यसका लागि राज्यले वैकल्पिक प्रबन्ध बनाउने हैन । यसैगरि,
राज्यले निर्वाचनलाई जनप्रतिनिधि छान्ने सकारात्मक प्रकृयाका रूपमा बुझेको हुन्छ र
बुझ्नु पर्छ । मतदाताले कुनै उमेदवार मन नपराएर निर्वाचन नै असंभव हुने संभावना
देख्ने छुट राज्यलाई छैन ।
लोकतान्त्रिक पद्दतिमा
गोप्य मतदानको सार्थकता सरकार र नागरिकबीचको सम्बन्धमा पनि छ । जनमतबाट स्थापित
सरकार र जननिर्वाचित प्रतिनिधिले आमनागरिकप्रति उत्तरदायी हुनुपर्छ र नागरिकले पनि
बहुमतबाट निर्वाचित सरकारलाई स्वीकार गर्नुपर्छ । तर, भविष्यमा हुने निर्वाचनमा
‘सबै उमेदवार अयोग्य’ भन्ने चिन्हमा मत खसाउने मतदाताको समूहप्रति निर्वाचित
सरकारको जवाफदेहिता कसरि स्थापित गर्ने र यो नागरिक समूहको सरकारमाथिको अपनत्व
कसरि स्थापित गर्ने ?!
निर्वाचन प्रकृयामा अयोग्य
उमेदवारलाई जित्न नदिन मतदाताले उपयोग गर्ने एउटै माध्यम योग्य मानिसका पक्षमा भोट
हाल्ने हो । हाम्रो आवश्यकता नागरिकको यो अधिकारलाई थप प्रभावकारी बनाउने हो ।
स्वतन्त्र र निश्पक्ष निर्वाचनको मान्यतालाई अझ व्यवहारिकरूपमा उपयोगमा ल्याउनु हो
। यसो गर्न सके समाजमा योग्यता र इमानदारिता भएका मानिस राजनीतिमा आउने क्रम बढ्छ,
उमेदवारको सूचीमा योग्य मानिसहरूको नाम थपिन्छ । बहिष्कारको सुविधाले योग्य
मानिसलाई राजनीतिमा आउन कुनै प्रेरणा दिन्न, बरु निरुत्साहित बनाउँछ ।
राष्ट्रिय राजनीति आम मानिसको
अभिरुचिको विषय हो । राजनीतिका विभिन्न पक्षमा आम मानिसले चासो राख्नु र राजनीतिका
मुद्दाहरूमा बहस, विमर्श गर्नुलाई सकारात्मक मान्नु पर्छ । तर, राष्ट्रिय
राजनीतिका हरेक मुद्दाको छिनोफानो निर्वाचनकै माध्यमले गर्नुपर्छ र हरेक विषयमा
जनताकै राय लिनुपर्छ भन्ने तर्क झट्ट सुन्दा जतिसुकै लोकप्रिय र जनमुखी भए पनि
सिद्धान्त र व्यवहार दुबैमा यो युक्तिसंगत छैन । यसो गर्दा न राजनीतिले गति लिन्छ,
न राजनीतिक मुद्दाहरूको प्रभावकारी निर्क्यौल नै हुनसक्छ ।
निर्वाचनमा बहिष्कारको
सुविधा जनमतको अव्यवहारिक र कच्चा व्याख्याको उपज हो जसलाई हामी अर्को देशको सिको
गरेर नेपालमा लागु गर्न खोज्दैछौँ । हिंजोको सर्वोच्च अदालतको निर्णयबाट
‘अस्वीकारको विकल्प’को माग गर्दै रिट निवेदन दर्ता गर्ने वकिल र सर्वोच्च अदालत
लोकप्रिय भएका होलान् तर कालान्तरमा यो प्रबन्ध नेपालका लागि बोझिलो हुने संभावना धेरै
छ ।
No comments:
Post a Comment