स्वतन्त्र र निष्पक्ष
निर्वाचन लोकतान्त्रिक व्यवस्थाको ‘मुटु’ हो । तर, दुर्भाग्यवश निर्वाचनलाई
स्वतन्त्र र निष्पक्ष बनाउने कुरा निकै चुनौतिपूर्ण छ, र हाम्रोजस्तो मुलुकमा अझ
चुनौतिपूर्ण ।
पञ्चायती निर्वाचनदेखि २०४६
पछि भएका कुनै पनि निर्वाचन अनियमितताका विभिन्न घटनाबाट मुक्त छैनन् । निर्वाचनका
क्रममा हुनेगरेका अनियमितता मतदान र मतगणनामा मात्र सीमित छैनन् । निर्वाचनमा
उम्मेदवारी दर्ता गर्ने औपचारिक प्रक्रियादेखि निर्वाचन प्रचारप्रसार, मतदान र
मतगणनासम्म सबै चरणमा अनियमतिताका हुने गरेका छन् । हाल सम्पन्न संविधानसभाको
निर्वाचनमा पनि उम्मेदवारी, मतदान र प्रचारप्रसारका क्रममा भएका अनियमितताका घटना प्रकाशमा
आएका हुन् र कतिपय यस्ता घटनामा निर्वाचन आयोग र प्रशासनले संलग्न व्यक्तिहरूलाई
नियमअनुसार कारवाही गरेको पनि हो ।
छिमेकि भारतदेखि विकसित
लोकतान्त्रिक परिपाटी भएका सयुक्त राज्य अमेरिका जस्ता मुलुकमा पनि निर्वाचनका
क्रममा अनेक अनियमितता र विवाद उत्पन्न हुने गरेका छन् । उदाहरणका लागि सन् २०००
को राष्ट्रपतीय निर्वाचनका क्रममा फ्लोरिडा राज्यको पाम बिच काउन्टीमा मतगणनाका
क्रममा भएको भनिएको अनियमितता अझ पनि अमेरिकी राजनीतिको रहस्य बनेर रहेको छ । कतिपय
मानिसहरू जर्ज बुशले जितेको उक्त निर्वाचनमा नियतवश धाँधली भएको विश्वास गर्छन् ।
सामान्यतः निर्वाचनका
क्रममा भेटिएका अनियमिततालाई सम्बन्धित राजनीतिक दलहरू तथा मान्यताप्राप्त
निकायबीचको सहमति र समन्वयमा जुन चरण वा स्थानमा अनियमितता देखिएको छ त्यहीँ हल
गर्ने परिपाटी छ । तर, भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा एमाओवादी लगायत
केही दलले अनियमितता र धाँधलीलाई कारण बनाएर निर्वाचनको मुलुकभरको परिणामलाई
बहिष्कार गर्ने बताएपछि निर्वाचनमा हुने अनियमितताका विषयमा मात्र हैन
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनको वैधताकै विषयमा नयाँ बहस सुरु हुनलागेको
देखिन्छ ।
निर्वाचनमा सहभागी नहुने
पक्षले निर्वाचनको औचित्य वा यसको परिणामलाई नस्वीकार्ने घटना नौलो हैन ।
निर्वाचनमा संलग्न पक्षले पनि अनियमितताका विपक्षमा आवाज उठाउने र सम्बन्धित
पक्षलाई अनियमतिता सँच्याउनका लागि दबाब दिने कुरा पनि सामान्य हो । तर, आफ्नो
सक्रिय संलग्नता र आव्हानमा भएको निर्वाचनको परिणामलाई ठोस र यथेष्ठ आधारबिना
राजनीतिक दल विशेषले स्वीकार नगर्ने नेपालको यो घटना सायद संसारमा नै पहिलो
हुनसक्छ ।
एमाओवादीले निर्वाचनको
देशभरको परिणाम आफूलाई मान्य नहुने र संभवत संविधानसभामा सहभागी नहुने बताएपछि
सबैको ध्यान सर्वप्रथम उसले प्रस्तुत गरेका प्रमाण र तिनिहरूको प्रकृतिमा जानु
स्वभाविक हो ।
एमाओवादीले भनेको छ –निर्वाचनका
क्रममा उसका कार्यकर्ता चढेको सवारीसाधनको हावा खुस्काइयो, मतगणना प्रतिनिधिलाई
लछारपछार पारियो र मतपेटिका उसका प्रतिनिधिको रोहबरबिना अन्यत्र लगियो । एमाओवादीको
दोश्रो तर्क छ ‘एमाओवादीलाई हराउने उद्देश्यले देशी-विदेशी शक्तिहरूको आड र नेपाली
सेनाको प्रत्यक्ष संलग्नतामा मतपत्रहरूको हेरफेर भयो’ ।
एमाओवादीले प्रारम्भिकरूपमा
प्रस्तुत गरेका कतिपय आरोपहरू सही पनि हुनसक्छन् -मतदान र मतगणनाका क्रममा निश्चित
स्थानहरूमा साँच्चिकै अनियमितता भएको पनि हुनसक्छ । आधिकारिकरूपमा तथा सप्रमाण
आएका यस्ता घटनाको आवश्यक छानविन सम्बन्धित निकायले गर्नुपर्छ ।
तर, ‘देशी-विदेशी शक्तिको
आडमा र नेपाली सेनाको संलग्नतामा’ माओवादीलाई पराजित गर्न मतपत्रमा हेरफेर भएको
तर्कको विश्वास गर्ने कुनै पनि गतिलो राजनीतिक वा प्रकृयागत आधार देखिँदैन ।
माओवादीको उक्त आरोप ‘कमनसेन्स’बाट समेत पुष्टि हुँदैन –संभवत यसको हेक्का माओवादी आफैँलाई पनि छ । देशभरिको मतगणना परिणाम र यसले देखाएको प्रवृत्तिको
मूल्याँकन गर्दा पनि माओवादीको यस्तो आरोप आधारहिन रहेको प्रस्टै छ ।
तसर्थ, एमाओवादीको निर्वाचन
परिणाम बहिष्कार गर्ने निर्णयको आधारका विषयमा बहस गर्नुको कुनै औचित्य छैन । बरु,
यसका अन्य राजनीतिक कारण र यसले जन्माउने संभावित परिणामका विषयमा छलफल हुनसक्छ ।
एमाओवादीका लागि
संविधानसभाको दोस्रो निर्वाचनको प्रारम्भिक परिणाम अप्रत्यासित थियो । अघिल्लो
निर्वाचनको परिणाममा धेरै तलमाथि नहुने विश्वासमा देखिएको माओवादी दोस्रो
निर्वाचनपछि पनि प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुनेमा ढुक्क थियो । तर,
समग्र परिणाम अप्रत्यासित हुने देखिएपछि एमाओवादी नेतृत्व पार्टी संगठनलाई एकजुट
राख्ने चुनौति र संभावित आलोचनाबाट अतालिनु स्वभाविकै हो । तसर्थ, आफ्नो ‘जुझारु’
संस्कृतिलाई पछ्याउँदै निर्वाचनमा धाँधली भएको र परिणाम मान्य नहुने घोषणा गर्नपुगेको
हुनसक्छ एमाओवादी । आफ्ना चिन्तित र आक्रोशित कार्यकर्तालाई शान्त बनाउने
रणनीतिकारूपमा अपनाएको हुनसक्छ एमाओवादीले वहिष्कारको रणनीति ।
लोकतान्त्रिक
मूल्यमान्यताप्रतिको प्रतिवद्धतासहित शान्तिप्रक्रियामा आएको एमाओवादीले आफ्नो
संरचना र संस्कारलाई लोकतान्त्रिक राजनीतिक पद्दतिअनुरूप ढाल्न नसकेको विगतका
विभिन्न राजनीतिक घटनाक्रमले पुष्टि गर्छन् । उसको सरकार चलाउने शैली, पहिलो
संविधानसभामा खेलेको विरोधाभाषपूर्ण भूमिका र विभिन्न सानाठूला निर्णय/अभिव्यक्तिहरूले
आधारभूत लोकतान्त्रिक मर्यादालाई लत्याएका छन् । लोकतन्त्रप्रतिको जिम्मेवारीबोध
यथेष्ट नभएकाले पनि एमाओवादी नेतृत्वमा निर्वाचनको परिणाम आफ्नो पक्षमा नभए
बाहुबलको माध्यमले आफ्नो अस्तित्व रक्षा गर्ने सोच पलाएको हुनसक्छ ।
अनियमितताका घटनाविशेषलाई
आधार बनाएर समग्र निर्वाचनको परिणाम अस्वीकार गर्ने एमाओवादीको निर्णय
अराजनीतिकमात्र छैन, यसले नेपालको राष्ट्रिय राजनीतिमा माओवादीको भूमिकामाथि
गम्भीर प्रश्नचिन्ह जन्माएको छ । यदि एमाओवादीको निर्वाचन बहिष्कारको हतारको
निर्णय उसले समयमै नसँच्याउने हो भने यसले नेपाली राजनीतिलाई दूरगामीरूपमा प्रभाव
पार्नसक्छ ।
यसको पहिलो प्रभाव संविधान
लेखनमा पर्नेछ । सडकबाट दबाब सृजना गर्ने एमाओवादी लगायत ऊ नजिकका अन्य दलहरू र
हालको निर्वाचनमा जनमतप्राप्त शक्तिहरूबीचको दूरी झन् बढ्नेछ र यसले राजनीतिलाई अझ
ध्रुविकृत बनाउने छ । परिणामस्वरूप, दोस्रो जनआन्दोलनबाट सतहमा आएका
धर्मनिरपेक्षता र संघीयताका मुद्दाहरू थप सङ्कटमा पर्नसक्छन् ।
यसको दोस्रो प्रभाव
कानुनीरूपमा सम्पन्न भनिएको तर व्यवहारमा सकिन बाँकी शान्ति प्रकृयामा पर्नेछ ।
द्वन्द्वरूपान्तरण र शान्तिनिर्माणको प्रकृयामा थातिरहेका कतिपय कामहरू –जस्तै,
सत्य निरुपण तथा मेलमिलापको प्रकृया –अवरुद्ध हुनजानेछ । परिणामस्वरूप,
द्वन्द्वपिडित नागरिकहरूले उचित न्याय वा क्षतिपुर्ति पाउने संभावना झन् जटिल भएर
जानेछ । समग्रमा मुलुकको राजनीतिक द्वन्द्व झन जटिल बन्दैजानेछ ।
एमाओवादीको चुनावी परिणाम
बहिष्कार गर्ने निर्णयको सबैभन्दा ठूलो नकारात्मक प्रभाव भने एमाओवादी स्वयं र
यसको नेतृत्वलाई पर्नेछ ।
हालको निर्वाचनको
प्रारम्भिक परिणामलाई आधार मान्ने हो भने नेपाली नागरिक कुनै राजनीतिक दलविशेषको
एजेण्डा र नेतृत्वलाई समग्र रूपमा स्वीकार गर्न तयार नरहेको देखिन्छ । यसका
अतिरिक्त, हाल सम्पन्न निर्वाचनले एमाओवादीले आफ्नो राजनीतिक उद्देश्य र तिनलाई
प्राप्त गर्ने प्रकृयाका विषयमा नेपालीलाई ‘कन्भिन्स’ गर्न थप प्रयत्न गर्नुपर्ने
देखिन्छ । तसर्थ, एमाओवादीले भनेझैँ उसको आन्दोलनलाई जनसमर्थन र आम सहानुभूति
प्राप्त हुने गतिलो आधार कहिँ कतै देखिँदैन । बाहुबल र आतङ्कका माध्यमबाट दबाब
सृजना गर्नु अलग्गै कुरा हो ।
राजनीतिमा तर्क र
प्रमाणहरूको महत्त्व नहुने हेन, तर जनताको अभिमत त्योभन्दा महत्त्वपूर्ण हुन्छ जसको
परिक्षण गर्ने एउटै माध्यम निर्वाचन हो । एमाओवादी मंसिर ४ गतेको निर्वाचनको
परिणाम गन्न थालुन्जेलसम्म मुलुकको सबैभन्दा शक्तिशाली पार्टी थियो । तर आज
परिस्थिति फेरिएको छ । तथ्य जेसुकै भए पनि सत्य यो हो कि माओवादीले जनमत गुमाएको छ
। जनताको अभिमतबिना उसले गर्ने भनेको सङ्घर्ष पनि कोरा आतङ्कमात्र हुनेछ ।
एमाओवादीका लागि जनमतलाई सम्मान गरेर आत्मसमिक्षासहित आफूलाई परिमार्जन गर्नुको
विकल्प छैन ।
No comments:
Post a Comment