'एक युगमा एकदिन आउने' भनेर
प्रचार गरिएको संविधानसभाको निर्वाचन ५ वर्ष नबित्दै नेपालमा दोस्रोपटक आउन लागेको
छ । यदि सरकार र ६ राजनीतिक दलहरूले ठोकुवा गरेझैँ मंसिर ४ मा निर्वाचन भइहाल्यो
भने नेपालीहरूले बहुप्रतिक्षित संविधानसभाका लागि दोस्रोपटक भोट खसाउने अवसर
पाउनेछन् ।
निर्वाचन गराउँछौँ
भन्नेहरूले सार्वजनिक सभामा जतिसुकै किरिया खाएपनि मंसिरमा हुने भनिएको संविधानसभाको
निर्वाचन अनिश्चितता र अविश्वासको घेरामा जेलिएको प्रस्ट छ । पहिलो त साँच्चिकै
तोकिएको मितिमा निर्वाचन हुनेनहुनेमा मानिसहरूमा प्रशस्तै आशङ्का छ । दोस्रो,
संविधानसभाको निर्वाचन भइहाले पनि यसबाट जन्मिने राजनीतिक परिस्थिति स्थीर सरकार
बनाउन र नयाँ संविधान लेख्नमा उपयोगी होला भन्ने कुरामा विश्वास गरिहाल्ने गतिला
आधार देखिँदैनन् ।
निर्वाचनले हटाउला त गतिरोध
?
निर्वाचनको संभावनाका
विषयमा तल चर्चा गरिनेछ । पहिले निर्वाचनपछि हालको राजनीतिक गतिरोध हट्ने/नहट्ने
संभावनालाई हेरौँ ।
विगतको संविधानसभा असफल
हुनुका तीन प्रस्ट र अन्तर्सम्बन्धित कारणहरू थिए । पहिलो थियो संविधान लेखनका
प्रकृयाका लागि आवश्यक वा धान्न सक्नेभन्दा ठूलो आकार । ६०१ सदस्यको अति ठूलो सभा
व्यवस्थित वा प्रभावकारी हुनसक्ने कुनै संभावना थिएन । समावेशिताका नाममा
अनावश्यकरूपमा ठूलो बनाइएको संविधानसभाको आकार नै विगतको संविधानसभाको असफलताको
बिउ बन्यो ।
असफलताको अर्को कारण थियो
संविधानसभा र व्यवस्थापिका संसदबीच स्पष्ट कार्यविभाजन हुननसक्नु –जसलाई कुनै दलले
स्पष्ट बहुमत नपाएको परिस्थितिले मलजल गर्यो । यही परिस्थितिका कारण सबै
संविधानसभाका सदस्यहरू सरकार बनाउने (र गिराउने) अनि सत्तामा आफ्नो भाग खोज्ने
खेलमा संलग्न भए । उनीहरूको ध्यान संविधान लेखनमा नभएर सरकारका दैनिक कामकाज र
त्यससँग जोडिएका लाभमा केन्द्रित भए । संविधान लेखनले कम प्राथमिकता पायो ।
संविधानसभाको असफलताको
तेस्रो प्रमुख कारण थियो भावी संविधानका अन्तर्वस्तुमा दलहरूबीच रहेको मतभिन्नता ।
यसको निर्क्यौल ६०१ को सभाले गर्नसक्ने थिएन –बरु उच्च राजनीतिक तहमा मूल विषयमा
ठोस र प्रभावकारी सहमति वा लेनदेन हुन आवश्यक थियो । त्यसो हुनसकेन । सबै
जिम्मेवारी जम्बो संविधानसभालाई छोडेर दलहरू सरकार बनाउने र बन्न नदिने खेलमा
संलग्न भएकाले संविधानका अन्तर्वस्तुमा साझा सहमति कायम हुन सकेन । संविधानसभाको
म्याद सकिने २ हप्ताअघि साझा सहमति निर्माण गर्ने प्रयास सफल हुने संभावना थिएन र
अन्तत: यसको अवसान नै भयो ।
अब प्रश्न उठ्छ -नयाँ
संविधानसभा गठन गर्ने प्रक्रियामा के यी विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गरिएको
छ ? जवाफ प्रस्टै छ –छैन । विगतको संविधानसभा असफल हुने प्रस्ट कारणहरूको सम्बोधन
नै नगरि वा अझ भनौँ तिनै कमजोरीहरूको जगमा गठन गरिएको संविधानसभाबाट मुलुकले निकास
पाउला भनेर कसरी अपेक्षा गर्ने ?
निर्वाचनको संभावना
असामान्य अवस्थाको निर्वाचन
कुनै व्यक्तिको चाहना र बलबाट मात्र संभव हुने कुरा हैन । यो एक राजनीतिक प्रकृया
हो । राजनीतिक प्रकृया भएकाले निर्वाचन 'इन्सेन्टिव' बाट निर्देशित हुन्छ । अर्को
शब्दमा भन्नुपर्दा निर्वाचन जस्तो राजनीतिक प्रकृया सफल हुन संबद्ध राजनीतिक
शक्तिहरूले आफ्नो पक्षमा थोरैमात्र भए पनि सकारात्मक प्रतिफलको संभावना देखेको
हुनुपर्छ । मंसिरमा हुने भनिएको निर्वाचनबाट कुनै राजनीतिक दलले आफ्नो पक्षमा
संभावित सकारात्मक प्रतिफल देखेका छन् भनेर विश्वास गर्ने आधार छैन ।
निर्वाचनका लागि यसका
पक्षधर राजनीतिक दलहरूसँग विशेष 'इन्सेन्टिव' नहुने विभिन्न कारण छन् । पहिलो त
दलहरूसँग आमजनतालाई आफ्नो पक्षमा 'कन्विन्स' गर्ने कुनै बलिया र चित्तबुझ्दा आधार
छैनन् । विगतको संविधानसभाको निर्वाचनपछि बाग्मती नदीमा यति धेरै पानी बगिसकेको छ
कि यसपल्टको निर्वाचनमा संघीय संविधान, गणतन्त्र, शान्तिप्रकृयाको व्यवस्थापन, सुशासन,
दिगो विकास आदि पूराना नाराहरूले मानिसलाई आकर्षित गर्ने कुनै संभावना छैन । नयाँ
नारा सतहमा देखिएका छैनन् ।
दोस्रो, प्रत्येक ठूला
भनिएका राजनीतिक दल तथा मधेशवादी र अन्य नवगठित दलहरू आन्तरिक गुटबन्दी र
अराजकताबाट नराम्ररी जेलिएका कारण कुनै पनि दलको 'बहुमुखी' नेतृत्त्व
निर्वाचनपछिको आफ्नो हैसियत र प्रभावमा आश्वस्त छैन । दलहरूभित्रको आन्तरिक
प्रतिश्पर्धा र खिचातानीबाट चुलिएको अवसरवाद निर्वाचनका लागि चाहिने उर्जाको अवरोध
बनेको छ ।
तेस्रो, विगत ५-७ वर्षयता
राजनीतिक दलमा आएको विचलनका कारण सबै राजनीतिक दलका स्थानीय स्तरका संरचना तहसनहस
भएका छन् । गाउँ, नगर, जिल्ला र क्षेत्रीय स्तरका दलीय संरचना एकातिर आन्तरिक
गुटबन्दीको शिकार भए भने अर्कोतिर स्थानीय तहमा हुने भ्रष्टाचार र गुण्डागर्दीका
अखडाका रूपमा बदनाम । कुनै राजनीतिक दलसँग निर्वाचनमा जानका लागि सशक्त स्थानीय
संगठन छैनन् ।
आज निर्वाचनका जति पनि कारक
तत्व छन ति सबै असामान्य वा अप्राकृतिक धरातलमा उभिएका छन् । उदाहरणका लागि
निर्वाचन किन ? भन्ने प्रश्नको जवाफमा यसका पक्षधरहरूले दिनेगरेका तर्कलाई हेरौँ ।
उनीहरूले भन्नेगरेका छन् -निर्वाचन नभए गतिरोध झन् लम्बिन्छ । त्यसैगरि, निर्वाचन
भएन भने अन्तर्राष्ट्रिय समुदायको आलोचना र असहयोग खेप्नुपर्ने भयो भन्ने अर्को
प्रमुख तर्क छ । यिनै दुई कमजोर आधारबाट निर्देशित भएर नेपालमा निकट भविष्यमा
संविधानसभाको निर्वाचन होला भन्ने कुरा पत्याउन गार्हो छ । 'निर्वाचन भए
हुन्थ्यो' भन्ने आग्रह राख्नु छुट्टै कुरा हो ।
अन्त्यमा,
निर्वाचन भइहालेमा यसबाट
निर्माण हुने नयाँ राजनीतिक परिस्थितिले केही न केही नयाँ संभावना पक्कै ल्याउला ।
तर, विगतको संविधानसभाको गठनपछि नेपालको राजनीतिक परिवेष यति विकृत र जटिल बनेको छ
कि निर्वाचनबाट प्राप्त जनादेश नयाँ संविधान र राजनीतिक स्थीरताका लागि उपयोगी
हुने संभावना कमै देखिन्छ ।
अहिलेको परिस्थितिमा न त
नयाँ संविधानसभाको निर्वाचनले ठोस निकास देला भनेर विश्वास गर्ने गतिलो आधार छ न त
निर्वाचन नहुँदाको शून्यताको व्यवस्थापन गर्ने कुनै सहज उपाय । विगतको विकृत राजनीतिक
अभ्यास र त्यसबाट उत्पन्न जटिल परिस्थितिका कारण निर्वाचनका पक्षधर राजनीतिक दल र
यसका विपक्षीहरूसँग आममानिसले पत्याउने खालका राजनीतिक निकासका कुनै चित्तबुझ्दा
आधार नै छैनन् । तसर्थ, नेपालीहरूका लागि कुनै 'ब्रेकथ्रु'को अपेक्षा गर्ने वा
राजनीतिक परिदृष्य सङ्लो हुन्ज्याल प्रतिक्षा गर्नेबाहेक अर्को कुनै ठोस संभावना
तत्कालका लागि देखिँदैन ।
यो विश्लेषणलाई निराशावदी दृष्टिकोण मान्ने या वर्तमानको नमीठो यथार्थ –यो जिम्मा पाठकको ।
यो विश्लेषणलाई निराशावदी दृष्टिकोण मान्ने या वर्तमानको नमीठो यथार्थ –यो जिम्मा पाठकको ।
No comments:
Post a Comment