Bluesky

@sanpokh.bsky.social

Monday, November 3, 2025

हिमालयन बैंकको बदमासी र नेपालको कर्म संस्कृति

नेपालमा कामकाजको संस्कृति कस्तो छ ? मलाई लाग्छ यो विषयमा गहिरो आत्ममूल्यांकन जरुरी छ ।

सरकारी सेवाको त कुरै नगरौँ ! नेपाल सरकारका कुनै अफिसमा काम विशेषका लागि जानु छ भने कि त्यो ठाउँमा चिनजानको मानिस को छ भनेर पहिला सोधखोज गर्नुपर्छ कि पैसाको बिटो बोकेर जानुपर्छ । होइन भने सरकारी कर्मचारीले सजिलो कामलाई पनि जटिल बनाएर, फनफन घुमाउँछन् अनि हप्काएर, धम्क्याएर १०४ डिग्रीको ज्वरो निकालिदिन्छन् ।

सरकारीबाहेक निजी क्षेत्रका सेवा प्रदायकको काम गर्ने संस्कृति कस्तो छ नि ? आज म नेपालको ठुला र क वर्गका बैंकहरूमा पर्ने हिमालयन बैंकको सेवा प्रवाहको एउटा उदाहरण दिँदैछु । तर, त्यसमा जानु अघि काम गर्ने आम संस्कृितको कुरा गरौँ ।

समयको सम्मान नगर्ने कुरा त नेपालका लागि सामान्य नै हो । समयमा भनेको ठाउँमा नपुग्ने, सिध्याउँछु भनेको काम नसिध्याउने, डेडलाइन आफ्नो मनखुशी पर सार्ने कुरा नेपालका आम प्रवृत्ति हुन् । अरूलाई सेवा प्रदान गर्ने भूमिका निभाइरहेका मानिसहरू यी सबै काम निर्धक्क, निसङ्कोच र बिना पछुतो गरिरहेका हुन्छन् ।

मलाई लाग्छ नेपालमा व्याप्त कामकाजी संस्कृतिको अर्को खराब पक्ष आफ्नो वाचा वा वचनको सम्मान नगर्ने पनि हो । हचुवामा गरौंला, सिध्याउँला, सकौँला, भनौँला भनिहाल्ने, भनेपछि प्रतिवद्धता पूरा नगर्ने र भनेअनुसार काम नहुँदा क्षमा नमाग्ने प्रवृत्ति नेपालमा सामान्य हो । प्रतिवद्धता दिने बेलामा ‘हुन्छ’, ‘भइहाल्छ नि’, ‘पक्का’ भन्नेहरूले समय आएपछि भ्याइनँ, सकिनँ, बिर्सेँछु, पछि आउनुस् भन्ने नेपालको स्वीकार्य चलन हो ।

नेपालको कर्म संस्कृतिको अर्को खराब पक्ष 'नेपाल त हो नि', ‘भइहाल्छ नि’, ‘के हुन्छ र ?’ ‘चलिहाल्छ नि !’ भन्ने 'गोर्खे' प्रवृत्ति पनि हो ।

बाटोको डिजाइन गडबड भयो ? थोरै बाङ्गो हुँदा के हुन्छ त ? पाइन्ट मोडिफाइ गर्दा काट्नुपर्ने भन्दा बढी काटियो ? अलिकति छोटो त हो नि, मिलिहाल्छ नि ! रेस्टोराँको खानेकुरा नमिठो भयो ? सेफ बिदामा छ, आज अरू केटाहरूले पकाको त्यसैले ! ट्याक्सी फोहोर छ त ! नेपाल हो, यत्तिको चलिहाल्छ नि !

यो नेपाल हो र यहाँ कमसल, खराब, गुणस्तरहीन काम, वस्तु सेवाले काम चल्छ भन्ने चिन्तन आम मानिसमा कडा रूपमा हाबी छ ।

एउटा गजबको उदाहरण हेरौँ । नेपालका बैंकहरू सेवा प्रवाहमा कमजोर रहेको कुरा नयाँ होइन । उदाहरणका लागि एटिएम मसिन नचल्ने, सामान्य सेवा लिन (जस्तै, एटिएम कार्ड, अनलाइन बैंकिङ् आदि) पनि अनेक झन्झट र वाहियात औपचारिकता पुरा गर्नुपर्ने, सार्वजनिक विदा भनेर छोटो सूचनामा बैंक बन्द गर्ने त सामान्य कुरा हुन् ।

आज मैले दिन लागिरहेको एउटा उदाहरण हिमालयन बैंकको विगत १५ दिनदेखि बन्द रहेको अनलाइन सेवाको हो ।

हिमालयन बैंकले केही साताअघि आफ्नो वेबसाइटमा यसो भनेर सूचना निकालेको थियो -यस बैंकको अनलाइन बैंकिंग प्रणाली ‘अपग्रेड’ गर्नुपर्ने भएकाले कार्तिक ३ गतेदेखि कार्तिक १० गतेसम्म बैंकिङ् सेवा बन्द रहनेछ ।

बैंकहरूले आफ्नो अनलाइन प्रणालीलाई बेलाबेलामा 'मेन्टेनेन्स' गर्छन् । यसका लागि अनलाइन सेवा बन्द पनि हुन्छ । तर, यसरी बन्द गरिने अवधि केही घण्टाभन्दा बढी हुँदैन । बैंकहरूले अनलाइन सेवा बन्द गर्दा पहिले नै सूचना दिएर कम प्रयोग हुने समय पारेर केही घण्टाका लागि बन्द गर्छन् ता कि ग्राहकलाई असुविधा नहोस् ।

तर, हिमालयन बैंकले समग्र सेवा ७ दिनका लागि ड्याम्मै बन्द गर्ने निर्णय गर्‍यो र कस्तो बेलामा बन्द गर्‍यो भने जुन बेला तिहार र छठ पर्व थिए । यस्तो बेला पैसा ट्रान्सफर गर्न तथा अन्य प्रयोजनका लागि अनलाइन बैंकिंङ् चलाउने काम अरू बेला भन्दा बढि पर्छ भन्ने कुरा अति साधारण ज्ञान हो । चाडबाड नभए पनि आजभोलि बैंकिङ् सेवालाई धेरैजसो इन्टरनेटमार्फत चलाइन्छ र हप्तौंसम्म यस्तो सेवा बन्द हुँदा अत्यन्तै अप्ठेरो हुन्छ ।

हिमालयन बैंकका हाकिमहरूले सोचे होला –‘एक हप्ता त बन्द हो नि ? काम पर्दा बैंक खुलेका दिन बैंक गएर पैसा पठाए भैहाल्छ नि ! चाडपर्व मनाउन सबै व्यस्त हुन्छन्, कसले बैंकको साइटमा लगइन गर्छ र !? नेपाल हो, चलिहाल्छ नि !’ त्यसैले, उनीहरूले निसङ्कोच अनलाइन सेवा एक हप्ता बन्द गर्ने निर्णय गरे ।

कुरा यत्तिमा टुङ्गिदैन । 

कार्तिक ३ गतेदेखि १० गतेसम्म एक हप्ताका लागि बन्द भनेको अनलाइन सेवा आज यो ब्लग लेख्दा कार्तिक १७ गतेको बिहानसम्म बन्द छ ! बैंकले आफ्नो सोफ्टवेअर अहिलेसम्म अपग्रेड गर्न सकेको छैन, तर ग्राहकलाई दिने टर्रो सूचना भने अपग्रेड गरेको छ ।

हिमालयन बैंकको यस्तो बिल्कुल गैरजिम्मेवार काम नेपालको ‘गोर्खे’ संस्कृतिको एउटा जबरदस्त उदाहरण हो जसमा सेवा प्रदायकले आफ्नो असक्षमता तथा सेवाको गुणस्तरहीनताप्रति कसैलाई जवाफ दिनु पर्दैन । उल्टै धाकधक्कु लगाएर ठुलो पल्टिन पनि पाइन्छ -जसरी हिमालयन बैंकले आफ्नो माथिको सूचनामा गरेको छ । यो सूचना पढ्दा यस्तो लाग्छ  बैंकको अनलाइन सेवा विगत १५ दिनदेखि बन्द हुनु सामान्य कुरा हो । यसमा बैंकले क्षमा याचना गर्नु पर्दैन -बरु ग्राहकले थप सतर्क हुनुपर्छ । 

'सस्पिसस् गतिविधि देखियो भने रिपोर्ट गर्नुहोस्, हामी काम गर्दैछौँ, कहिले सकिन्छ थाह छैन' -बैंकको ताजा सूचनाले यही भन्छ ।

अचम्मको कुरा के छ भने नेपालको एउटा ठूलो बैंकको महत्त्वपूर्ण सेवा हप्तौँदेखि नचल्दा यसबारेमा कतै चर्चा सुनिएको छैन । सञ्चारमाध्यममा यसबारे कुनै सूचना छैन । यस्तो लाग्छ -यो कुरा सामान्य हो ।

अनलाइन बैंकिङ् संसारका सम्भवतः सबै बैंकहरूको आधारभूत सेवा हो । आजभोलि प्राय सबै कारोबार अनलाइन हुने गर्छन् । यसलाई ठिक हालतमा राख्ने काम कुनै नयाँ र जटिल काम होइन -लाखौँ बैंकहरूले नियमित रूपमा गरिरहेको काम हो । 

अनलाइन बैंकिङ् ठिक हालतमा राख्ने सामान्य काम हिमालयन बैंकले  गर्न सक्दैन भने यसले ग्राहकहरूको पैसा र तथ्याङ्कको सुरक्षा कसरी गर्ला ? अन्य सेवा प्रभावकारी रूपमा कसरी देला ? यसको आन्तरिक, सांगठनिक संरचना कति प्रभावकारी होला ?! यी सबै विषय शंकाको घेरामा छन् ।

यो नेपाल हो, यतिको चलिहाल्छ नि ! होइन त हिमालयन बैंक ?


अपडेटः

कार्तिक ३ गतेदेखि १० गतेसम्म नचल्ने भनेको अनलाइन बैंकिङ् र मोबाइल एप आज कार्तिक २१ गते (नोभेम्बर ७ तारिक)सम्म बन्द छ र कहिले खुल्ने थाह छैन । तलका स्क्रिनशटहरू हेर्नुहोस् !





Monday, October 27, 2025

नेपाली राज्य र समाजको वर्तमान अवस्था

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले नेपालका कमजोरी (भल्नरेबिलिटी)लाई उदाङ्गो बनाइदिएको मात्र छैन, भल्नरेबलिटीलाई बढाइदिएको छ । मलाई लाग्छ वर्तमान नेपालको जटिल राजनीतिक संकटलाई प्रभावकारी रूपमा निरुपण गर्न चाहिने क्षमता नेपाली समाजसँग छैन । एउटा झिनो आशा के भने भल्नरेबिलिटीलाई राम्रोसँग बुझ्न सके जसोतसो देश र समाजको प्राण बचाउन सकिनेछ । अन्यथा, नेपाल भयानक हिंसात्मक द्वन्द्वमा फस्ने खतरा छ ।

आजको लेखाइ मेरा ब्लगका नियमित पाठकका लागि मात्र । लेखको सुरुआतमा जेनजी विद्रोहका बारेमा हाल भइरहेका टिकाटिप्पणीमाथि आफ्ना दृष्टिकोण राख्नेछु । दोस्रो खण्डमा राज्यको क्षयीकरण, सोसल मिडियाको दुरुपयोग र नागरिक-राज्यबिचको सम्बन्धबारे छोटो चर्चा गर्नेछु ।

Monday, October 13, 2025

Has China Won?


के चीनले अमेरिकालाई जितिसक्यो ? के निकट भविष्यमा चीन अमेरिकाभन्दा बढी समृद्धि हासिल गरेर संसारको नम्बर एक देश बन्न गइरहेको छ ? यी प्रश्न आजको विश्वमा धेरै सोधिने र छलफल गरिने विषय हुन् । सिंगापुरका पूर्वकूटनीतिज्ञ तथा प्राध्यापक किशोर मेहबुबानीको पाँच वर्षअघि प्रकाशित ‘ह्याज चाइना वन ?’ नामको पुस्तक यिनै प्रश्नमा केन्द्रित छ ।

Tuesday, October 7, 2025

चुनाव मितिको भ्रम र प्रत्यक्ष निर्वाचित कार्यकारीको रहर

दशैंको रमझम सकिएको छ । बर्खा मौसमले ल्याएको बाढी-पहिरोको आतङ्क कम हुँदैछ । आगामी दिनमा आकास क्रमशः सफा हुँदै जाला । अब आउने यी घमाइला दिन र हिउँदको चिसो मौसम नेपालका लागि कठिन परीक्षा लिएर आउनेछन् । एक जटिल राजनीतिक सङ्क्रमण छिचोल्दै नयाँ संसद् र सरकारको निर्माणको बाटोमा अब नेपाल अघि बढ्नु पर्नेछ ।

आजको लेखमा नेपालको यही राजनीतिक संक्रमणसँग जोडिएका पाँच सन्दर्भमा आफ्ना टिप्पणी प्रस्तुत गर्नेछु ।

Monday, September 22, 2025

Five Assumptions Every Nepalese (especially Gen Z) Needs to Question and Reflect On

I was in Kathmandu for a few days in the aftermath of the Gen Z protests. During this sojourn, I had the opportunity to speak with some friends, which helped me understand the nature of current public debates about the future of Nepal. I observed a mixed feeling of optimism and caution among the people I talked with. While I am positive about the political change that the protests have brought about, I think Nepal (especially the Gen Z) needs to examine certain assumptions more seriously. In the following, I present a list of assumptions and my views on them. In my opinion, these assumptions need more in-depth debates/discussions.

Sunday, September 14, 2025

सत्य भ्रम हो, त्यसैले आफूलाई लागेका कुरा

यो लेखमा म नेपाल र नेपालीको बौद्धिक विश्लेषण गर्न गइरहेको छैन । सत्यसम्म पुग्न भनेर उपयोग गरिने बौद्धिकता पनि भ्रम हो । मानिस मूलतः मनोवेगबाट निर्देशित हुन्छ । सत्य, तथ्य, तार्किकता आदि कुरा त्यही मनोवेग (इमोशन, प्यासन, आदि)लाई लिपपोत गरेर टल्काउने औंजार हुन् । 

यस लेखमार्फत् म जे भन्न गइरहेको छु -ती पनि सबै मेरा नितान्त भावनात्मक कुरा मात्र हुन् ।

Friday, September 12, 2025

यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने?

विगत एक दशकयता नेपाल सुशासनमा निरन्तर कमजोर भइरहेको र असन्तुष्टि चुलिँदै गएको कुरा आफ्ना लेखहरूमा मैले बारम्बार उठाइरहेको थिएँ।

असन्तुष्टिको विस्फोट कुनै दिन हुन सक्छ भनेर अनुमान गर्न गाह्रो थिएन। म र मजस्ता सर्वसाधारणले सहजै बुझेको यस्तो यथार्थ राजनीतिक दलका अहंकारी नेताहरूले बुझ्न सकेनन् वा चाहेनन्। असन्तुष्टिको भयानक बिस्फोट जेन–जीको आन्दोलबाट देखिएको छ। यस क्रममा भएको जनधनको क्षतिले नेपालका अन्तहीन जटिलतामाथि अर्को भयंकर जटिलता थपिदिएको छ।