Bluesky

@sanpokh.bsky.social

Tuesday, March 11, 2025

देशको हाल खराब छ -स्वीकार गर !

विगत केही समयदेखि मेरो बुझाइ के रहेको छ भने नेपालको समग्र ‘स्वास्थ’ ठीक चलिरहेको छैन । यसअघिको ब्लगमा अमीत ढकालको लेखको चर्चा गर्ने क्रममा पनि मैले यही दृष्टिकोण प्रस्तुत गरेको थिएँ । आज यसैमाथि केही पूरक विचारहरू राख्दैछु ।

१.  Nepal is in stagnation. ०४६ को राजनीतिक परिवर्तनपछि अर्थतन्त्र मजबुत बनाउने र मानव विकासका क्षेत्रमा नेपालले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो । लोकतन्त्रको आगमनपछि राज्य संरचनालाई गतिशील बनाउन उल्लेख्य सुधारका प्रयास भएका हुन् जसको परिणाम अहिलेसम्म देख्न सकिन्छ । तर, विगत २ दशकयता सुधारको गति लगभग रोकिएको छ । अहिले नेपाल दिशाहीन, गतिहीन र मूल्यमान्यताहीन अवस्थामा चलिरहेको छ । सकारात्मक परिवर्तनको गति ठप्प छ, बरु राज्यका संस्था र प्रणालीहरू थप कमजोर र विकृत बनेका छन् । यसका लागि कुनै उदाहरणको आवश्यकता छैन -आम मानिसले देशको अवस्था खराब रहेको र यही अवस्थामा सुधारको कुनै सम्भावना नरहेको प्रत्यक्ष अनुभव गरिरहेका छन् । समग्रमा नेपालको अवस्था सन्तोषजनक छैन ।

२. Who is to blame? नेपालको अवस्था किन र कसरी यस्तो भयो भन्नेमा फरक-फरक समूहका फरक-फरक दृष्टिकोण छन् । राजावादीहरू नारायणहिटीमा राजा नभएर नेपाल बिग्रेको भन्ने सजिलो तर्कमा रमाएका छन् । कांग्रेस-एमालेको समूह माओवादी विद्रोहका कारण देश राजनीतिक विकृतिको चक्रमा फसेको विश्वासमा छ । माओवादी शब्दमा मात्र भए पनि आमूल र क्रान्तिकारी परिवर्तन नभएर देशको अवस्था खराब भएको भनिरहेको छ । आत्मरतिका लागि यी सबै दृष्टिकोण उपयोगी होलान् । यद्यपि, नेपालको अवस्था खराब हुनुको प्रमुख कारण कांग्रेस, एमाले र माओवादीका सीमित नेतामा रहेको असीमित सत्तालिप्सा हो । विगत दुई दशकदेखि पालैपालो सरकारको नेतृत्व गरिरहेका यी पार्टीका शीर्ष भनिने वयोवृद्ध नेताको अकर्मण्यता र अराजनीतिक चरित्रले नेपाललाई आज यो अवस्थामा पुर्‍याएको हो । आजको नेपाल गतिहिन र उद्देश्यहीन हुनुको प्रमुख कारण यही हो, भलै नेतृत्त्वको अकर्मण्यताका पनि अनेक संरचनागत वा सामाजिक-आर्थिक कारण छन् ।

३. Acknowledge the obvious. राजनीतिक पार्टीमा रहेका र तुलनात्मक रूपमा विवेकशील मानिएका केही मानिसहरू अहिलेको समीकरण जोगाउनका लागि भए पनि चाहेर-नचाहेर देशको अवस्था खराब नरहेको र यही सरकारबाट सुधारको सम्भावना रहेको भनेर कसैले पनि नपत्याउने कुरा गरिरहेका छन् । यथार्थलाई स्वीकार नगरी यस्ता आलटाले कुरा गर्नु तत्कालका लागि लाभदायक होला, तर यसबाट कसैलाई दीर्घकालीन लाभ छैन । मलाई लाग्छ यस्तो रणनीतिले देशको स्वास्थमा थप क्षति पुर्‍याउने छ । यति तीब्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेषमा नेपाल देश ओली, देउवा वा प्रचण्ड जस्ता अकर्मण्य र असफल प्रमाणित भएका मानिसहरूको चङ्गुलमा फसिरहनु भनेको सङ्कटको गहिराइ बढ्दै जानु हो । यसलाई स्वीकार गर्न जति ढिलो गर्‍यो देशले त्यति नै बढी क्षति बेहोर्नुपर्ने छ ।

४. Consider possible outcomes of inaction. नेपालको राजनीतिमा मुख्य भूमिका खेलिरहेका ठूला राजनीतिक दल असफल सिद्ध भइसकेका केही मानिसको चङ्गुलमा फसेको अवस्थालाई लिएर मानिसहरूमा यतिबेला तीब्र आक्रोश छ । धरानका मेयर, काठमाडौंका मेयर, रास्वपा आदि यही आक्रोशका विभिन्न प्रकारका अभिव्यक्ति हुन् । मानिसहरूको निराशा र आक्रोशले गलत बाटो समाउन थालेको र यस आगोमा केही धुर्त छिमेकी पनि रोटी सेक्न खोजीरहेको प्रस्ट संकेत देखिएका छन् । राजनीतिक पार्टीभित्र बुद्धि र विवेक हुने मानिसहरूले के बुझ्नुपर्‍यो भने आम आक्रोश चुलिँदै गएपछि यसबाट निस्किने परिणाम देशका लागि त खराब हुने नै छ -उनीहरूको राजनीतिक करिअरका लागि पनि यसको प्रभाव नराम्रो पर्नेछ । तत्कालका लागि राजनीतिक फाइदाका लागि ओली र देउवाका बिच पालैपालो प्रधानमन्त्री बन्नका लागि भएको सहमति जोगाउन खोज्दा देश र समग्र प्रणाली नै खारेज हुने सम्भावनाको गम्भीरतालाई बुझ्नुपर्‍यो । आक्रोशको फाइदा गलत पात्र र प्रवृत्तिले लिनुअघि विवेकशील मानिसहरूले सकारात्मक सक्रियता देखाउनुपर्‍यो ।

५. Younger generation should take the lead. यो बुँदालाई व्याख्या गर्न मलाई नै असहज भइरहेको छ किनकि ठूला पार्टीमा रहेका तुलनात्मक रूपमा ‘कम वृद्ध’हरूको क्षमता र प्रवृत्ति हेर्दा सन्तोष मान्ने ठाउँ धेरै देखिन्न । तर, राजाले देश बनाइदिन्छन् भन्ने बुझाइभन्दा थोरै माथि उठ्ने हो भने राजनीतिक पार्टीबाहेक अर्को विकल्प छैन । त्यसैले, भएका राजनीतिक पार्टीका दोस्रो वा तेस्रो पुस्ताका नेताहरूले राजनीतिक पार्टी सुधार र देशको अवस्थामा सुधारका लागि ठोस पहल लिन आवश्यक छ । यो मात्र नेपालका लागि बाँकी रहेको एउटा विकल्प हो । यसको सुरुआत तबमात्र हुनसक्छ  जब उनीहरूले प्रस्ट रूपमा भन्न थाल्नेछन् –“अब अति भयो, यो म्युजिकल चेअरको खेललाई अन्त गरौँ, वृद्धहरूलाई आराम गर्न दिऔँ र देशका समस्या र चुनौतीहरूप्रति गम्भीर भएर ठोस सुधारका लागि काम गरौँ ।"

No comments:

Post a Comment