Bluesky

@sanpokh.bsky.social

Sunday, February 9, 2025

आफ्नो देश, अर्काको देश

“आफ्नो देशमा आउन भिसा (भिजा?) चाहिने नियम त्रुटीपूर्ण छ ।” यो भनाइ हो गैरआवासीय संघका अध्यक्ष बद्री केसीको । गैरआवासीय नेपालीलाई १० वर्षका लागि निशुल्क भिजा दिने कानुनका सन्दर्भमा उनीसँगको अन्तर्वार्ता सेतोपाटीमा प्रकाशित छ

यही प्रसङ्गमा मेरा केही टिप्पणी आज राख्दैछु ।

बद्री केसीको परिभाषामा एउटा देश ‘आफ्नो’ वा ‘अर्काको’ कसरी हुन्छ मैले राम्रोसँग बुझेको छैन -किनकि म सिधा कुरा सिधा ढङ्गले मात्र बुझ्न सक्छु । मैले बुझेको सिधा कुरा के हो भने व्यक्ति र देशको सम्बन्ध जोड्ने आधार नागरिकता हो । राहदानी, सामाजिक सुरक्षा नम्बर, राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रमाणपत्र आदिले एउटा मानिस कुन देशको नागरिक हो भनेर प्रस्ट पार्छन् ।

द्वैध नागरिकता मान्य नहुने कानुन भएको नेपालमा एउटा व्यक्ति कि त नेपाली नागरिक हुन्छ कि विदेशी नागरिक हुन्छ । यदि विदेशी नागरिक हो भने नेपाल आउँदा यतैको कानुन अनुसार भिजा, भ्रमण स्वीकृति वा अन्य प्रक्रिया पुरा गर्नुपर्‍यो र तोकिएको शुल्क तिर्नुपर्‍यो । मैले बुझेको सिधा कुरा यही हो ।

कुनै अमुक देशका नागरिकलाई नेपाल आउँदा भिजा शुल्क लिनु पर्छ कि पर्दैन वा भिजा नै लिन वाध्यात्मक व्यवस्था बनाइनु पर्छ कि पर्दैन भन्ने बारेमा मेरो कुनै राय छैन । यसमा मलाई चासो पनि छैन । यो लेखको अभिप्राय भिजा कसलाई अनिवार्य बनाउने वा शुल्क कति तोक्ने वा लिँदै नलिने भन्ने कानुनको चर्चा गर्ने होइन ।

यो लेखको तात्पर्य नेपाली हुनु (वा आफूलाई नेपाली ठान्नु) र नेपाली नागरिक हुनु अलग कुरा हुन् भनेर देखाउने हो ।

एउटा मानिस यदि गैर आवासीय नेपाली संघजस्तो संसारभर सञ्जाल भएको संगठनको नेतृत्व गर्छ भने उसले देश र नागरिकताको परिभाषा प्रस्ट बुझेको हुनुपर्छ । नेपालबाट अन्यत्र गएर त्यतैको नागरिक भएर बसेका मानिस सांस्कृतिक, भाषिक वा मनोवैज्ञानिक रूपमा नेपाली हुनसक्लान् तर उनीहरू नेपाली नागरिक होइनन् । यस्ता मानिसहरूमध्ये कतिलाई नेपाली नागरिकका रूपमा मान्यता वा विशेष सुविधा पाउने चासो वा रहर पनि नहोला ।

तर, कुनै औचित्य र आवश्यकता नभएको गैरआवासीय नेपाली संघलाई राजनीति गर्न र संगठित हुन विभिन्न मुद्दा चाहिएको छ । नेपालका नेतालाई चुनाव लड्न पैसा र विदेश जाँदा मानमनितो र निशुल्क खानबस्न जोहो गरिदिने यो संस्था अस्तित्वमा छ र हामीले उनीहरूका अन्टसन्ट कुरा सुनिदिनु पर्छ । विदेशी नागरिक सांस्कृतिक रूपमा नेपाली भएकै कारण भिजा नचाहिने प्रबन्धको माग यस्तै अर्को अन्टसन्ट कुरा हो ।

अन्तर्राष्ट्रिय कानुन र तिनका अभ्यासमा आधारभूत रूपमा स्थापित कुरा के हो भने मानिसको जन्मस्थान ऊ त्यस ठाउँको नागरिक भएको वा सधैं रहिरहने आधार होइन । भाषा, धर्म, संस्कृति, परम्परा आदि नागरिकताको कानुन वा औपचारिकतासँग जोडिँदैनन् । नेपाली बोल्नु र नेपाली नागरिक हुनु एउटै कुरा होइन । नेपाल देशलाई माया गर्नु र नेपाली नागरिक हुनु पनि फरक कुरा हुन् । न त नेपाली नागरिक हुँदैमा नेपालमाथि भक्तिभाव राख्नुपर्छ भन्ने वाध्यता छ ।

भुटान, भारत वा अन्य देशमा नेपाली भाषी समुदाय स्थायी रूपमा बसोबास गरिरहेका छन् । हालसम्म आप्रवासी भएर बसिरहेका बाहेक ती नेपाली नागरिक होइनन् । नेपाललाई माया गर्ने र यसको प्राकृतिक वा सांस्कृतिक वातावारणमा रमाउने मानिस संसारभर छन् । नेपालमा विदेशी वा नेपाली नागरिक दुवै थरीले सन्तान जन्माउन पाउँछन् । नेपालको कानुनअनुसार नेपालमा स्थायी बसोवास गर्ने र नेपालको नागरिकता चाहने व्यक्तिले देशको नागरिकता पाउँछ ।

नेपाल छोडेर अन्य देशको नागरिकता लिएर बसेका नेपालीले नेपाललाई 'आफ्नो देश' र आफू बसिरहेको देशलाई 'अर्काको देश' भन्नु दुखद् पनि लाग्छ मलाई । यसले नेपालीहरू नेपालबाहिर सांस्कृतिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक रूपमा सहज रूपमा समायोजन हुन नसकेको दर्शाउँछ । आफ्नो रुचि, आवश्यकता वा सहजताका लागि नेपाल छोड्ने र विदेशी नागरिकता लिने तर नेपाललाई ‘आफ्नो देश’ भनिरहनु पर्ने अवस्था वास्तवमा दुखद् हो । गैर आवासीय नेपाली संघले यदि कुनै सार्थक काम गर्न चाहन्छ भने यसबारे बहस चलाउने र मानिसहरूलाई यस्तो मानसिकता त्याग्न प्रेरणा दिन कार्यक्रम चलाउनु पर्छ ।

औसत र विशेष गरी पूरानो पुस्ताका नेपालीहरू संसारको विभिन्न देशमा बसे पनि आफूलाई आधारभूत रूपमा नेपाली नागरिक किन ठान्छन् ? युट्युबका भिडियो हेरेर केपी ओली वा गगन थापालाई गाली गरेर किन दिन कटाउँछन् ? अमेरिका, युरोप बस्ने नेपालीहरू ती देशका अन्य नागरिकसँगभन्दा बढी नेपालीहरूसँग नै किन हेलमेल गर्छन् ? सम्बन्धित देशको भाषा र रहनसहनमा अभ्यस्त हुन किन रुचि देखाउँदैनन् ? आफू जहाँ बसेको छ त्यो ठाउँको खाने कुरालाई आफ्नो भान्छामा नियमित रूपमा किन भित्र्याउँदैनन् ?

हुन त यो नेपालीहरूको मात्र विशेषता अवश्य होइन । तर, नेपालबाहिर बस्ने नेपालीहरूको दैनिक जीवन नियाल्दा social-cultural integration मा ठूलो समस्या रहेको पाउँछु । यस बारेमा विचार र छलफल गर्न आवश्यक छ ।

मलाई के लाग्छ भने राष्ट्र र नागरिकताका बारेमा नेपालमा प्रचलित बुझाइ र मान्यता भ्रामक र अनावश्यक रूपमा संवेदनशील छ । कुनै देशको नागरिक हुनु सहजता, रुचि, प्राथमिकता आदि विभिन्न आधारमा निर्माण भएको परिस्थितिबाट तय हुने कुरा हो । यसलाई स्वभाविक ढङ्गले बुझ्न आवश्यक छ । नेपालमा जन्मेको वा नेपाली नागरिक भएको व्यक्ति नेपाली नागरिक रहिरहँदा असल, आदर्श, पवित्र रहने वा श्रीलंकाको नागरिक हुँदा बेइमान, खराब, धोखेबाज हुने होइन ।

देश र नागरिकबिचको सम्बन्धलाई भावनात्मक बनाउने प्राय सबै राष्ट्रमा चलेको साझा चलन हो । देश महान हो, यसप्रति भक्तिभाव राख्नुपर्छ, यसको सुरक्षाका लागि ज्यान दिनुपर्छ भनेर राष्ट्र र सरकारहरूले सिकाइरहेका हुन्छन् । आजको विश्व र यसका उतार चढाव देखेको सचेत नागरिकले यो प्रशिक्षणमा निहित भ्रम बुझ्न आवश्यक छ । यथार्थ के हो भने -संसारका हरेक देश 'महान' हुन् । हरेक देशका मानिसले आफ्नो देशलाई सुन्दर, भव्य, विशेष मानिरहेका हुन्छन् । देशको महानता यथार्थ होइन, विश्वास हो ।

नागरिक देश विशेषको दास हुन मरिहत्ते गर्नु रद्दी मानसिकता हो । नागरिक देश वा सरकारका लागि आयस्रोत र औचित्य पुष्टि गर्ने आधार दुवै हो । देश नभए पनि व्यक्ति रहन्छ, तर व्यक्ति नभए देशको अस्तित्व रहन्न ।

मूल कुरातर्फ फर्किउँ है -नेपालको नागरिकता त्यागेर नेपालबाहिर बस्ने नेपालीभाषीहरूले सर्वप्रथम आफू नेपाली नागरिक नभएको कुरा स्वीकार गर्नुपर्‍यो । यसो गर्न सके उनीहरूको आफू वर्तमानमा नागरिक भएको देशसँगको आवद्धता सहज हुनसक्छ र नेपालसँगको आफ्नो सम्बन्धका बारेमा बुझाइ पनि सरल हुनसक्छ । अब रह्यो नेपाल आउँदा औपचारिक रूपमा अनुमति चाहिने वा नचाहिने कुरा । म त चाहन्छु संसारभर देशका सीमाना र राहदानीको चलन नै खारेज भए हुन्थ्यो । तर, त्यसो नभएसम्म नेपालको कानुनअनुसार विदेशी नागरिकले पूरा गर्नुपर्ने औपचारिकता त सबैले पूरा गर्नैपर्‍यो ।

अन्तमा, अनावश्यक संघसंगठन खोल्ने, त्यसमा सदस्य-अध्यक्ष भएँ भनेर छाति फुलाउने, सार्वजनिक ठाउँमा माइक पाउँदा १ घण्टा अन्टसन्ट बोलेर मानिसको दिमाग खराब गर्ने, औपचारिक कार्यक्रममा स्रोताभन्दा बढीलाई अतिथि बनाएर मञ्चमा बोलाउने, राजनीतिक दलको सदस्य नभइ बाँच्न गार्‍हो हुन्छ भनेर आफूलाई विश्वास दिलाउने आदि नेपालमा चलेका रद्दी चलन हुन् । गैरआवासीय नेपाली संघ यी सबैको एकीकृत प्रतिविम्ब हो जस्तो मलाई लाग्छ ।

No comments:

Post a Comment