डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकामा विगत केही दिनदेखि जे भइरहेको छ त्यो रोचक र त्रासदीपूर्ण दुवै छ । आज यो लेखमा अमेरिकामा नाटकीय रूपमा देखिएका घटनाक्रमलाई म कसरी बुझ्न प्रयास गरिरहेको छु त्यसलाई छ बुँदामा प्रस्तुत गर्दैछु ।
१. We are rapidly moving towards the post-American world. अमेरिकाको सामरिक, आर्थिक र सांस्कृतिक अवस्था समग्र संसारको केन्द्रमा रहेको आधा शताब्दिभन्दा बढी भइसकेको थियो । संसारभर अमेरिकी प्रभाव यति गाढा थियो की अमेरिकालाई बेवास्ता गरेर संसार चल्न सम्भव छ भनेर कल्पना गर्न सजिलो थिएन, अहिले पनि छैन । तर, जसरी हामी परिवर्तनलाई ‘संसारको नियम’ भनेर बुझिरहेका हुन्छौँ त्यसै मान्यताबाट अमेरिकामा अहिले भइरहेको परिवर्तनलाई पनि बुझ्नु पर्छ । संसार सधै उही अवस्थामा रहन सम्भव थिएन । अमेरिका केन्द्रमा रहेको विश्व संरचनाले अब कोल्टे फेर्न लागेको छ । अमेरिकाको राजनीति वा अर्थव्यवस्था उदाहरणीय हुने अवस्था क्षयीकरण भइरहेको थियो । यो क्रमलाई अहिले डोनाल्ड ट्रम्पले सहज र द्रूत बनाइदिएका मात्र हुन् । हामी छिटै ‘पोस्ट अमेरिकी विश्व’का नागरिक हुन गइरहेका छौँ । भविष्यमा अमेरिका जति शक्तिशाली भए पनि आफ्नो घरभित्र सीमित हुनेछ र बाह्य संसारले अमेरिकाको वास्ता गर्न छोड्नेछ ।
२. Democracies can fail from within! देश चलाउन स्थापना गरिने विधि र संरचना वास्तवमा भित्रैबाट नाजुक र जोखिमपूर्ण हुन्छन् । लोकतान्त्रिक व्यवस्थामा त जोखिमहरू झन् बढी हुन्छन् । एउटा मूर्ख वा खराब मानिसले आफ्ना विशेष क्षमता प्रयोग गरेर आम मानिसलाई पनि आफूजस्तै मुर्ख बनाउन र देशलाई बरबादीको भीरबाट धकेलिदिन सक्छ । राज्य-राष्ट्रको अवधारणा विकास भएको हजार वर्षको इतिहासमा यस्ता उदाहरण कति छन् कति ! यही नियती अमेरिकामा आज देखिएको छ । ट्रम्प लोकतान्त्रिक राजनीतिक व्यवस्था वा प्रणालीको लाभ उठाएर राष्ट्रपति बनेका हुन् । तर, उनले आफ्नो आगामी चार वर्षे कार्यकाल अन्तिम नहुने घोषणा गरेर संविधान र आवधिक निर्वाचनमा विश्वास नरहेको सन्देश दिएका छन् । यसको प्रस्ट संकेत हो अमेरिकाको लोकतान्त्रिक व्यवस्थाप्रति उनमा कुनै सम्मान थिएन र भविष्यमा पनि हुने छैन । यतिमात्र नभएर अमेरिकाको लोकन्त्रका आधार मानिएका संस्था र मूल्यमान्यतालाई उखालेर फ्याल्ने सगर्व घोषणा उनले गरिसकेका छन् । समग्रमा, अमेरिकाको लोकतन्त्रले लोकतन्त्र नै मास्ने नेताको चयन गरेको छ ।
३. Rich and powerful people want justice! असमानता संसारका सबै समाज र देशको दुखद् यथार्थ हो । प्राकृतिक रूपमा हरेक मानिस पृथ्वीको समान अंश हो । तर, मानिसले बनाएका प्रबन्ध र नीति नियमका कारण यहाँ भएका साधनस्रोत र अवसरहरू असमान र अन्यायपूर्ण रूपमा वितरण भएका छन् । त्यसैले, सामाजिक, राष्ट्रिय वा विश्व व्यवस्थामा गहिरो ‘टेन्सन’ निहित छ । यो टेन्सनलाई मत्थर पार्न विगतका केही दशकमा न्याय, समावेशीता र समताका सिद्धान्तहरूको विकास गरियो । यसबाट गरीब, उपेक्षित र कमजोरहरूमाथि न्याय हुने र असमानताको ‘टेन्सन’ कम हुने विश्वास गरिएको थियो । यसलाई ‘लिबरलिज्म’को केन्द्रीय मान्यताका रूपमा पनि बुझ्न सकिन्छ । तर, आजको विश्वमा एउटा रोचक (हाँसउठ्दो?) प्रवृत्ति देखा परेको छ । साधनस्रोत, अवसर, सम्मान र अधिकार अरूको भन्दा धेरै भएकाहरूले उदारवादी सामाजिक र आर्थिक प्रबन्धबाट आफूमाथि अन्याय भएको महसुस गरेका छन् । त्यसैले, उनीहरूले न्याय, समावेशीता र समताका सिद्धान्तका विरुद्धमा विद्रोह छेडेका छन् । अमेरिकामा मात्र नभएर संसारका धेरै देशमा धनी र शक्तिशालीहरूले अहिले ‘अस्तित्वको लडाईं’ लडिरहेका छन् । उत्तिकै रमाइलो कुरा के छ भने धनीहरूको यो लडाईंमा निम्न वर्गको पनि साथ छ ।
४. Liberalism has failed in its promises. अमेरिका र संसारका अन्य देशमा बढीरहेको उग्र दक्षीणपन्थी लहरमा प्रस्ट देखिने कुरा धनी र शक्तिशालीहरूको असन्तुष्टि हो । तर, यहाँनेर बिर्सन नहुने कुरा के छ भने असमानताबाट सिर्जित टेन्सन हटाउन दशकौँदेखि अभ्यास गरिएको उदारवाद पनि असफल भएको हो । उदारवाद वास्तवमा धनी र शक्तिशालीहरूकै नियन्त्रणमा थियो । त्यसैले, यो पर्याप्त र प्रभावकारी थिएन । न्याय, समानता र समावेशिताका कार्यक्रममा 'टोकनिज्म' बढी थियो । उदाहरणका लागि धनी देशको सहयोगमा संसारभर अभ्यास गरिएका समावेशिता, गरीबी निवारण, क्षमता विकासका कार्यक्रम 'टु लिटल, टु लेट' भनेजस्तै थिए र छन् । तिनीहरूले असमानताका वास्तविक आधार र संरचनालाई रूपान्तरण गर्न सकेका छैनन् । यसको विपरित धनी देशको सहयोगमा सञ्चालित सहयोग कार्यक्रमले गरीबी र असमानतालाई स्वभाविक रूपमा बुझ्न र स्वीकार गर्न आवश्यक वातावरण बनाएका छन् । असमानता र अन्यायको समस्यालाई जरैसम्म पुगेर सम्बोधन गर्न र वास्तविक सुधारका कार्यक्रमको थालनी गर्नमा उदारवाद पनि सहयोगी बन्न सकेन । तर, रोचक कुरा के छ भने उदारवादी चिन्तनको अन्त असमानता र अन्याय भएका मानिसहरूको हातबाट नभएर धनी र शक्तिसम्पन्नहरूकै हातबाट हुनलागेको छ ।
५. Will the East replace the West? संसारमा अमेरिकाको प्रभूत्व समाप्त हुने क्रममा छ, तर भविष्यमा विश्वको र विशेषगरी यो क्षेत्रको राजनीतिक, आर्थिक, सांस्कृतिक चरित्रले कस्ता आकार लेलान् त्यो अनुमान गर्न गार्हो छ । ‘वेस्ट’को प्रभूत्वको विकल्प ‘इस्ट’ हुने विश्वास धेरैको छ । तर, मलाई भने यो थ्यौरीमा पत्यार लाग्दैन । भारतसँग संसारलाई आफ्नो प्रभावमा ल्याउन उपयोगी हुने भौतिक, सांस्कृतिक वा मानसिक क्षमता छैन । सामरिक र भौतिक रूपमा सम्पन्न भए पनि चीनसँग संसारलाई लोभ्याउने मानसिक र सांस्कृतिक क्षमता छैन । सुपरपावर बन्न सामरिक र आर्थिक शक्तिमात्र पर्याप्त हुँदैनन् । संसारमा पहिलो हुनका लागि चीनले निर्माण गरेको राज्यको ढाँचामा मानिस र उसका संवेदनाका लागि अन्तिम स्थान मात्र छ । चिल्ला सडक र द्रूत रेलबाट सम्पन्न चीनमा अपारदर्शीता, मानिसहरूको जीवनमा राज्यको नियन्त्रण र यान्त्रिकता यति धेरै छ कि यसले बाह्य संसारलाई लोभ्याउन सम्भव छैन । सोफ्ट पावरमा कमजोर मात्र होइन विश्वका अल्पविकसित मुलुकसँगको आर्थिक लेनदेनमा पनि चीनको तौरतरिका अपरिपक्व र अदूरदर्शी छ ।
६. Prepare for the Worst! यहाँसम्म मैले अमेरिकामा जे भइरहेको छ त्यो किन भयो वा भोलिको संसार कस्तो होला भन्ने विषयमा कुरा गरेँ । तर, ध्यान दिनुपर्ने कुरा के छ भने संसारको सबैभन्दा शक्तिशाली राष्ट्र अनिश्चय र अराजकतामा भासिन गएको अवस्थाका परिणाम गम्भीर पनि हुनसक्छन् र तिनले तपाईं-हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । व्यापार युद्धबाट सिर्जित प्रभावले संसार र नेपालको पनि अर्थतन्त्रमा संकट ल्याउन सक्छ । व्यापार युद्ध सामरिक युद्धमा रूपान्तरण हुन बेर लाग्दैन । अमेरिकाले अपनाउने नीतिहरूका कारण देशहरूबिच नयाँ सञ्जाल र समीकरणहरू बन्लान् । विश्वका विभिन्न देशहरूबिचका सम्बन्ध नयाँ ढङ्गले अघि बढ्दा त्यसबाट सिर्जित 'टेन्सन'ले नेपालमा गहिरो प्रभाव पर्न सक्छ । त्यसैले, हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्ने पूरानो उखान नेपाल र नेपालीले बिर्सन हुन्न ।
No comments:
Post a Comment