आज राजनीतिका कुरा नगरी केही टिपनटापन सामाजिक-सांस्कृतिक कुरा गर्न लाग्दैछु । टिपनटापन यस अर्थमा कि आजका विषय केही छरिएका छन् । ती अन्तर्सम्बन्धित पनि हुन सक्छन् तर म त्यता पट्टी लाग्ने छैन। एउटा कुरा भने निश्चित छ -आजका मेरा टिप्पणी कतिपय पाठकका लागि पाच्य नहुन सक्छ ।
रोग र उपचार
मलाई लाग्छ आजभोलिको नेपाली समाज रोग र उपचारमा ‘अब्सेस्ड’ छ । घरभित्र, टोलछिमेकमा, सामाजिक जमघट अनि भोजभतेर जस्ता अवसरमा मानिसहरूको कुराकानीको प्रसङ्ग रोग नै हुने गर्छ । त्यसमा पनि हाइ ब्लड प्रेसर, सुगर, क्यान्सर, कलेजोको रोग, थायरोइड, मोटोपन, अनिद्रा, आदि आदि । अनि जसरी रोगहरूका बारेमा मानिसको चिन्ता र चासो बढेको छ त्यसैगरि उपचारका बारेमा पनि उत्पात नै चिन्ता र चासो छ ।
नसर्ने रोग (NCDs) को महामारी बुझ्न गार्हो छैन । जीवका रूपमा मानिसको उद्विकास (evolution) आजको जस्तो स्थीर भएर बस्न, सहज रूपमा उपलब्ध कार्बोहाड्रेट भएका अन्न (चामल, गहुँ, आदि) र उद्योगमा उत्पादन हुने गुलियो (चिनी, मह, सख्खर) अघाउने गरी खान भएकै होइन । आधुनिक, विकसित, सभ्य हुने क्रममा मानिस आफैँले सिर्जना गरेको तनावपूर्ण दैनिकी र जैविक विशेषतासँग अमिल्दा खानेकुरा नसर्ने रोगको महामारीको कारण हो । आजभन्दा ५० वर्षअघि यस्ता नसर्ने रोग किन कम थिए र आज किन तीव्र गतिमा बढीरहेका छन् भन्ने कुरा बुझ्न -आफैँ र आफ्नो खानपान र रहनसहनमा आएको परिवर्तनलाई हेरे पुग्छ ।
नसर्ने रोगको कारण बुझ्न जति सजिलो छ, यसलाई सामना गर्ने कुरा पनि वास्तवमा जटिल छैन । सक्रिय र सरल जीवन बिताउने, धुम्रपान र मध्यपान नगर्ने, नियमित व्यायाम गर्ने, तनाव धेरै नलिने हो भने धेरै मानिसले यस्ता रोगहरूबाट धेरैहदसम्म राहत पाउन सक्छन् । यसो गर्न नसक्ने वा वंशानुगत रूपमा नसर्ने रोगबाट ग्रसितहरूका लागि चिकित्सा विज्ञानले सरल र प्रभावकारी उपचार पद्दति विकास गरेको छ । यसबाट रोगलाई नियन्त्रणमा राख्न मद्दत पुग्छ ।
मलाई लाग्छ रोगप्रतिको अधिक चासो र चिन्ता आफैँमा एउटा रोग हो । रोग र मृत्यु स्वाभाविक कुरा हुन् र तिनलाई सहज रूपमा लिनु पर्छ ।
तर, मानिसलाई यस्ता सरल कुरामा रुचि छैन । मानिसहरूका कुरा सुन्दा यस्तो लाग्छ माथि भनिएका रोगहरू कुनै अलौकिक शक्तिबाट सिर्जना भएका हुन् र तिनको रोकथाम र निदान पनि अलौकिक कुराबाट मात्र सम्भव छ ।
आजभोलि नेपालका हरेक घरमा रोगको अलौकिकता र यसको अलौकिक उपचार पद्दतिको ज्ञान भएका 'डाक्टर' छन् । यी डाक्टरलाई कुन वनस्पतिको जरा, केको पात, केको बोक्रा केसँग मिसाएर कति खाए, पिए, सुँघे कुन रोग निको हुन्छ भन्ने कुरा थाह छ । आलमुनमको भाँडाले क्यान्सर गराउँछ, तामाको गाग्रीमा राखेको पानी औषधी हुन्छ, राति दही खान हुन्न भनेर सिकाउने यस्ता डाक्टर तपाईंले पनि अवश्य भेट्नुभएको होला । यिनीहरूलाई अध्ययन-अनुसन्धान, तथ्याङ्क विष्लेषण केही चाहिँदैन । चिकित्सा विज्ञानले विशिष्ट र जटिल अध्ययनविधिका आधारमा विकास गरेको ज्ञान एकातिर छ -कुनै विशिष्ट र वैज्ञानिक ज्ञान तथा अनुभव नभएका यी 'डाक्टर'ले हचुवामा विकास गरेको मनचिन्ते उपचार अर्कोतिर ।
घरघरमा रोग र उपचारका विज्ञ बनेका सर्वज्ञानीहरूले विकास गरेका अफवाहबाट चिकित्सा विज्ञान उल्टो रक्षात्मक हुनुपरेको छ । अरूको त कुरै छोडौँ, जटिल रोग लाग्दा अस्पतालमा गएर हप्तौं वा महिनौं बिताएर उपचार सकिपछि घर फर्केको व्यक्ति समेत ‘रोग कसरी निको भयो ?’ भनेर अरूले सोध्दा ‘बेसार र अदुवाको झोल पिएर निको भयो’ भन्ने बकबास गर्दै हिड्छ । घरघरका 'डाक्टर'हरू आवश्यक पर्दा अस्पताल जान छोड्दैनन् तर आधुनिक चिकित्सा विज्ञानलाई अपुरो, अप्रभावकारी, हानिकारक भनेर प्रचार गर्न पनि छोड्दैनन् ।
सम्झना भएसम्म आफू केटाकेटी हुँदा मानिसहरू रोग र घरेलु उपचारप्रति यति धेरै अब्सेस्ड भएको जस्तो मलाई लाग्दैन । आधुनिक रहनसहनले मानिसलाई शारीरिक रूपमा रोगी त बनाएको छ नै -रोगलाई नै जीवनको मूख्य चासो पनि बनाइदिएको छ ।
रोग र उपचारका बारेमा समग्र मध्यमवर्गको जनसङ्ख्या यति धेरै अब्सेस्ड हुने कारण के होला त ?
यो समाजशास्त्रीय अध्ययनको विषय हुनसक्छ । मलाई लाग्छ नेपालको मध्यम वर्ग भौतिक रूपमा केही सम्पन्न भए पनि साँस्कृतिक र बौद्धिक रूपमा आधुनिक विश्वका समृद्ध मुलुकको तुलनामा फरक छ । जीवनको उत्तरार्धमा आफ्नो समय, सक्रियता, रुचिलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा नेपालीहरू गहिरिएर सोच्दैनन् । नेपालको मध्यम वर्ग जीवनलाई गुणात्मक रूपमा सुखद् बनाउने कुरामा नभएर केवल लामो बनाउने उपायप्रति अब्सेस्ड छ । लामो समय बाँच्नु छ, तर केका लागि र कसरी भन्ने कुरामा चासो छैन । शरीर, रोग र मृत्युलाई कसरी बुझ्ने भन्ने बारेमा स्पष्ट र सरल चिन्तनको अभाव छ । उदाहरणका लागि पुस्तक पढ्ने, घुमघाम गर्ने, निश्चित कुरामा आफ्नो रुचिलाई गहिरो बनाउने कुरा नेपालको मध्यम वर्गको दैनिक कृयाकलापमा पर्दैन । यसो गर्ने मानिसहरू नभएका होइनन्, तर उनीहरूको सङ्ख्या अत्यन्त सानो छ ।
नेपालमा एकातिर रोगका कारण मानिसले खेप्नुपर्ने अपमान (stigmatization) धेरै छ भने अर्कातिर नेपालको अर्धशिक्षित र चेतनाका हिसाबमा कमजोर मध्यम वर्ग रोगलगायत जुनसुकै कुरामा पनि अदृश्य शक्ति वा पदार्थको भूमिका देख्छ । आधुनिक चिकित्सा विज्ञानप्रति भरोसा कम छ । यी सबैको परिणामस्वरूप रोग लाग्ला कि भन्ने एङ्जायटी र रोगले समातेपछि रोगको शोक अत्यन्त बढी छ । र, नेपालको मध्यम वर्गका मानिस रोग लाग्न नदिन र लागेपछि उपचारका लागि जडिबुटी, झारपात पेलेर रस निकाल्न र चिनाटिपन देखाउनमा व्यस्त छन् ।
नेपाली खोकाइ
रोग र उपचारको कुरा सँगसँगै खोकाइको कुरा गर्न लागेकोले तपाईंलाई लाग्ला मैले लहरे खोकी, दम वा एलर्जीको कुरा गर्ने लागेँ । त्यसो होइन । नेपाली भाषामा स्ल्याङ् वा अनौपचारिक कुराकानीमा फुईँ लगाएको जनाउन प्रयोग हुने खोकाइको नेपाली प्रवृत्तिको कुरा गर्न लाग्दैछु ।
नेपाली र नन-नेपाली विद्वान, अनुभवी, उच्च पदका मानिसहरूलाई हामी भेटीरहेका हुन्छौँ । यस क्रममा तपाईंले नेपालीमा विशेष देखिने एउटा रमाइलो प्रवृत्तिबारे विचार गर्नुभएको छ ? त्यो प्रवृत्ति हो -आफ्नो बारेमा बढाइचढाईं गर्ने, अर्थात् 'खोक्ने' । सबै नेपाली अवश्य त्यसो गर्दैनन् -तर धेरैजसो यस्ता अनुभव, पद र विद्वतामा धनीहरूको खोकाइ पट्यारलाग्दो र कहिलेकाहीँ त टिठलाग्दो नै हुन्छ ।
उच्च पद वा अनुभव वा शिक्षाको नेपाली छ भने प्राय सबै कुराकानीमा उसले आफैँलाई केन्द्रमा राख्छ । म फल्ना ठाउँमा पढ्दा, फल्ना पदमा हुँदा, म त्यो बैठकमा बस्दा, म फल्ना पत्रिकाको सम्पादक हुँदा, चिलानो मन्त्रालयको सचिव हुँदा, फल्नालाई भेट्दा यसो गरेँ, त्यसो गरेँ, फल्नाले यसो भन्यो, मैले त्यसलाई यस्तो जवाफ फर्काइदिएँ, अनि त्यो नाजवाफ भयो, ब्लाब्ला ।
कतिले त खोकाइको आत्म सन्तुष्टिको चरम प्राप्तिका लागि आत्मकथाका किताब नै लेखेका छन् ।
जब कुनै प्रसङ्ग वा घटनाका बारेमा गफगाफ सुरु हुन्छ, त्यसबेला वरिष्ठ ठान्ने नेपालीको कुरा आफूबाट सुरु भएर आफैँमा पुगेर अन्त हुन्छ । उसका कुरामा प्रसङ्गका बारेमा तथ्य, तर्क वा विवरण कम र आफ्नो महिमामण्डन बढी हुन्छ ।
हुन त यसरी अत्यधिक आफ्नो बारेमा खोक्नुपर्ने प्रमुख कारण हिनताबोध हो जस्तो लाग्छ मलाई । योग्यता र मान्यतामा अब्बल मानिसले आफ्नो बारेमा ठाउँ-कुठाउँ खोकिरहनु पर्दैन । पहिलो कुरा त मानिस इमानदार, विद्वान, अनुभवी हुने अरूका लागि होइन, स्वयंका लागि हो । यसका लागि अरूबाट सम्मान पाउने चाहना छ भने पनि मानिसका काम र योग्यता आफैँ बोलिहाल्छन् । ‘अरूले मलाई पत्याउन्नन् कि’ भन्ने डर भएर नै मानिसले खोक्नुपर्ने हो ।
नेपालीहरूमा व्याप्त एउटा ठुलो समस्या के छ भने उनीहरू आफूले पढेको कुरा, अपनाएको पेशा, हासिल गरेको दक्षता आफ्नो नभएर सम्पूर्ण देशको य समाजको उपलब्धि हो भन्ने ठान्छन् । त्यसैले, आफ्नो उपलब्धिका लागि देश र समाजबाट मानसम्मान, पुरस्कार, पदक पाइयोस् भन्ने तीव्र चाहना राख्छन् । त्यसो भएपछि आफू को हो भनेर अरूलाई सुनाउनु परिहाल्यो । सुन्नेले जे सुकै ठानोस् -दिएको छ दिएको छ । अर्को मानिसमा पनि चेतना छ, उसले पनि यो कुरा बुझेको हुनसक्छ, उसमा पनि सत्य-असत्य छुट्याउने खुबी छ भन्ने कुराको हेक्का नराख्ने गोर्खे बुद्धि नेपाली विशेषता नै हो जस्तो लाग्छ ।
आधा सताब्दि काट्ने सँघारमा मैले बुझेको र आजभोलि सकेसम्म अनुसरण गर्न खोजिरहेको कुरा के हो भने आफ्ना बारेमा खोक्नु अरूको समय बरबाद गर्नु र आफ्नै मुर्खताको प्रदर्शन गर्नु मात्र हो । मैले पनि विगतमा आफ्नो बारेमा खोक्ने काम गरेँ होला । यसमा पछुतो छ । आजभोलि सकेसम्म र हेक्का भएसम्म आफ्नो कुरा कम गर्ने बानी बसालेको छु । आफूले नखोक्ने त छँदैछ, कुनै वरिष्ठले खोकेको सुनेर बस्ने धैर्यता पनि ममा कम हुनथालेको छ ।
कठै भारत !
हिजोआज भारतलाई एउटा खबरले तताएको छ । खबर हो -एरोनटिकल इन्जिनियरिङ् पढेको एउटा हँसमुख, हेर्दा अच्छाखासा देखिने युवक (अभय सिंघ) पढाई र लोभलाग्दो करिअर छोडेर कुम्भ मेलामा ‘जोगी’ हुन गए । जोगी हुने निर्णयका बारेमा उनको टिप्पणी सोसल मिडिया र मुलधारे मिडियामा छ्यापछ्याप्ती छ –“सबै कुरा पढेर आइपुग्ने ठाउँ अन्तमा यही त हो ।” हिन्दुवादीहरूलाई यसले गजबको मसाला दिएको त छँदैछ, गजबको कुरा त यो छ कि समग्र देश यो खबरले जन्माएको वादविवादमा फसेको छ ।
हिन्दु धर्मका प्रवर्तक पण्डापुजारीहरू सधैं यो चिन्ताबाट ग्रसित छन् -कसरी हिन्दु धर्मलाई विज्ञानभन्दा माथि देखाउने ? पढेलेखेका र सचेत मानिसहरू पनि हिन्दु धर्ममा विश्वास गर्छन् भन्ने देखाउन हिन्दु धर्मका ठेकेदार सकेसम्म मेहनत गरिरहेका हुन्छन् । आम मानिसलाई पनि हिन्दु धर्म अरूभन्दा विशेष र उन्नत हो भन्ने विश्वास छ । त्यसैले, गोराहरूले राधाकृष्णको भजन गाएर झ्याली पिट्दै नाचेको भिडियो भाइरल बन्छ । नासाले संस्कृतलाई वैज्ञानिक भाषा भन्यो वा ओमको ध्वनी अन्तरिक्षसम्म पुग्छ भन्ने हल्लाले समयसमयमा सोसल मिडियामा तहल्का मच्चाइरहेका हुन्छन् । एरोनटिकल इन्जिनियरिङ् पढ्दै गरेको एउटा पढेलेखेको युवक सबै लोभ त्यागेर सन्यासी बनेको समाचार त 'भाइरल' हुने नै भयो ।
तर, कमन सेन्सले के भन्छ त ?
धर्म र विज्ञानका बिचमा कुनै साइनो छैन । धर्म यस्तो विश्वास हो जसलाई कुनै प्रमाण वा वैज्ञानिकताको आवश्यकता पर्दैन । पढेलेखेका, सचेत, असल र सेन्सिबल मानिसहरू पनि धार्मिक छन् । यस्ता मानिसहरू आफ्नो आस्थालाई विज्ञान वा तर्कका कसीमा राखेर जोख्दैनन् । कसैलाई यसको वैज्ञानिकता पुष्टि गर्दै हिंड्ने लेठो पनि गर्दैनन् । धर्म संस्कृतिको एउटा हिस्सा हो, जीवनशैली हो । जसले यो कुरा बुझेको छ उसले चुपचाप आफ्नो आस्था पछ्याउँछ र धार्मिक गतिविधिमा सामेल हुन्छ । धर्मलाई आफ्नो व्यक्तिगत परिधीमा सीमित राख्छ ।
जसलाई आफ्नो धर्म अब्बल, वैज्ञानिक, आधुनिक भएको प्रमाणित गर्नुछ तिनीहरू भने आफैंलाई 'जोकर' बनाइरहेका हुन्छन् । गाईको पिसाबलाई औषधी भनेर प्रचार गर्ने; फलानाले पनि हिन्दु धर्मलाई संसारको सबैभन्दा वैज्ञानिक धर्म भन्यो भनेर डङ्का पिट्ने; नानाथरी पण्डा र बाबा (जसमध्ये धेरैजसो भ्रष्ट, बलात्कारी र हत्यारा छन्)को प्रचार-प्रसार गर्नेहरूलाई आफ्नो अनभिज्ञतामा नै चरम आनन्द मिलिरहेको छ । यस्ता बतासे दावी र अन्टसन्ट गफको कडा प्रतिवाद नहुने पनि होइन, तर उनीहरू यसको कुनै पर्वाह गर्दैनन् ।
भयङ्कर धार्मिक भएर पछि नास्तिक भएका मानिस हरेक धर्ममा छन्, एउटा धर्म त्यागेर अर्को अपनाएका पनि (सबै धर्ममा) छन् । उदाहरणका लागि हजारौँ कट्टर हिन्दुहरू पछि इशाई बनेर चर्चमा भजन गाइरहेका भेटिन्छन् र इशाईहरू पनि हिन्दु बनेका छन् -यसले एउटा धर्मलाई ठूलो र अर्कोलाई सानो बनाउने होइन । एउटा व्यक्तिले कुन चिन्तन, सनक वा उद्देश्यबाट धार्मिक बन्ने निर्णय गर्यो (वा नास्तिक बन्न पुग्यो) त्यसबाट एउटा अमूक धर्म असल वा खराब हुने होइन ।
तर, भारतलाई यसमा ठूलो चासो छ । किन छ भने भारतमा गर्व गर्न लायक कुराहरू मासिंदैछन् । धार्मिक अतिवादको रोग फैलिएका कारण भारत हरेक हिसाबमा पश्चिमी विकसित राष्ट्र र चीनको दाँजोमा थप पछि धकेलिँदैछ । स्वतन्त्रतापछि भारतमा प्रशस्त मेहनतबाट स्थापित भएका विविधता, धर्मनिरपिक्षता, समावेशिता, खुलापन, उदारवाद आदि क्रमिक रूपमा विनाश हुँदैछन् । यसको परिणामस्वरूप अर्थतन्त्र अधोगतिमा छ । सामाजिक-आर्थिक उपलब्धि धरापमा परेका छन् । बेरोजगारी चुलिएको छ । आम मानिसमा निराशा बढेको छ । यस्तो परिस्थितिमा हिन्दु अतिवादीहरूलाई आम मानिसका लागि गर्व गर्न मिल्ने कुराहरूको खोजी गर्नु छ -वा आम मानिसलाई दिग्भ्रमित बनाउनु छ । अनि भेटिएका छन् सन्यासी बनेका एरोनटिकल इन्जिनियर !
सामान्य जीवन त्यागेर जोगी हुने प्रवृत्ति भारतमा व्यापक छ । झट्ट हेर्दा यो धार्मिक देखिए पनि यसका आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटा महत्वपूर्ण छन् । सामान्य दैनिक जीवनबाट छुटकारा खोज्ने क्रममा जोगी बन्न पुगेका भारतीय पुरुषहरूको प्रवृत्तिका सम्भावित कारण र यसका परिणामहरूबारे केही अध्ययन भएका छन् । ती अध्ययनले के देखाएका छन् भने सामाजिक-आर्थिक रूपमा सन्तुलित र सुरक्षित जीवन जिउने सम्भावना नदेख्दा र आफ्नो परिस्थितिमा आएको संकटलाई मानसिक रूपमा सामना गर्न नसक्दा पुरुषहरू परिवार छोडेर जोगी बन्ने सहज उपाय रोज्ने गर्छन् । आय आर्जन र परिवारको सुरक्षाको जिम्मेवारी लिनुपर्ने पुरुष जोगी बन्दा सम्बन्धित परिवारमा पर्ने प्रभाव पनि प्रशस्त कष्टप्रद छ । विभिन्न समस्याले जेलरक यो प्रवृत्तिलाई प्रशंसा गर्न वा अनावश्यक रूपमा मिस्टिफाइ गर्न आवश्यक छैन ।
फेक दर्शन र 'गलिबल' भक्तः अलान वट्स, ओशो, दिपक चोप्रा, जग्गी बासुदेव
१- "यो ब्रम्हाण्डमा विगत भन्ने केही छैन । तिमी जेलाई विगत भन्छौ, त्यो वर्तमानमा तिमीले गरेको परिकल्पना हो । तिमी वर्तमानमा बाँच्छौ । वर्तमान अनन्त छ । वर्तमान मात्र यथार्थ हो ।"
२- "यो संसारमा दुःख छैन । तिमी जेलाई दुःख भनिरहेका छौ -त्यो तिम्रो मस्तिष्कमा सिर्जना भएको अनुभव मात्र हो । यदि तिमी जीवनका जटिलता, अभाव वा अन्य चुनौतीलाई सुखद् रूपमा लिन्छौ भने त्यही तिम्रा लागि सुख बन्छ । दुःख कृतिम कुरा हो । आनन्द मात्र सत्य हो ।"
३- "मानिसको शरीर हरेक सेकेन्ड परिवर्तन भइरहन्छ । एक वर्षको अन्तरालमा हाम्रा हरेक सेलहरू सतप्रतिशत फेरिन्छन् । एक वर्षअघि तिमी जो थियौ, आज तिमी त्यो होइन -फरक मानिस हो । त्यसैले, आफूलाई निरन्तर फरक बनाऊ । हरेक दिन आफूलाई नयाँ मानिस भन्ठान र फरक ढङ्गले बाँच ।"
४- "सचेत जीवन बाँच । आफू जुन अवस्थामा छौ, त्यसभित्र आफूलाई राख । आफूले विश्वास गरेका झुठलाई बुझ । मस्तिष्क खुला राख । अर्को व्यक्ति वा कुनै दृष्टिकोणलाई गलत वा खराब भनेर मूल्याङ्कन नगर । यति गरे मानिस हरेक पल खुशी र आनन्दित रहन सक्छ ।"
माथिका भनाइ मेरा होइनन् । कमाभित्र रहेका ती भनाइहरू क्रमशः अलान वट्स (Alan Watts), ओशो, दिपक चोप्रा र आफूलाई सद्गुरु भन्ने जग्गी वासुदेवका हुन् ।
विभिन्न सभ्यतामा जीवन-जगतलाई बुझ्ने, व्याख्या गर्ने स्थापित परम्परा र दृष्टिकोणहरू छन् । त्यस्ता दृष्टिकोणको निर्माण गर्ने र त्यसलाई अध्ययन गर्ने मानिस र संस्था छन् । तिनीहरूले गर्ने ज्ञानको अभ्यासको निश्चित दायरा छ र त्यसका निश्चित मापदण्ड छन् । ज्ञानको विकासको निश्चित परम्परा र पद्दतिलाई पछ्याउँदै निर्माण गरिने विचार र आलोचनालाई हामी सामान्यतः दर्शनशास्त्र भनेर बुझ्ने गर्छौँ ।
तर, ज्ञानको प्रचारप्रसार दर्शनशास्त्रमा मात्र सीमित छैन । आफूलाई ज्ञानी, गुरु र कहिलेकाहिँ दैविक शक्ति घोषणा गर्ने अलान वट्स, ओशो, दिपक चोप्रा र जग्गी वासुदेवहरू आफूसँग अपार ज्ञानको भण्डार रहेको दावी गर्छन् (वा गर्थे) । मानिसलाई बेबकुफ बनाउन उनीहरू माहिर छन् । दर्शनशास्त्रमा विकसित चिन्तनबारे जानकारी नभएका, अध्ययनमा समय नदिने र अध्यात्म वा ईश्वरको अस्तित्वमा गहिरो विश्वास गर्नेहरूले यस्ता गुरुका अन्टसन्ट उपदेश चाख दिएर सुन्छन् । कति त यिनका भक्त बनेर, उनीहरूका तस्वीरका माला लगाएर, उनीहरूका नाममा भजन गाउँदै हिंड्छन् ।
अब एकैछिन माथिका हरेक भनाइ एकएक गरि हेरौँ ।
१- विगत वर्तमानमा गरिएको परिकल्पना अवश्य हो -तर विगत परिकल्पना मात्र होइन । विगत यथार्थ पनि हो । यसको ठोस अर्थ र महत्त्व छ । वर्तमानलाई आकार दिने विगत हो । यसबाट मानिसले छुटकारा पाउन सम्भव छैन । कुनै बैंकबाट वा व्यक्तिबाट ऋण लिनुहोस् अनि भोलिपल्ट 'त्यो त विगत हो, मलाई वर्तमानमा बाँच्न देऊ' भनेर हेर्नुहोस् । त्यसबेला विगत किन महत्त्वपूर्ण रहेछ थाह पाउनुहुनेछ । अलान वट्स एक सिपालु वक्ता अवश्य हुन् -तर उनका प्रवचन बिल्कुल सतही र अनुपयोगी छन् ।
२- साधनस्रोतले सम्पन्न, अच्छाखासा मध्यम वा उच्च वर्गका मानिसका लागि दुःख कृतिम रूपमा सिर्जित अवस्था मात्र हो भनेर आफूलाई 'कन्भिन्स' गर्न सजिलो होला । यसबाट उनीहरूलाई क्षणीक मानसिक आनन्द मिल्ला । तर, दुःख कति यथार्थ हो भनेर बुझ्न अभाव, अपमान, असुरक्षा वा हिंसाको परिस्थितिमा आफूलाई राखेर हेर्नुपर्छ । दुःखलाई सुख ठानिदिएर मानिसको जीवन सुखी हुने होइन । त्यसैगरी, मानिसले सहनुपर्ने दुःखकष्टका प्रशस्त कारण अन्याय हुन् । अन्याय कम गर्न र मानिसलाई दुःख कष्टको अवस्थाबाट बाहिर निकाल्न दुःखलाई सुख ठानेर बस्ने होइन -बरु यसका बारेमा खुला रूपमा कुरा गर्ने हो । दुःखलाई सुख ठानिदिए संसारबाट दुःख हराउँछ भनेर प्रवचन ठोक्ने ओशो त मरेर गए । घाँटीमा उनको तस्विर भिरेर नाच्तै हिड्नेहरू मानिस कतिसम्म गलिबल हुन सक्छ भन्ने कुराको सपाट उदाहरण हुन् ।
३- जीवका रूपमा मानिसका सेलहरू परिवर्तनशील हुन्छन् । तर, यसैका कारण मानिसको शरीर वा उसका अवस्था फेरिन सम्भव छैन । एक वर्षअघि एउटा मानिसको शरीरमा भएको रोग, एक वर्ष पर्खिंदा स्वतः निको हुँदैन । मानिसका अन्य शारीरीक अवस्था -रुचि, तौल, चिन्तन आदि सेलहरूको परिवर्तनबाट प्रभावित हुन सम्भव छैन । सेलको संरचनामा आउने परिवर्तनले एउटा मानिसको शरीर र उसको मस्तिष्कमा स्वतः कुनै सकारात्मक प्रभाव पार्न सक्दैनन् । जीवनप्रति उत्साहित हुनु र आशावादी रहनु राम्रो कुरा हो -तर यसको आधार गलत तथ्य हुनु हुँदैन । दिपक चोप्राका प्रवचन सुन्न युरोप-अमेरिकाका सभा कक्षमा सयौँ मानिसहरूको जमघट देखेको छु । यो देखेर मलाई लाग्छ फाल्तु कुरा गरेर प्रख्यात हुने प्रवृत्ति व्याप्त भएको आधुनिक युगमा चेतनाको विकास सँगसँगै मुर्खताको विकास पनि उत्तिकै भएको छ ।
४- सचेत रहने, आफूले गरेको काममा बढीभन्दा बढी ध्यान दिने आदि बानी वा प्रवृत्ति सकारात्मक वा उपयोगी हुन् । तर, यो कुरा बुझ्न कुनै गुरु, पण्डा, मुल्ला, रिम्पोचे, पादरी, महात्मा हुनु पर्दैन । हरेक मानिसले सकेसम्म सचेत रहने प्रयास गरेको हुन्छ । Attentive-ness मानिसको जैविक 'फिटनेस'का लागि आवश्यक विशेषता हो । मानिसले आफ्नो नियमित काममा पनि ध्यान दिएको हुन्छ । तर, यसबाट ऊ सधैँ सफल हुन्छ भन्ने छैन । सचेत रहने वा आफूले गरेको काममा ध्यान दिने कुरा सम्बन्धित मानिसको क्षमता र चाहनामा मात्र निर्भर हुन्छ भन्ने पनि छैन । मानिस सचेत रहनुपर्छ भन्ने थाह पाएर पनि हुस्सु हुनसक्छ; आफ्नो काममा ध्यान दिनुपर्छ भन्ने थाह हुँदाहुँदै पनि यसो गर्न नसक्ने अवस्थामा हुनसक्छ । त्यसैगरी, अरूलाई मूल्याङ्कन नगर्ने र अरूप्रति कुनै धारणा नबनाउने भन्ने कुरा सुन्न जति मिठो छ व्यवहारमा त्यति नै असंभव र गलत पनि छ । गलत काम, गलत प्रवृत्ति, गलत स्वार्थ, गलत मानिसलाई गलत भन्न पाउने, प्रश्न र आलोचना गर्ने कुरा मानव समाजको आधारभूत चरित्रमा पर्ने कुरा हो । नेटिभ स्पिकरकै जस्तो फररर अङग्रेजी बोल्ने जग्गी वासुदेव औषत भारतीयका लागि विद्वान हुने नै भए, तर बाहिरबाट जतिसुकै भद्र र शालीन देखिए पनि उनको ढोंगीपन उनले सञ्चालन गरेको 'इशा फाउन्डेशन'का भ्रष्ट र अपराधिक गतिविधिबाट प्रस्ट भएका छन् ।
सुख र दुःख अनुभूति अवश्य हुन् । तर, अधिकांश यस्ता अनुभूतिको स्रोत समाज हो । कमन सेन्सबाट बुझ्न सकिने कुरा के हो भने सुख वा दुःखका अनुभूति केवल व्यक्तिको नियन्त्रणमा हुँदैनन् -ती सामाजिक-आर्थिक अवस्थासँग जोडिएका हुन्छन् । माथिका गुरु, उपदेशकले भने झैँ मानिसले व्यक्तिगत रूपमा प्रयास गर्दैमा सफल, सुखी र आनन्दित हुने भए आज संसारमा यति धेरै समस्या र जटिलता हुने थिएनन् ।
अन्तमा, अलान वट्स, ओशो, दिपक चोप्रा वा जग्गी वासुदेव सबैसँग भएको क्षमता वक्तृत्वकलाको हो । यिनीहरू कुनै चिन्तक वा दार्शनिक होइनन् । यीमध्ये कुनैका पनि प्रवचनलाई केलाएर हेर्ने हो भने तिनमा प्रशस्त झुठ, भ्रामक तथ्य र सतहीपन प्रस्टै देख्न सकिन्छ । दर्शनशास्त्र र विज्ञानका क्षेत्रमा हासिल भएका टुक्राटाक्री ज्ञानलाई जोडजाड पारेर कामचलाउ उपदेश बाँड्ने यिनीहरूको पेशा हो -जसले संसारको आधुनिक मध्यम वर्गमा भएको सीमित ज्ञान र छटपटीबाट लाभ उठाएको छ । यिनीहरूका उपदेशलाई दर्शन भन्नु र म्याकडोनल्ड्सले बेच्ने खानालाई स्वस्थकर भोजन भन्नु उस्तै हो । जसले यी मानिसका अर्ति-उपदेशलाई गम्भीरतापूर्वक लिन्छ त्यो मानिसका कुरालाई मचाहिँ गम्भीरतापूर्वक लिन्न ।
आजलाई ननसेन्स र कमन सेन्सको चर्चा यति नै । बाँकी अर्को
भेटमा ।
No comments:
Post a Comment