नोटः आज पूरानो सोख एकाएक ताजा भएर आयो -कविता लेख्न मन लाग्यो । मिलाएर लेख्न त आउँदैन, तैपनि कनिकुथी केही हरफ ।
आगो र घाम
शहरभित्र हाम्रो त्यो बस्तीमा
साँझपख एउटा चञ्चल आगोको झिल्को
कसैको ओठबाट उफ्रेर, पुस्तकहरूको चाङ्भित्र पस्यो ।
साँघुरो गल्लीभित्र भीषण कोलाहल,
आ-आफ्ना मूल्यवान बस्तु जोगाउने भागदौड
शहर सुकाउने नकचरो घाम मन्द मुस्कानसहित क्षितिजमा बास बस्यो ।
म सुटुक्क निस्केको थिएँ जलिरहेको घरबाट
तिम्रो उही पूरानो तस्वीर काखीमा च्यापेर
तर, थाहै नपाइ त्यो पनि मानिसहरूको भीडमा कतै खस्यो ।
तिमी फर्केर मसँग आउने छैनौ, थाहा छ
तर, तिमीलाई नै सबै कुराको हिसाब दिनु पनि छ
आगोमा अब मेरो बाँकी उमेर बच्यो ।