Thursday, July 25, 2024

अम्बानीको बिहा र मेरो 'मध्यमवर्गीय' ईर्ष्या

अनन्त अम्बानीको अनन्तकालदेखि चलिरहेको बिहाका बारेमा ब्लगमा केही लेख्न मन थियो । तर, मेसो मिलिरहेको थिएन । कहिले जाँगर नहुने त कहिले फुर्सद् नहुने । हिजो यसै बारेमा मुराहरी पराजुलीको लेख सेतोपाटीमा पढ्न पाइयो । त्यो लेख पढेपछि मलाई बल्ल लेख्ने जाँगर चल्यो ।

मुराहरी पराजुलीको लेख अनन्त अम्बानीको बिहाको प्रसंगलाई लिएर पुँजीवादको बचाउमा छ । म पुँजीवादका बारेमा भने लेखको अन्तमा आफ्ना कुरा राख्नेछु । सुरु गरौँ बिहाकै प्रसङ्गबाट ।

अनन्तको बिहामा कति खर्च भयो भन्नेमा विभिन्न अनुमान छन् । प्रशस्त पैसा खर्च भएको भन्ने चाहिँ प्रस्टै देखिएको छ । अनन्त (वा उनका बाआमा)ले बिहामा यति धेरै पैसा खर्च गर्न हुन्थ्यो कि हुन्थेन भन्नेमा मत विभाजित छ ।