Tuesday, October 1, 2024

नयाँ त केही छैन

बाढी पहिरोले सिर्जना गरेको भर्खरैको सङ्कटका सन्दर्भमा मलाई केही कुरा पाठकहरूसँग शयेर गर्न मन लाग्यो ।

मैले सधैँ भन्ने गरेको छु र यसअघिको ब्लगमा पनि भनेको छु कि राष्ट्रका रूपमा नेपालको अबको प्रमुख चुनौती जलवायु परिवर्तनले सिर्जना गर्ने सङ्कट हुनेछ । 

नेपाल एक जटील (र भल्नरेब्ल) भौगोलिक अवस्थितिमा छ जहाँ उच्च हिमाली, योङ् माउन्टेन भनिने मध्य पहाडी र समथल तराइ तिनै क्षेत्रका जलवायु परिवर्तनको जोखिम झेल्नुपर्ने चुनौती छ । उदाहरणलाई नेपालका प्रशस्त जिल्ला सदरमुकाम र साना-ठूला शहर खोला किनारमा विकास भएका छन् । खोला किनारका शहर अब बसोवासका लागि असुरक्षित बन्दैछन् ।

जलवायु परिवर्तनको ठूलो प्रभाव भौतिक पूर्वाधारमा छ ।

नेपालको जटिल अवस्थितिका कारण कस्तो प्रकारको पूर्वाधार निर्माण गर्ने हो भन्ने कुरामा प्रशस्त सोचविचार गर्नुपर्ने आवश्यकता छ । भौतिक पूर्वाधार नै नेपालका लागि वातावरणीय सङ्कटको कारण बन्ने जोखिम एकातिर छ भने अर्कातिर नेपालका लागि महँगा र ठूला भौतिक पूर्वाधारका योजनामा लगानी गर्नुका जोखिम उत्तिकै भयंकर छन् । यस्ता बहुआयामिक र जटिल जोखिमको सामना गर्न गहिरो सुझबुझ र दीर्घकालीन सोच चाहिएको छ ।

मैले सधैँ केपी ओलीको कठोर आलोचना गरेको छु ।

केपी ओलीको नेतृत्वमा रहेको सतहीपन र विषाक्तता मेरा धेरै ब्लग र अन्य लेखहरूको विषयवस्तु बनेको छ । अमेरिका भ्रमण पुरा गरेर नेपाल फर्केपछि केपी ओलीले विमानस्थलमा प्राकृतिक विपत्तिको विषयलाई लिएर के भने त्यो उनको बौद्धिक र नैतिक हैसियतको उदाहरण मात्र हो । उनलाई अरू समकक्षी नेतासँग तुलना गर्दा वादविवाद लामो हुनजाला -तर उनलाई मात्र मूल्याङ्कन गर्ने हो भने केपी ओली विवेकहीन, छुद्र र कमनसेन्सको अभाव भएका नेता हुन् जसको नेतृत्वमा सञ्चालित हुन नेपाल देश अभिशप्त छ । यो कुरामा मलाई कहिलै शंका थिएन र आज पनि छैन । ओली जस्ता असक्षम, स्तरहीन र विवेकहीन गफाडीबाट देशले कहिले र कसरी छुटकारा पाउला ? यो प्रश्नको जवाफ खोज्ने दायित्व देशलाई माया गर्ने सबैको हो ।

नेपालसँग कुनै विपद्का लागि पनि पूर्वतयारी छैन । जङ्गलमा आगोको विपत्ती भयावह बन्दैछ, भूकम्पको जोखिम अझ पनि नेपालका विभिन्न क्षेत्रमा उच्च छ, बाढीपहिरोको जोखिम त हामीले देखिरहेका छौँ, यसका अतिरिक्त शहरी क्षेत्रमा आगलागी, सडक दुर्घटना, हवाइ दुर्घटना आदिको समस्या निरन्तर भयावह बन्दै गइरहेका छन् । यस्ता जोखिमको सामना गर्ने पूर्व तयारीमा नेपालको सरकार जिम्मेवार भएर लागेको छ त ? छैन । 

नेपालले गम्भीर विषयलाई गम्भीर रूपमा लिन छोडेको धेरै भइसकेको छ । यसको प्रमुख कारण यस्तै ओलीजस्ता सन्की, असक्षम र विवेकहीन मानिसहरू हुन् जसले देशको नेतृत्व लिएका छन्  जसको सबैभन्दा ठूलो क्षमता भनेको संसद्मा सङ्ख्या मिलाएर सके आफू प्रधानमन्त्री हुने नसके अर्को कसैलाई बनाउने वा बन्न नदिने मात्र हो ।

केपी ओलीलाई आफू कति छिटै कति नाटकीय रूपमा अलोकप्रिय भइरहेको छु भन्ने कुराको ज्ञान छैन -किनकि आफ्ना चाटुकारबाहेक अरूको कुरा ध्यानपूर्वक नसुन्ने उनको बौद्धिक विशेषता हो । म सोच्छु -उनको र उनका समक्षीको अलोकप्रियता यसैगरी घनिभूत हुँदै जाँदा के देशलाई फाइदा होला त ? अहँ, हुने छैन । यसबाट बाजी मार्नेहरू अर्का दश नम्बरी जोकर नै हुनेछन् जो या त पहिले नै असफल भइसकेका छन् या त ओलीभन्दा नैतिकपतन र गैरजिम्मेवार छन् ।

No comments:

Post a Comment