Friday, September 27, 2024

तपाईंको प्रतिक्रियाको अपेक्षा छ है

 नमस्ते !

आज म एउटा अलि फरक प्रसङ्गमा कुरा गर्न लागिरहेको छु । आजको मेरो विषयमा पाठकका रूपमा तपाईंको संलग्नता र प्रतिक्रियाको आवश्यकता छ । आशा छ तपाईंले मलाई साथ दिनुहुनेछ ।

आज म यही ब्लगको कुरा गर्न लाग्दैछु ।

मेरो यस ब्लगमा सामान्यतयाः ५० जनाजति दिनहुँ चिहाउन आउनुहुन्छ। कुनै नाम चलेको मानिसले मेरा लेख शेयर गर्दा यो संख्या बढेर दिनको हजार जति पुग्छ। मलाई थाह छ कि hit को अर्थ serious reading होइन । तर, पनि यो संख्या मेरा लागि ठुलो हो । जब आफ्नो ब्लगको 'stat' हेर्छु त्यसबेला मलाई थोरै लाज लाग्छ र जिम्मेवारी बोध पनि हुन्छ ।

लाज यस अर्थमा लाग्छ कि मेरा धेरै लेखहरू आलाकाँचा छन् । कतिपय पुराना र केही नयाँ लेखहरूमा म एकदमै सतही र कतिपय सन्दर्भमा पूर्वाग्रही रूपमा प्रस्तुत भएको छु । केही पुराना लेखहरू पढ्दा म आफैँलाई आफ्नो विचार सही लाग्दैन । म पनि वैचारिक रूपमा परिवर्तन हुँदै गएको छु -जसरी सबै मानिस परिवर्तन हुन्छन् ।

मेरा अग्रज गुरु, प्राध्यापक र नेपालका विश्लेषकहरूका लागि मेरा ब्लग लेखहरू सतही लाग्छन् होला जस्तो त मलाई लाग्छ । तर लेख्ने रहरले छोडे पो ?! 😛

चानचुन पचास टेकिसक्दा अब मैले प्रशंसाभित्रको खोक्रोपन र यसको निरर्थकता बुझेको छु । मलाई थाह छ कि म खारिएको लेखक होइन । अनुभवी र गहन विचारक पनि होइन । अरूले 'तँ खतरा हो' भने पनि मलाई यसमा विश्वास छैन । म आफ्ना कुरा अरूलाई सुनाउन रहर गर्ने मानिस हो । यसो गर्न पाउँदा दङ्ग पर्ने मानिस हो । खास कुरा यति नै हो ।

म आजभोलि सोचिरहेको छु -म कस्ता विषयलाई ब्लगमा प्राथमिकता दिऊँ ? कुन विषयमा लेखौँ ? मेरा लेखाइ वा टिप्पणी कुन विषयमा बढी उपयोगी र रोचक होलान् ? पाठकहरूको रुचि कुन कुरामा होला ?

यसमा मलाई तपाईंको सुझाव, सल्लाह चाहिएको छ ।

प्रशंसा मन नपराउने मानिस संसारमा को होला र ?! प्रशंसाबाट दङ्ग पर्ने त मानिसको जैविक विशेषता नै हुनसक्छ । तर, म यहाँ तपाईंबाट प्रशंसाको अपेक्षा गरिरहेको छैन - सल्लाह र सुझावको अपेक्षा गरिरहेको छु ।

लेखाइ मेरो व्यवसाय होइन -बुद्धिविलास हो । आफ्ना कुरा अरूलाई भन्ने र यसमा वादविवाद गर्ने कुरा मेरो रुचि मात्र हो । त्यसैले, तपाईंले खुलेर मलाई तपाईंका मनमा लागेका कुरा प्रतिक्रिया -नकारात्मक वा आलोचनात्मक भए पनि -दिन सक्नुहुनेछ । यसबाट मलाई फाइदा हुनेछ -नोक्सान हुने छैन ।

मलाई कमेन्ट सेक्सनमा गएर बताइदिनुहोस् -तपाईंलाई मेरा कस्ता लेख मन पर्छ ? कस्ता मन पर्दैन ? मैले कुन विषयमा लेखे राम्रो ? कुन विषयमा लेख्न बन्द गरे राम्रो ? लेखाइको शैलीमा कुन कुरामा ध्यान दिनु पर्छ ? वा, लेख्नै बन्द गर्दिने हो कि ?

तपाईंको प्रतिक्रियाको अपेक्षा छ है ! 

No comments:

Post a Comment