Monday, September 23, 2024

वर्तमान नेपालका ४ आयाम

राजनीतिक घटनाहरू प्राय रोचक हुन्छन् । त्यसमाथि सोसल मिडिया र सूचनामा असीमित रूपमा बढेको मानिसको पहुँचले तिनलाई थप रोमाञ्चक बनाएका छन् । तर, यी रोचक र रोमाञ्चक घटनामा मात्र सीमित रहँदा देशको अवस्था र यसमा निहित जटिलताहरूलाई बुझ्न सकिन्न ।

महत्त्वपूर्ण प्रश्न यो हो -कुन वा कस्ता अवस्थाहरूले यस प्रकारका राजनीतिक घटनाहरूको उत्पादन गरिरहेका छन् ?

मेरो विचारमा नेपालको अहिलेको परिस्थितिलाई चार आयामहरूबाट बुझ्न सकिन्छ । यी आयामलाई तल छोटकरीमा प्रस्तुत गर्दैछु ।

१.    राजनीतिबाट हराएको राजनीति

राजनीतिको औचित्य राज्यको प्रभावकारी सञ्चालन हो । राज्य कसरी प्रभावकारी रूपमा सञ्चालन हुन्छ त ? राज्य त्यो बेलामा प्रभावकारी हुन्छ जब आम नागरिकका आवश्यकता, सम्भावना र चासोले राज्यका नीति र कार्यक्रममा स्थान पाउँछन् । नेपालको आजको राजनीतिमा आम नागरिकका आवश्यकता, सम्भावना वा चासोका लागि कुनै स्थान छैन ।

सत्तामा रहेका र विपक्षी राजनीतक दलका नेताको भनाइ र गराइलाई हेर्दा थाह हुन्छ कि राजनीति उनीहरूका लागि सत्तामा रहने र त्यहाँ टिकिरहने माध्यम मात्र हो । तीव्र गतिमा बदलिरहेको विश्वमा नेपालीहरूले आफूलाई कसरी उभ्याउने हो र यसका चुनौती के हुन् भन्ने विषयमा राजनीति गर्नेहरूलाई कुनै चासो छैन । शिक्षा प्रणालीको प्रभावकारिता, स्वास्थ्य सेवामा गुणस्तर र पहुँच, अर्थतन्त्रका प्रणालीगत कठिनाइ, जलवायु परिवर्तनका सम्भावित प्रभाव, वस्तु र सेवाको उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउने उपाय, बाह्य विश्वमा नेपालको स्थान जस्ता यावत विषयमा (हचुवा र पपुलिस्ट योजनाबाहेक) गम्भीर र अर्थपूर्ण नीतिनिर्माण र कार्यक्रम कार्यान्वयन हुन छोडेको धेरै भइसकेको छ ।

२.    असफल राष्ट्र

राष्ट्र असफल भएको औपचारिक घोषणा गर्ने कुनै संस्था वा निकाय छैन । तर, नेपाल एक असफल राष्ट्र भएको कुरा आम नेपालीलाई थाह छ । यो असफलताको सूचक के हो भने नेपालसँग आर्थिक होस् वा बौद्धिक -कुनै पनि क्षेत्रमा उन्नती वा प्रगतिका सम्भावना बाँकी छैनन् । नेपाली समाज ज्यान जोगाउन र पैसा कमाउनमा सीमित मानिसहरूको भिडमा परिणत भएको छ । अर्थतन्त्र शेयर बजारलाई सम्पन्नताको सूचक मान्ने भ्रष्टहरूको चङ्गुलमा छ । विश्वविद्यालयका प्राज्ञिक नियुक्ति आम्दानीको स्रोत बनेका छन् । भ्रष्टाचार र अनियमितता यसरी खुलेआम बनेका छन् कि राजदूत वा मन्त्री पदको खरिदबिक्री अब लज्जास्पद वा अनैतिक काम मानिन छोडेको छ ।

अर्कातिर राज्य आफ्नो अति सामान्य प्रशासनिक जिम्मेवारीमा समेत असफल छ । राष्ट्रिय परिचयपत्र छाप्ने, सवारी चालक प्रमाणपत्र वितरण गर्ने वा राहदानी छाप्ने काममा सरकारको असफलता वा अकर्मण्यताको गहिरो अर्थ छ । यो केवल मसिनको कमजोरी वा विभिन्न खाले प्रतिकुलताको संयोगमात्र होइन । यसले नेपालको समग्र कर्मचारीतन्त्र र राजनीतिक संरचना असफल भएको संकेत गरेको छ ।

नेपाल असफल भएको स्वीकार गर्न जति ढिलो हुन्छ, सुधारका प्रयासहरू पनि त्यति नै ढिलो सुरु हुनेछन् ।

३.    सत्तामा सीमित व्यक्तिको हालिमुहाली

आफ्नो जिम्मेवारीमा असफल प्रमाणित भएका तर निरन्तर र पालैपालो देश हाँक्न उद्यत एउटा सानो सङ्ख्याका बृद्धहरूले थापेको चङ्गुलमा समग्र नेपाल फसेको छ । क्षमताहीन र दृष्टिकोणहीन यी बृद्धहरू देश र समाजको बदलिंदो अवस्था बुझ्न असक्षम छन् । देशको बिग्रँदो अवस्थाप्रति उनीहरूमा चिन्ता र चासोको लेसमात्र पनि छैन । सँगसँगै उनीहरूमा यति धेरै सत्ताको उन्माद छ कि आफूले जे गरे पनि हुन्छ, कसैले प्रश्न गर्न सक्दैन भन्ने छ । विगतका केही दशकमा जसरी राज्यका संस्था र संयन्त्र (जस्तै, अदालत, सरकार, कर्मचारीतन्त्र, प्रहरी आदि)लाई क्रमशः निकम्मा बनाइयो त्यसमा यिनै मानिसहरूको निरन्तरको भूमिका छ ।

देउवा, ओली, प्रचण्ड, माधव कुमार क्षमताहीन र दृष्टिकोणहीन मात्र छैनन् -नेपालमा आज जे जति समस्या थुप्रिएका छन् यसका लागि यिनीहरू जिम्मेवार छन् । तर, न त उनीहरू स्वयं यो स्वीकार गर्न तयार छन् न बृहत् समाज उनीहरूलाई राजनीतिबाट सन्यास दिलाउन तयार छ । राजनीतिमा सफल बनाउने आधार यहाँको सामन्तवादी र दासत्वप्रेमी सामाजिक अवस्था हो -जसले दलीय राजनीतिलाई चलाइरहेको छ । 

४.    विकल्पहीन विकल्प

वर्तमान दुरावस्थाको विकल्प भनेर (उनीहरू आफैँ वा अरूले) व्याख्या गर्ने दुई थरी मानिसहरू छन् । पहिलो वर्गमा ती छन् जो राजतन्त्र फर्काउँदा सबै राम्रो भएर जाने दावी गर्छन् । सोसल मिडियामा सफा मयलपोसमा सजिएर जतिसुकै भलादमी कुरा गरे पनि राजावादीको सुत्र न वस्तुगत रूपमा यथार्थपरक छ, न उनीहरूका तर्कमा आम मानिसको रूचि । त्यसैले, राजावादीहरूलाई विकल्पका रूपमा गणना गरिरहन आवश्यक छैन ।

विकल्पको दोस्रो वर्गमा स्थानीय निर्वाचनमा मेयर पदमा निर्वाचित दुई नगर प्रमुख र राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिन सकिन्छ । नगरप्रमुखहरूलाई पर राखेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्र हेर्दा विकल्प भनेर दावी गर्ने राजनीतिक समूहको एउटा कुरुप तस्वीर हात लाग्छ । राष्ट्रिय स्वतन्त्र पार्टी केही चलाख र दृष्टिकोणहीन मानिसहरूको स्वार्थ समूह मात्र भएको उसका भनाइ र व्यवहारले नै प्रस्ट देखाउँछन् । यो समूहलाई देशका जटिलता र तिनलाई फुकाउने उपायहरू बुझ्ने रुचि र चासो दुवै छैन । यो समूहले गर्ने भनेको भद्दा स्टन्टबाजी मात्र हो । रास्वपाको समस्या जटिल मुद्दामाथि सतही स्टन्टबाजीमात्र होइन -उसको द्वैध चरित्र, विधिको शासनप्रतिको अविश्वास र प्रतिशोधमा आधारित व्यवहार पनि हो जसले यो पार्टीलाई पार्टीका रूपमा कम र अनियन्त्रित मानिसहरूको झुण्डका रूपमा बढी चिनाएको छ । त्यसैले, रास्वपा अहिलेको अवस्थामा सही विकल्प हुनै सक्दैन ।

अन्तमा, पत्रपत्रिका र सोसल मिडिया हेर्दा लाग्छ नेपालमा असन्तुष्टि चुलिएर गएको छ । सत्ताको नेतृत्त्व गर्ने र प्रतिपक्षमा प्रधानमन्त्री हुन पालो पर्खिरहेका केही थान बृद्धहरूले यसको पर्वा गरेका छैनन् । यसको अभिव्यक्ति ढिलोचाँडो हुनेछ, कसरी हुने हो थाह छैन । तर, जसरी भए पनि नेपाल शान्तिपूर्ण र स्थीर रहिरहने कुरामा आशावादी हुन गार्‍हो छ । यसको प्रमुख कारण के भने नेपालसँग विकल्पका बारेमा ठोस चिन्तन र कार्यजोजना छैन । मेरो व्यक्तिगत चासो यसबेला यो छ -के अब आगामी दिनमा नेपालमा शान्तिपूर्वक बस्न र आफ्नो रुचि र अनुकुलताको काम गर्न पाउने वातावरण बाँकी रहला ? जसरी नेपाल तीव्र गतिमा क्षयीकरण भइरहेको छ यसले देशको भविष्यप्रति आशा गर्ने ठाउँ बाँकी राखेको छैन ।

No comments:

Post a Comment