Wednesday, August 21, 2024

The Silk Roads

गएको साता एउटा पुस्तक पढिसकेँ । त्यो ६३७ पाना लामो र २००० वर्षका घटना समेटिएको पुस्तकको रिभ्यु लेख्ने क्षमता र धैर्य दुवै ममा छैन । तर, यसबारे छोटकरी टिप्पणी तल प्रस्तुत गर्दैछु ।

पुस्तकको नाम The Silk Roads: A New History of the World । लेखक Peter Frankopan । फ्रान्कोपान अक्स्फोर्ड विश्वविद्यालयका इतिहासका प्राध्यापक र होटल व्यवसायी रहेछन् । उनको प्राज्ञिक र व्यवसायिक करिअर त रोचक नै रहेछ । सँगै यो पुस्तक पनि कम रोचक छैन ।

युरोपियन प्राज्ञिक परम्पराबाट निर्देशित आजको विश्वमा युरोपलाई नै ज्ञान र सभ्यताको केन्द्र मान्ने गरिन्छ । संस्कृति, विज्ञान, कला, ज्ञान, धार्मिक परम्परा सबैको वास्तविक स्रोत युरोप हो भन्ने विश्वास युरोप र गैर-युरोप दुवैतिर छ । धेरै मानिसहरू ठान्छन् -युरोप सभ्यताको केन्द्र थियो र यसले नै संसारका अन्य असभ्य क्षेत्रहरूलाई भेट्टायो  (वा पत्ता लगायो) र आफ्नो पदचापमा हिड्न सिकायो ।

फ्रान्कोपानको पुस्तक ‘द सिल्क रोड्स’को प्रमुख उद्देश्य यो बुझाइ गलत हो भन्ने देखाउने हो ।

द सिल्क रोड्समा फ्रान्कोपानले उठाएका विभिन्न विषयवस्तुमध्ये तीन विषय विशेष घतलाग्दा छन् । पहिलो विषय हो इतिहासका तथ्य र घटनाका आधारमा युरोप र अन्य क्षेत्रको समृद्धिको तुलनात्मक इतिहास ।

लेखकले टाइग्रिस र युफ्रेटस नदिले सिञ्चित गरेको मेसोपोटामिया (आजको इराक, पर्सिया भनिने इरान, इजिप्ट, सिरिया, आदि) र यसको उत्तर र क्यास्पिअन समुन्द्र वरपर पर्ने क्षेत्र (उज्वेकस्तान, अजरबैजान, कजाकस्तान, आदि)को आजभन्दा २००० वर्षअघिको अवस्थालाई विस्तृत विवरणसहित पेश गरेका छन् । उनले प्रस्तुत गरेको विवरण पढ्दा झल्झली के देखिन्छ भने यो क्षेत्र भौतिक रूपमा मात्र नभएर कला, साहित्य र ज्ञानका क्षेत्रमा पनि युरोप भन्दा धेरै उन्नत रहेछ । 

मेसोपोटामिया र यसको आसपासका क्षेत्र समृद्ध शहर, सुविधाजनक बाटाघाटा, समृद्ध साहित्य, गणित, वास्तुकला -सबैको केन्द्रका रूपमा विकास भएका थिए । आजको विश्वका प्रमुख धर्म क्रिश्चियानिटी, जुदाइजम र इस्लाम पनि यहीँबाट सुरु भएका थिए । बुद्धिजम र हिन्दू परम्पराको स्थापना र विकास पनि यहीँ भएको थियो ।

जुन बेला यो क्षेत्र समृद्धिको उचाइमा थियो । ग्रिसका अलेक्जेन्डर 'महान' मात्र नभएर लुटपाट गर्ने घुमन्ते-फिरन्ते समूह (जस्तै आजको रसिया र युक्रेनका घाँसे मैदानका समूह)हरू पनि युरोपमाथि आक्रमण गर्न र लुटपाट गर्न इच्छुक थिएनन्, किनकि युरोपमा लुट्न मिल्ने मूल्यवान कुरा केही थिएन ।

द सिल्क रोड्समा फ्रान्कोपानले रोचक ढङ्गले प्रस्तुत गरेको दोस्रो कुरा हो -त्यसबेला विभिन्न ठाउँका मानिसहरूबिच हुनेगरेको व्यापार तथा त्यसका आधारमा भएको अन्तर्क्रिया र यसले पारेको प्रभाव । भूमण्डलीकरणको प्रचलित थ्यौरीको प्रभावस्वरूप धेरै मानिसहरूलाई लाग्छ हवाइजहाज, कार वा इन्जिनले चल्ने पानीजहाजको आविष्कारपछि मानिसहरू संसार घुम्न थालेका हुन् । फ्रान्कोपानको पुस्तकमा मानिसहरूको घुमघामको रोचक विवरण छ । व्यापार गर्न, लुटपाट गर्न, धर्मको रक्षा गर्न र अन्य विभिन्न उद्देश्यले आधुनिक यातायातका साधनको आविष्कार अघि पनि मानिसहरू कसरी संसारभर चलायमान थिए भन्ने विवरण द सिल्क रोड्समा पढ्न पाइन्छ । यी विवरणहरूबाट विभिन्न धर्म, कला, संस्कृति, ज्ञान, परम्परा, आदिको जग कसरी बस्यो भन्ने कुरा बुझ्न पाइन्छ ।

आजभन्दा २००० वर्षअघि व्यापारका लागि मानिसहरू विभिन्न ठाउँमा पुग्ने क्रम व्यापक थियो । सिल्कका कपडा, हात्तीका दाँत, फिटकिरी, काठे पालिस तथा बहुमुल्य धातु र रत्न, सबैले रुचाउने र दुर्लभ मरमसला (सुकमेल, ल्वाङ्, मरिच, अदुवा, दालचिनी, जाइफल, आदि)को व्यापार गर्न मानिसहरू हजारौँ माइल यात्रा गर्थे । यी र अन्य यस्ता प्रशस्त वस्तुहरूको व्यापारले युरोपलाई युरोप नजिकैको नियर इस्ट, अलि परको मिडल इस्ट र चीन तथा पूर्वी एसियामा पर्ने फार इस्टजसँग जोडेको थियो ।

स्कूले पाठ्यपुस्तकमा भास्को डिगामा र कोलम्बसले युरोप बाहिरको भूभाग पत्ता लगाएको कुरा पढ्दा र पढाउँदा हामीले बिर्सेको त्यसभन्दा सयौँ वर्षअघिको मानिसहरूको चलमल फ्रान्कोपानले गजबले प्रस्तुत गरेका छन् । यसमार्फत् उनी धर्म, संस्कृति, कला, साहित्य, मिथक आदिको ओसारपसार विगत २००० वर्षभन्दा अघिदेखि भइररहेको विस्तृत विवरण प्रस्तुत गर्छन् । 

पुस्तकको मलाई मन परेको तेस्रो पक्ष यसमा निहित आज पश्चिम भनेर चिनिने विकसित देशले संसारभर मच्चाएको लुट र बितण्डाको विवरण हो ।

द सिल्क रोड्समा स्पेन र पोर्चुगालबाट सुरु भएर पछि इटाली, नेदर्ल्याण्ड्स, बेलायत र अन्य युरोपेली मुलुकले अफ्रिका र अमेरिकामा उपनिवेषका नाममा गरेको लुटपाटको विस्तृत विवरण छ । विकसित मुलुकले प्राचिन सिल्क रोड्सको क्षेत्रमाथि अहिलेसम्म गरिरहेको शोषणको विस्तृत र दुखदायी कथा यो पुस्तकमा पढ्न पाइन्छ । अफगानस्तान, इरान, इराक, सिरिया, प्यालेस्टाइन आदि क्षेत्रमा आज जति पनि द्वन्द्व र हिंसा छन् यसको नालिबेली बुझ्न फ्रान्कोपानको पुस्तक निकै सहयोगी हुन्छ ।

कहिले सिल्क, कहिले सुन त कहिले 'ब्लाक गोल्ड' भनेर चिनिने पेट्रोलियमको व्यापारले हाम्रो संसारलाई कसरी आजको अवस्थामा पुर्‍याएका छन् भन्ने रोचक बृत्तान्त हो सिल्क रोड ।

यो लामो पुस्तक पढिरहँदा मलाई कुनै पनि बेला पट्यार लागेन । बरू पढ्न नपाएका दिन भने पछुतो लागिरह्यो । मैले अत्यन्त चाख मानेर पढेका ५ पुस्तकको सूचि बनाउनुपर्‍यो भने यो पुस्तक निकै माथि रहनेछ ।

पाठकलाई एउटा कुरामा भने सचेत गराउनुपर्ने हुन्छ -यस पुस्तकको समालोचना गर्ने केही विद्वानले यसमा कतिपय तथ्यगत गल्तीहरू रहेको औंल्याएका छन् । त्यसैले, यसका तथ्यहरूलाई आफूले उपयोग गर्दा एकपटक भेरिभाइ भने अबश्य गर्नुहोला । 

No comments:

Post a Comment