Friday, August 2, 2024

एक नास्तिकको ‘डिभोर्स’ पूराण

पशुपतिको पूराणको चर्चा प्रशस्त भयो । त्यो आस्तिकले आस्तिकहरूका लागि भनेको पूराण थियो । यही मेसोमा मलाई नास्तिक पूराण ‘वाचन’ गर्न मन लाग्यो । मेरो पूराण सुन्न हातमा फूल लिनु पर्दैन, कुनै भगवान सम्झिनु पर्दैन, र पूराण सुन्न कुनै दान, चन्दा, शुल्क तिर्नु पर्दैन ।

मेरो नास्तिक पूराणमा हालै पशुपतिमा सम्पन्न धार्मिक पूराण र त्यसले ‘डिभोर्स’का बारेमा उठाएको बहसको चर्चा गर्नेछु । तर, यसका लागि पूराण नै के हो ? भन्ने प्रश्नबाट कुरा सुरु गर्नुपर्ने हुन्छ ।

पूराण कथा हो । मानव सभ्यताको इतिहासमा धेरै कथाहरू लेखिए । तिमध्ये केही शक्तिशाली र प्रख्यात भए अनि प्रशस्त कथाहरू नासिएर गए । पूराण मात्र नभएर विभिन्न धर्मका मानिसहरूले श्रद्धा र चाखपूर्वक पढ्ने, सुन्ने देव-देवता, ईश्वरका बारेमा लेखिएका ग्रन्थ (बाइबल, कुरान, तनख, गीता, गुरु ग्रन्थ, महाभारत) सबै कथा हुन् ।

विभिन्न धर्महरू कसरी उदाए, अस्ताए र इतिहासको विभिन्न कालखण्डमा धार्मिक ग्रन्थहरू कसरी लेखिए भन्नेबारे प्रशस्त पुरातात्विक र ऐतिहासिक विवरण उपलब्ध छन् । इस्लाम, क्रिश्चियन, जोरास्थ्रिअनिजम, जैन वा हिन्दू धर्मसँग जोडिएका ग्रन्थ कसरी लेखिए र कसरी प्रख्यात भए भन्ने अध्ययन गर्न चाहनेका लागि सन्दर्भस्रोतहरूको सूचि निकै लामो छ । यी विषय आज रहस्यका विषय होइनन् ।

उदाहरणका लागि पिटर फ्रान्कोपानले सन् २०१५ मा प्रकाशित आफ्नो पुस्तक ‘द सिल्क रोड्स’मा क्रिश्चियन, इस्लाम र यहुदी धर्मको उदय र विस्तारसँग जोडिएका आर्थिक, राजनीतिक घटनाक्रमलाई विस्तारमा वर्णन गरेका छन् । उनको पुस्तकमा महाभारत ग्रीक भाषाका इलियड र ओडिसीबाट प्रभावित भएका ऐतिहासिक तथ्यको पनि चर्चा छ ।

धर्म वा धार्मिक ग्रन्थलाई अलौकिक मान्ने छुट हरेक मानिसलाई छ किनकि धार्मिक आस्था तथ्यबाट निर्देशित हुँदैन, र हुनुपर्छ भन्ने छैन ।

अब अर्को प्रश्न हेरौँ -पूराण किन भनिन्छ, र किन सुनिन्छ ?

धार्मिक ग्रन्थ वाचन गर्ने र श्रवण गर्ने परम्परा हरेक धर्ममा छ । धर्मको आधार स्तम्भ त्यसका ग्रन्थ हुन् भने आस्था निर्माण र विस्तार हुने ती ग्रन्थको वाचन गरेर हो । तर, यहाँ रोचक कुरा के छ भने ग्रन्थहरूको वाचन र श्रवण केवल ग्रन्थमा लेखिएका कुरामा मात्र सीमित हुँदैन -हरेक धर्ममा ग्रन्थ वाचन गर्ने र व्याख्या गर्नेले आफ्ना कुरा पनि स्रोतालाई सुनाउँछ ।

चर्चमा पादरीले, मस्जिदमा मौलवीले र पूराणका मठमा पण्डा वा गुरुले वाचन गर्ने कथाहरू ग्रन्थका ‘टेक्स्ट’मात्र होइनन् । टेक्स्ट जति वाचन हुन्छ त्यो बहाना मात्र हो । धार्मिक प्रवचनमा संस्कृति, अर्थ र राजनीतिका कुरा हुन्छन् ।

नेपालमा हिन्दूहरूमाझ प्रचलित पूराण वाचन र श्रवणलाई नै हेरौँ । पूराण वाचनमा कथा वाचनमात्र नभएर समाजलाई हेर्ने र बुझ्ने वाचकको दृष्टिकोणको व्याख्या हुने गर्छ । ‘कथा’ वाचन गर्दा पुरुष कस्तो हुनुपर्छ ? महिलाको हैसियत के हो ? धनसम्पत्ति कति जम्मा गर्ने ? सम्भोग कुन बेला र कसरी गर्ने ? के खाने, के नखाने ? कता फर्केर सुत्ने ? कस्ता लुगागहना लगाउने कस्ता नलगाउने विषयमा चर्चा हुने गर्छ । त्यसैले, पूराण वाचन र श्रवण केवल धार्मिक कुरामात्र होइन, सामाजिक कुरा पनि हो ।

पूराणमा (वा अन्य धर्मको धार्मिक प्रवचनमा) जे भनिन्छ त्यसले त्यसबेलाको समाजमा विध्यमान आन्तरिक तनाव (टेन्सन)लाई सतहमा ल्याइरहेको हुन्छ ।

अब लागौँ पशुपतिमा भारतकी एकजना देवीले वाचन गरेको पूराणले सतहमा ल्याएको नेपाली समाजको यस्तै एउटा टेन्सनको प्रसङ्गमा । त्यो टेन्सनको नाम हो -डिभोर्स ।

पूराण भन्ने वाचिकाको कथन थियो -डिभोर्स पश्चिमा (गोराहरू)को अवधारणा हो । डिभोर्सको नेपाली शब्द नै छैन । त्यसैले, यो नेपालको अभ्यास होइन । जसले, डिभोर्स गर्छ त्यसले पश्चिमाको सिको गरेको हो । (भाव विस्तार मेरो । )

सुन्दा त निकै गजब । तर, यसको अन्तर्यलाई हेरौँ ।

सम्भवतः हिन्दू धर्म ग्रन्थहरूमा सम्बन्ध विच्छेदको चर्चा छैन । हुने कुरा पनि भएन । धार्मिक ग्रन्थ त्यस बेलामा र ती ठाउँहरूमा बने जहाँ पुरुष शक्तिमा थिए । महिलामाथिको नियन्त्रण आर्थिक संरचनाको केन्द्रमा भएको ऐतिहासिक कालखण्डमा धर्मको जग बसेको हो । त्यसैले, धार्मिक ग्रन्थका वर्णनले महिलाको जतिसुकै वयान वा प्रशंसा गरे पनि पुरुषको अधिनमा रहनुपर्ने वर्गका रूपमा महिलाको स्थान निर्धारण गरेका छन् । हिन्दू धर्ममा पनि पुरुष भनेका परमेश्वर हुन्, र नारी तिनका दासी । अन्य धर्ममा यिनै शब्दावली नहोलान् तर धार्मिक परम्परामा नारीको स्थान सधैं दोस्रो दर्जाको हो । त्यसैले, डिभोर्सको प्रबन्ध न क्रिश्चियानिटीमा होला न हिन्दू धर्ममा ।

पुरुषको अन्तर्मनमा थाहै नपाई (गहिरिएर सोच्दा मात्र थाह पाइने गरी) एउटा अभिलाषा रहेको हुन्छ -आफ्नी पत्नी आफ्नो नियन्त्रणमा रहुन् । आफू जतिसुकै कमजोर, गैरजिम्मेवार, असंवेदनशील, अनैतिक भए पनि पत्नी आफूलाई छोडेर नजाओस् । विवाहपश्चात यदि पति-पत्नीबिच माया प्रेम र सम्मान बाँकी नरहे पनि पत्नीले आफूलाई पति मानोस् र पतिका रूपमा व्यवहार गरोस् ।

यस्तो अभिलाषा हुन त पुरुषको हो -तर धार्मिकता र त्यसको जगमा निर्मित सामाजिक परम्पराले यसलाई यति बलियो बनाइदिन्छ कि महिलाले पनि नारी र पुरुषबिचको असमान सम्बन्धलाई यथार्थ ठान्छन् र सम्बन्ध विच्छेदलाई विकृतिका रूपमा बुझ्छन् ।   

पति पत्नीबिचको सम्बन्ध बिच्छेद असल कुरा त अवश्य नै होइन । यसले निम्त्याउने आर्थिक, मनोवैज्ञानिक र सामाजिक समस्या अनगिन्ती छन् ।

तर, के सम्बन्ध बिच्छेद महिलाका कारणले सिर्जना भएको सामाजिक समस्या हो त ?  पूराण वाचिकाले डिभोर्सका बारेमा गरेको व्याख्यामा परररर बजेका ताली र सामाजिक सञ्जालमा पुरुषहरूले उक्त कथनलाई गरिरहेको भव्य समर्थनले नसमेटेका यथार्थ के हुन् ?

पहिलो यथार्थ -नेपालमा हुने अधिकांश डिभोर्स पत्नीको इच्छा र निर्णयका कारण भएका छैनन् । तथ्याङ्क हेर्ने हो भने पतिले पत्नीलाई छोडेका कारणले हुने सम्बन्ध विच्छेद धेरै प्रतिशतले बढी छ । प्रशस्त घटना यस्ता छन् जसमा पुरुषले सम्बन्ध बिच्छेद पनि नगर्ने र सम्बन्धित महिलालाई आफ्नी पत्नीका रूपमा स्वीकार पनि नगर्ने प्रवृत्ति छ । यसरी भएका सम्बन्ध बिच्छेदले ठूलो सङ्ख्यामा महिलालाई मनोवैज्ञानिक र आर्थिक समस्यामा धकेलेका छन्, र केही अघिसम्म उनीहरूबाट जन्मेका सन्तानले अनागरिक भएर बाँच्नुपरेको तितो यथार्थ थियो ।

एक दुई घटनालाई हेरेर सम्बन्ध बिच्छेदमा महिलामाथि दोष थुपार्ने प्रवृत्ति गलत मात्र होइन, विषाक्त मानसिकताको उपज पनि हो । पुरुषले निर्णय गरेर भएको सम्बन्ध बिच्छेद जायज र महिलाले चाहेको विकृति ठान्ने चिन्तन स्त्रीद्वेष हो र नेपालको पुरुषप्रधान सामाजिक-सांस्कृतिक परम्पराको विद्रुप यथार्थ ।

दोस्रो -के कानुन वा सामाजिक परम्पराले स्वीकार नगरे पनि सम्बन्ध बिच्छेद कम भएको छ ? अवश्य छैन । यसको विपरित सम्बन्ध बिच्छेदका घटना बढीरहेका छन् । किन यसो भइरहेको छ त ?

सम्बन्ध बिच्छेद कसैले रमाइलोका लागि गर्दैन । अपवादका घटनालाई छोड्दा सम्बन्ध बिच्छेद बाध्यता हो । यो बाध्यता आज मानिसहरूमा किन बढिरहेको छ ? मलाई लाग्छ यसका दुई स्पष्ट कारण छन्, अरू पनि होलान् । पहिलो आजको परिवेषमा पति-पत्नीबिचको सम्बन्धका आयाम फरक भएका छन् । पति वा पत्निले आजभन्दा ५० वर्ष अघिको जस्तो एकअर्कामा सीमित रहेर जीवन बिताउन सम्भव छैन । उनीहरूले जीवनयापनका लागि गर्नुपर्ने प्रयत्न र त्यसमा निहित चुनौतीले पति-पत्निबिचको सम्बन्धलाई निरन्तर प्रभावित गरिरहेका हुन्छन् । जब यस्ता चुनौतीले सम्बन्धलाई असान्दर्भिक बनाउन थाल्छन् त्यसबेला ‘डिभोर्स’ आवश्यकता बन्न सक्छ ।

माथिको समग्र अनुच्छेदको आसय के हो भने सम्बन्ध बिच्छेदलाई विकृति वा कुनै राष्ट्रिय संकट जसरी बुझ्न आवश्यक छैन । यो पनि आज हामी बाँचीरहेको जटिल समाज, अर्थतन्त्र र विश्व परिवेषको एउटा परीणाम हो । समबन्ध बिच्छेदलाई मात्र समस्याका रूपमा व्याख्या गर्दा यसलाई सही रूपमा बुझ्न सकिन्न ।

सम्बन्ध बिच्छेदका घटना आधुनिक समाजमा बढ्नुको अर्को कारण यो पनि हो कि माया वा प्रेमलाई बुझ्ने र अभ्यास गर्ने शैली फेरिएको छ । आज महिलाहरू प्रेममा समान सम्बन्ध र हैसियत खोज्छन् ।महिला र पुरुषको हैसियत पुनर्परिभाषित भइरहेको आजको समयमा पुरुष नै बलियो र शक्तिशाली हुने असमान प्रेम सम्बन्ध पनि पुनर्परिभाषित भइरहेको छ ।

म आफूलाई फेमिनिस्ट भन्ठान्छु । पर्याप्त रूपमा नहुन सक्छु । मेरो बुझाई सीमित हुनसक्छ । तर, फेमिनिस्ट विचारधाराका आधारमा सम्बन्ध बिच्छेदको छोटो चर्चा तल गर्छु ।

एउटी महिलाले आफ्नो पतिसँग अलग हुने इच्छा गर्दा यसो गर्न नमिल्ने वा यो अनैतिक हुने किन ? ‘सम्बन्ध बिच्छेद विकृति हो’ भन्ने पुरुषहरूको आसय जस्तोसुकै खराब पुरुष सँग पनि, मायाप्रेम शून्य भए पनि, सम्मान नभए पनि महिलाले आफ्नो पतिसँगै जीवन बिताउनुपर्छ भन्ने हो ?

यदि महिला पनि पुरुष सरह एक स्वतन्त्र मानिस हो भने उसले कुनै मानिससँग जीवन बिताउने वा नबिताउने निर्णय गर्न किन नपाउने ?

सम्बन्ध बिच्छेद गलत हो र यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेहरूलाई म अन्तिममा एउटा प्रश्न सोध्न चाहन्छु -तपाईं आफ्नो छोरा वा छोरीलाई विवाह वा वैवाहिक सम्बन्धका बारेमा कसरी प्रशिक्षित गर्नुहुन्छ ?

म यसरी प्रशिक्षित गर्छु -आफ्नो पति वा पत्निको सम्मान गर । आफ्ना खुशी र कठिनाइहरूलाई खुलेर अभिव्यक्त गर । एकअर्कालाई सहयोग गर । तर, यदि सम्बन्धमा प्रेम रहेन र त्यसले तिम्रो सम्मान गरेन भने त्यस्तो सम्बन्धलाई तोड । हिंसा र अपमान सहेर सम्बन्ध टिकाउने प्रयासले न सम्बन्ध जोगिन्छ न त तिम्रो अस्तित्व ।

डिभोर्सका बारेमा यति नै । अब जाँदाजाँदै एकपटक फेरी पूराणकै कुरा ।

हरेक संस्कृति र चालचनलाई म सम्मान गर्छु, तर माथि भनेजस्तै, कुनै धर्मप्रति ममा आस्था छैन । धार्मिक मानिसहरूलाई संसारमा धर्ममा विश्वास नगर्ने मानिस पनि छन् भन्ने कुरा पचाउन सजिलो हुँदैन भन्ने मलाई थाह छ । तर, यसको वास्ता म गर्दिन । धर्ममा विश्वास नगर्नु स्वतः विशिष्टताको परिचायक होइन, यसको अर्थ जान्नेसुन्ने हुनु पनि होइन । यो केवल मेरो रुचि हो । अरूलाई मेरो रुचि जस्तोसुकै लागोस् -त्यसको के वास्ता !

मेरो नास्तिकताको प्रसङ्ग दोहोर्‍याउनुको उद्देश्य के हो भने म आफू जन्मेको हिन्दू धर्मबाट प्रभावित सामाजिक-सांस्कृतिक परिवेष र यसमा निहित विशेषतालाई फरक ढङ्गले हेर्ने गर्छु । यसरी हेर्दा बेलाबेलामा केही रोचक र कहिलेकाहीँ केही दुखद् कुरा भेटिन्छन् ।

त्यसमध्येको एउटा रोचक कुरा के छ भने नेपालमा पनि हिन्दू धार्मिक परम्परा मान्ने मानिसहरू आफ्नो धर्मलाई उदार र लचिलो भन्ठान्छन् । अनि एउटा ठूलो जमातले त आफ्नो धार्मिक परम्परा 'वैज्ञानिक' छ भन्ठान्छ र नानाभाँती तथ्य र प्रमाण जोडजाड गरेर आफ्नो आस्थाको पक्षपोषण गरिरहेको हुन्छ ।

नेपालमा भनिने र सुनिने पूराणहरू पनि मोटामोटी आफ्नो धर्म कति महान छ, कति लचिलो छ, कति वैज्ञानिक छ भन्ने कुराका बयान हुन् । तर, मलाई यो कुरा नै समस्या हो जस्तो लाग्दैन ।

समस्याचाहिँ के हो भने पुशुपतिमा पूराण भन्ने देवी र यस्तै पूराणवाचकले समाजमा विद्यमान पूर्वाग्रहलाई मलजल गरिदिन्छन् । आफूबाहेक अरूलाई खराब रूपमा चित्रित गर्छन् । मानिसहरूमा नजानिदो गरी घृणा र संकीर्णता फैलाउँछन्  र त्यसबाट आर्थिक र सामाजिक रूपमा लाभान्वित हुन्छन् ।

कालान्तरमा यस्ता पूराण भन्ने प्रसिद्ध पण्डामध्ये धेरैजसो आफ्ना करतुत उदाङ्गिएर संकाराचार्य वा आशाराम बाप्पुजस्तै बदनाम त हुन्छन् तर त्यो बेलासम्म समाजमा प्रशस्त विष फैलिसकेको हुन्छ ।

राम्रो त के हुन्थ्यो भने पूराणलाई असल र जायज मान्ने मानिसहरूले यो परम्परा पनि इस्लाम वा क्रिस्चियानिटीमा मौलवी, पादरीले गर्ने प्रवचन जस्तै हुन्, पूराणका वाचकको प्रवचनमा निहित गलत कुरामाथि प्रश्न गर्नुपर्छ भन्ने स्वीकार गरुन् ।

तर, संसार मैले नै चाहेजस्तो कहाँ हुन्छ र !

No comments:

Post a Comment