Wednesday, August 28, 2024

'मेरिट'को अत्याचारः Tyranny of Merit

प्रिय पाठक,

म किताबहरूका बारेमा ब्लग र अन्यत्र अलि बढी नै कुरा गरिरहेको छु । तर, सम्भवतः म औसत मानिसका तुलनामा कम पढ्छु । 

यसो भए पनि आफूले पढेको किताबका बारेमा लेख्न मन लाग्छ । मेरा लागि लेखाइ पनि एक प्रकारको पढाइ हो । लेख्दै गर्दा पढेका कुरामाथि थप चिन्तन-मनन गर्ने अवसर मिल्दो रहेछ । पढ्दा आफूलाई रोचक लागेका केही कुरा अरूलाई सुनाउनु पनि सायद ज्ञानको 'संस्था' अन्तर्गत पर्ने एउटा अभ्यास हो ।

गएको साता एउटा किताब पढेँ । पढ्ने किताबको सूचीमा संयोगले परेको यो किताब चानचुने रहेनछ । यसले मलाई गजबले हल्लायो -औपचारिक शब्दमा भन्दा उद्वेलित गर्‍यो । पढिरहँदा प्राय पुस्तकका कन्टेन्टलाई हाइलाइट गर्ने वा नोट गर्ने मेरो बानी छैन । तर, यसपटक भने यति धेरै हाइलाइट गरिएछ र नोटहरू लेखिएछ कि मलाई नै हेक्का भएन ।

पुस्तकको नाम हो टिरेनी अफ मेरिट (Tyranny of Merit: What’s Become oft he Common Good), लेखक माइकल सान्डेल (Michael Sandel) । प्रकाशक पेङ्गुइन । म आजको ब्लगमा यो किताबको समालोचना गर्न त गरिरहेको छैन । तर, यसमा रहेको मूल कुराको नितान्त मौलिक बुझाइ यहाँहरूसमक्ष राख्नेछु । त्यसैले, यो समालोचना नभएर मोनोलोग मात्र हो ।

‘यो भूमण्डलीकरणको युग हो’ भन्ने क्लिसेबाट वर्णन गरिने आजको युगमा हामी व्यक्तिको संभावना र क्षमताका कुरा गर्छौँ । हामी सोच्छौं (वा भन्ने गर्छौं) –‘हरेक व्यक्तिसँग विशिष्ट क्षमता हुन्छ । समाज वा राज्यले व्यक्तिको यस्तो क्षमतालाई उचित स्थान दिन आवश्यक नीति र कार्यक्रम बनाउनु पर्छ । जात, रङ्ग, लैंगिकता, आर्थिक हैसियत आदि आधारमा विपन्न स्थानमा परेका व्यक्तिहरूलाई उचित अवसर दिन सकियो भने उनीहरू अध्ययन वा अन्य प्रकारका क्षमता विकासबाट आफ्नो वर्ग परिवर्तन गर्न सक्षम हुन्छन् । त्यसैले, राज्यको जिम्मेवारी भनेको सबैलाई समान अवसर उपलब्ध गराउने हो र मानिसहरूलाई वर्ग परिवर्तन गर्ने मौका र अधिकार दिने हो ।’

आधुनिक र सम्पन्न राष्ट्र संयुक्त राज्य अमेरिका, लाई यो मान्यताको जननी मानिन्छ । बिना कुनै अवरोध हरेक व्यक्तिले आफ्नो क्षमतालाई समृद्धिमा बदल्ने अवसर दिने राष्ट्रका रूपमा चिनिएको अमेरिका एउटा प्रचलित क्लिसेबाट संसारभर चिनिन्छ ‘अमेरिकी सपना’ । यो क्लिसेले भन्छ -अमेरिका एक यस्तो राष्ट्र हो जहाँ कुनै व्यक्ति कुन पृष्ठभूमिको हो ? भन्ने कुराको महत्त्व हुन्न, ‘त्यस व्यक्तिको क्षमता के हो र यसले समाज र राष्ट्रलाई कस्तो योगदान दिनसक्छ ?’ भन्ने कुरामात्र महत्त्वपूर्ण हुन्छ ।

अर्थात्, कुनै देश वा समाजलाई उन्नत बनाउने एक मात्र सही र वस्तुगत मानक त्यसका सदस्यको विशिष्ट क्षमता (मेरिट) हो ।

यस्तै मानसिकताबाट निर्देशित हाम्रा विद्यालय, विश्वविद्यालय, सार्वजनिक संस्थान, निजी उद्यम सबैले ‘मेरिट’ अर्थात् व्यक्तिको गुणवत्तालाई महत्त्व दिन्छन् । हामी विश्वास गर्छौँ -सबल र सक्षम व्यक्तिले राम्रो विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाउँछ, राम्रो जागीर पाउँछ, समाजको प्रतिष्ठा पाउँछ र समग्रमा समृद्ध र सम्मानपूर्ण जीवन बिताउन पाउँछ ।

आदर्श राष्ट्र र समृद्धिको प्रतिकका रूपमा संसारभर चिनिने अमेरिका र उसको सिको गर्ने संसारका धेरै देशहरूमा ‘मेरिट’लाई आदर्शका रूपमा हेरिन्छ र ‘मेरिटोक्रेसी’लाई प्रश्न र बादविवादभन्दा माथि राखिन्छ । राम्रा विश्वविद्यालयमा विशिष्ट र जटिल परीक्षाहरूमार्फत् विद्यार्थी छानिन्छ । जागीरमा विशेष विश्वविद्यालय, विशेष विषय र विशेष लब्धाङ्क वा परीणामको गणना गरिन्छ ।

माइकल सान्डेलको पुस्तक ‘मेरिट’लाई प्रधानता दिने यस्तो चिन्तन र प्रवृत्तिविको सशक्त अनि बृहत् आलोचना हो । यो पुस्तकमा सान्डेल भन्छन् मेरिटलाई प्रधानता दिने सोचले आजको हाम्रो विश्वलाई अनुमान गर्नै नसकिने क्षति पुर्‍याएको छ । यसबाट मेरिट नभएका मानिसहरूले त दुःख पाएका छन् नै, मेरिट भएका र सफलको गणनामा पर्ने मानिसको जीवनलाई पनि जटिल तथा समस्यापूर्ण बनाएको छ ।

सान्डेलका मूल तर्कलाई म तलका चारवटा प्रश्नमार्फत् प्रस्तुत गर्न चाहन्छु ।

प्रश्न १: वंश, जात, नश्ल, लैंगिकता आदिको सट्टामा मेरिटलाई प्राथमिकता दिनुपर्छ भनेर हामी लगभग एक शताब्दिदेखि व्यक्तिमा निहित विशिष्ट क्षमता (मेरिट)को कुरा गरिरहेका छौँ । यस्तो तर्कको केन्द्रमा के धारणा छ भने मेरिटलाई प्राथमिकता दिँदा समाजमा विद्यमान असमानता कम हुनेछ र हरेक व्यक्तिलाई समृद्ध हुने मौका मिल्नेछ । तर, १०० वर्षको यो अभ्यासको परिणामले के भन्छ ? के वास्तवमा सामाजिक असमानता कम भएको छ ? के आज मानिसहरूलाई १०० वर्षअघिका तुलनामा समृद्ध हुने बढी मौका मिलिरहेको छ ?

प्रश्न २: आज ‘मेरिट’को वर्गमा पर्ने ज्ञानको वर्गीकरण र यसको मापनका लागि प्रयोग गरिने विधि के वास्तवमै धेरै मानिसहरूले दाबी गरेको जस्तो निष्पक्ष र वस्तुवादी छ ? प्रतिष्ठित विश्वविद्यालयमा भर्नाका लागि अब्बल विद्यार्थी छान्न प्रयोग गरिने विधि र प्रक्रियाले कस्ता वर्ग र परिवारका आवेदकलाई बढी प्रश्रय दिइरहेको छ ? जुत्ता सिलाउने र वित्तीय संस्थानमा व्यवस्थापकका रूपमा काम गर्ने दुई फरक व्यक्तिहरूले समाजलाई दिइरहेको फरकफरक योगदान र उनीहरूले आफ्नो श्रमबाट प्राप्त गर्ने प्रतिफलको मूल्याङ्कन समाजले कसरी गरिरहेको छ ?

प्रश्न ३: नाम चलेका प्रसिद्ध विश्वविद्यालयमा पढ्ने अवसर पाउने र यसका आधारमा राम्रो जागीर पाउने मानिसले आफ्नो समृद्धिलाई आफ्नो विशिष्ट व्यक्तिगत क्षमता र मेहनतका रूपमा जसरी व्याख्या गरिरहेको छ के त्यो जायज छ ?  मानिस नितान्त स्वनिर्मित (सेल्फमेड) हुनसक्छ ? समाज वा राष्ट्रको उसमाथि लगानी हुँदैन ? यसबापत समाज र राष्ट्रप्रति उसको केही दायित्व हुँदैन ?

प्रश्न ४: मेरिट वा मेरिटोक्रेसीलाई प्रश्न र सन्देहभन्दा माथि राख्ने आम चिन्तनले राम्रो विश्वविद्यालयमा पढ्ने अवसर नपाउने, अध्ययनमा सफल नहुने, राम्रो रोजगारी नपाउने र भौतिक रूपमा समृद्ध जीवनयापन गर्न नसक्ने बहुसङ्ख्यक मानिसहरूको आत्मसम्मानलाई कसरी प्रभाव पारिरहेको छ ? यसबाट उनीहरूमा कस्तो मानसिकताको विकास भइरहेको छ ? यो मानसिकताले आजको समाज र राजनीतिलाई कसरी प्रभाव पारिरहेको छ ?

यी सबै प्रश्नका खरा जवाफ माइकल सान्डेलले आफ्नो पुस्तकमा प्रस्तुत गरेका छन् ।

उनी भन्छन् -मेरिटलाई प्राथमिकता दिने मान्यताको जगमा खडा भएको समाज वस्तुगत रूपमा गलत र मानवीय रूपमा अन्यायपूर्ण छ । मेरिटलाई दिइएको महत्त्वले समाज वा राष्ट्रलाई समग्रमा फाइदा भएको छैन । न त यसबाट वर्गीय असमानता नै घटेको छ । मेरिटले वर्गीय असमानतालाई झन् कडा र अभेद्य बनाएको छ । मेरिटले सिर्जना गरेको विभाजनले मेरिट नभएका कोटीमा पर्ने मानिसहरूमा असन्तुष्टि र आक्रोश बढेको छ । गरिबीको समस्या झन् जटिल बनेको छ । अशान्ति र अराजकता बढेको छ ।

आफू र आफ्नो पेशा, व्यवसायलाई ‘मेरिट’को परिभाषामा नसमेटिएको अनुभूति गर्ने आम मानिसहरूको असन्तुष्टिलाई पपुलिस्ट र न्यासनलिस्ट राजनीति गर्ने मानिसहरू (जस्तै, डोनाल्ड ट्रम्प)ले अवसरका रूपमा उपयोग गरिरहेका छन् ।

भूमण्डलीकरण शब्दले व्याख्या गर्ने आजको युगमा निश्चित ज्ञान र क्षमता विशेष प्राथमिकतामा छन् । वित्तीय संस्था र निश्चित खालका व्यापार-व्यवसायलाई आज हामीले विशिष्ट महत्त्व दिएका छौँ । उदाहरणका लागि वाल स्ट्रिट, टेस्ला, सामसङ्, वा एपल आदर्श भएका छन् र उनीहरूका व्यापारिक रणनीतिलाई उद्यमशीलताका उदाहरणका रूपमा बुझ्ने गरिन्छ । यसबाट समाजका लागि नभै नहुने विभिन्न प्रकारका वस्तु र सेवाहरूको महत्त्व ओझेलमा परेको छ ।

बिरामीलाई अमूल्य सेवा प्रदान गर्ने अस्पतालको एक नर्स आफ्ना दैनिक र सामानय आवश्यकता पुरा गर्न सङ्घर्ष गरिरहेको छ, कुनै बैंकमा जागीर गर्ने व्यवस्थापक सामान्य श्रमीकका तुलनामा ३००० गुना बढी पारिश्रमिक पाउन सफल छ ।

सान्डेल अमेरिकाका नाम चलेका राजनीतक दर्शनशास्त्री (Political philosopher) रहेछन् । सामाजिक न्यायका विषयमा उनको दखल रहेछ । यो किताबमा पनि उनले श्रमको मूल्य निर्धारण गर्ने जिम्मा बजारलाई दिनुपर्छ भन्ने प्रसिद्ध दार्शनिक  फ्रिदरिख हायेक (Friederich Hayek) र उदारवादका प्रखर दार्शनिक जोन रल्स (John Rawls) का धारणालाई विस्तृत रूपमा केलाएका छन् । सान्डेलले उनीहरू दुबैका धारणामा श्रमको मूल्यका बारेमा रहेका समस्यालाई केलाउँदै ‘मेरिट’बाट नियन्त्रित वर्तमान अमेरिकाको दुखद् तस्वीर किताबमा प्रस्तुत गरेका छन् ।

प्रिय पाठक,

  • के तपाईं आफूलाई नितान्त आफ्नो संघर्ष र मेहनतका आधारमा सफल भएको व्यक्तिका रूपमा बुझिरहनुभएको छ ?
  • के तपाईं समृद्ध र धनी मानिएका मानिसलाई उनीहरूको विशिष्ट क्षमताका कारण त्यसका लागि योग्य छन् भन्ने विश्वास गर्नुहुन्छ ?
  • के तपाईं आफूलाई विशिष्ट क्षमता वा गुण नभएका कारण अवसर नपाएर अरू भन्दा पछि परेको हुँ र यसलाई स्वीकार गर्नुपर्छ भन्ने विश्वास गर्नुहुन्छ ? 
  • के तपाईं नाम चलेका विद्यालय र विश्वविद्यालयबाट नाम चलेका विषयमा डिग्री हासिल गरेका नाम चलेका मानिसहरूले देश र समाज हाँक्नुपर्छ’ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ?

यदि तपाईंमा यस्ता कुराहरूमा विश्वास छ भने बिन्ती एकपटक माइकल सान्डेलको टिरेनी अफ मेरिट अवश्य पढ्नुहोला । यसबाट तपाईंमाथि कस्तो प्रभाव पर्ला म भन्न सक्दिन, तर यो किताबले मलाई थप बिनम्र (हम्बल) बनाएको छ । मेरा कतिपय बुझाइ जरैसँग हल्लिएका छन् । 

र यो किताबबाट मेरो मनमा लामो समयदेखि मडारिइरहेका तर चित्तबुझ्दा कतिपय प्रश्नहरूको सटिक जवाफ मिलेको छ ।

सान्डेलको समग्र पुस्तकमा मलाई सबैभन्दा चित्त बुझेको केही कुरा तल राख्दैछुः

१- मानिसहरूमा विशिष्ट क्षमता र गुण नहुने होइन । जस्तै, जति प्रयास गरे पनि सबै मानिस उसेन बोल्ट जस्तो तेज रफ्तारमा दौडन सक्दैनन् । तर, हरेक उसेन बोल्ट विशिष्ट सामाजिक परिवेष र संयोगहरूको परिणाम हो । मानिसको सफलता आन्तरिक क्षमता र समाजले उपलब्ध गराएको परिवेषको संयुक्त परिणाम हो । कुनै मानिस कहिलै 'सेल्फ मेड' हुन सक्दैन । त्यसैले, जब लाभको वितरणको प्रश्न उठ्छ त्यसबेला एउटा योग्यता, श्रम वा उपलब्धिलाई बढी र अर्कोलाई कम मूल्यांकन गर्नु न्यायसङ्गत हुन्न ।

२- मानिसले समाजमा आफ्नो पहिचान र आत्मसम्मान निर्माण गर्ने आफ्नो योगदान (Contribution) बाट हो । यदि उसले आफ्नो क्षमता, ज्ञान वा श्रमको उचित स्थान वा महत्त्व देखेन भने ऊ विक्षिप्त र असन्तुष्ट हुन्छ । मेरिटका नाममा आजको आधुनिक समाजले एउटा सानो सङ्ख्याका मानिसलाई सम्मान र अवसर दिएको छ । बाँकी मानिसहरूको क्षमता र उनीहरूको श्रमलाई उचित सम्मान नदिएकाले पपुलिजम र न्यासनलिजमका समस्या भयावह बनेका छन् । भविष्यमा यो असन्तुष्टि अन्य तरिकाले अभिव्यक्त हुनसक्छ र यसले समग्र लोकतान्त्रिक देशहरूलाई पूर्ण रूपमा असफल बनाउन सक्छ ।

३- अब्बल विश्वविद्यालयको सुनौलो डिग्री समाज वा राष्ट्र चलाउने विशिष्ट योग्यता होइन । देश राम्रोसँग चलाउने क्षमता ती व्यक्तिहरूमा हुन्छ जोसँग आम मानिसका व्यवहारिक मुद्दाका बारेमा गहिरो कार्यगत अनुभव छ । मेरिट भएका मानिसहरूले देश चलाउने प्रवृत्ति हावी हुँदा अमेरिका थप कमजोर भएको र गलत बाटोमा हिडेको इतिहास छ। अमेरिकी प्रशासनमा सन् १९७० पछि मेरिटोक्रेसी हावी हुँदा भियतनाम युद्ध, इराकमाथिको आक्रमण र सन् २००८ को मन्दीपछि वालस्ट्रिट बैंकहरूलाई बेलआउट गर्ने अव्यवाहरिक निर्णयहरू भए ।

मलाई विश्वास छ (पहिलै नपढ्नुभएको भए) यहाँलाई यो पुस्तक अवश्य नै रोचक लाग्नेछ, र मेरो यो सूचिमा बुँदाहरू थपिँदै जानेछन् ।

Wednesday, August 21, 2024

The Silk Roads

गएको साता एउटा पुस्तक पढिसकेँ । त्यो ६३७ पाना लामो र २००० वर्षका घटना समेटिएको पुस्तकको रिभ्यु लेख्ने क्षमता र धैर्य दुवै ममा छैन । तर, यसबारे छोटकरी टिप्पणी तल प्रस्तुत गर्दैछु ।

पुस्तकको नाम The Silk Roads: A New History of the World । लेखक Peter Frankopan । फ्रान्कोपान अक्स्फोर्ड विश्वविद्यालयका इतिहासका प्राध्यापक र होटल व्यवसायी रहेछन् । उनको प्राज्ञिक र व्यवसायिक करिअर त रोचक नै रहेछ । सँगै यो पुस्तक पनि कम रोचक छैन ।

Friday, August 2, 2024

एक नास्तिकको ‘डिभोर्स’ पूराण

पशुपतिको पूराणको चर्चा प्रशस्त भयो । त्यो आस्तिकले आस्तिकहरूका लागि भनेको पूराण थियो । यही मेसोमा मलाई नास्तिक पूराण ‘वाचन’ गर्न मन लाग्यो । मेरो पूराण सुन्न हातमा फूल लिनु पर्दैन, कुनै भगवान सम्झिनु पर्दैन, र पूराण सुन्न कुनै दान, चन्दा, शुल्क तिर्नु पर्दैन ।

मेरो नास्तिक पूराणमा हालै पशुपतिमा सम्पन्न धार्मिक पूराण र त्यसले ‘डिभोर्स’का बारेमा उठाएको बहसको चर्चा गर्नेछु । तर, यसका लागि पूराण नै के हो ? भन्ने प्रश्नबाट कुरा सुरु गर्नुपर्ने हुन्छ ।