कति कठिन छ यो देशमा आम मानिस भएर बाँच्न !
असहज बाटामा थोत्रा गाडी गुल्टिरहन्छन् र असङ्ख्य सपनाहरू बर्खे खोलामा निस्सासिएर
मर्छन् । बिग्रेका हवाइजहाजमा सालैपिच्छे हुलका हुल मानिस खरानी भइरहन्छन् । सरकार
मर्नेको गच्छे हेरेर कहिले आधा र कहिले पुरा झण्डा झुकाउँछ । समवेदना दिन कुनै
कञ्चुस्याईं गर्दैन ।
दर्जनौं मानिस त्रिसुलीभित्र हराएका बेला र त्रिभुवन विमानस्थलमा खरानीका पोकामा निर्दोष मानिसका शबको गन्ति भइरहेका बेला देशमा अर्को एउटा चिज मरेको खवर आएको छ -एउटी पिडीतको न्याय पाउने आशा ।
गौशाला २६ ले राज्यको निकायसमक्ष गएर भनिन् –“भो अब मलाई पुग्यो । तिमीहरूको
न्याय तिमीहरू नै राख । मलाई बाँच्न देऊ !”
यो सन्देशमा ती सबै किशोरी वा महिलाको मनोदशा समेटिएको छ जो सुरक्षित र
सम्मानपूर्ण जीवनयापनको अपेक्षा गर्छन् र आवश्यक परेका बेला राज्यबाट न्याय पाउने
विश्वास गर्छन् । यो दिन उनीहरूको आशा र विश्वास मरेको दिन हो । बलात्कार वा यौन
हिंसाका पिडितहरूले अब बुझ्नेछन् -राज्य र बृहत् समाज बलात्कार पिडित महिलाका लागि
न्याय सुनिश्चित गर्न सक्षम छैन ।
न्यायको लडाईंमा गौशाला २६ को हार नेपालको न्यायप्रणाली, प्रशासन र समग्र
समाजको लज्जास्पद् हार हो । यो नेपालको अधोगतितर्फको तीव्र यात्राको एउटा सशक्त
संकेत पनि हो ।
नेपालको विषाक्त पितृसत्ताका लागि महिला पूर्ण रूपमा मानिस होइनन् । यो पितृसत्ताले
महिलाले पाएको सीमित स्वतन्त्रतालाई पुरुषको निगाह र उदारताको परिणाम ठान्छ । उनीहरूको
श्रमलाई श्रमको मान्यता दिँदैन । उनीहरूमाथिको नियन्त्रणलाई सुरक्षा भनेर
अर्थ्याउँछ । यौन हिंसा वा अन्य प्रकारका हिंसालाई सहजतापूर्वक स्वीकार गर्छ ।
लैंगीक विभेदका आधारमा खडा भएका भूमिका र जिम्मेवारीलाई स्वाभाविक हुन् भन्ने सोच
राख्छ ।
पितृसत्तालाई ढाकछोप गर्ने र वैधानिकता दिन चाहनेहरू भन्ने गर्छन् –“नेपालका
महिला सबल छन्, सुरक्षित छन् । अन्यत्रको जस्तो हिंसा नेपालमा कम छ ।” उनीहरू
यस्तो पनि सोच्छन् –“महिलामाथि हुने भेदभाव कम हुँदैछ, यसका लागि समय पर्खिनुपर्छ
।”
यही पितृसत्तात्मक आत्मरति सयौँ नेपाली महिलाको मृत्युको कारण बनिरहेको छ ।
महिलाले भोगिरहेका असमानता र हिंसाको अन्तका लागि यही चिन्तन जिम्मेवार छ । यो
चिन्तनले घरमा, कार्यालयमा, सार्वजनिक स्थलमा, राज्यका नीति र कार्यक्रममा
महिलामाथि हुने भेदभावपूर्ण व्यवहार देख्न र त्यसमाथि प्रश्न गर्न अवरोध खडा
गरिरहेको छ ।
नेपालमा महिलाको स्तर पुरुष बराबर छैन । उनीहरू आर्थिक र सांस्कृतिक रूपमा कमजोर
छन् । उनीहरूका आवाज कमजोर छन् । उनीहरूले भौतिक र मनोवैज्ञानिक हिंसाबाट त्रसित
भएर जीवन बिताउनुपर्छ । यस यथार्थलाई आम मानिसले स्वीकार गर्न नसक्नु नेपालको दुर्भाग्य
हो ।
संसारमा यस्ता देश पनि छन् जहाँ महिलाले आफ्ना बावुआमा वा परिवारले स्वीकार
नगरेको पुरुषसँग बिवाह गर्दा उनीहरूबाट मारिनुपर्छ । यो अति दुखद् अवस्था हो । तर,
के बुझ्नुपर्यो भने यस्तो विषाक्त पितृसत्ताको जग नेपालमा पनि क्रमशः बनिरहेको छ
। भोलि नेपाल पनि त्यही अवस्थामा नपुग्ला भन्न सकिन्न ।
गौशाला २६ ले स्वीकार गरेको हार महिला हिंसा र महिलामाथि हुने भेदभाव अझ
खँदिलो हुँदै गएको प्रमाण हो ।
आज म सोचीरहेको छु -के म आम मानिसका रूपमा आफ्ना परिवारका सदस्यलाई राज्यले
आवश्यक परेको बेला न्याय दिनेछ भनेर सुनिश्चित गराउन सक्छु ?
किशोर अवस्थाकी मेरी छोरीलाई गौशाला २६ ले न्यायको लडाईंमा हार मानेको समाचार सुनाउँदा उनको मस्तिष्कमा कस्तो प्रभाव पर्ला ? यो समाचार मैले उनलाई कसरी सुनाउनु ?
असुरक्षित बाटोमा थोत्रा गाडी दुर्घटनामा दिनहुँ दुर्घटनामा परिरहनु र हवाइजहाज
आकाशमा खरानी भइरहनुमा जिम्मेवार हाम्रो राज्य हो जसका लागि मानिसको जीवनको कुनै
मूल्य छैन । यस्ता दुर्घटनाको स्पष्ट कारण थाह हुँदाहुँदै राज्य उपर्युक्त नीति
बनाउन र तिनको कार्यान्वयन गर्न इच्छुक छैन । राज्य चलाउनेका प्राथमिकता फरक छन् ।
गौशाला २६ ले स्वीकार गरेको हारले पनि राज्य चलाउनेलाई पोल्ने छैन । किनकि
न्याय उनीहरूको प्राथमिकता होइन । आम जनताको सुरक्षा र आत्मसम्मानमा उनीहरूलाई
चासो छैन ।
देश एकैदिन असफल हुने होइन । हेटी, सुडान वा कोते दि-इभोर रातारात आजको अवस्थामा पुगेका होइनन् । दुखको कुरा नेपालका घटना हेर्दा यस्तो लाग्छ हामी पनि यही बाटोमा उन्मुख छौँ !
No comments:
Post a Comment