Thursday, June 13, 2024

समसामयिक नेपालका ५ प्रतिनिधि पात्र

आजको ब्लग टुक्राटुक्रामा विभाजित छ । ब्लगमा व्यक्तिहरू नाच्नेछन् -तर मेरो उद्देश्य समसामयिक नेपालको मानसिक अवस्थाको चर्चा गर्ने हो । यसका लागि ५ पात्रलाई रोजेको छु ।

 

सन्दीप लामिछाने

सन्दिप लामिछानेमाथि लागेको बलात्कारको अभियोगलाई अदालती प्रक्रियाबाट जसरी निरुपण गर्न खोजियो र खोजिँदैछ त्यो लज्जास्पद र रिस उठ्दो छ । 

पिडितले साहस गरेका कारण सन्दिप कानुनको फन्दामा त परे तर उनको मुद्दामा कानुनी प्रक्रियालाई 'कस्टमाइज' गरियो । यस्तै अभियोगमा आज दर्जनौं पुरुष नेपालका विभिन्न कारागारमा सजाय काटिरहेका छन् । सन्दिपलाई उन्मुक्ति दिन राज्य संरचनाको भरपूर उपयोग भयो र भइरहेको छ । उनको मुद्दाका सन्दर्भमा कानुन सबैका लागि समान हुनुपर्छ भन्ने आधारभूत मान्यतालाई लत्याइयो । देशको इज्जतका नाममा गम्भीर अपराधका आरोपीलाई सजायबाट उन्मुक्ति दिने वातावरण बनाउन सशक्त प्रयास अहिले पनि जारी छ ।

आजभोलि सडकदेखि संसदसम्म भएका छलफल, कुराकानी सुन्दा मलाई कस्तो लागिरहेको छ भने सन्दिप बहुसङ्ख्यक नेपाली पुरुषका प्रतिनिधि पात्र रहेछन् ।  उनका 'फ्यान'हरूको विचारमा उनी ‘बेकारको झमेलामा फसे' । आखिर नेपालमा ठुलो सङ्ख्यामा पुरुषहरू महिलालाई बलात्कार गर्न पाउनु आफ्नो नैसर्गिक हक हो भन्ने विश्वास गर्ने रहेछन् ।

त्यसैले, सन्दिप समस्या होइनन् । समस्या बृहत् समाजमा छ जसले नानाथरी बहाना बनाएर उनलाई समर्थन गरिरहेको छ । कहिलै क्रिकेट नहेर्ने र क्रिकेट नै नबुझ्ने मानिसले पनि सन्दिपलाई 'राष्ट्रिय गहना' मानेर उनलाई विदेशीको षड्यन्त्रका कारण फसाइयो भनेर हल्ला गरिरहेका छन् । यसले नेपाली समाजमा निहित स्त्रिद्वेषी र पुरुष प्रधान तत्वलाई उजागर गरिरहेको छ । समस्या पुरुषवादी मानिसकता हो जुन सन्दिपको मुद्दामा सतहमा आएको छ ।

सन्दिपको समर्थनमा जुलुस निस्किए । बहालवाला खेलकुद मन्त्रीले उनलाई ढाडस दिए । संसद्को सबैभन्दा ठूलो दलका महामन्त्रीले उनको समर्थनमा बोले । थप सांसद्हरूले दिनहुँ 'सन्दिपमाथि षड्यन्त्र भयो' भनिरहेका छन । यी सबैले के देखाउँछन् भने प्रगतिशील, चेतनशील वा उदार भनेर कतिपयले गर्व गर्ने नेपाल यथार्थमा आडम्बरी छ । सन्दिपका 'फ्यान'मात्र नभएर समग्र राज्य संरचना उनलाई बचाउन उद्यत हुने प्रवृत्ति डरलाग्दो छ ।

राज्य संरचना र यसका अवयबहरूले बलात्कारी जोगाउन हरसम्भव प्रयास गर्ने देशको संसारमा कस्तो इज्जत होला ? यसको प्रश्न विवेक भएका मानिसले खोज्लान् । तत्काल के समस्या देखियो भने नेपालमा अब बलात्कारका मुद्दामा पिडितलाई पिडकका रूपमा र पिडकलाई पिडितका रूपमा बुझिने खतरा बढेको छ । यसबाट महिला, किशोरी, बालिका थप असुरक्षित बन्नेछन् ।

 

ज्ञानेन्द्र शाह

राजतन्त्र व्यक्ति वा परिवारको कुरा होइन । यो मानसिकताको कुरा हो । नेपाली समाजको ढाँचा र प्रवृत्ति हेर्ने हो भने सहजै बुझ्न सकिन्छ -यहाँ राजतन्त्रका लागि उर्वर माटो छ । राजतन्त्रप्रति मानिसको आशक्ति खोज्न अन्त जानु पर्दैन सोसल मिडियामा 'राजा भएको भए आज कति गजब हुन्थ्यो' भन्नेहरूको अलापविलाप नै पर्याप्त छ ।

नेपाल मात्र नभएर दक्षिण एसियाको समाज मालिक र दासको मानिसक संरचनामा अड्केको (fixated) छ । यहाँ एउटा व्यक्ति कि कसैको मालिक हो कि कसैको दास । दासका लागि मालिकको अस्तित्व प्यारो हुन्छ, मालिकलाई दासको भक्ति र सेवा चाहिन्छ । यो प्रणाली आफूलाई तुच्छ ठान्ने दास र उसले बनाएका मालिकको सहमतिमा चल्छ, र यस्तो संरचना मालिक र दास दुबै चाहन्छन् ।

मालिक-दास मनोवृत्ति दक्षिण एसियाको मात्र चरित्र भने होइन । यो विश्वाव्यापी छ र सम्भवतः मानिसको सामाजिक मनोवज्ञानसँग गाँसिएको छ । दास मनोविज्ञानको फाइदा मोदीदेखि किम जोङ्-उनसम्मले लिएका छन् ।

नेपालमा राजतन्त्र हटेपछि आफूलाई दास ठान्ने र मालिक हुन चाहनेहरू दुबैका लागि अस्तित्वको सङकट आएको छ । मालिकले शासन गुमायो, दासले मालिक । त्यसैले, उनीहरू ‘राजतन्त्र ल्याउन पाए आजका सबै समस्या ठिक ठाउँमा आउने थिए’ भन्ने सोच र गहन चिन्तामा डुबेका छन् । कति त यसका लागि प्रयासरत पनि छन् ।

नेपालमा विद्यमान राजतन्त्रप्रतिको आशक्तिका उदाहरण ज्ञानेन्द्र मात्र होइनन् । 

देउबा, ओली, रवि वा बालेनप्रति देखिने अन्धभक्ति पनि राजतन्त्रको उर्वर भूमिमा फलाउन खोजिएका अन्य फसल हुन् जसको विशेषता त्यही हो । यी पात्रहरू पनि राजा हुन चाहन्छन् र समाज उनीहरूलाई त्यो स्थान दिन चाहन्छ ।  त्यसैले, समस्या अरूको दौराको फेर समातेर फेरी राजा हुने चाहनामा कहिले कोसँग कहिले कोसँग दौडिरहेका ज्ञानेन्द्र शाह वा उनलाई राजा बनाउन कटिबद्ध ज्ञानेन्द्र शाहीमा मात्र छैन -समस्या बृहत्तर नेपाली सामाजमा छ जसले इतिहासका गल्ति नदोहोर्‍याउने क्षमता गुमाएको छ र समस्या ती मानिसहरूमा छ जो निरङ्कुश शासकको दास हुने मिठो सपनालाई भुल्न सकिरहेका छैनन् ।

 

कैलाश सिरोहिया

म कैलाश सिरोहियालाई व्यक्तिगत रूपमा चिन्दिन । उनी असल वा खराब के हुन् मलाई थाह छैन । उनी असल हुनसक्छन् र खराब पनि । गलत तरिकाले नागरिकता लिएको कसुरमा उनीमाथि कानुनी प्रक्रिया चलिरहेको छ । यो मुद्दामा उनी दोषी ठहरिन पनि सक्छन् र त्यसमा मलाई आश्चार्य हुनेछैन ।

सामाजिक सञ्जालमा सिरोहिया समातिएकोमा मानिसहरूले व्यक्त गरेको खुशी भने निकै रोचक लागेको छ मलाई । टिकटक, युट्युव र इन्स्टाग्राममा कैलास सिरोहियालाई एउटा ठुलै अपराधी र भ्रष्ट मानिसका रूपमा चर्चा गर्नेको जमात उल्लेख्य छ । उनलाई समातेर सरकारले ठूलो साहस प्रदर्शन गरेको बुझाइ धेरै मानिसमा छ ।

कैलाश सिरोहियाका विरुद्धमा यस्तो मत कसरी निर्माण भयो ? किन मानिसहरू उनका विरुद्धमा यसरी खनिए ? उनीविरुद्धको आक्रोश के उनको व्यापार गर्ने शैलीसँगमात्र सम्बन्धित छ ? के मानिसहरू सिरोहियासँग उनी व्यापारमा इमानदार र पारदर्शी नभएको कारण नै रिसाएका हुन् ?

सोसल मिडिया र अन्य माध्यममा सिरोहिया र कान्तिपुरको विरुद्धमा युट्युव, टिकटक र इन्स्टाग्राममा पाइने टिकाटिप्पणीलाई तर्कका आधारमा मात्र बुझ्न सकिन्न यसका लागि गहिरिएर हेर्न आवश्यक छ । सिरोहिया, कान्तिपुर र मुलधारे मिडिया बढिरहेको घृणाका केही प्रस्ट र गम्भीर संकेत छन् ।

पहिलो संकेत हो -सोसल मिडियामा पहुँच भएको र निश्चित मनोसंरचना बोकेको एउटा वर्गमा कान्तिपुर र अन्य मिडियाप्रति तिब्र असन्तुष्टि छ । उसले सोच्छ -यिनै मिडियाका कारण नेपालमा राजतन्त्रको (दुखद्) अन्त भयो, यिनैले गणतन्त्र ल्याए, संघीयता यिनैका कारण आयो । आजको समग्र समस्याको जड यही लोकतन्त्र, गणतन्त्र र संघीयता हुन् । यसका लागि जनमत बनाउने यी मिडियालाई दण्डसजाय हुनैपर्छ । त्यसैले, सिरोहिया किर्ते नागरिकताको मुद्दामा पक्राउ पर्नु उसका लागि एउटा सानोतिनो सफलता हो ।

अहिलेको संविधान र त्यसमा भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विशेषता नरुचाउने निश्चित वर्ग र समुदाय छ । यो वर्गको प्रतिनिधित्व वैधानिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्छ । तर, राजतन्त्र, हिन्दुत्व र एकात्मक व्यवस्था रुचाउने मानिस सबै पार्टीमा छन् । रास्वपा र एमालेमा अलि बढी होलान् । रास्वपाका मन्त्रीको सक्रियतामा सिरोहिया पक्राउ पर्नुमा व्यक्तिगत रिसइवी पनि हुनसक्छ म जसमा जानकार छैन । तर, रास्वपा वा यसको नेतृत्वले मुलधारे मिडियालाई समस्या ठान्छ र मिडियाका विरुद्धको अभियानमा रास्वपाले जोडतोडका साथ मानिसहरू परिचालन गरेको छ ।

सिरोहिया पक्राउ पर्दा यति धेरै मानिस मनभित्रैबाट खुशी हुने कुराको दोस्रो संकेत हो -नेपाली समाज राष्ट्र र राष्ट्रियताका विषयमा सतही र आक्रामक हुने बाटोमा तीव्र गतिमा अघि बढिरहेको छ ।

नेपालमा व्याप्त हिन्दु (पहाडे) राष्ट्रवादको चरित्र के हो भने यसले आफूबाहेक सबैलाई घुसपैठिया ठान्छ । यो राष्ट्रवादले मानिसहरू एउटा देशबाट अर्को देशमा सर्न सक्छन् र यसलाई सामान्य रूपमा बुझिनुपर्छ भन्ने मान्यतामा विश्वास गर्दैन । आफू र आफ्ना सन्तान नेपालबाहिर अन्य देशमा सुखी जीवन बिताउन पाउन् भन्ने अपेक्षा राख्छ तर अन्य ठाउँबाट मानिस नेपाल आउँदै नआउन् भन्ने ठान्छ । संकिर्ण पहाडे राष्ट्रवादबाट समग्र मधेशी समुदाय पिडीत छ । सिरोहियाप्रतिको घृणा केवल उनको व्यापार गर्ने गलत तरिकाविरुद्धको घृणा होइन -उनले नेपालमा व्यापार गर्न पाउनु हुन्थेन भन्ने चाहनाको पनि अभिव्यक्ति हो ।

 

 भेलु बाजे

प्युठानको जुम्रिकाँडा पालिकाका मिन बहादुर बुढा सोसल मिडियामा भेलु बाजेका नामले प्रख्यात थिए । मगर लवजमा उनले बोल्ने नेपाली र उनले प्रयोग गरेका केही लवज (जस्तै, पख्नोस्त, अनुरोड गरेका छौँ, धेत्तेरिमाटोक्ने, माडरचोद, आदि) सोसल मिडियामा धेरै मानिसले रुचाए । भेलुबाजे आफू भाइरल हुनपाएकोमा मख्ख थिए र उनका फ्यानहरू उनका उट्पटाङ् कुरा सुनेर खितिती हाँसिरहेका थिए ।

केही साताअघि तिनै भेलुबाजेको निधन भयो । उनको निधनमा दुख मनाउ गर्नेहरू पनि सोसल मिडियामा प्रशस्त देखीए । उनको मृत्युको समाचार सुनेर म पनि दुखी भएँ ।

भेलु बाजे जुन कारणले लोकप्रिय थिए र सोसल मिडियामा उनलाई जसरी उपयोग गरियो यसको अर्थराजनीति रोचक हुनसक्छ । यी गहिरा प्रश्नमा नजाऔँ ।

यो कुरा भने सहजै भन्न मिल्ला -सूचना प्रविधिमा भएको विकास र त्यसको दुरुपयोग सैद्धान्तिक समस्यामात्र होइन । यसले मानिसलाई असामाजिक, सतही र क्रुर बनाइरहेको छ । एउटा दुरदराज गाउँको सामान्य व्यक्तिलाई इन्टरनेट मिमको स्रोत बनाइनु दुखद् कुरा हो । मिमका लागि भेलु बाजेलाई हरेक दिन दर्जनौँ मानिसले पिछा गर्नु, रक्सी किनिदिनु र उनलाई अन्टसन्ट बोल्न उक्साउनु भेलु बाजेका कमजोरी थिएनन् -ती समकालिन समाजको क्रुरता र बुद्धिहिनताका सूचक थिए र हुन् ।  

 

बालेन शाह

गएको दशैंमा म नेपालमा थिएँ । काठमाडौँ बसुन्जेल मानिसहरूको मुखबाट बालेन शाहको प्रशंसा सुनेर म आत्तिएँ ।

एउटा कुरा प्रस्ट पारौँ -म बालेन शाहको प्रशंसक होइन, न त काठमाडौँ महानगरपालिकाको बासिन्दा हो । सँगसँगै, म प्रशंसक वा आलोचक भएर उनलाई कुनै फरक पर्ने पनि होइन । उनी निर्वाचित मेयर हुन् र आफ्नो काम गरिरहेका छन् । म तीन करोडमध्येको एउटा आम नागरिक ।

मलाई बालेन शाह मन नपर्नुको कारण विभिन्न तरिकाले अभिव्यक्त हुने उनका दृष्टिकोण हुन् । राष्ट्र र त्यसमा नागरिकको स्थानका बारे बालेन शाहको दृष्टिकोणमा खोट छ भन्ने मलाई लाग्छ । उनले प्रयोग गर्ने नेपालको झण्डा र टोपीमा रहेका जोर खुकुरीमा केही अभिप्राय लुकेका छन् । त्यसमाथि मलाई लाग्छ मेयरका रूपमा बालेन शाहको काम गर्ने शैली पनि सही छैन । उनले गरेका केही राम्रो कामको संस्थागत निरन्तरता होला जस्तो पनि मलाई लाग्दैन ।

तर, फेरि दृष्टिकोणमा समस्या भएका चर्चित नेता बालेन शाह मात्र होइनन् । बालेन भन्दा अघिका मयेर विद्यासुन्दरको काम गर्ने शैली पनि बालेनको भन्दा गतिलो थिएन । असक्षमताको दोष बालेनले मात्र बोक्नुपर्छ भन्ने छैन । अझ, बालेनले मेयरका रूपमा अरूले भन्दा राम्रा काम गरेका छन् भन्ने पनि मिडियामा पढ्न सुन्न पाइन्छ ।

मलाई बालेनको अत्यधिक लोकप्रियताबाट चिन्ता लाग्ने कारण के हो भने नेपाल भयङ्कर शक्तिशाली नायकको खोजीमा छ । एउटा नायक पाए त्यसको प्रशंसा गरेर आफूलाई हिन स्थानमा राख्न सकिन्थ्यो भन्ने मानिसकता नेपालको एउटा प्रमुख वैचारिक धार बन्दैछ । 

यसले लोकतन्त्रका लागि चाहिने नेता र नागरिकबिचको सम्बन्धको विशेषता धरापमा पार्दैछ । नेता जनताको प्रतिनिधि नभएर अलौकिक शक्तिसहितको मालिक बन्दैछ । त्यही नेतालाई सत्ता र शक्ति थमाउने जनता नेतालाई दास ठानेर उसको भजन गाउनमा मग्न हुँदैछ । बालेन काठमाडौँको मेयर हुने र यस शहरका लागि काम गर्ने चाहना राखेर मेयर भएका हुन् । उनले आफ्नो काम गर्नु स्वाभाविक हो । उनले गरेका राम्रा काममा प्रशंसा गर्नु र नराम्रो काममा खबरदारी गर्नु सामान्य र नियमित कुरा हुन् ।

असामान्य र अनियमित कुरा उनको व्यक्तित्वका आधारमा गर्न खोजिएको कल्टको निर्माण हो ।

राजनीतिक नेतामा आधारित कल्ट एक भयानक रोग हो । यसले आम मानिसको विवेकलाई ढाकिदिन्छ । यस्तै दुखद् अवस्थाको उपयोग गरेर नरेन्द्र मोदी भारतमा सत्ता हासिल गर्न सफल भए र अहिले कमजोर हुँदैगए पनि सत्तामा छन् । बालेनको लोकप्रियता यसैगरी बिस्तार हुँदै जाने हो भने भविष्यमा नेपालमा पनि बालेन वा उनीजस्तो अर्को कुनै मानिस उदाउन सक्छ । यस्तो मानिसले ठुलो जनसङ्ख्यालाई बेबकुफ बनाउने छ र ती मानिस यथार्थको धरातलमा आइपुग्दासम्म लाखौं मानिसको जिन्दगी बर्बाद हुनेछ ।

अब बिट मारौँ ।

देश र राजनीतिमा नाम चलेका व्यक्तिका पक्ष, विपक्षमा बन्ने आम धारणा शून्यमा बन्ने होइनन् । सन्दिप लामिछाने वा बालेन शाहका पक्षमा देखिने जनमतको प्रकृति के हो र यसले बृहत् समाजलाई कता डोहोर्‍याउँदैछ भन्ने विचार गर्न आवश्यक छ ।

यो ब्लगमार्फत भेलुबाजेप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ! एउटा सामान्य, स्वाभिमानी र समस्याहरूबाट थिचिएको औसत मानिसलाई मिमको स्रोत बनाएर त्यसबाट फाइदा लिने समाजले ‘सोसल’ मिडियाबाट उनको दुरुपयोग गरेको हो । यो निरन्तर ओरालो लागिरहेको नेपालको औसतभन्दा कम चेतको उदाहरण हो । 

कैलाश सिरोहिया असल वा खराब के हुन् भन्ने कुरा हरेक व्यक्तिले बहस गरेर निरुपण गर्ने कुरा होइन -यसका लागि कानुनी र वैधानिक प्रक्रिया चाहिन्छ जुन सबैका लागि समान हुनुपर्छ । मूल कुरा के हो भने यो काण्डले प्रेसप्रतिको पूर्वाग्रहलाई छतछुल्ल बनाएको छ । 

मलाई बालेन शाहको इमानदारिता र देश बनाउने चाहनामा शंका छैन । शंका उनको बृहत् मानसिकता र दृष्टिकोणका बारेमा हो जसले जनतालाई वस्तु ठान्छ र कृतिम चिन्ह र संकेतहरूलाई मानिसलाई भन्दा बढी प्राथमकिता दिन्छ । उनी मेयरका रूपमा सफल हुन सकुन् भन्ने कामना छ तर उनको कल्ट नबनोस् भन्ने अपेक्षा छ ।

सन्दिप लामिछानेले बलात्कारको अभियोग र त्यसको छिनोफानोका क्रममा सोसल मिडियामा पाएको समर्थन उनी उम्दा खेलाडी भएर र मानिसहरू नेपाली क्रिकेटप्रति चिन्तित भएर होइन -यो समर्थन पुरुषले महिलाको शरीरमाथि पूर्ण हक पाउनुपर्छ भन्ने विचारको अभिव्यक्ति हो । नेपाली समाजमा जघन्य पुरुषप्रधानता र स्त्रीद्वेष छ भन्ने कुरा सन्दिपको आजभोलिको लोकप्रियताबाट सहजै बुझ्न सकिन्छ ।

सोसल मिडियामा पाइने तीस सेकन्डदेखि एक मिनेट लामा (वा छोटा) सामग्रीमा मानिसलाई प्रभावित पार्ने अचम्मको ताकत हुन्छ । धेरै सोच्न नपर्ने र मनोरञ्जन पनि दिने यस्ता सामग्रीले मानिसका पूर्वाग्रहलाई गजबले तर नजानिदो गरि सिञ्चित गरिदिन्छन् । सोसल मिडियाका सामग्री हेरेर हरेकले आफूलाई सुसूचित र शक्तिशाली ठान्छ । सोसल मिडियाका सामग्रीका आधारमा धारणा बनाउने यही प्रवृत्तिका कारण समाज अहिले दलदलमा फसेको छ । 

 

No comments:

Post a Comment