म लेखक होइन । न पेसाले, न सीपले । तर, बेलाबेलामा नलेखी रहन सक्दिनँ । जब आफ्नावरिपरिका कुराहरू भत्किरहेको देख्छु, त्यसबेला लेख्ने बाध्यताले पिरोल्छ । आफ्नो समाजको गति र चरित्रमा आएको तीव्र परिवर्तनमा ‘होस् है, के टाउको दुखाउनु’ भनेर चुपचाप बस्ने धैर्यता ममा रहेनछ । यो लेख त्यही सिलसिलाको एक अर्को भाग हो ।
मेरो लेखनयात्रासँग एउटा दु:खद अनुभूति जोडिएको छ । म विगत चानचुन १०-१२ वर्षदेखि जुनजुन मुद्दामा लेखिरहेको छु, ती मुद्दा समयसँगै झन्-झन् जटिल र पेचिला बनिरहेका छन् । मेरो लेखाइको एक मात्र उद्देश्य लोकतन्त्र र सामाजिक न्यायसँग जोडिएका आधारभूत मूल्यमान्यताको रक्षा होस् भन्ने हो । यस्ता मूल्यमान्यताले आज झेल्नुपरेको संकटले मेरो लेखनयात्राको समग्र अनुभूतिलाई दु:खद बनाएको छ ।
तर, मलाई थाहा छ मैले लेख्न छोड्नु हुँदैन । अरूले पनि लेख्न छोड्नु हुँदैन ।
भलै, उही कुरा दोहोर्याइ, तेहेर्याइ
भनिरहन किन नपरोस् । आजको यस लेखमा विगतमा ब्लग र पत्रपत्रिकामा आफैँले पटक-पटक
लेखिरहेका केही विषयलाई दोहोर्याएको छु ।
कुरा सुरु गरौँ आफैँबाट ।
म एउटा यस्तो सामाजिक-सांस्कृतिक वर्गको सदस्य हुँ, जसको सामाजिक
न्यायका मुद्दाहरूप्रति घनघोर वितृष्णा छ । यो वर्गले ठान्छ- सामाजिक न्यायको
मुद्दा अनावश्यक हो । असान्दर्भिक हो । विदेशीको षड्यन्त्र हो । सबैले आ-आफ्नो
क्षमता र गच्छेअनुसार खाने हो । राज्यले कसैलाई भेदभाव गरेको छैन, र फरक व्यवहार गर्न मिल्दैन ।
नेपाली राज्यसंरचनाभित्र लुकेको अन्तर्विरोधको जड वास्तवमा
झट्ट सुन्दा सामान्य लाग्ने यही दृष्टिकोण हो । राम्रोसँग केलाएर हेर्ने हो भने नेपालमा
जति पनि राजनीतिक वा सामाजिक-सांस्कृतिक आन्दोलन भएका छन्, तिनको
अन्तर्वस्तुमा यही बुझाइविरुद्धको संघर्ष जोडिएको छ ।
अर्थात्, नेपालको समग्र इतिहास एउटा यस्तो द्वन्द्वको
इतिहास हो, जसमा विभेदमा परेकाहरूले “हामी विभेदमा पर्यौँ, समान
रूपमा अवसर र अधिकार पाएनौँ । बराबर सम्मान पाएनौँ । हामीमाथि थिचोमिचो भयो” भनेर आवाज उठाएका छन् । महिलाले, दलितले, जनजातिले, मधेसीले,
अल्पसंख्यक धार्मिक समुदायले, पिछडिएका क्षेत्रका
मानिसहरूले यस्ता आवाज एकपटक मात्र हो उठाएका छन् । यी आवाज कहिले शान्तिपूर्ण
रूपमा आएका छन् त कहिले हिंसात्मक विद्रोहको आगो बनेर ।
तथापि, म सदस्य भएको सामाजिक-सांस्कृतिक वर्ग
विभेदमा परेका वर्गको असन्तुष्टि स्वीकार गर्न तयार छैन । विभेदमा परेका वर्गका
आवाजबाट ऊ आफूलाई असुरक्षित ठान्छ । आफूलाई सुरक्षित बनाउन ऊ विभेद भएको कुरा अस्वीकार
मात्र गर्दैन, विभेद कम गर्न प्रस्ताव गरिएका सबै प्रकारका
उपाय असफल बनाउन सकेसम्म प्रयास गर्छ ।
आजको मेरो ब्लग अरूका लागि होइन, मजस्तै
उच्च जातका पहाडे पुरुषहरूका लागि हो ।
सामाजिक न्याय किन चाहिन्छ ? उच्च जातको पहाडे पुरुष
मानसिकताले उसलाई भन्छ- ‘न्यायको कुरा गर्ने हो भने आफ्नो वर्चस्व गुम्नेछ । आफ्नो ठाउँ अरुले लिनेछन् । आफू कमजोर बनिनेछ’ । तर, दु:खद कुरा के छ भने बलियो
भइराख्न यस वर्गले संरक्षण गरेको विभेदले ऊ आफैँलाई कमजोर बनाइरहेको छ ।
सामाजिक न्याय कुनै अमुक व्यक्ति वा समूहलाई खुसी बनाउन
चाहिने होइन । समाजको बृहत्तर शान्ति र समृद्धिका लागि सामाजिक न्याय अपरिहार्य छ
। न्यायबिना शान्तिपूर्ण समाजको कल्पना पनि गर्न सकिन्न । सबैले समान रूपमा अधिकार
र अवसर पाउने तथा कमजोरले विशेष सुविधा र अवसर पाउने समाजमा मात्र शान्ति सम्भव छ
। शान्तिको स्रोत ध्यान, जप, तपस्या
होइन- घरपरिवार र समाज हो । सामाजिक सम्बन्धहरूको जालो हो । समाज शान्तिपूर्ण हुन
जालो सफा र सङ्लो हुनुपर्छ । तसर्थ, जो मानिस शान्तिपूर्वक
जीवन बिताउन चाहन्छ, उसले सामाजिक न्यायको आवश्यकता र
मर्मलाई आत्मसात् गर्न सक्नुपर्छ ।
कमजोरलाई दबाएर र उनीहरूका आवश्यकतालाई बेवास्ता गरेर
शान्ति कायम हुन सक्दैन । कमजोरलाई केही समयका लागि दबाएर राख्न सकिएला ।
उनीहरूलाई ‘तेरो कमजोरीको कारण तँ स्वयम् होस्’ भनेर विश्वास
दिलाउन पनि सकिएला । तर, असमान सम्बन्धहरूबीचमा बलपूर्वक स्थापना गरिएको शान्ति वास्तविक र दिगो शान्ति होइन । वास्तविक
शान्ति त्यो बेला कायम हुन्छ, जुन बेला सामाजिक संरचना र
नियम कानुनले विशेषगरी कमजोर र अशक्त समूह तथा वर्गको ‘चित्त’ बुझाउन सक्छ ।
म सदस्य रहेको उच्च जातको पहाडे पुरुष वर्ग आफूलाई बलियो
बनाउने प्रयासमा आफ्नो समाज र आफू स्वयंलाई असुरक्षित बनाइरहेको छ ।
सामाजिक न्याय चाहिने शान्ति र सुरक्षाका लागि मात्र पनि
होइन ।
नेपालमा विकासका कुरा गर्ने जति पनि विद् र शास्त्री छन्, तिनमा
अधिकांश उच्च जातका पहाडे पुरुष छन् । जब अर्थतन्त्र र विकासको बहस सुरु हुन्छ,
तिनीहरू गार्हस्थ्य उत्पादन, आयात-निर्यात,
विदेशी मुद्राको सञ्चय, गार्हस्थ्य उत्पादन र
करबीचको अनुपातको कुरा गर्छन् । यस्तो प्राविधिक बहसले विकासको मूल पक्षलाई ओझेलमा
पारेको छ ।
देशको अर्थतन्त्र बलियो होस्, बाटाघाटा चिल्ला र सफा हुन्,
सबै कुरा व्यवस्थित रहुन्- यस्तो चाहना
मनमा नराख्ने सम्भवत: कोही नहोला । तर, यस्तो सुखद् अवस्था कसरी सम्भव हुन सक्छ ? यो प्रश्नको
व्याख्यामा ठूलो समस्या छ । यो समस्याको कारण के भने
विकासको वकालत गर्ने माथि भनिएका विद् र शास्त्रीले अविकासको वास्तविक कारणलाई
वास्ता गरेनन् । नेपालको अविकासको कारण नेपालको सामाजिक संरचनाभित्र छ भन्ने बुझाइ
स्थापित गर्न सकिएन ।
जनसंख्याको ठूलो हिस्सा असमानता र
विभेदबाट प्रताडित भएको देशमा विकासको कल्पना केवल बकवास मात्र हो । विकासका लागि
क्षमतावान् मानिस र उनीहरूको सार्थक योगदान आवश्यक हुन्छ । विभेदको मारमा परेको
कमजोर र उपेक्षितले अर्थतन्त्र वा भौतिक पूर्वाधारको विकासमा योगदान गर्न सक्दैनन्
। किनकि ऊसँग विकासमा योगदान गर्ने क्षमता हुँदैन । त्यसैले बढीभन्दा बढी मानिसलाई स्वस्थ, शिक्षित, सुरक्षित, सम्मानित नबनाएसम्म विकास सम्भव छैन ।
यसका लागि विद्यमान सामाजिक र राजनीतिक संरचना बाधक छ ।
जसले विकास चाहन्छ वा विकासको कुरा गर्छ, उसले
सामाजिक न्यायको पक्ष लिएर विभेदकारी संरचना र पद्धतिलाई भत्काउने प्रयास
गर्नुपर्ने हो । विकास यथार्थमा त्यसबाट मात्र सम्भव छ । विभेदकारी संरचना भएका
संसारका अन्य गरिब देशजस्तै नेपालमा पनि विकासको बहस ‘ट्विस्टेड’ छ । यहाँका विद्
र शास्त्रीहरू अङ्कगणितलाई विकासको आधार मान्छन् र सामाजिक न्यायको आवाजलाई
विकासको अवरोध भनेर व्याख्या गर्छन् ।
महिलाको सन्दर्भलाई हेरौँ । आज महिलाहरू चरम विभेद
र हिंसाको सामना गरिरहेका छन् । राज्य र समाजका नीतिनियम, मूल्यमान्यता
र संरचनाले उनीहरूलाई पुरुषसरह अवसर र सम्मान दिँदैनन् । शिक्षा, स्वास्थ्य र
रोजगारीका अवसर समान रूपले दिँदैन । हिंडडुल गर्ने स्वतन्त्रता र पुरुषसरह सम्मानपूर्वक
जीवन जिउने अवसर दिँदैन । सहज जीवनयापनका लागि आवश्यक आधारभूत सेवा र सुविधाबाट
उनीहरू वञ्चित छन् । आधा जनसंख्या राजनीतिक-आर्थिक-सांस्कृतिक क्षेत्रमा यसरी
प्रताडित रहेको देशमा विकास कसरी सम्भव होला ?
विभेदमा परेको वर्ग महिला मात्र होइन । दलित, जनजाति,
मधेसी अल्पसंख्यक धार्मिक समूहको ठूलो
हिस्सा केवल ज्यान बचाउन मात्र संघर्षरत छ । राज्यको विभेदकारी संरचना असक्षमताका
कारण सुदूर र मध्यपश्चिमका समग्र क्षेत्र चरम गरिबीमा बाँचिरहेका छन् ।
नेपालका राजनीतिक नेता, अर्थशास्त्री, विकासविद्का लागि यो प्रश्न रुचिकर छैन । उनीहरू ठान्छन्- विकास बुलेट
रेल चढेर केरुङबाट वा पानीजहाजमा ढाकाबाट आउनेछ । मानिस र उनीहरूका अपेक्षालाई
विकासको अवरोध ठान्नेहरूले बुलेट रेल, पानीजहाज, भ्यू टावर बनाएर विकास ल्याउन खोज्छन् । यो त विल्कुल उल्टो बाटो हो । तर,
समस्या के छ भने यो उल्टो बाटो अति लोकप्रिय छ । भ्यू टावरलाई
विकासको सूचक मान्ने मानसिकता सामाजिक न्यायविरुद्धको मानसिकता हो । यसले गरिबीलाई
बुझ्न र यसको समाधान गर्न आवश्यक छैन भन्ने मानसिकतालाई बल पुर्याउँछ ।
सामाजिक न्याय र विकासबीचमा सम्बन्ध छ भन्ने अति सामान्य
ज्ञानको अभाव नेपालको दु:खद यथार्थ हो । यस विषयमा धेरै पटक लेखियो
। मैले मात्र होइन, धेरैले लेखे । तर, जसले
सुन्नुपर्ने हो, उसले सुनेन । जसले बुझ्नुपर्ने हो, उसले बुझेन ।
अब लागौँ एउटा अर्को विषयमा ।
नेपालको राज्य संरचना र सामाजिक संरचनामा एउटा निश्चित
समूहको वर्चस्व छ भनेर स्वीकार गर्ने कि नगर्ने ? तथ्यांकहरूले के देखाउँछन् ?
तथ्यांकले समेट्न नसक्ने र हामीले वास्तविक जीवनमा भोगेका अनुभवले
के भनिरहेका छन् ?
स्पष्ट कुरा के हो भने नेपालको राज्य संरचना उच्च जातका
पहाडे हिन्दु पुरुषको कब्जामा छ । कर्मचारीतन्त्रमा
उनै छन् । न्यायिक संरचनामा उनीहरूकै बोलवाला छ । राजनीतिक पार्टीका ठूला नेता उनै छन्- ज्ञान,
विज्ञान, कला, व्यापार,
मिडिया, प्रविधि सबैतिर उनीहरूकै वर्चस्व छ ।
असमावेशी यस्तो संरचनाले नेपालको उन्नति, प्रगतिका
सबै सम्भावनालाई रोकिरहेको छ । समाजलाई ऊर्जाशील र गतिशील हुनबाट वञ्चित गरेको छ ।
एकै प्रकारका मानिसकता, दृष्टिकोण, समाधान,
सीपको बोलबाला भएका कारण फरक र विविध विचार, दृष्टिकोण
र शैलीले उचित स्थान पाएका छैनन् ।
यो शर्मनाक र उच्चाटलाग्दो अवस्था हामी सबैको चासो र
चिन्ताको
हुनुपर्ने हो । उच्चजातका पहाडे पुरुषको पनि चिन्ताको विषय
हुनुपर्ने हो ।
म विद्यार्थीका रूपमा बर्गेन विश्वविद्यालयमा पढ्दा एक दिन
छात्रावासमा एउटा पार्टीमा सहभागी भएको थिएँ । त्यहाँ प्राय: सबै महादेशका विविध
भाषा बोल्ने,
विभिन्न धर्मावलम्बी, काला गोरा सबै रक्सी
पिउँदै नाच्दै, गाउँदै रमाइलो गरिरहेका थिए । स्पिकरमा कहिले
स्प्यानिश त कहिले अफ्रिकाका जनजातिका लोकगीत बजीरहेका हलमा एउटा कुनामा मसँगै टेबुलमा बियरको ग्लास र
हातमा चुरोट समाएर एक जना नर्वेजियन विद्यार्थी चाख मानेर नाच हेर्दै थिइन् ।
त्यस्तैमा एक अर्को विद्यार्थीले उनलाई सोध्यो, ‘तिमीलाई
यसरी संसारभरका मानिस भेला भएर तिम्रो शहरमा रमाइलो गरेको देख्दा कस्तो लाग्छ ?’
उनले यसको जवाफमा भनिन्, ‘मलाई असाध्यै
खुसी लाग्छ । विदेशीहरू नआइदिने भए यो देश कति
दिक्कलाग्दो (बोरिङ) हुन्थ्यो होला ?’
उनको जवाफ मेरा लागि निकै रोचक थियो । अरूलाई हेर्ने
दृष्टिकोण बनाउन मलाई अहिले पनि यो जवाफले सहयोग गरिरहन्छ ।
अब फर्कौं नेपालको सन्दर्भतिर ।
देश भनेको हामीले मानिदिएको भरमा अस्तित्वमा रहेको
परिकल्पना हो । यसका आधार,
विशेषता, सीमा सबै कुरा सहमतिका आधारमा बन्ने
र फेरिने हुन् । यो तरल र नाजुक परिकल्पनालाई सार्थक बनाउने हो भने सबैले एउटा
कुरा स्वीकार गर्नुपर्छ- देशभित्र रहेका सबै समान हुने, अधिकार
र अवसर सबैले समान रूपमा पाउने, एउटाले अरूको ठाउँ नओगट्ने,
अर्कालाई दुःख नदिने ।
यो अति साधारण मान्यताको स्थापना र विकास नेपालमा गर्न
सकिएन ।
म जुन सामाजिक-सांस्कृतिक समूहमा पर्छु, त्यसले
महिलालाई शुद्धता र अशुद्धताका नियम बनाएर घरभित्र कैद गर्न खोज्छ, अर्को सामाजिक समूह (मधेसी)को राष्ट्रियतामाथि नै प्रश्न गर्छ र उनीहरूलाई
‘विदेशी’ भन्ने दृष्टिकोणका आधारमा व्यवहार गर्छ, दलितको
दलनलाई स्वाभाविक मान्छ, अल्पसंख्यकका भाषा र सांस्कृतिक मूल्यमान्यताको सम्मान गर्नुपर्ने आवाजलाई दबाउँछ । यति
सबै गर्ने क्रममा आफ्नो भाषा, लुगा,
देवीदेउता, मूल्यमान्यतालाई संरक्षण गर्न
राज्यको सम्पत्ति खर्च गर्छ ।
यो कुरा कसरी सम्भव भएको छ त ?
नेपालका राजनीतिक दलका नेताहरू पहाडी उच्च जातका हिन्दु पुरुष
समूहको रक्षामा कटिवद्ध छन् । राज्यसंरचना, प्रशासन सबै यही
समूहको मूल्यमान्यताको संरक्षण र प्रवर्द्धनमा जुटेको छ । विज्ञ र विद्ले यही
विभेदकारी मानसिकताको संरक्षण गरेका छन् । उच्च जातका पहाडे हिन्दु पुरुषले गर्व गर्ने इतिहास, संस्कृति र कलाको थप
संरक्षण र प्रवर्द्धनको प्रयासमा यो वर्गभित्र पर्ने सबै पेसा र क्षेत्रका
मानिसहरू जोडतोडले लागेका छन् ।
यसै कारणले गर्दा म आफ्नो पहिचानमा गर्व गर्न सकिरहेको छैन
। किनकि मेरो पहिचानलाई राज्यले यति धेरै महत्त्व र संरक्षण दिएको छ कि मेरो
सामाजिक समूहसँग आज अधिकार र अवसरका चाङ छन् । अरुसँग यी अवसर र
अधिकार छैनन् । यसले गर्दा सीमान्तकृत वर्गको आर्थिक-सामाजिक हैसियत मात्र नभएर
संस्कृति, धर्म, कला, इतिहास थप कमजोर बन्दै गएको छ ।
यो लाजलाग्दो विषय हो ।
यस सन्दर्भमा म सदस्य रहेको समूहले बनाउने गरेको अर्को ‘न्यारटिभ’को
पनि चर्चा गर्नैपर्ने हुन्छ ।
यो वर्गले भन्छ नेपालको असमानता र अविकासको स्रोत जातीय, लैङ्गिक,
क्षेत्रीय असमानता होइन- गरिबी र रोजगारीका अवसरको अभाव हो । सबैलाई
शिक्षा देऊ, रोजगारी देऊ, अवसर देऊ-
सबै धनी हुन सक्छन् । विभेदको अन्त्य स्वतः हुन्छ ।
यो तर्कमा ठूलो झेल छ ।
नेपालको गरिबी कारण होइन, परिणाम हो । अर्थात्,
नेपालको गरिबीको सामाजिक-सांस्कृतिक आधार छ । नेपालमा कोही पनि
मानिस गरिब भएकाले गरिब छैन- दलित भएकाले गरिब छ, महिला
भएकाले गरिब छ, मधेसी भएकाले गरिब छ, जनजाति
भएकाले गरिब छ, पिछडिएको क्षेत्रमा रहेकाले गरिब छ । अर्थात्,
नेपालको गरिबी मूलतः संरचनागत विभेदको परिणाम हो ।
यदि गरिबी संरचनागत विभेदको परिणाम हो भने संरचनामा सुधार
नगरी यसको समाधान कसरी सम्भव होला ?
विभेदकारी संरचनामा एउटा विशेष समूह, वर्ग,
क्षेत्र, जाति, लैङ्गिकताले
पाएको विशेष संरक्षण वास्तवमा संरक्षण होइन । अल्पकालका लागि होला, कमसे कम दीर्घकालका लागि होइन । नेपालको असमान संरचना र प्रणालीले उच्च
जातका पहाडी हिन्दु पुरुषको नै संरक्षण गरेको छैन ।
उनीहरूलाई कमजोर र असक्षम बनाइरहेको छ ।
तर,
यही कुरा मेरो पहाडी हिन्दु पुरुष
समूहलाई बुझाउन झन्-झन् गाह्रो हुँदै गएको छ ।
अब अन्त्यमा एउटा अर्को प्रवृत्तितिर लागौँ ।
नेपालको राजनीतिक इतिहास माथि भनिएझैँ शक्तिशाली र कमजोर
वर्गबीचको संघर्षको इतिहास हो । यसको अभिव्यक्ति विभिन्न समयमा विभिन्न स्वरूपमा
भएका छन् । राणाविरुद्ध पार्टीहरूको आन्दोलन, राजाविरुद्धको आन्दोलन,
जनजाति र दलित समूहका अधिकारका आन्दोलन, माओवादको
स्थापनाका लागि भएको सशस्त्र आन्दोलन, मधेसी जनताको
आन्दोलनबारेमा हामी सबै जानकार छौँ । यी आन्दोलनमा
मानिसहरूले ज्यान गुमाएका छन् । अङ्गभङ्ग भएका छन् । आफन्त र घरबार गुमाएका छन् ।
विभिन्न समयमा भएका विगतका यी आन्दोलन उद्देश्यमा फरक देखिन्छन् तर
तिनीहरू सारमा फरक थिएनन् । यी आन्दोलनमा सर्वसाधारण नेपालीका र त्यसमा पनि विभेद
र असमानतामा परेका नेपालीका शान्ति र सम्मानपूर्वक जीवन बिताउन पाउने रहर जोडिएका
छन् । लोकतन्त्र र सामाजिक न्यायको अपेक्षा जोडिएको छ ।
राजतन्त्र फालेर त्यसका ठाउँमा नागरिक सर्वोच्चता स्थापना
गर्ने,
संघीयताका माध्यमले सीमान्तकृत क्षेत्र र समूहलाई राजनीतिक अधिकार
प्रदान गर्ने, धर्म निरपेक्षतामार्फत निश्चित धार्मिक मान्यताबाट प्रभावित राज्यसंरचनालाई लोकतान्त्रिक र
समावेशी बनाउने, महिला तथा सीमान्तकृत समूहलाई आरक्षणलगायत
विभिन्न माध्यमबाट विशेष सुरक्षा र संरक्षण दिने यी
चाहनाहरू विगतका आन्दोलनका स्पष्ट अभिव्यक्ति हुन् । नेपालको आज र भोलि यिनै रहर र
अपेक्षामा आधारित हुनुपर्ने हो ।
तर,
दु:खद कुरा के छ भने म सदस्य रहेको
सामाजिक समूह विगतका आन्दोलनको औचित्यलाई स्वीकार गर्न इच्छुक छैन । यसको विपरीत
शासन चलाउने जिम्मेवारीमा रहेका यस वर्गका मानिसहरू विगतका आन्दोलन र तिनमा
जोडिएका अपेक्षालाई गलत ठहर्याउनमा जुटेका छन् । उनीहरू त्यस्ता दृष्टिकोण,
संरचना र प्रणालीका पक्षमा आफूलाई
उभ्याउन थालेका छन्, जसको विरोधमा विगतमा जनताले आन्दोलन गर्नुपरेको
थियो ।
राजतन्त्र, हिन्दु राष्ट्र, एकात्मक व्यवस्थाका पक्षमा खूला
रूपमा बोल्न नसक्नेहरू आज चर्को स्वरमा यसका पक्षमा अभियान चलाउन थाल्नुले विगतका
आन्दोलनमा अभिव्यक्त सीमान्तीकृत समूहका अपेक्षा र मागहरू असुरक्षित बन्नथालेका
छन् ।
अब बिट मारौँ है !
मजस्तै, मेरो नामबाट यो लेख पढ्ने सबैले मेरो जात,
धर्म, सम्भवतः क्षेत्र र यससँग जोडिएका म र
मजस्ताले पाउने सेवा-सुविधा, अवसर र सम्मानको सहजै अनुमान
गर्न सक्नुहुन्छ । अब एउटा काल्पनिक नाम जोडौँ -रामकुमारी
चमार । अब तपाईं, म र रामकुमारीले नेपालको सामाजिक-आर्थिक
संरचनामा प्राप्त गर्न सक्ने सम्मान र अवसरको अनुमान गर्नुहोस् । तपाईंको
मस्तिष्कमा जुन चित्र आउँछ, त्यो चित्र नेपालको असमान र
विभेदकारी राज्यसंरचनाहो ।
उच्च जातका पहाडे मेरा दाजुभाइहरू, तपाईं र मेरो हित यसैमा छ कि हामी यो विभेदकारी संरचना विद्यमान रहेको स्वीकार
गरौँ; न्यायपूर्ण समाज र राष्ट्रको स्थापनाको बाटोलाई सहज बनाउन योगदान गरौँ; विभेदलाई
मलजल गरेर सत्ताको दुनो सोझ्याउनेहरूलाई चिनौँ; र यसका
आधारमा वास्तविक शान्ति र वास्तविक विकासको जब बसालौँ ।
विभेदको उपस्थितिलाई नकार्नु र यसको अन्त्यको प्रयासमा साथ
नदिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । शान्त, लोकतान्त्रिक र
न्यायपूर्ण समाजको सदस्य भएर बाँच्ने कि विभेदकारी समाजको कृत्रिम र अल्पकालीन
शान्तिमा रमाउने ?
रोजाइ हाम्रो ।
२०७७ माघ ३० गते शिलापत्रमा प्रकाशित https://shilapatra.com/detail/51391
No comments:
Post a Comment