Bluesky

@sanpokh.bsky.social

Wednesday, February 10, 2016

विकासको अल्लारे नारा र नयाँ शक्तिको भविष्य

गत साता एमाओवादीका पूर्व नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पुराना सहयात्री र केही विज्ञ पूर्वप्रशासकको समूहलाई मिलाएर 'नयाँ शक्ति'को प्रारम्भिक संरचना सार्वजनिक गरेपछि धेरै कुरा भइरहेर पनि केही नभएजस्तो काठमाडौँको शिथिल राजनीतिक माहोल मध्य हिउँदमा थोरै गरम भएको छ। आफ्नो राजनीतिक अभियानलाई नयाँ शक्तिका रूपमा परिभाषित गरेर डा. भट्टराईले यसका सदस्यको नाम सार्वजनिक गरेपछि राष्ट्रिय राजनीतिमा एउटा नयाँ दल थपिने निश्चित भएको छ। नयाँ शक्ति नयाँ दलका रूपमा दर्ता भएपछि नयाँ अनुहार, नयाँ नारा र नयाँ शैलीका प्रचारप्रसारले नेपालको राजनीतिक माहोल सकारात्मक बनाउला कि नबनाउला भन्ने जान्न केही समय पर्खनु पर्ने हुन्छ। तर, यो माहोल निश्चय पनि मनोरञ्जनले भरपूर हुने आशा भने गर्न सकिन्छ।

भएका पार्टी र तिनको राजनीतिक चालचलनबाट उदास विशेषगरी शहरिया मध्यम वर्ग माझ देशको दुरावस्थाको अन्त्यका लागि नयाँ खालको शक्ति चाहिन्छ भन्ने सोच केही समयदेखि लोकप्रिय थियो। सूचना र सञ्चारमा पहुँच भएको यो जमात 'भएकाले केही गर्न सकेनन् त्यसैले बाबुरामको नयाँ शक्तिले केही गर्छ भने मौका पाउनुपर्छ' भन्ने सोचमा देखिन्छ। संसारका विकशित मुलुकको भौतिक पूर्वाधार र आर्थिक समृद्धि प्रत्यक्ष देखेको वा त्यस्ता मुलुकको कोटीमा नेपाललाई देख्न चाहाने विकास प्रेमीहरू डा. भट्टराईप्रति आशावादी देखिन्छन्। यो मानिसकताका कारण डा. भट्टराईको नयाँ शक्ति विशेष चासो र अभिरुची बटुल्न सफल छ। भट्टराईको नयाँ शक्तिका लागि मध्यम वर्गको विकासवादी सोच निकै मलिलो धरातल बन्नसक्छ।

डा. भट्टराईको नयाँ शक्तिले आगामि दिनमा सामना गर्नुपर्ने प्रमुख प्रश्न सम्भवत: उनको विगतको असफल र विवादास्पद नेतृत्व हो। सैद्धान्तिक वा आदर्शवादी भएर 'राजनीतिक अभियान व्यक्ति केन्द्रित हुँदैनन्, मुद्दाकेन्द्रित हुन्छन्' भन्न सकिएला। यद्दपि, यो नयाँ शक्तिको जन्म डा. भट्टराईको राजनीतिक करिअरको एउटा नयाँ प्रस्थान बिन्दुका रूपमा भएको छ र भविष्यमा पनि उनको नेतृत्व नयाँ शक्ति दलको संरचनामा प्रभावशाली हुने निश्चित छ। यस सन्दर्भमा डा. भट्टराईले आफू एमाओवादीको नेता हुँदा वा प्रधानमन्त्री भएका बखत प्रत्यक्ष र परोक्षरूपमा गरेका निर्णयमा जवाफदेहिता नलिइ नयाँ नेतृत्वका लागि एउटा अर्को मौका माग्नु नैतिकरूपमा जायज छैन। उनले अनेकन प्रश्नहरूको जवाफ दिनै पर्ला, चाहेर वा नचाहेर।

यद्दपि, यो आलेखमा नेतृत्वको चर्चालाई यतिमा सीमित राख्दै विकासे डिस्कोर्सको कसीमा नयाँ शक्तिको सान्दर्भिकताको चर्चा गर्नेछु।  विकासको प्राविधिक र अर्थशास्त्रीय अवधारणा जनमानसमा निकै लोकप्रिय छनेपालमात्र नभएर विश्वका अधिकांश मुलुकमा। यो अवधारणाले विकासलाई विशुद्ध प्राविधिक प्रक्रियाका रूपमा व्याख्या गर्छ। विकासका सूचकका रूपमा भौतिक पूर्वाधार र अर्थतन्त्रका तथ्याङ्कलाई प्रस्तुत गर्छ। देश आर्थिकरूपमा सम्पन्न भएपछि वा भौतिक पूर्वाधार यथेष्ट भएपछि आममानिस स्वत: सम्पन्न र सुखी हुन्छन् भन्ने सोच स्थापित गराउँछ। समाजमा रहेका सबै प्रकारका समस्यालाई आर्थिक विकासको उपजका रूपमा र विकासलाई सबै समस्याको समाधानका रूपमा व्याख्या गर्छ।

नयाँ शक्तिको अहिलेको लोकप्रियताको आधार पनि यही कोरा विकासे डिस्कोर्स हो। नयाँ शक्तिप्रति सकारात्मक विशेषगरी काठमाडौँको मध्यम वर्ग डा. भट्टराईले यसअघि भन्ने गरेको 'मेगा परियोजना', जस्तै, ठूला राजमार्ग, विमानस्थल, रेल, केबलकार, ठूला कलकारखाना आदि बन्न सके देशमा शान्ति र सुव्यवस्था स्वत: कायम हुन्छ भन्ने सोचमा छ, र उनलाई एउटा अर्को मौका दिन लालायित छ।

तर, नयाँ शक्तिले प्रयोग गरेको विकासको शास्त्रीय बुझाइ पूर्णरूपमा गलत भएको उदाहरण अहिले संसारभर प्रशस्त छन्। आर्थिक वा भौतिक विकासका रुमानी सपना तानाशाहका लागि शक्ति हत्याउने भर्‍याङ बनेको र यसबाट समाजमा विभेद, बेथिति, वातावरणीय विनाश र हिंसात्मक द्वन्द्व चुलिएका उदाहरण संसारभरका कैयौँ मुलुकमा पाउन सकिन्छ। अफ्रिका, एशिया, दक्षिण अमेरिकाका वा क्यारिवियन गरिब मुलुकहरूमा अहिले द्वन्द्व र विभेदका आधार गरिबी होइन विकासका नाममा हुने चलखेल भएका छन्। यस्ता चलखेलमा देशका भ्रष्ट नेता, बहुर्राष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय विकासे नियोग आदिको प्रत्यक्ष र परोक्ष गठबन्धनको भूमिका रहने गरेको छ।

यद्दपि, विकासको यो रुमानी सपनाभित्र लुकेको गलत नियत र यसका सम्भावित दुष्परिणामका बारेमा नेपालको मध्यम वर्ग सचेत देखिएको छैन, सम्भवत हुने अपेक्षा पनि गर्न सकिन्न। विकासको सपनाभित्र एउटा जबरदस्त आकर्षण हुन्छ जसलाई सतही राष्ट्रवादले झन् गाढा र मनमोहक बनाइदिन्छ।

विकासको अर्थ राजनीति बुझ्न आज विश्वका सम्पन्न मुलुक कसरी यो अवस्थामा पुगे र नेपालजस्तो भूराजनीतिक परिवेशको मुलुकका लागि आर्थिक विकासको सम्भावना वा सीमितता के हुन सक्ला भन्ने विषयमा गहिरो विमर्श त आवश्यक छ नैहाम्रो परिवेशको लागि सुहाउँदो 'विकास'को मोडेल कस्तो हुन सक्ला भन्ने विषयमा पनि सोच्न जरुरी। यो बुद्धिविलासको कुरामात्र होइन।

विकासको इतिहासको सामान्य अध्ययनले देखाउने कुरा के हो भने विकास राजनीतिसँग प्रत्यक्ष अन्योनास्रितरूपमा जोडिएको समाज परिवर्तनको प्रक्रिया हो। यसमा राजनीतिक नीति निर्माण प्रक्रियामा आममानिसको सहभागिताको प्रमुख अर्थ हुन्छ ता कि आम मानिसले आफ्नो प्राथमिकता र आवश्यकता आफैँ निर्धारण गर्न सकुन् र यसका आधारमा परिवर्तनको मार्ग चित्र तयार पारुन्। आफ्ना आवश्यकतालाई सम्बोधन गर्ने विकास प्रक्रिया सम्भव गराउन स्वयं संलग्न रहुन्।

विकास देशका पढे लेखेका विद्वान व्यक्तिहरूले आम जनताका लागि सम्भव गराइदिने आर्थिक परियोजना होइनसामाजिक-राजनीतिक प्रक्रिया हो। आम मानिसको प्रत्यक्ष सहभागिता र संलग्नताबाट अलग्याएर विकासलाई जान्ने सुन्ने, विश्वविद्यालयका डिग्री भएका प्राविधिकहरूको पोल्टामा हाल्ने सोच आम मानिसलाई राजनीतिक प्रक्रियाबाट अलग राख्ने सोच हो। नयाँ शक्तिको बहसमा यही प्रकारको विकासे सोच हावी छ।

विकासको लोकप्रिय डिस्कोर्समा नअट्ने र मध्यमवर्गका लागि आकर्षक नहुने विषय हुन्: नीति निर्माणमा आम मानिसको सहभागिता, सामाजिक सुरक्षा, पारदर्शी र जवाफदेही शासनप्रणाली र सामाजिक न्याय। यी क्षेत्रहरूमा आज जोड दिने हो भने भविष्यका लागि समृद्धिको आधार तय गर्न सकिन्छ। सामाजिक परिवर्तनको आफ्नो मोडेलको रचना गर्न सकिन्छ। हामीलाई अहिले असाध्यै रहर लागेको मेट्रो ट्रेन वा सुपर हाइवे भविष्यमा साँच्चै नै बन्यो भने त्यसका लागि पैसा तिर्न सक्ने आम मानिसको क्षमता सुनिश्चित गर्न सकिन्छ।

नेपालले भएको मानव संसाधन तथा प्राकृतिक साधन-स्रोतको समुचित उपयोग गर्दै, स्थानीय स्तरका स-साना प्रयासहरूलाई प्रवर्धन गर्दै भविष्यका लागि समृद्धिको दिगो आधार तयार गर्ने हो। स्थानीय सीप र दक्षतालाई उपयोग गर्ने हो। विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्दै आत्मनिर्भर बनाउने प्रयास गर्ने हो। सहकार्यमा आधारित शान्तिपूर्ण समाजको विकासमा जोड दिने हो। यसका लागि न तत्काल ठूला भौतिक पूर्वाधार चाहिन्छ, न त कुनै भयङ्कर नयाँ शक्ति।

दु:खका साथ भन्नुपर्छ तीब्र वा द्रूत विकासका लागि नयाँ राजनीतिक संस्कारको वकालत गर्ने नयाँ शक्तिका नेता डा. भट्टराईले सहभागिता, पारदर्शिता वा सामाजिक सुरक्षाको प्रवर्धन गर्ने दिशामा विगतको नेतृत्वमा कुनै सकारात्मक योगदान दिएका छैनन्। एउटा सामान्य उदाहरण लिने हो भने १४ वर्षदेखि जनप्रतिनिधिविहिन रहेका स्थानीय निकायको निर्वाचन गर्नमा उनको दल नै प्रमुख वाधक बन्यो। युद्धकालमा स्थानीय सरकारका संरचना र सेवा प्रवाहका भौतिक पूर्वाधार विद्रोहीका आक्रमणका प्रमुख केन्द्र बने। परिणामस्वरूप नीति निर्माणमा आम मानिसको सहभागिता दीर्घकालिनरूपमा संकुचित भएको छ। स्थानीय स्तरमा सेवाप्रवाहको अवस्था अहिलेसम्म प्रभावित भएको छ।

डा. भट्टराईको नयाँ शक्तिको बहसमा आर्थिक वृद्धि र भौतिक विकासका चर्चा प्रशस्त छन् तर शिक्षा, स्वास्थ्य, रोजगारी आदि महत्त्वपूर्ण क्षेत्रमा सामाजिक सुरक्षाको विषयले गोलमटोल सैद्धान्तिक चर्चाबाहेक कुनै ठोस सम्बोधन पाएको छैन। नयाँ शक्तिको बहसमा विकास किन हुन सकेन वा कसले गर्न दिएन भन्ने विषयमा लामो व्याख्या गरिएको छ तर 'नेपालका सन्दर्भमा विकासको अर्थ के हो?' भन्ने विषयमा यसका अभियन्ताले बोल्न चाहेका छैनन्मानौँ विकास स्वयंसिद्ध र अकाट्य परिभाषा भएको सर्वमान्य प्रक्रिया हो।

आम जनतालाई अधिकार सम्पन्न बनाउन र समावेशी सामाजिक-आर्थिक परिवर्तनलाई सघाउन नयाँ संविधानमा संघीय प्रणाली, स्थानीय निकाय र समावेशी राज्य संरचनाको परिकल्पना गरिएको छ। राज्यका हरेक तह लगायत राजनीतिक दल, सरकार, निजी क्षेत्र आदिका काम, कर्तव्य र अधिकारको यथेष्ट व्याख्या भएको छ। नयाँ संविधानमा भएका प्रावधानको सही र प्रभावकारी उपयोग गर्दै सामाजिक-आर्थिक परिवर्तनका क्षेत्रमा काम गर्ने अवसर सबैले पाएका छन्। अर्को शब्दमा भन्ने हो भने, विकासको राजनीतिक आधार वा सैद्धान्तिक मार्ग दर्शन नेपालको नयाँ संविधानमा छजसको यथोचित सम्मान र उपयोग हुन आवश्यक छ। यसको विकल्पमा कुनै भयंकर 'विकासे मोडेल' न त आवश्यक छ न त विश्वसनीय नै।

यदि नयाँ शक्ति विकासप्रति सही मानेमा जिम्मेवार छ भने उसले स्थानीय तहको निर्वाचन गर्नमा जोड दिओस्। नयाँ शक्तिका नाम चलेका र क्षमता भएका भनिएका मानिसले पहिले स्थानीय सरकारको नेतृत्व गरुन्। आफ्नो क्षमता प्रमाणित गरेर देखाउन्। आम जनतासँग सम्बन्ध स्थापित गरुन्। केन्द्रीकृत संरचनालाई संघीयकरण गर्ने कुरामा आफ्नो योगदान दिउन्। नयाँ शक्ति पार्टी खोलेर सिधै सिंहदरबार ताक्ने र पुतली बगैँचामाथिको वातानुकुलित कार्यालयमा बसेर देशको विकास गरिदिने रणनीतिले कुनै दललाई नयाँ बनाउँदैन।

नेपालको कहाली लाग्दो गरिबी, विपन्नता र अविकासको अन्त्य हुनुपर्छ। विश्वमा भइरहेका आर्थिक र सामाजिक परिवर्तनबाट नेपाल टाढा रहन सक्दैन। भौतिक पूर्वाधारको विकास पनि हाम्रो आवश्यकता हो। नयाँ शक्तिको बहसको मूल समस्या विकासलाई दिइएको महत्व होइनविकासका बारेको बुझाइ र व्याख्या हो जसको उठान र बैठान गलत कोणबाट गरिएको छ। यसको परिणामस्वरूप आज धेरैमा राजनीति बढि भयो अब विकासमा ध्यान दिउँ भन्ने सोच उत्पन्न भएको छ। यो सोच गलतमात्र छैन, जोखिमपूर्ण पनि छ।

डा. भट्टरार्इको नेतृत्वमा रहेको माओवादी पार्टीले प्रबर्धन गरेको साम्यवादको भ्रामक नाराले देश दशकौँ पछि परिसकेको छविकासको उनको नयाँ नाराले जण्ड तानाशाहको जन्म नहोस्। हामी सबैलाई शुभ-कामना!

No comments:

Post a Comment