सप्ताहन्तमा अलि लामो हिड्ने मौका मिल्छ । कहिले कपनको
गुम्बा हुँदै ज्वागलसम्म पुग्छु त कहिले भङ्गाल । आज यस्तै हिँडाइमा निस्केको थिएँ
। घर फर्कँदा हाते फोनले झण्डै १० किलोमिटर हिँडेको देखायो ।
आफू जन्मेको परिवेशमा हिँड्नुको मजा अलग हुन्छ । मानिसका
अनुहारदेखि उनिहरूको दिनचर्या सबै नजिकका लाग्छन् । बाटोमा भेटिने भुस्याहा कुकुरसँग
पनि एकप्रकारको नजानिदो परिचय भएजस्तो लाग्छ । माटोको सुवासको त कुरै छोडौँ !
म राष्ट्रवादी होइन । राज्यका सीमानाप्रति उत्पात विश्वास
लाग्दैन । राष्ट्रवाद, धर्म, जातीयतावाद आदि सबै मानिसका कमजोरी हुन् । तर
पनि आफू बानी परेको माटोको सुवास अमूल्य हुने रहेछ । यो सुवास सम्झँदा अन्त गएर
बस्न सकुँला जस्तो लाग्दैन ।
साँझमा हिड्न सुरु गर्दासम्म भारतले नेपालका सीमाना बन्द गरेर
सामान ल्याउन दिएको थिएन । आउँदा नाका खूलेको समाचार आएछ ।
सामाजिक सञ्जालमा सीमा बन्द भएको कुरामा खासै धेरै टिप्पणी
गरिन । नाका खूल्दा पनि यसका विषयमा कुरा गर्ने मन छैन । यो विषय गफ गर्न लायक पनि
छैन ।
राम्रा फोटा खिच्ने सिप छैन । अरूले खिचेका राम्रा फोटा
हेर्दा कहिलेकाहिँ सास रोकिन्छ । त्यसैले नजाने पनि फोटा खिच्ने रहर लाग्छ । आजको
हिँडाइमा पनि हाते फोनबाट केही फोटा खिचेँ । काठमाडौँका ओरिपरीका गाउँ कस्ता
देखिन्छन् ? भन्ने झलक फोटाबाट पाइन्छ कि ?!
बाटोमा मैले सुन्दर धानका खेतसँग भलाकुसारी गरिरहेको
अस्ताउँदो घाम देखेँ । करेसाबारीमा निस्फिक्री काम गरिरहेका मानिस देखेँ । रमाएर
बाटोमा खेलीरहेका बालबालिका देखेँ । फोटामा पनि तिनै कुरा छन् ।
क्याप्सन केलाई चाहियो ?!
No comments:
Post a Comment