गएराति वा भनौँ अघि बिहान चार ठूला मानिएका राजनीतिक दलले
संघीय संरचना र अन्य केही विषयमा सहमति गरेर संविधान बनाउने क्रममा गाँठो परेका
केही मुद्दाहरूको छिनोफानो गरे । धेरै नै जटिल बन्दै गएको संक्रमणकाल र दलहरूबीच
बढिरहेको विश्वासको सङ्कटका बीच यो सहमतिले नयाँ संविधान बन्ने सम्भावनालाई अब
प्रबल बनाएको छ । कुनै नाटकीय कायापलट वा ठूलै द्वन्द्वको अवस्था सिर्जना नभएमा
संघीय लोकतान्त्रीक गणतन्त्रको एकथान नयाँ संविधानसहित नेपाल नयाँ राजनीतिक युगमा
प्रवेश गर्नेछ ।
राजनीतिक दलहरूले मध्यरातमा स्वीकारेको संघीयताको
ढाँचाप्रति प्रशस्त असन्तुष्टि र गुनासाहरू भविष्यमा देखिनेछन् । वास्तवमा
अहिले नै देखिइसकेका छन् । यो ढाँचालाई विकेन्द्रीकरणकै स्वरूप मान्नेहरूले यसको
विरोध गर्नेछन् । जात वा क्षेत्रका आधारमा संघीयताको माग गर्नेहरूबाट हाल प्रस्तुत
ढाँचाले पहिचानको संरक्षण गर्ननसक्ने तर्कसहित यसको विरोध हुने निश्चित छ ।
संघीयताको यो ढाँचा पूर्ण छैन । संघीयताको कुनै ढाँचा पनि
पूर्ण, सर्वस्वीकार्य हुँदैन ।
संघीयता गतिशील प्रबन्ध हो । यसको ढाँचा, आधार, संख्या, सीमाना आदि सबै बहस र परिवर्तनका विषय हुन् ।
संसारमा कुनै राज्यसंरचनाले त्यहाँका सबै नागरिकको चित्त बुझाउन सक्दैन । तसर्थ, विरोधको अभिव्यक्ति गर्ने
राजनीतिक अधिकार संरक्षित गर्दै अहिलेको ढाँचालाई संघीयता स्थापनाको प्रारम्भिक
ढाँचा मानेर अघि बढ्नु नै मुलुकका लागि लाभदायक हुन्छ ।
केही मानिसहरूले गएराति बनेको ढाँचालाई पहाडको असुरक्षित
मानसकिताको उपज भनेका छन् ।
यो विश्लेषण गलत छैन, तर संघीयताको ढाँचाले पहाडलाई पनि सुरक्षित
अनुभव गराउन सक्नुपर्थ्यो । संघीयताका विषयमा हुने सहमति वा लेनदेन मुलुकभित्रका
सबै समूह र क्षेत्रलाई सुरक्षित महशुस गराउने दिशामा केन्द्रीत हुनु नराम्रो होइन
। यदि पहाडले भारतसँगको पहुँचलाई संघीयताको आधार मानेको थियो भने यसलाई सुनिश्चित
गर्दै बनाइएको ढाँचालाई गलत मान्न आवश्यक छैन ।
उपेन्द्र यादव लगायतका मधेशकेन्द्रित तथा जातिवादि राजनीतिक
दलका नेताहरूले अहिलेको ढाँचा आफ्ना लागि स्वीकार्य नहुने बताएका छन् ।
उपेन्द्र यादव र उनको मोर्चाका अन्य राजनीतिक दलको समस्या
संघीयताको ढाँचामा भन्दा पनि अहिलेको राजनीतिक विकासक्रममा उनिहरूको संलग्नता
नभएकाले हो । संक्रमणकालका विभिन्न आरोहअवरोहमा उपेन्द्रहरू राजनीतिक लेनदेनको
प्रक्रियाभन्दा बाहिर पर्न गए । उनिहरूको असन्तुष्टि यसैमा हो । उपेन्द्र
यादवहरूको विद्रोही मानसिकता नेपालको अव्यवस्थित संक्रमणकालको उपज हो । यसको
समाधान अहिले लेनदेनमा संलग्न राजनीतिक दलहरूले खोज्नुपर्छ । उपेन्द्र यादव र विजय
गच्छेदारको प्रतिष्ठा र शक्तिको लडाइँमा मुलुक वर्षौँ बन्धक भएर बस्नु पनि भएन ।
जातीय पहिचानलाई आधार बनाएर राष्ट्रिय राजनीतिमा आफ्नो
स्थान खोज्ने केही नयाँ राजनीतिक दलहरूले 'यो संघीय ढाँचाले जातीय पहिचानलाई नसमेट्ने' तर्क गर्ने नै छन् । तर, यो तर्कले धेरै महत्त्व
पाउने सम्भावना छैन । नेपालका सन्दर्भमा प्रदेश निर्माणको ढाँचा पहिचान सुरक्षा
गर्ने माध्यम बन्न नसक्ने अहिलेसम्म प्रस्ट भइसकेको हुनुपर्ने हो । संघीय
प्रदेशलाई आफ्नो क्षेत्रभित्रका सीमान्तिकृत तथा अल्पसङ्ख्यक समूहका लागि विशेष
क्षेत्र बनाउन सक्ने अधिकारले जातीय मुद्दाको सम्बोधन गर्नसक्छ र गर्नुपर्छ ।
संघीयताका विरोधीहरूले फेरि एकपटक "एउटा सरकार र
व्यवस्थापिकाको ठाउँमा अब ६ सरकार र ६ ओटा नै व्यवस्थापिका बन्ने भए, खर्च बढ्ने भयो" भनेर
गुनासो गर्ने नै छन् ।
पूर्वाग्रहको ओखति हुँदैन । तर, 'संघीयताको तुलनामा एकात्मक
व्यवस्था कम खर्चिलो' भन्ने बुझाइ यथार्थपरक छैन ।
संघीय प्रदेशले आफ्नो क्षेत्रका लागि नीतिनिर्माण गर्ने र तिनको कार्यान्वयन गर्ने
अधिकारको प्रयोग गर्दा शासन व्यवस्था कम खर्चिलो हुन्छ र पारदर्शिता तथा
जवाफदेहिता पनि बढ्न सक्छ । विकेन्द्रित शासन प्रणालीले खर्च बढाउँदैन, घटाउँछ । संघीयताबाट विकास
निर्माण र सेवा प्रवाहको अवस्थामा सुधार ल्याउन सके यो प्रणाली आर्थिक रूपमा
अहिलेको काठमाडौँकेन्द्रीत व्यवस्थाभन्दा बढी प्रभावकारी हुनसक्छ ।
नेपालमा केही बुद्धिजीवी छन् जो जनवाद र मुक्तिको शास्त्रीय
चिन्तनबाट चाहेर पनि आफूलाई मुक्त गर्न सक्दैनन् । कांग्रेस, एमालेलाई पुँजीवादी दलाल
ठान्ने र एमाओवादी, मधेशवादी तथा पहिचानवादी
दलहरूलाई उत्पिडितहरूका प्रतिनिधि ठान्ने मानसिकताबाट ग्रसित छन् उनिहरू । संघीय
संरचनामा दलहरूबीच भएको नयाँ सहमतिलाई पनि उनिहरूले यही बुझाइ कै आधारमा परम्परागत
रूपमा विरोध गर्ने नै छन् ।
फेरि पनि पूर्वाग्रहको कुनै ओखति हुँदैन । कागजी रूपमा र
भाषणमा जे सुकै लेखे, भने तापनि (र केही प्रगतिशील
बुद्धिजीवीले नबुझे पनि) आम मानिस सबैले बुझेको कुरा के हो भने अहिलेका सबै
राजनीतिक दलका भनाइ र गराइमा ठूलो अन्तर छ । विभिन्न दलका फरकफरक एजेण्डा होलान्
-तर उनिहरूका सोच र कार्यशैलीमा पृथकता छैन । न त आफूलाई लोकतान्त्रिक भन्ने
नेपाली कांग्रेस यथार्थमा लोकतान्त्रिक छ न जनवादी भन्ने माओवादी वास्तवमा जनवादी
छ । आफूलाई मन परेको राजनीतिक दलले पकाएको परिकार मात्र मीठो भन्ने सोचबाट यी
प्रगतिशील बुद्धिजीवीहरू मुक्त होलान्, नहोलान् तर उनिहरूको असन्तुष्टिले आम मानिसको
नयाँ संविधानप्रतिको आशा र उत्साहलाई धेरै प्रभावित पार्ने सम्भावना भने छैन ।
संविधानका सहज विषयमा राजनीतिक सहमति कायम गर्न नसक्दा
नेपाल विश्वभर बदनाम हुँदै गएको मात्र होइन यसबाट राजनीतिक द्वन्द्व र अविकास झनै
गहिरिँदै गएको थियो । वर्षौँसम्म समाधान गर्न नसकिएका विषयमा फेरि अरू केही वर्ष
अल्झेर यसको समाधान हुन सक्ने थिएन । द्रूत गतिमा भएका राजनीतिक निर्णयको स्वागत
गर्नुपर्छ । हाल भएका सहमतिले गज्जब राम्रो संघीय संविधान नदिन सक्छन् तर तिनले
देशलाई अघि बढ्ने बाटो खोलिदिएका छन् ।
संविधान गतिशील र परिवर्तनशील दस्तावेज हो । अहिले मन
नपरेका कुरा भोलि संसोधन गर्न मिलिहाल्छ ।
संघीयताका समर्थक र विरोधी दुबैले अति उत्साह र अति
निराशाबाट भने मुक्त हुन जरुरी छ । संघीय प्रणालीले मुलुकलाई एक्कासी कायापलट
गरिहाल्छ, सबै जात र क्षेत्रका अधिकार
सुनिश्चित गरिहाल्छ र देशलाई बलियो बनाइहाल्छ भन्ने सोच व्यवहारिक छैन । अधिकार र
विकासका लागि राज्यको शासन प्रणालीमात्र पर्याप्त हुँदैन । त्यसैगरि, संघीयताले मुलुकलाई विभाजित
बनाउँछ, विखण्डनको बाटो खोल्छ भन्ने
सोच उत्तिकै अवास्तविक छ । संघीयताले अधिकार र सहभागितामार्फत् राष्ट्रिय एकतालाई
झन् बलियो बनाउँछ । आफूले चाहेजस्तो भयो भने देश बलियो हुने, अरूले पाउने अधिकारले देश
टुक्रिने तर्क नयाँ नेपाल स्थापनाको एउटा मुख्य चुनौति हुनसक्छ ।
No comments:
Post a Comment