दुईसाता अघि केही नेपाली किताब किनेँ । धेरैले नाम लिएका तर
आफूले पढ्न नपाएका केही र बजारमा भरखरै 'रिलिज' भएका केही गरि जम्मा ५ ओटाजति किताब किनियो ।
पढ्ने क्रम जारी छ ।
किताब किन्नासाथ मसँग ३ घण्टाजतिको खाली समय थियो । त्यो
समयमा नयनराज पाण्डेको लघुउपन्यास 'उलार' पढ्न भ्याएँ । उनका 'लू' र 'घामकिरी' पहिलै पढिसके पनि धेरैले
चर्चा गरेको उलार पढ्नपाएको थिइनँ । त्यही पुस्तक किन्न भनेर २ पटक पुल्चोकको
सरस्वती पुस्तक पसल पुग्दा पसलेले 'सकियो' भनेर फर्काइदिएको थियो । यसपटक भने संयोगले
पाइयो ।
उलार पढ्न सुरु गरेपछि सकेर मात्र उठ्न मन लाग्छ ।
उपन्यासको आकार सानो भएर पनि होला । स-साना ९० पानाहरू एकै सासमा पढिसकेजस्तो
लाग्छ । तर, उपन्यास रोचक पनि छ । पहिलो
त लेखकले एक गरीब टाँगा चालकले भोगेका कठिनाइलाई लिएर राम्रो कथा उनेका छन् ।
दोस्रो, उनको वर्णन गर्ने शैली पनि
निकै गजब छ । नेपालगञ्ज वरपरको सामाजिक र राजनीतिक चित्र बुन्न उनी सफल छन् ।
लेखकको स्थानीय भाषाको राम्रो ज्ञानका कारणले पनि उपन्यास जीवन्त बनेको छ ।
नयनराज राम्रा लेखक हुन् । उनिबाट भविष्यमा पनि राम्रा
उपन्यासको अपेक्ष गरिन्छ ।
उनका उपन्यास पढिसक्दा मेरो मनमा खट्किने कुराचाहिँ उनको 'प्रगतिशील साहित्य'प्रतिको लगाव हो । उनिजस्ता
राम्रा लेखकले त एकातिर शोषक, सामन्ति, प्रहरी, सरकार, सेना अनि अर्कोतिर सोझासिधा, विपन्न, शक्तिहीन, भूमिहीन, गरीब गाउँलेको
अन्तर्विरोधभन्दा केही माथि उठेर जीवनका जटिल र रमाइला केस्राहरूलाई सम्मानपूर्वक
केलाए हुन्थ्यो नि भन्ने लाग्छ । सामाजिक परिस्थिति वा व्यक्तिगत जीवन बहुआयामिक र
गतिशील छन् । व्यक्ति समाज भन्ने बालीको फसलमात्र होइन, आफ्ना मौलिक गुण, दोष, दृष्टिकोण र योजना भएको
गतिशिल अस्तित्व पनि हो । प्रगतिशील साहित्यकारहरूले पनि शोषक र शासितका दुई बृहत्
'प्लेट'हरूभन्दा माथि उठेर जीवन र जगतबीचको
सम्बन्धका पृथक आयामहरूलाई उधिन्न सक्नुपर्छ ।
उलारमा एउटा निरिह गरिब टाँगाबाला र उसकी प्रेमीका एकातिर र दुष्ट राजनीतिक नेता र उसका दलाल अर्कातिर छन् । बीचमा के छ त ? यसको वर्णन पाण्डेको सानो आकारको उपन्यासमा अटाएको छैन ।
उलार एउटा सफल उपन्यास हो । मेरो बुझाइमा यसको कमजोर पक्ष
के भने स्थानीय राजनीति र त्यसभित्रका अन्तर्विरोधबाट लेखक माथि उठ्न सकेको
देखिँदैन । केही ठाउँमा प्रयुक्त शब्दावली वा अभिव्यक्तिले त राजनीतिक दल
विशेषप्रति नै उनको घृणाभाव रहेको हो कि भन्ने लाग्छ ।
यो लटमा दोस्रो पुस्तक पढियो 'अक्षरगञ्ज' ।
कुमार नगरकोटी नयाँ लेखक हुन् भन्ने सुनेको थिएँ । उनि
राम्रो लेख्छन् भन्ने पनि थाहा थियो । तर, उनका कृतिहरू पढ्न पाएको थिइनँ । यसपटक 'अक्षरगञ्ज' किन्छु नै भनेर लिस्टमा
राखेको थिएँ, र किने पनिँ ।
नगरकोटीले आफ्नो पुस्तकलाई 'an anthology of dreams, diaries & death' भनेका छन् । यो पुस्तकको
निश्चित genre छैन । पढ्दैजाँदा कतै
उपन्यास पढेजस्तो, कतै कथा पढेजस्तो र कतै
आत्मवर्णन जस्तो लाग्छ । त्यसैले परम्परागत धारहरूभन्दा यो पुस्तक केही फरक छ ।
फरकमात्र होइन पुस्तक निकै रोचक पनि छ । पहिलो त नगरकोटीको
लेखनशैली निकै छरितो र मन छुने छ । उनि फिक्सनको नक्कली औपचारिकताबाट बाहिर
निस्किन सफल छन् । भाषा सरल र सटिक छ । सामान्य जीवनको जटिलता र रोचकपनालाई उनले
मजासँगले आफ्नो लेखाइमा उतारेका छन् । सामान्य जीवनमा घट्ने स-साना घटनाका आधारमा
जीवन र जगतका जटिल मुद्दाहरूको रमाइलो उठान (र बैठान) गर्नमा नगरकोटी पोख्त छन्
भन्ने उनको यो पुस्तकबाट देखिन्छ । त्यसैगरि, साहित्य र दर्शनका विभिन्न प्रचलित धारहरूमा
उनको रुचि पनि पुस्तकमा यथेष्ट झल्किएको छ ।
अब 'अक्षरगञ्ज'का केही चित्त नबुझेका
पाटाहरूतिर जान्छु । लेखक प्रशस्त सन्दर्भमा आफू सामान्य जीवनका अनावश्यक
जटिलताबाट माथि रहेको बताउँछन् । आफूलाई 'जोगी' र 'हरफनमौला' भएकोमा गर्व महसुस गरेको धेरै ठाउँमा उल्लेख
गरेका छन् । यसो भए तापनि पुस्तकमा लेखकको
आत्मप्रशंसाले आवश्यकताभन्दा बढी स्थान पाएको भान हुन्छ । लेखकले आफ्नो अध्ययन
(अङ्ग्रेजीमा एमए डिग्री), पुरुषत्व, अध्ययनशीलता र यस्तै अन्य
क्षमताको वर्णन् धेरै ठाउँमा झर्कोलाग्दो गरि दोहोर्याएका छन् –जसले पुस्तकलाई अनावश्यक
लामो बनाएको छ ।
आफूलाई स्वच्छन्दतावादी दावी गर्ने लेखक सामान्य जीवनका
छोटामोटा प्रवृत्ति र पात्रहरूबाट निकै चिढिएको पनि ठाउँठाउँमा देखिन्छ । खगेन्द्र
संग्रौलाको बचाउ गर्ने सन्दर्भमा प्रयोग भएको 'अजासु' यसको उदाहरण हुनसक्छ । त्यसैगरि, आफ्नो पूर्वप्रकाशित
कथासंग्रहको प्रचार गर्ने रहरलाई पनि लेखकले नियन्त्रण गर्न सकेको भए राम्रो
हुनेथियो जस्तो लाग्छ । उपन्यास लेखनमा आकर्षित नयाँ
लेखकहरूसँग पनि निकै रुस्ट छन् लेखक ।
पुस्तकमा खट्केको अर्को पक्ष के भने आफूले विगतमा
यौनसम्पर्क राखेका महिलाहरूको वास्तविक नाम र ठेगाना फटाफट लेख्ने काम शोभनीय छैन
। लेखकले स्वच्छदन्ताका विषयमा धेरै पढ्दा विनम्रता र विनयशीलताका विषयमा धेरै
सोच्न नभ्याएको देखिन्छ । कुनै व्यक्ति आफूलाई स्वच्छन्द वा 'हरफनमौला' ठान्न स्वतन्त्र छ तर अरूको
बेइजतिको मूल्यमा होइन ।
उनका अन्य कृति पढौँला, नपढौँला तर नगरकोटीको अक्षरगञ्ज किनेकोमा मलाई
कुनै पछुतो छैन ।
अन्त्यमा वृषभ वध ।
पूरा नपढेको पुस्तकको चर्चा गर्नु पनि जायज हुन्न भन्ने
यहाँलाई लाग्छ भने यसभन्दा तल पढ्न आवश्यक छैन –माफ पाऊँ, मैले जति प्रयास गर्दा पनि यो उपन्यास
पढ्दैजाँदा ६६ पेजभन्दा अगाडि पढ्न सकिनँ ।
नारायण ढकाल असल मानिस हुन् भन्ने सुनेको छु । उनि राम्रा
लेखक हुन् भन्ने पनि अरूबाट सुनेको हो । तर, उनको यो उपन्यासमा मैले आफ्नो ध्यान टिकाइरहन
सकिनँ । पूरा नपढेको यो उपन्यासमाथिको मेरो समिक्षा यसप्रकारको छ ।
उपन्यास सुरु हुन्छ काठमाडौँ नजिकैको कुनै काँठको ग्रामीण
परिवेषको वर्णनबाट –जहाँ एक प्रधानपञ्च सत्तासँग
नजिक रहेर शक्ति विस्तार गरिरहेछ र बाँकी गरिब, निमुखा गाउँलेहरू उसको बढ्दो शक्तिका अगाडि
निरिह छन् । त्यो गाउँमा शक्तिशाली प्रधानपञ्च छ, दरबारसँग नजिक पहुँचवाला केही परिवार छन्, पुलिस-प्रशासन छ र बाँकी
निरिह, गरीब, सोझा गाउँले छन् ।
प्रधानपञ्चले सत्ताको निकटताको उपयोग गर्दै गाउँलेमाथि दमन गर्न खोज्छ, गाउँलेहरू यसबाट प्रताडित
छन् तर प्रतिकार गर्न सक्दैनन् ।
यसभन्दा अगाडि के छ मलाई थाहा छैन । बाँकी भाग पढ्ने योजना
पनि छैन । किन ? यसको वर्णन तल गरेको छु ।
कथा पूरानो छ । मेरो विचारमा अत्यन्त बढी प्रयोग भएको ।
तानाशाही पञ्चायत व्यवस्था, सामन्ती प्रधानपञ्च र निमुखा
गाउँलेको कथा लगभग नेपालमा दन्तेकथा जस्तै भइसकेको छ । कमसे कम दुई दर्जन यस्ता
कथा विभिन्न genre मा मैले पढेँ होलाँ । त्यसमा
नजाऊँ । नयनराज पाण्डेको उलार वा लू पनि नयाँ कथावस्तुमा रचिएका उपन्यास होइनन् ।
तर, ति पठनीय छन् ।
ढकालको वृषभ वध उच्चाटलाग्दो हुनुको कारण लेखकका कोरा
राजनीतिक वर्णन् हुन् जसले सुरुदेखि नै मलाई वाक्क बनाए । उपन्यासमा प्रयोग
शब्दावली, पात्रका अभिव्यक्ति र घटना
वा स्थानको वर्णन कतै स्वभाविक र सहज लाग्दैनन् । गरीब र निमुखा गाउँलेले सुन्दै
पट्यार लाग्ने त्यसबेलाका राजनीतिक 'जार्गन' फटाफट बोलेको पढ्दा उत्पात झर्को लाग्यो मलाई ।
लेखकका वर्णन अस्वभाविक रूपमा यति विस्तृत छन् कि पाठकलाई कल्पना गर्ने, दिमाग लडाउने कुनै ठाउँ छैन
। कल्पनाशीलता देखाउन लेखकले तन्काएका वर्णनहरू कृतिम र अस्वाभाविक लागे मलाई –पहिलो पेजदेखि नै ।
लेखक र प्रकाशक दुबैप्रति क्षमा माग्दै म यो भन्न चाहान्छु
कि मेरा लागि नारायण ढकालको वृषभ वध पढ्नु लगभग सजाय जस्तै भयो । यो स्वीकार्य
नभएर बाँकी भाग पढ्ने लेठो गरिनँ ।
तर पनि वृषभ वध किनेकोमा मलाई पछुतो छैन । किताब किनेको
हुनाले अरूलाई यतिचाहिँ भन्न सक्छु –किनेको हुँ, पढ्न पनि खोजेको हुँ, रस बसेन, पूरा गरिनँ ।
अर्को साता 'करोडौँ कस्तूरी'का लागि छुट्याएको छु । जाँगर चले त्यसका बारेमा पनि लेख्ने नै छु । J
[नोट: मेरा टिप्पणीलाई आधार
बनाएर पुस्तक किन्ने वा नकिन्ने निर्णय नगर्नुहोला । मसँग खारिएको साहित्यिक चेत
छैन ।]
No comments:
Post a Comment