संविधान जारी हुने समय नजिकिँदै जाँदा प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुख (प्रधानमन्त्री वा राष्ट्रपती)को पक्षमा लबिङ्ग तीव्र हुँदैगएको
छ । यसको पक्षमा प्रमुखरूपमा एमाओवादी पक्षधर नेता लागि परेका छन् अर्कोतिर
स्थीरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ठान्ने जमात पनि
निकै ठूलो देखिएको छ ।
यो आलेखमा मैले यसअघि पनि ब्लगमार्फत् उठाउँदै आएको विचार
प्रस्तुत गर्नेछु । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीसँग जोडिएका केही बुझाइकको
समिक्षा गर्नेछु ।
१. प्रत्यक्ष निर्वाचित कार्यकारीसँग जनताको
सोझो म्यान्डेट हुन्छ ।
टिप्पणी: अत्याधिक बहुमत वा दुईतिहाई
भन्दा बढीले कुनै व्यक्ति राष्ट्रपती वा प्रधानमन्त्री चयन हुने सम्भावना भए केही
हदसम्म यसो भन्न सकिएला । नभए निर्वाचनको प्रक्रियामा ४० प्रतिशत मत ल्याउने
व्यक्ति पनि विधिसम्मत रूपमा कार्यकारी प्रमुख चयन हुनसक्छ । तसर्थ, प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुखसँग जनताको म्यान्डेट वा जनमत हुन्छ भन्नु सर्वथा गलत हो । ६०
प्रतिशत जनताको म्यान्डेट नपाएको व्यक्ति पनि कार्यकारी प्रमुखमा चुनिन सक्छ, नबिर्सौँ । नेपालमा पनि २
निश्चित राजनीतिक दल मात्र राख्ने हो र कार्यकारी प्रमुखको उम्मेदवारले पहिले
आफ्नो दलभित्र निर्वाचित हुनुपर्ने हो भने अर्कै कुरा । नत्र पपुलिस्ट एजेण्डाबाट
सजिलै चुनाव जित्ने द्वैध चरित्रका भ्रष्टहरू निर्वाचित तानाशाह बन्ने खतरा
नेपालमा छ ।
२. प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्धबाट
स्थीर सरकार प्राप्त हुन्छ ।
टिप्पणी: प्रत्यक्ष निर्वाचित
कार्यकारीले जनताबाट पाएको प्रत्यक्ष 'म्यान्डेट' र आफ्नो सुरक्षित पदलाई आधार बनाएर अन्य (र
आफ्नै दलका पनि अन्य)सँग संवाद र सहकार्य गर्ने रुचि देखाउँदैन । न त ऊ संसदप्रति
नै जवाफदेयी हुन चाहान्छ । उसको ध्येय आफ्ना नीति र योजनालाई जसरि भए पनि
कार्यान्वयन गर्ने रहन्छ । यसबाट अन्य राजनीतिक दलहरू कार्यकारी प्रमुखबाट
असन्तुष्ट रहने र राजनीतिक द्वन्द्व झनै बढ्ने ठूलो सम्भावना रहन्छ ।
प्रधानमन्त्री धेरैपटक फेरिँदा देश बिग्र्यो भन्ने तर्क पनि
कच्चा छ । प्रधानमन्त्री फेरेर हामीले विगतमा ठूला राजनीतिक द्वन्द्वलाई कम
क्षतिमा समाधान गरेका पनि छौँ । सजिलै फेर्न सकिने प्रधानमन्त्रीको पद नेपालका
लागि राजनीतिक द्वन्द्व हटाउने माध्यम पनि हुनसक्छ ।
३. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा
विकास सम्भव हुन्छ ।
टिप्पणी: क) नेपालजस्तो विविधि र विभाजित
समाजमा ५ वर्षका लागि निर्वाचित कार्यकारी प्रमुखले अरूलाई पन्छाएर आफ्नो वा आफ्नो
दलको धारणाका आधारमा लागु गर्ने विकासका कार्यक्रमले निरन्तरता पाउँछन् भन्ने आशा
गर्नु गलत हो ।
ख) मैले यसअघि पनि धेरैपटक भन्नेगरेको छु -नेपालको
विकासको प्रमुख चुनौति उद्योगधन्दा र कलकारखानाको अभाव होइन । विकासका नाममा
विगतमा आममानिसलाई अधिकार र अवसरबाट वञ्चित बनाइएकाले हाम्रो समाज विभेद र
असमानताको रोगबाट ग्रसित छ । ०४६ को राजनीतिक परिवर्तनपछि सुरु भएका केही
सकारात्मक प्रयासलाई ०५२ मा सुरु भएको द्वन्द्वले ओझेलमा पार्यो । अधिनायकवादी
पञ्चायती व्यवस्था र द्न्द्वले जन्माएको अविकासलाई संसदीय व्यवस्थाको दोषका रूपमा
वर्णन गर्ने कार्य सर्वथा गलत छ ।
ख) विकास कुनै व्यक्तिले
राष्ट्रका लागि दिने उपहार होइन । आजको परिस्थितिमा त झनै होइन । न त नेपाल
सिंगापुरजस्तो ७० को दशकमा उपनिवेशबाट स्वतन्त्र कुनै सहरजत्रो राज्य हो । विकासका
लागि नेपालका सन्दर्भमा फरक राजनीतिक इतिहास, इजेण्डा र प्रवृत्ति भएका राजनीतिक दलहरूका
विचमा सहकार्य र सम्वाद चाहिन्छ न कि कुनै बेलगाम शासकको लठ्ठी ।
अन्तमा,
विकासको लोभमा विवेक नगुमाऔँ । प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुखको हठले नेपाललाई झनै विभाजित बनाउनेछ । न त यसले नेपालको सामाजिक
र राजनीतिक विविधताको रक्षा नै गर्छ । नेपालका लागि संसदप्रति उत्तरदायी हुने र
आवश्यक परेका बेला फेर्नसक्ने कार्यकारी प्रमुख चाहिन्छ । यस्तो पदलाई कसरि स्थीर
बनाउने र संसदमा हुने गलत चलखेल कसरि रोक्ने भन्ने विषयमा सही प्रबन्ध बनाऔँ ।
No comments:
Post a Comment