संविधानको मस्यौदामा हाल भइरहेको सुझाव संकलनका सन्दर्भमा २
प्रसङ्गहरू चर्चामा छन् - १) कार्यकारी अधिकारसहितको राष्ट्रपती र २)
धर्मनिरपेक्षता ।
यी दुबै विषयमा मेरा धारणा अल्पमतमा छन् भन्ने मलाई थाहा छ
। तैपनि संविधानका विषयमा भइरहेको वहसमा सहभागिता जनाउने रहरले आफ्ना पूराना
बुझाइलाई दोहोर्याउन यो ब्लग लेख्दैछु । पाठकको असहमतिको पूर्ण सम्मान गर्ने नै छु
।
१)
कार्यकारी अधिकारसहितको राष्ट्रपती
कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीको
शासकीय स्वरूप मूलत: संयुक्त राज्य अमेरिका र त्यहाँको राजनीतिक प्रक्रियाको
अनुसरण गर्ने दक्षिण अमेरिकाका मुलुकमा अभ्यास भइरहेको राजनीतिक प्रणाली हो ।
युरोप, दक्षिण एसिया र अफ्रिकाका
अधिकांश मुलुकमा सेरेमोनियल वा सीमित अधिकारसहितको राष्ट्राध्यक्ष र जननिर्वाचित
वा संसदबाट चुनिएको कार्यकारी प्रमुखको प्रावधान छ ।
कार्यकारी राष्ट्रपतीय प्रणालीको सफल अभ्यास गरिरहेका संराअ
जस्ता मुलुक नभएका होइनन्, तर जटिल राजनीतिक र सामाजिक
संरचना भएका तथा लोकतन्त्रको अभ्यासमा भर्खर अघि बढिरहेका मुलुकमा कार्यकारी
राष्ट्रपतीको प्रावधानले झन् ठूलो राजनीतिक किचलो जन्माउन सक्छ । यसको उदाहरण
हामीले हाम्रै छिमेकी श्रीलंका र माल्दिभ्जमा देखिसकेका छौँ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रबन्ध त्यस्ता
मुलुक वा समाजमा प्रभावकारी होला जहाँ नीतिनिर्माणमा स्थानीय तहको अधिकार संस्थागत
भएको हुन्छ र केन्द्र मुनिका सरकारका तहहरू Principle of Subsidiarity को आधारमा चलेका हुन्छन् ।
हाम्रोजस्तो केन्द्रीकृत परिपाटी र संस्कार भएको मुलुकमा 'प्रत्यक्ष निर्वाचित बलियो
प्रधानमन्त्री' बनाउने हो भने उसले भोलि
हरेक गाविसको बजेट निकासामा आफ्नो भूमिका खोज्नेछ । राज्य र सरकारको संरचना झनै
केन्द्रीकृत हुँदैजानेछ ।
निरंकुश शासन प्रणालीले स्थिरता दिन्छ भन्ने विश्वासमा ५
वर्ष कसैले हल्लाउन नसक्ने 'तानाशाह'लाई कुर्सीमा बसाएर झनै गहिरो राजनीतिक द्वन्द्व कुरेर
बस्नुभन्दा विगतका तुलनामा स्थीर सरकार बनाउने उपायको खोजी गर्नु राम्रो हुन्छ ।
नेपालका सन्दर्भमा सेरेमोनियल राष्ट्राध्यक्षको अभ्यास संस्थागत पनि भइसकेकाले
यसलाई नै थप बलियो बनाउनु जायज हुन्छ ।
बहुप्रतिभाशाली विलक्षण राजनीतिक नेतालाई देश बनाउने
जिम्मेवारी सुम्पदा देश बलियो हुनेछ र विकासको मूल फुट्नेछ भन्ने तर्कमा यो ब्लगर
धेरै दम देख्दैन । विकास पुँजी र सीपको कुरा मात्र होइन । विकास नेताले जनताको
लागि गरिदिने सामाजिक परिवर्तन मात्र पनि होइन । हाम्रोजस्तो सामाजिक परिवेशमा
सकारात्मक सामाजिक परिवर्तनका लागि आम मानिसलाई अधिकार सम्पन्न बनाउन आवश्यक छ ता
कि आफ्ना लागि आवश्यक विकासको नेतृत्त्व उनिहरू आफैँ गर्न सकुन् ।
"काठमाडौँको सरकारले देश विकास गरिदिन्छ" भन्ने तर्क फेरि पनि उही
केन्द्रीकृत सोचको परिचायक यो जसको असफल र भद्दा परिक्षण नेपालले पञ्चायत कालमा
गरिसकेको छ ।
राजनीतिक स्थीरताको अभाव राजनीतिक दलहरूको अपारदर्शी
क्रियाकलापबाट भएको हो । राजनीतिक दलका आर्थिक गतिविधिलाई पारदर्शी बनाऔँ, सयौँको सङख्यामा गठन भएका
राजनीतिक दलको च्याँखे दाउ रोक्न निर्वाचन परिणामका आधारमा थ्रेसहोल्ड प्रणाली
लागु गरौँ, संसदमा पेश हुने अविश्वासको
प्रस्तावलाई व्यवस्थित बनाऔँ -राष्ट्रपतीय प्रणाली आफैँमा स्थीर हुन्छ भन्नु गलत
हो ।
अन्तमा, नेपालको राजनीतिक इतिहासलाई हेर्दा कार्यकारी
राष्ट्रपतीको शासकीय स्वरूप सेना र जननिर्वाचित सरकारबीचको सन्तुलन कायम गर्नमा
प्रभावकारी नहुन सक्छ !
२.) धर्मनिरपेक्षता
नेपाल बहुधार्मिक राष्ट्र हो । सबै धर्मालम्बीको आफ्नो धर्म
मान्ने र यसमा गर्व गर्ने अधिकार भावी संविधानले सुनिश्चित गर्नुपर्छ । तर, यस्तो अधिकार माग्नेहरूले
धर्म निरपेक्षताको विरोध गरिरहेको कुरा भने उदेकलाग्दो छ ।
राष्ट्रलाई धर्मका आधारमा परिभाषित गर्ने काम २०१७ सालमा
महेन्द्रले गरेका हुन् । यसअघिसम्म बहुसङ्ख्यक नागरिक हिन्दु धर्मालम्बी भए तापनि
राष्ट्र धर्म विशेषबाट परिभाषित थिएन । नेपालको राजतन्त्रले आफ्नो
सांस्कृतिक आधारलाई बलियो बनाउन संविधानमा हिन्दुत्वको प्रयोग गरेको हो ।
यसअघिसम्म त नेपालको संविधान धर्मका विषयमा मौन नै थियो र पनि सबै धर्मालम्बी
(हिन्दुलगायत)को अधिकारको रक्षा भएकै थियो ।
धर्म निरपरक्षेताको अर्थ "राज्यका नीतिनियम, विधिविधान धर्म विशेषबाट
निर्देशित हुँदैनन्" भन्ने हो -"राज्य अधार्मिक बनाउने वा नागरिकलाई
आफ्नो धर्म मान्न निरुत्साहित गर्ने कुनै नास्तिक वा कम्युनिस्ट राज्य स्थापना
गर्ने" भन्ने होइन । नेपाली बृहत शब्दकोशमा धर्मनिरपेक्षताको परिभाषालाई
हेरौँ ।
हामीले यो कुरा बिर्सन हुँदैन कि नेपालले २१ औं शताब्दीमा
नयाँ संविधान लेख्दैछ । केही शताब्दीअघि बनेका इस्लामिक र ख्रिस्तानी मुलुकका
संविधान हेरेर नेपाललाई धर्म विशेषबाट परिभाषित गर्नुपर्छ भन्ने तर्क पनि यो
ब्लगरलाई सान्दर्भिक लाग्दैन ।
Comments:
ब्लग लेख पढ्नुहुने सबैलाई धन्यवाद । ट्विटरमार्फत् आएका २
कमेन्टको जवाफ लेख्दैछु ।
धर्मनिरपेक्षताका विषयमा @rubeenaa ले भन्नुभएको छ: Accommodative secularism भन्दा समस्या हुदैन थियो
होला, जुन define नगर्दा धर्ममाथि प्रहार भनेर
बुझे मान्छेले ।
मेरो विचारमा धर्मनिरपेक्षतालाई कुनै थप विशेषण दिइरहन
आवश्यक छैन । उदाहरणका लागि नेपालमा एनजिओ वृत्तमा र कहिलेकाहिँ राजनीतिक दलको
संवादमा पनि inclusive
democracy भन्ने
शब्दावली सुनिन्छ । यस्तो विशेषण त्यति सान्दर्भिक हुन्छ जस्तो लाग्दैन ।
मेरो तर्क के भने नेपालमा हिन्दुत्वलाई राज्यसंरचनाले
विगतमा गलत ढंगले उपयोग गरेको छ । तसर्थ, राज्यलाई धार्मिक पहिचानविशेषबाट अलग गर्नुको
विशेष अर्थ छ, र आवश्यकता पनि । नाम जे दिए
पनि हुन्छ । समहतिका लागि अझ धर्मका विषयमा संविधान मौन बसे पनि हुन्छ । नेपाल
बहुधार्मिक राष्ट्र हो भन्ने कुरा भावी संविधानले स्वीकार गर्नुपर्यो र देशलाई
हिन्दु राष्ट्रका रूपमा परिभाषित गर्नु भएन ।
राष्ट्रपतीय प्रणालीको समर्थनमा @NabeenDulal लेख्नुहुन्छ: One PM or Prez must be
elected to accumulate unity when we have dislodged long standing symbol of
Unity. What ever power?
प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री वा राष्ट्रपती असल र
इमानदार नै हुन्छ भन्ने नसोचौँ । लोकतन्त्रको संस्थागत विकास भइसकेका मुलुक (जस्तै, संराअ)मा जटिल प्रक्रियाबाट
राष्ट्रपती चुनिएर आउँछन् -अहिले अमेरिकामा राष्ट्रपतीका लागि भइरहेको अभ्यासलाई
नै हेर्नुहोस् । त्यहाँ कुनै मुर्ख वा विवादास्पद छवीका मानिस राष्ट्रपतीको
निर्वाचन जित्न असम्भव प्राय हुन्छ । नेपालजस्तो मुलुकमा जहाँ लोकतन्त्रको अभ्यास
संस्थागत छैन, दलहरू पारदर्शी छैनन्, निर्वाचन प्रक्रिया
प्रभावकारी छैन र आम मानिसमा सही राजनीतिक चेतको अभाव छ -प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुख अभिषाप हुनसक्छ भन्ने मेरो मत हो । कल्पना गर्नुहोस् कुनै
रामचन्द्र पौडेल, केपी अोली वा बाबुराम
भट्टराई ५ वर्षका लागि कसैले सजिलै फ्याल्न नसक्ने राष्ट्रपतीमा निर्वाचित भए भने
यो मुलुकको हाल के होला ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपती एकताको प्रतिक हुन त्यस्तै
प्रकारको सही र पारदर्शी लोकतान्त्रिक अभ्यास र संरचना चाहिन्छ । नेपालका
सन्दर्भमा यो प्रबन्धमा चुनौती देख्छु म ।
No comments:
Post a Comment