अघिल्लो साता ३ पुस्तकका बारेमा ब्लग लेखेँ । साहित्यको
विद्यार्थी वा विज्ञ, विश्लेषक नभए पनि आफ्नो सतही, गोलमटोल बुझाइलाई
आधार बनाएर किताबका कुरा गर्दा मजा आयो । देश यतिबेला संविधान, सरकार र भूकम्पको घनचक्करमा अल्झिएको छ । छोटै समयलाई भए पनि मलाई यी सबै पट्यारलाग्दा विषयबाट छुटकारा मिल्यो ।
अस्तिको ब्लगको पुछारतिर करोडौँ कस्तूरीमा पनि "जाँगर चले
लेख्ने नै छु" भनेर छुस्स कुरा चुहाएको थिएँ । त्यसबेला उपन्यास २५-३० पाना
पढिसकेको पनि थिएँ । खासै जाँगर लाग्ने छनक नदेखेरै त्यसो भनेको हुँ । उपन्यास
पढिसकेपछि भने लाग्यो उपध्रो जाँगर नभए पनि केही लेखे रमाइलै होला -अरू केही नभए
पनि 'टाइमपास' त हुन्छ ।
यो ब्लग मेरो 'टाइमपास'को मेलो मात्र हो ।
दुई वर्षअघि अमर न्यौपानेको सेतो धरती पढेको थिएँ । त्यो उपन्यास
लेखकले एकप्रकारको गम्भीर (melancholic?) भावमा लेखेका थिए जसले एक विधवा नारीको जीवनलाई
स्थीर, उदास र मार्मिक ढङ्गमा
वर्णन् गर्थ्यो । प्रस्तुतिमा पनि बहुतै अनुशासन । पात्रहरू लेखकले बोल्न दिएका
वाक्य सकिनसकि बोलेजस्तो, लेखकले चाहेजस्तै गरेर
सोचिदिएजस्तो । लेखाइमा सहजता देखिनँ, न त कुनै घटना वा प्रस्तुतिले बेस्कन हल्लाउन
सकेको थियो ।
उपन्यास पढ्दा मलाई लागेको थियो पाठकलाई कथा
सुनाउन सिपालु लेखकले कथाबाट सफासँग केही भन्नचाहिँ सकेका रहेनछन् । त्यो
उपन्यासमा अमर न्यौपानेले कुनै गहन सन्देश बोक्न खोजेका भए पनि आफ्ना अञ्जुलीमा
बोकेको त्यो सन्देश उपन्यास सकिने बेलासम्म आइपुग्दा बाटैमा थोपाथोपा गरि
पोखिसकेको जस्तो लाग्थ्यो ।
कहिले एउटी विधवा महिलाको संघर्षको कारुणिक कथा
र कहिले वैधव्य र निष्ठाको अतिप्रशंसाको भूमरीमा परेर लेखकले सेतो धरतीमा देखाउन खोजेको कुरा कतै
बीचमै हराएको थियो ।
कृतिको सन्देश (शिक्षा भन्न खोजेको होइन)
पाठकले आफैँ निचोरेर बुझ्ने हो । एउटा कृतिको बुझाइ पाठकपिच्छे फरक हुनसक्छ । सेतो धरतीलाई राम्ररी बुझ्न नसक्नुमा
पाठकका रूपमा मेरो पनि कमजोरी रह्यो होला । तर, अमर न्यौपानेको लेखाइमा ठोस दिशा र दृष्टिकोण
पाउन सकेको थिइनँ । त्यो उपन्यास पढेर म उनको 'फ्यान' हुन सकिनँ ।
अहिले सेतो धरतीको कुरा भइरहेको छैन । म
बरालिएँ ।
अमरको नयाँ उपन्यास करोडौँ कस्तूरी बजारमा आएपछि किन्न
परिहाल्यो । मलाई मन परे पनि नपरे पनि अमर नयाँ पुस्ताका सबल र सफल लेखक नै
मानिन्छन् । मदन पुरस्कार विजेता । उनलाई मजस्ता 'कन्फ्युज्ड' केही पाठक नभए पनि हुन्छ, तर उनको कृतिका बारेमा म
कसरि अनभिज्ञ रहन सक्छु ?!
उपन्यास किनियो र पढ्न बसियो –तर पढ्न भने निकै उकालो
पर्यो ।
'छायाँ कथा' भनेको के हो थाहा थिएन । पहिलो पटक करोडौँ कस्तूरी पढेर नै थाहा पाएको हो ।
आत्मकथाको शैलीमा लेखिएको यो उपन्यास कलाकार हरिवंश आचार्यको जीवनीमा कुनै हिसाबमा
आधारित आख्यान रहेछ -उनलाई 'पात्र-बिम्ब' बनाएर लेखिएको ।
उपन्यासको ढाडमा छापिएको सन्देशबाहेक अमरको
उपन्यासलाई हरिवंशले कसरि लिए त्यो उनै जानुन् । भरखरै उनको आत्मकथा 'चिना हराएको मान्छे' पढेको भएर पनि होला मलाई भने
उपन्यासको विषयवस्तु छनौट नविन लागेन -भलै करोडौँ कस्तूरीको कथा हरिवंशको
आत्मवृत्तान्तभन्दा पृथक छ ।
अब उपन्यासभित्र छिरौँ ।
मध्यमवर्गीय परिवारको मूलपात्र (हरिवंश) सीमित
बौद्धिक क्षमताका आधारमा विद्यालयमा आफ्नो हैसियत जोगाइराख्न, बाबुआमालाई खुशी राख्न र
भविष्यमा सफल मानिस बन्न संघर्षरत छ । ऊ आफूले पढेर केही गर्न नसक्ने कुरामा सचेत
छ त्यसैले कलाकार बन्न चाहान्छ । उसका रुचि र क्षमता नियमित पढाइलेखाइको
परिधीभन्दा बाहिर छन् जसलाई उसका साथीहरूले राम्रोसँग बुझे पनि बा-आमा र स्कूलका
गुरुहरूले बुझ्दैनन् । उसका बाबुआमासँग उबाट ठूला अपेक्षा छन् जसको उसका विशिष्ट
रुचि र क्षमतासँग कुनै तालमेल छैन । उसका बा-आमा चाहान्छन् ऊ डाक्टर बनोस् र पैसा
कमाओस् । उसको रुचि र अभिवावकको अपेक्षाका बीचको यही अन्तर्विरोधमा उसको सम्पूर्ण
जीवन साँघुरिएको छ –लगभग कथाको अन्त्यसम्म ।
परिणामस्वरूप ऊ समग्र जीवनमा सम्झौतामात्र गर्न विवश छ । चाहेर पनि आफ्नो रहर
पछ्याउन सक्दैन ।
समग्रमा करोडौँ कस्तुरी समाजको अपेक्षा र आफ्नो
विशिष्ट क्षमताका बीचको बेमेलमा पिल्सिएर आत्मसम्मान गुमाएको एक व्यक्तिको कथा हो –मैले बुझेसम्म । उपन्यासको
अन्त्यमा मूलपात्र हरिको आत्मसम्मान त फर्किन्छ तर त्यसबेलासम्म उसको सारा जीवन
उर्जाविहीन र सम्भावनाविहीन भइसकेको हुन्छ ।
उपन्यासमा समकालिन ग्रामीण परिवेषको राम्रो
चित्रण छ । यसमा लेखक निकै पोख्त देखिन्छन् । ग्रामीण जीवनशैली, गाउँघरमा पाइने चिजबिज, माटोको सुबास, गाईबस्तु वा मनोविज्ञानको
राम्रो तस्वीर उतार्न सक्छन् उनि । पात्रहरूको वर्णनमा पनि लेखकको क्षमता झल्किन्छ
। विद्यालयका शिक्षक र गाउँलेको चरित्रचित्रण उपन्यासमा रोचक ढङ्गले भएको छ ।
सेतो धरतीमा राम्रोसँग गर्न नसकेको
एउटा काम लेखकले यो उपन्यासमा गरेका छन् -उपन्यासको सन्देशलाई सफा बनाएर । करोडौँ कस्तूरीमा लेखकले भन्न चाहेको कुरा
पाठकले सजिलै बुझ्न सक्छन् । त्यो हो हरेक व्यक्तिका मौलिक क्षमता र गुण हुन्छन्
जसलाई औपचारिक शिक्षाका मानकहरूले नाप्न सक्दैनन् । जसले आफ्ना मौलिक क्षमतालाई
चिन्दैन वा त्यसलाई पछ्याउन आँट गर्दैन ऊ जीवनमा सफल हुनसक्दैन । यो नैतिक
शिक्षाको प्रवाह गर्नमा करोडौँ कस्तूरी सफल छ ।
"यो उपन्यास पढेर के शिक्षा पाइस् त ?" भनेर मलाई कसैले सोध्यो भने
म आँखा चिम्लेर भन्न सक्छु –"आफूलाई रहर लागेको काम गर, त्यसमा कसैसँग सम्झौता नगर
।"
तर, दुखसाथ भन्नुपर्दा पात्र तथा परिवेषको सजीव
वर्णन् र एउटा गम्भीर सन्देशबाहेक यो उपन्यासमा उल्लेख्य अरू केही पाइनँ मैले ।
उपन्याससँगका मेरा असन्तुष्टिहरू तल चर्चा गरेको छु ।
उपन्यासको ठूलो भाग (लगभग दुई तिहाइ) एउटा
किशोरले विद्यालय र घरमा भोग्ने मानसिक तनावको वरिपरि रुमल्लिएको छ । एकपछि अर्को
परिच्छेदमा स्कूलमा भएका ठूलासाना घटनाका वर्णन् छन् जसमा हरिले कुनै नयाँ 'उटपटाङ्ग' काम गर्छ । घटना र पात्रको
पृथकताबाहेक उही प्रकृतिका पट्यारलाग्दा परिच्छेदमा नयाँपन पाइन्न, न त तिनले पात्रको प्रवृत्ति
र उसको परिवेषका बारेमा केही नयाँ कुरा भनेका छन् । उपन्यास पढ्दा मलाई लाग्यो
लेखकले उपन्यासको ठूलो हिस्सा केवल लेख्नका लागि लेखिरहेका छन् ।
अमर न्यौपानेको लेखाइमा मलाई घत नपर्ने
पात्रमाथिको लेखकीय 'अतिनियन्त्रण' हो । सेतो धरतीकै शैलीमा यो उपन्यासमा पनि
लेखक पात्रमाथि हावी भएको छ । प्राय सबै पात्र अति गहकिलो लवजमा चुस्त लक्षणा र
व्यञ्जनासहित फूलबुट्टाजडित औपचारिक भाषामात्र बोल्छन् –जसमा लेखकको पकड छ ।
उदाहरणका लागि ८ कक्षामा पढ्ने किशोरले हिलोको
धापमा डुबेर मुश्किलले बाहिर निस्केपछि भन्छ: "लाग्यो, आनन्द भनेको सुख पाउनु होइन, दु:खबाट मुक्ति पाउनु हो
।" अर्को प्रसङ्गमा वर्षौँपछि एक्कासी बसमा भेट भएकी हरिकी पूरानी साथी
रूपाले भेट्नासाथ भन्छिन् –
"यो सब
समयको खेल हो हरि, हामी सब समयले खेल्ने फुटबल
हौँ ।"
यसप्रकारका अभिव्यक्ति र वर्णन् सहज र स्वभाविक
लाग्दैनन् । लगभग पाइलैपिच्छे आउने यस्ता अभिव्यक्तिका कारण करोडौँ कस्तूरी स्कूले विद्यार्थीले लेख्ने
सामान्यस्तरको कथालेखन जस्तो लाग्छ ।यसका अतिरिक्त त्यो निश्चित समय र परिवेषका
पात्रले क्यारिकेचर, सपथ, हर्कत आदि शब्द फटाफट प्रयोग
गरेको, लुगामा 'पर्फ्युम' छर्केको, हाकिमसँगको रिसले रक्सी
पिएको आदि प्रसङ्ग सुहाउँदो लाग्दैन । सुँगुर, गैँडा आदि जनावरको आवाज निकालेर गाउँलेलाई
तर्साएको प्रसङ्गमा पनि लेखकले स्वभाविकतामा ध्यान पुर्याउन नसकेको देखिन्छ ।
उपन्यासको अर्को कमजोर पक्ष यसको कथाको संरचना
हो ।
करोडौँ कस्तूरीमा मूल पात्रका सयौँ
उट्पटाङ्ग अटाएका छन् । उसले पाएका सयौँ गाली र पिटाइ अटाएका छन् । जीवन-जगतका
विषयमा लम्बेतान गन्थने परिभाषा अटाएका छन् । तर, दैनिक जीवनका सामान्य र सहज घटना अटाएका छैनन्
। उदाहरणका लागि उपन्यासमा हरिका दिदी र बहिनीको विवाह भएको छ तर पाठकले यसको
सुइँको पछिमात्र पाउँछन् । आफूले हेरेको भन्दा अर्कै केटीसँग हरिको विवाह भएको
भनिएको छ । तर, यथेष्ट वा स्वभाविक
वर्णनबिना कथाको सिलसिला मिलाउन जबरदस्ती छुस्स चुहाइएको यो प्रसङ्गले दाँतमा
ढुङ्गा लागेजस्तो हुन्छ ।
त्यसैगरि, पूराण वाचन गर्न गाउँमा आएको आफ्नो पूरानो साथी
रामहरि (वासुदेव)का कारण हरिले अन्तमा आफ्नो गुमेको आत्मसम्मान फिर्ता पायो भनिएको
छ । तर, यो प्रसङ्गलाई लेखकले यति
हतारमा टुङ्ग्याएका छन् कि समग्र प्रसङ्ग बिल्कुल अवास्तविक र 'फिल्मी' लाग्छ ।
कमजोर कथाक्रम अनि घटना र संवादको अस्वभाविक
प्रस्तुततिले गर्दा लेखकले जीवन र जगतप्रतिका आफ्ना लामालामा गन्थन पाठकलाई पढाउन
मात्र पात्रको प्रयोग गरेजस्तो लाग्छ ।
करोडौँ कस्तुरीमा मलाई मन नपरेको अर्को
पक्ष यसको वैरागी 'टोन' हो । यो उपन्यासमा झरी छ, बादल छ तर घाम छैन ।
आकल-झुकलको झुल्के घाम पनि छैन । यसका अधिकांश पात्र कि त नैराश्य र विरहको
भूमरीमा छन् कि क्रुर, परपिडक र अमानवीय
प्रवृत्तिका छन् ।
कथाकार, उपन्यासकारले पीडा र विरहको पाटोलाई मात्र जोड
दिएर पाठकलाई दु:खको भूमरीमा ठेल्नखोज्ने प्रवृत्ति समकालिन साहित्यमा हावी हुँदै
गएको छ । मलाई भने यो 'परपिडक' प्रवृत्ति कति पनि मन पर्दैन । सुख
सामान्य मानिसको जीवनको एक स्वभाविक र अभिन्न अङ्ग हो । जस्तोसुकै दु:खी वा गरीब
भनिएको मानिस पनि २४ घण्टा रोएर, उदास भएर बस्दैन । हरेक व्यक्तिको जीवनमा पनि
आनन्द र खुशीका सानातिना स्रोत हुन्छन् । आफ्नो स्वार्थका लागि लेखकले यसलाई देख्न
नचाहालान्, तर पीडाको एकोहोरो वर्णनले
आख्यानलाई जीवन्त बनाउँदैन ।
उपन्यास पढ्दा मलाई यस्तो लाग्यो त्यो गाउँमा
हरिको परिवार र समग्र गाउँले २४ घण्टा र ३६५ दिन भविष्य बनाउनमा मात्र दत्तचित्त
रहेछन् । वर्तमानमा बाँच्दा रहेनछन् । चाडपर्व, मेलापात, विवाह र भोजभतेरमा रम्दा रहेनछन् । गाउँदा
रहेनछन्, नाच्दा रहेनछन् । हाँस्दा
रहेनछन् ।
उपन्यासको मूलपात्र हरिले आफूलाई र अरूलाई खुशी
पार्न केही उट्पट्याङ्ग काम त गर्छ तर यस्ता प्रत्येक घटना लेखकले उसलाई बाबुबाट
वा शिक्षकबाट कुटाइ ख्वाउने उद्देश्यले गराइरहेको जस्तोमात्र लाग्छ ।
आख्यान वास्तविक घटना (real)को वर्णन अवश्य पनि होइन ।
तर, आख्यान पढ्दा पाठकले पात्र र
घटनामा सम्भाव्यता (realism) को गन्ध पाएन भने त्यो
आख्यान स्वादिलो हुँदैन । करोडौँ कस्तूरी पढ्दा यहाँका घटना र पात्रको
प्रवृत्तिमा सम्भाव्यता भन्दा कृतिमता बढी पाइन्छ, जसले मेरो विचारमा, समग्र उपन्यासलाई
एकदमै निरसिलो बनाएको छ ।
एक वाक्यमा भन्दा मलाई करोडौँ कस्तूरीले छुँदै छोएन । म यस
उपन्यासलाई नेपालको समकालिन साहित्यका लागि कुनै गतिलो योगदान मान्न तयार छैन ।
मेरो गन्थन सकियो ।
यो टिप्पणी लेख्नुको उद्देश्य लेखक र
प्रकाशकलाई निरुत्साहित गर्नु होइन -न त उनिहरूलाई मेरो ब्लगका कमेन्ट पढिबस्ने
फुर्सद नै होला । मैले माथि नै भनिसकेँ यो मेरो 'टाइमपास'को मेलो मात्र हो । करोडौँ कस्तूरीले राम्रो बजार पाइ नै सकेको
छ र यसमा पाठकको चासो निरन्तर हुने निश्चित छ । मेरो कमेन्ट समकालिन साहित्यसँगको
आफ्नो चासोलाई निरन्तरता दिने सानो प्रयास मात्र हो ।
म सिद्धान्तत: बजारको पक्षपाती हुँ । साहित्यले
पनि बजार पाउनुपर्छ । लेखक, साहित्यकारले आफ्नो कृतिबाट
मान मात्र होइन, दाम पनि कमाउनु पर्छ । तर, बजार र साहित्यको
स्तरकाबीचमा केही सन्तुलन भने अवश्य चाहिन्छ –अरू बस्तु जस्तै । यो सन्तुलन कायम गर्नमा
को-को जिम्मेवार छन् –लेखक स्वयं, प्रकाशक, समालोचक वा मजस्ता सामान्य
पाठक ?!
शायद सबै । धन्यवाद ।
No comments:
Post a Comment