देश बनाउने
संकल्पसहित आजभन्दा झन्डै २० वर्षअघि ४० बुँदे माग सरकारलाई बुझाएर सशस्त्र
विद्रोहमा होमिएका बाबुराम भट्टराईको गोरखा जिल्लाको आफ्नो निर्वाचन क्षेत्र ‘बनाउने’
अभियान नयाँ वर्षका अवसरमा सार्वजनिक भएको छ । समाचारहरूका अनुसार (हेर्नुहोस् यससम्बन्धि समाचार) उनले
गोरखाको घैरुङ गाउँलाई नमुना गाउँ बनाउने संकल्प गरेका छन् भने गोरखाको क्षेत्र नं. १ को
समुन्नत विकासका लागि ९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यी नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि विज्ञहरूको एउटा समूह पनि गठन भएको छ ।
बाबुराम भट्टराईका विकासे चिन्तनमा गम्भीर समस्या छन् जसको चर्चा यहाँ सम्भव छैन । लोकप्रियताको सङ्कटबाट बाहिर निस्किन वा पार्टीभित्रको अन्तर्द्वन्द्वमा खेल्ने अभिप्रायले उनका विकासका योजना सार्वजनिक हुने गर्छन् –जसको विश्लेषणका लागि म आफूलाई योग्य ठान्दिनँ । यद्दपि, उनको यो ताजा गुरुयोजना विकासे बहसको विश्लेषणका लागि यो एउटा नमुना उदाहरण झैँ लाग्यो । यसले विकासको बुझाइका धेरै समस्यालाई उजागर गर्नसक्छ ।
बाबुराम भट्टराईका विकासे चिन्तनमा गम्भीर समस्या छन् जसको चर्चा यहाँ सम्भव छैन । लोकप्रियताको सङ्कटबाट बाहिर निस्किन वा पार्टीभित्रको अन्तर्द्वन्द्वमा खेल्ने अभिप्रायले उनका विकासका योजना सार्वजनिक हुने गर्छन् –जसको विश्लेषणका लागि म आफूलाई योग्य ठान्दिनँ । यद्दपि, उनको यो ताजा गुरुयोजना विकासे बहसको विश्लेषणका लागि यो एउटा नमुना उदाहरण झैँ लाग्यो । यसले विकासको बुझाइका धेरै समस्यालाई उजागर गर्नसक्छ ।
बाबुरामको ‘गुरुयोजना'लाई उदाहरण मान्दै यस पृष्ठभूमिमा केही निश्चित बुँदाहरूसहित नेपालमा
विकासे बहसका प्रवृत्ति र त्यसका कमजोरीको चर्चा गर्ने प्रयास गरेको छु ।
विकासे बहसका सीमितता
नेपालका सन्दर्भमा
विकासको बहस पेचिलो छ । यहाँ विकासलाई विशुद्ध प्राविधिक वा यान्त्रिक रूपमा
हेर्ने गरिन्छ । विकास वा आर्थिक समृद्धिको राजनीति र अर्थशास्त्रसँगको सम्बन्ध
केलाउन यथेष्ट प्रयत्न हुनसकेको छैन । 'एउटा गतिलो नेताको हातमा देश पर्यो भने
विकासको मूल आफैँ फुट्छ' भन्ने विश्वास लोकप्रिय छ । राजनीतिक दलका नेता, योजनाविद
र अर्थशास्त्रीले यस्तो विश्वासलाई मलजल गरेका छन् । विकासको पपुलिस्ट डिस्कोर्स
यतिसारो व्यापक छ कि वैकल्पिक विचारहरू सीमान्तीकृत भएका छन् ।
विकासप्रति जतिसुकै
आम चासो भए तापनि यो अवधारणामाथि संगठित वा नियमित बहस हुनसकेको छैन । यो डरलाग्दो
पक्ष छ । यसले देखाउँछ विकासका बारेमा राजनीतिक दलका नेता, विज्ञ, उद्यमी, आम
नागरिक सबै प्रस्ट छन् । विज्ञहरूको नेतृत्वमा विस्तृत योजनालाई आधार बनाएर अनि
निश्चित अवधि तोकेर लागु गरिने परियोजनाले विकास सुनिश्चित हुनसक्छ भन्ने विश्वास
उनिहरूमा छ । अर्थात् विकास कसरि सम्भव हुन्छ ? भन्ने सबैलाई प्रस्ट थाहा छ -खाँचो
छ त उपयुक्त अवसरको मात्र । कतिले त तानाशाही/एकतन्त्री शासनले यस्तो अवसर दिन्छ भन्ने
विश्वास पनि गरेका छन् -सिंगापुरका भूतपूर्व प्रधानमन्त्री लि क्वानको मृत्युका प्रसंगमा नेपालमा पनि धेरैले यो धारणा व्यक्त गरेको पाइयो । समग्रमा भन्नुपर्दा विकासका बारेका छलफलमा कसका लागि, कसले र कस्तो र कसरी ? भन्ने प्रश्नहरू अधिकांश अनुत्तरित रहने गरेका छन् ।
तलका केही बुँदामार्फत् विकासका बारेको प्राविधिक बुझाइमा रहेका केही कमजोरी केलाउने प्रयास गरेको छु ।
१.
विकास कसले र कसका लागि (Politics of Development)
विकास भन्नासाथ
यसलाई राजनीतिक दलका नेता, उच्च पदका कर्मचारी, विज्ञ (अर्थशास्त्री,
समाजशास्त्री, मानवशास्त्री वा विषयविज्ञ आदि)को 'जिम्मेवारी'का रूपमा बुझ्ने गरिन्छ । अर्थात्, हामी विकासलाई उच्च ज्ञान वा पदका व्यक्तिहरूले ज्ञान र क्षमताको अभाव
भएका आम मानिसका हितमा लिने निर्णयलाई बुझ्छौँ -जसलाई आम मानिसले बिना कुनै प्रश्न स्वीकार गर्नुपर्ने हुन्छ । अझ विकासलाई आम मानिसका लागि मात्र नभएर राष्ट्रका लागि पूरा
गरिने जिम्मेवारीका रूपमा समेत बुझ्ने गरिन्छ । ठूला बाटा, विमानस्थल, रेल, आदि मानिसका लागि नभइ 'राष्ट्रका लागि बनाउने' भन्ने चलन छ । विकासको समग्र अवधारणामा आम मानिस
वा उनिहरूको बुझाइ, आवश्यकता वा चासोको महत्त्व गौण हुन्छ, अथवा हुँदै हुँदैन ।
यसबाट बुझ्न सकिन्छ -विकास
स्वयंमा पनि शक्तिको अभ्यास हो जसमा ‘ठूला मानिस’ले ‘साना मानिस’को हितमा काम
गर्ने आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन् । तसर्थ, विकासले खास र आमबीचको असमान शक्तिसम्बन्धलाई reproduce गर्ने काम गरिरहेको
हुन्छ । विकासलाई राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा व्याख्या गरिँदा विकासको
प्रभावलाई प्रत्यक्ष रूपमा झेल्ने आम मानिस राजनीतिक नीतिनिर्णयका प्रक्रियाबाट
वैधानिक रूपमा वञ्चित बनाइन्छन् । परिणामस्वरूप, विकासको अभियानमा अग्रसर अविकसित मुलुकहरूमा धनी र गरीबबीचको खाडल निरन्तर बढिरहेको हुन्छ भने विकासले जन्माएको कठिनाइको प्रतिरोधस्वरूप विभिन्न ठाउँमा विद्रोह वा आन्दोलनहरूको जन्म भइरहेको पनि देखिन्छ ।
२.
विकासको अर्थशास्त्र (Development and the World Economic System)
विकासलाई कूल
ग्राहस्थ उत्पादन वा औसत प्रतिव्यक्ति आयको मापनमा आधारमा बुझ्ने विश्वव्यापी
चलनले गर्दा हामी सम्पत्तिको वृद्धिलाई विकास भन्छौँ । 'लगानी र प्रतिफल बढाउन सके
विकास स्वत: सम्भव हुन्छ' भन्ने बुझाइ नेपालमा लोकप्रिय छ । उद्योग-धन्धाको स्थापना
र भौतिक पूर्वाधारको निर्माण गरेर वस्तु वा सेवाको उत्पादन बढ्नासाथ मुलुक धनी
भइहाल्छ भन्ने आम बुझाइ छ ।
विकासको यो लोकप्रिय
अवधारणाले गर्दा हामी स्थानीय देखि विश्वस्तरमा लगानी र मुनाफाको वितरण कसरि
भइरहेको छ ? भन्ने कुरालाई नजरअन्दाज गर्छौँ । वस्तु र सेवाको उत्पादन वृद्धिमात्र
विकासका लागि यथेष्ठ हुनसक्दैन –स्थानीयदेखि विश्वस्तरका आर्थिक सम्बन्धहरूमा पनि
पुनर्संरचना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि नेपालमा अहिले अधिकांश कृषिजन्य
वस्तुको उत्पादन लागत छिमेकी मुलुक भारतका तुलनामा बढी छ । खूला सिमानाका कारण
भारतका र चीनका पनि कृषि उपज तथा फलफूल नेपालमा तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध
छन् । जसका कारण मुलुकभित्र कृषिप्रति आकर्षण निरन्तर घटिरहेको छ । त्यसैगरि,
नेपाल अहिले विश्व पुँजीवादी अर्थव्यवस्थामा सस्तो मानव संसाधन आपुर्ती गर्ने
मुलुकका रूपमा स्थापित भएको छ जसबाट विश्व अर्थतन्त्रमा नेपालको परनिर्भरता बढिरहेको छ । यसबाट प्रस्ट हुन्छ हरेक स्थानको अन्य स्थानसँगको आर्थिक सम्बन्धले विकासका लागि गहिरो अर्थ
राख्छ । विकास कुनै निश्चित भौगोलिक सीमानाभित्र वस्तु वा सेवाको उत्पादन बढाउनासाथ स्वचालितरूपमा हासिल गर्नसकिने उपलब्धि होइन ।
३.
विकास र इतिहास (History and Development)
विकासलाई इतिहाससँग
विच्छेद गरेर हेर्ने प्रवृत्ति छ । विकासका बहसमा सम्बन्धित मुलुक वा समाजको
ऐतिहासिकतालाई कुनै महत्त्व दिइँदैन –बरू घृणा गरिन्छ । अवधारणाका रूपमा हेर्दा
विकास इतिहासको कैदबाट बाहिर निस्किने प्रयत्न हो । विकासविद र योजनाकारहरू
ऐतिहासिकताको चर्चा समेत गर्न रुचाउँदैनन् ।
तर, वर्तमान
इतिहासको उपज हो । आज कुनै मुलुक वा स्थान जुन स्वरूपमा छ त्यसको निश्चित
ऐतिहासिक पृष्ठभूमि अवश्य हुन्छ । त्यहाँ निश्चित वस्तु वा सेवाको उत्पादन र यससँग
सम्बन्धित सीपको इतिहास हुनसक्छ; साधन-स्रोतको वितरणको इतिहास हुनसक्छ; जनसङ्ख्या
परिवर्तनको इतिहास हुनसक्छ; कला, संस्कृतिको इतिहास हुनसक्छ । यी सबै वास्तविकतालाई नकेलाई वर्तमान र भविष्यलाई मात्र हेरेर सामाजिक परिवर्तनको खाका कोर्नु गलत हो । फेरि, सबै मानिसलाई सधैँ
आज हामीले बुझ्ने विकासमात्र प्यारो हुन्छ भन्ने छैन । ऐतिहासिक पृष्ठभूमिको
बेवास्ता गरेर सबैलाई समान प्रकारको विकास दिने प्रयास असफल हुने चुनौती त छँदैछ, विकासले
आम मानिसलाई ऐतिहासिक विशेषता र मूल्यमान्यताबाट विमुख गराउने सम्भावना पनि
उत्तिकै हुन्छ ।
४.
अन्तमा, भौतिक पूर्वाधार (Infrastructure and Progress)
विकसित मुलुकमा
बनाइएका भौतिक पूर्वाधारलाई विकास वा समृद्धिको पर्यायका रूपमा हेर्ने दुखद्
प्रवृत्ति नेपाल लगायत सबै ‘अविकसित’ मुलुकमा छ । ठूला विमानस्थल, चौडा सडक, तीब्र
गतिका रेल, आदि संरचना भएमा मुलुक विकसित मानिने विश्वास गरिन्छ । कतिले त यस्ता
संरचनालाई राष्ट्रिय गौरव भनेर समेत प्रचार गर्ने गरेका छन् ।
झट्ट हेर्दा यस्ता
भौतिक पूर्वाधारले मानिसको दैनिक जीवनलाई केही सहज नबनाउने होइनन् । तर, गरीबी र
समृद्धीको मापन मानवनिर्मित संरचनाबाट गरिने प्रवृत्ति गलत र दु:खद छ । भौतिक
संरचनाको निर्माण नितान्त रूपमा आवश्यकतामा आधारित हुनुपर्छ । विकास वा राष्ट्रिय
प्रतिष्ठाका लागि निर्माण गरिने संरचनाले देशलाई आर्थिक बोझ थप्नेमात्र नभइ
असमानता बढाउने र पर्यावरणमा गम्भीर असर पार्ने खतरा रहन्छ । भौतिक संरचनाको
निर्माण गर्दा यसबाट अर्थतन्त्रमा मात्र नभइ समाज र प्राकृतिक वातावरणमासमेत कस्तो
प्रभाव पर्छ भन्ने विश्लेषण हुन जरुरी छ ।
सारांशमा भन्नुपर्दा,
विकासलाई जान्नेसुन्ने, विद्वान, विज्ञ, ठूला नेता वा कर्मचारीको जिम्मेवारीका
रूपमा बुझिनु गलत हो । विकास यदि मानिससँग सम्बन्धित परिवर्तन हो भने आम मानिसले
आफूलाई चाहिएको विकासका बारेमा छलफल गर्न र यसका लागि आवश्यक नीति निर्माण गर्न
पाउनु पर्छ । यसका लागि आवश्यक राजनीतिक र सामाजिक विधि र संरचनाको निर्माण हुनुपर्छ । विकासलाई विज्ञको पोल्टामा हालेको दशकौँ बितिसक्दा पनि आम मानिसको
जीवनस्तरमा कुनै सकारात्मक सुधार हुन नसक्नुमा विकासलाई राजनीति, आर्थिक व्यवस्था
र इतिहासबाट अलग राखेर हेर्ने प्रवृत्ति दोषी छ ।
बहस शुरू गर्न तर्क ठिक छ; विकास के हो भन्ने चर्चा पनि राम्रो छ। तर मुख्य विषय बस्तु "कसरी" भन्ने प्रश्नको बहस लास्टमा त्यसै टुंगिए जस्तो लाग्यो। कसरी भन्ने प्रश्नको उत्तर सजिलो छैन र यसको राजनितिक पाटो त अझ interesting छ। मलाई मन पर्ने बहसको क्षेत्र हो यो - बहस ज्युदै रहे, समयले साथ दिए, अगाडि बढाउला। Well done on the blog!
ReplyDelete