हरेक पाँच वर्षमा आउने गढिमाई मेला अर्को महिना बाराको बरियारपुरमा सम्पन्न हुन गइरहेको छ । विगत झैँ यो वर्ष पनि नेपाल र विशेषगरि भारतबाट मेला भर्न आउने भक्तजनले अनुमानित ५ लाख पशुपंक्षी गढिमाईलाई 'चढाउने' छन् । जीवनमा सुखसमृद्धि प्राप्त गर्न र यसका लागि गढिमाईलाई सन्तुष्ट बनाउने उद्देश्यले गरिने पशुबलिको कार्यक्रम २ हप्तासम्म चल्नेछ ।
गढिमाईको मेला संसारभरकै सबैभन्दा ठूलो आम पशुवधका रूपमा प्रख्यात (वास्तवमा कुख्यात) छ । यसकारण संसारका विभिन्न ठाउँका पत्रकार वा अध्येता यसबेला नेपाल यात्राको तयारीमा होलान् । मेलाका क्रममा हुने नृशंस पशुवधका दृश्य क्यामरामा कैद हुने नै छन् । विश्वभरका सञ्चारमाध्यममार्फत् गढिमाईका तस्वीर र भिडियोसहित नेपालको नाम अर्को महिना एकपटक फेरि फैलिने छ । नेपालीहरूले एकपटक फेरि 'गौरवान्वित' हुने अवसर पाउने छन् ।
धार्मिक वा अन्य कुनैपनि उद्देश्यका लागि गरिने आम पशुहत्या भारतको कानुनमा वर्जित छ । भारतको 'सुप्रिम कोर्ट'ले गढिमाईमा हुने आम पशुहत्यालाई ध्यानमा राखेर सबै राज्यसरकारलाई बलिका लागि हुने जनवारको खरिदविक्री र ओसारपसारमा रोक लगाउन निर्देशन दिइसकेको छ ।
केही महिनाअघि People for Ethical Treatment of Animals (PETA) र Federation of Indian Animal Protection Organization (FIAPO) का समर्थकहरूले भारतस्थित नेपाली दूतावासअगाडि गढिमाईमा हुने पशुवध रोक्ने आग्रहसहित विरोध प्रदर्शन गरे । सांकेतिक विरोधस्वरूप हातमा रातो रङ्ग पोतेर प्रदर्शनकारीहरूले यो प्रकारको नृशंस हत्या रोक्न भारतीय र नेपाली अधिकारीहरूलाई संयुक्त रूपमा आव्हान गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतीय अधिकारीहरूले गढिमाई मेलाका लागि भारतीय क्षेत्रबाट हुने जनावरको ओसारपसार रोक्न सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।
तर, अचम्म के छ भने नेपालमा यस विषयमा कसैले गम्भीर चासो देखाएको पाइँदैन । राजनीतिक दललाई त आफ्नो साँघुरो स्वार्थबाहेक अन्य कुरामा चासो नभएको अनौठो होइन । तर, बुद्दिजीवी तथा अधिकारकर्मीहरूलाई समेत गढिमाईमा हुन लागिरहेको जनावरको आततायी हत्याले पोलेको छैन । यसले मानव स्वास्थ्यमा पार्ने सम्भावित नकारात्मक प्रभावका विषयमा वास्ता छैन । यसबाट संसारभर हुने नेपालको बेइजतिप्रति चासो छैन ।
मूलधारे मिडिया र सोसल मिडियामा गढिमाईको मेलाले पाएको सकारात्मक चर्चा देख्दा लाग्छ यो हाम्रो राष्ट्रिय गौरवको विषय हो ।
केही दिनअघि एक फ्रान्सेली कलाकारले गढिमाई मेलामा हुने आम पशुहत्याको विरोध गर्दै यसलाई रोक्ने आग्रहसहित नेपालका राष्ट्रपतीलाई पत्र लेखिन् । एक कलाकार तथा सर्वसाधारणले लेखेको उक्त पत्रले सानोतिनो तरङ्ग नै ल्याइदियो । उक्त पत्रको विरोध गर्नेको मत थियो -"आफ्नो देशमा हुने पशुहत्यालाई रोक, नेपालमा के हुँदैछ भन्ने तिम्रो चासोको विषय होइन ।" गढिमाई मेलाको विरोध गर्ने पशु अधिकारकर्मी र पश्चिमाहरूको आलोचना वा प्रतिरोधस्वरूप व्यक्त भइरहेका प्रतिक्रियाले यस विषयमा हाम्रो दृष्टिकोणमा रहेको कमजोरी उजागर गरिरहेका छन् ।
पहिलो, गढिमाईमा हुने आम पशुहत्या अन्य पशुहत्याको तुलनामा बढी नृशंस र आततायी छ । यो मासुका लागि गरिने सामान्य प्रकृतिको पशुवध होइन । लाखौँ जनावरलाई लाइन लगाएर खेदिखेदी मार्नु र तिनका शरीर खूला आकासमुनि सड्न दिनु मानवीयताको परिचायक होइन । दशैँमा घरघरमा खसी काट्ने वा क्रिशमसमा टर्की काट्ने प्रचलनलाई गढिमाईमा हुने पशुवधसँग तुलना गर्नु तर्कका लागि तर्क गर्नु मात्र हो ।
नेपालमा मासुका लागि गरिने पशुवधमा पनि प्रशस्त सुधारको खाँचो छ । पशुवध वा मासु प्रसोधनका लागि आवश्यक आधारभूत पूर्वाधार वा प्रक्रिया स्थापित गर्नमा हामी अझसम्म असफल छौँ । काट्नुअघि जनावरलाई बेहोस बनाउने र स्वस्थकर स्थानमा निरोगी जनावर मात्र काट्ने प्रबन्ध लागु हुनसकेको छैन । अझपनि काठमाडौँमै अस्वस्थकर र अमानवीय ढङ्गले पशुवध गर्ने र मासुलाई बोरामा कोचेर रगत चुहाउँदै टेम्पु वा ट्याक्सीमा ओसारपसार गर्ने चलन विद्यमान छ । यस क्षेत्रमा सुधारको त कुरै छोडौँ,गढिमाईमा हुने अत्यन्त अव्यवस्थित र नृशंस पशुहत्याको समर्थन गर्नुलाई उचित मान्न सकिन्न ।
दोस्रो, "आफ्ना परम्परा र संस्कारको विरोध अरूले गर्न पाउन्नन्" भन्ने तर्क संकुचित र कमजोर मानसिकताको उपज हो । भूमण्डलीकरणको आजको युगमा संसारको कुनै एउटा कुनामा भइरहेको घटनामा विश्वव्यापी चासो हुनु स्वभाविक हो । केही हप्ताअघि 'पुरुषको खेल' फुटबल हेरेको अभियोगमा इरानको अदालतले एक महिलालाई एक वर्षको कारावासको सजाय दिन गरेको निर्णय मानवीय थिएन -जसको आलोचना संसारभर भयो । आजको विश्वमा कुनै संस्कार वा परम्परा समुदाय विशेषको निजी सम्पत्ति हुनसक्दैन ।
फ्रान्सेली कलाकारको पत्रको प्रतिक्रियास्वरूप नेपालका नाम चलेका केही पत्रकार र बुद्धिजीवीको तर्क थियो "नेपाललाई अर्ति दिनुभन्दा पहिले पश्चिमा मुलुकका मानवअधिकार र पशुअधिकार उल्लंघनका दृष्टान्तलाई हेर ।" मेरो विचारमा यो प्रतिक्रियामा केही गम्भीर समस्या छन् ।
प्रत्येक व्यक्ति उसको भनिएको राष्ट्र वा समुदायभन्दा माथि हुन्छ । राष्ट्र वा समुदायमा हुने विकृति वा गलत कामका लागि त्यसका हरेक सदस्य जिम्मेवार हुँदैनन् । द्वन्द्वकालमा सरकार र माओवादी दुबै पक्षबाट हजारौँ निर्दोष नागरिकको घाँटी रेटेर, घुँडा भाँचेर, जिउँदै पुरेर, लाइन लगाएर गोली ठोकेर हत्या गरियो । हजारौँ मानिस अझ पनि बेपत्ता छन् । युद्धका घाइतेहरू अझ पनि राज्यको सहारा र सुरक्षा नपाएर भौँतारिरहेका छन् । परिवर्तित परिस्थितिमा विगतका युद्धरत शक्तिहरूले युद्धका दौरान भएका जघन्य मानवअधिकार उल्लंघनका घटनामा कसैले व्यक्तिगत रूपमा जिम्मेवार हुननपर्ने र कसैलाई कारवाही नहुने कानुनमा सहीछाप गरिसकेका छन् ।
तर, यी सबै कुकृत्यका लागि हरेक नेपालीलाई जिम्मेवार बनाउन मिल्छ ?! यदि फ्रान्समा पशुअधिकार उल्लंघन हुने कारणले ति कलाकारले नेपालमा पशुबलिको विरोध गर्न नपाउने हो भने कुनै पनि नेपाली नागरिकलाई मानवअधिकार वा अहिंसाका पक्षमा बोल्ने अधिकार छैन ।
तेस्रो, संस्कृति र परम्पराका नाममा गरिने कुनै पनि कुरामा विरोध गर्नु उचित होइन भन्ने हाम्रो सोच गलत छ । संस्कृति र परम्परा भन्दैमा सबै कुरा विरोध वा आलोचनाभन्दा माथि हुन सक्दैनन् । झाडापखाला लाग्दा धामीझाँक्रीलाई देखाउने र बिरामीलाई पानी खान नदिने पनि कुनै बेला हाम्रो परम्परा थियो । अहिले पनि महिनावारी भएका महिलाको छायाँ पर्दा बालीबिरुवा मर्छन् भन्ने विश्वास परम्पराका रूपमा विद्यमान छ -हालै सूदुर पश्चिममा महिनाबारी भएका महिलालाई हिड्न अलग्गै बाटो बनाइएको समाचार सञ्चारमाध्यममा आएको थियो ।
म पनि सापेक्षतावादमा विश्वास गर्छु । हरेक विश्वास, परम्परा वा मूल्यमान्यताका आफ्नै विशिष्टता हुन्छन् र एकलाई अर्कासँग तुलना गरेर राम्रो वा नराम्रो भन्नु उचित होइन -यो पनि मलाई थाहा छ । तर, सापेक्षतावादमा विश्वास गर्नेले के पनि बुझ्न आवश्यक छ भने सापेक्षतावाद आफैँमा पनि निरपेक्ष हुन सक्दैन । अर्को शब्दमा, सबै कुरा निरपेक्षरूपमा सही हुन सक्दैनन् । यदि सबै सोचाइ वा व्यवहारलाई सापेक्षतावादको सिद्धान्तका आधारमा सही प्रमाणित गर्दै जाने हो भने बोक्सीको आरोपमा महिलालाई फोहर खुवाउने चलनलाई पनि सही मान्नुपर्ने हुन्छ ।
संस्कृति र परम्पराको बचाउ गर्ने धुनमा हामीले कहिेलेकाहिँ विवेक गुमाउने गरेको तथ्यलाई एक उदाहरणबाट हेरौँ । गत वर्ष बर्ड फ्लु सङ्क्रमण रोक्न मानव स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल सरकारले काठमाडौँ वरपरका कुखुरापालन उद्योगमा चल्ला मार्ने अभियान चलायो । उक्त क्रममा आवश्यक प्रविधि र जनशक्तिको अभावमा चल्लालाई लाठीले हिर्काएर आततायी रूपमा मारियो । यसको मिडिया र जनमानसबाट प्रशस्त विरोध पनि भयो । तर, योभन्दा कैयौँ गुना ठूलो र नृशंस गढिमाईको पशुहत्यालाई हामी संस्कृति र परम्पराका नाममा बचाउ गर्न उद्यत छौँ ।
नेपालमा राजनीतिक सुव्यवस्था हुन्थ्यो वा कानुन निर्माण वा सुधारको प्रक्रिया सही ठाउँमा हुन्थ्यो भने आज हामीकहाँ पनि भारतमा जस्तै गढिमाईका नाममा हुने अमानवीय संस्कार प्रतिबन्धित भइसक्ने थियो । हाम्रो देश र समाज सतही, अस्पष्ट र भ्रामक नारामा दशकौँदेखि अल्झेको छ जसका कारण ठोस विषय र मुद्दा ओझेलमा परेका छन् । तसर्थ गढिमाईका नाममा हुने नेपालको बेइजती रोक्न तत्काल कानुन बनिहाल्ने सम्भावना छैन । तर, नागरिक स्तरमा हामी यसको विपक्षमा लेख्न बोल्न सक्छौँ ।
नेपालको सरकार यस विषयमा संवेदनशील नभए पनि सबै नेपाली गढिमाईको नृशंस पशुहत्याको पक्षपाती होइनन् भन्ने संदेश विश्वलाई दिन आवश्यक छ ।
ब्लग राम्रो लाग्यो। Bold writing, keep it up! बोल्न नस्कनेलाई थिचोमिचो गर्ने , मार्ने, धमक्याउने आदी कुराहरुलाई हाम्ले आफ्नो धर्म, संस्कृति र परम्पराको संज्ञा दिनु कमजोर अनि बिकृत मानसिकता हो। आफैलाई प्रश्न गर्ने बेला आएको छ- गौरव गोर्खाली कहलाउनमा कि गढिमाई पशुबध कारणले?
ReplyDeleteचिन्ताको कुरा के पनि हो भने संञ्जिव जी, हामीलाई नभएको चिन्ता पश्चिमालाई किन भइरहेछ ? माईहरुमा वध गर्नुहुन्छ हुन्न भन्ने बहस त बढि से बढि हामीले पो चलाउने हो त ।
ReplyDeleteयहाँ त थोपरियो नि ? उतैबाट ।
घरभित्र त दाजुभाईको झगडा पर्ला । तर त्यसमा छिमेकीले केही भन्यो भने भन्ने अधिकार कति र कुन हदसम्म हुन्छ ?
युरोपेली वा अमेरिकी समाज र संस्कृति विश्वमै मानक समाज र संस्कृति हो ? हो भने उनैलाई पछ्याउँ न ।
कुन आधारमा युरेपेली र अमेरिकी हैकम हामीमा लाद्ने काम भइरहेको छ ?
जसरी संघियता र धर्म निरपेक्षताको माग मूल माग नहुँदा पनि ति कुरा स्थापित हुने दिशामा गयो, के हामी आम नेपाली त्यसमा सहमत छौं ? शिखण्डी नेताहरुले जनतालाई झुक्काएको हो कि होइन ? ती जो आफ्नो आगतबारेको दुई पाइलासम्म जानकार छैनन्, त्यस्ता पानीमरुवाले देशलाई, समाजलाई के हाँक्लान् ? तिनले झुक्काएको पनि के भन्नु ? ती त देशद्रोही हुन् ।
यो अधिकारको कुरा नै वकवास लाग्छ मलाई ।
सौरभका कुरा तपसिलका कुरा मानौं ।
गढिमाइलाई सांस्कृतिक पेलाइको आलोकमा हेर्नुपर्ला । गढिमाइ त एउटा उदाहरण मात्र हो । तिहारमा सरकारले कस्को आदेश र आग्रहमा रातभर द्यौसी नखेल्नु भन्यो ?
भक्तपुरको विस्केट जात्रामा झगडा हुने गरेको थियो, उरेन्ठेउाला केटाहरुले मापसे गरेर निहुँ झिक्ने कारणले । तर के तिहारमा मान्छे मारपिट हुने काण्ड भएको थियो । नेपाली समाज हिंस्रक र असहिष्णु समाज हो ?
हाम्रा कमजोरी छन्, तिनलाई हटाउनु पर्छ, निसन्देह ।
तर, न्युयोर्कमा हुने रंगभेदी व्यवहारबारे हाम्रो व्यावस्थापिकामा छलफल हुन पाउँछ कि पाउँदैन ? हाम्रो कार्यपालीकाले त्यस सम्बन्धि टिप्पणी गर्न पाउँछ कि पाउँदैन ? गर्यो भने त्यो सह्य हुन्छ उनीहरुलाई ?
ग्वान्तानामो के हो ? इराकमा के भइरहेछ ? प्लालेस्टाइनमा के भइरहेछ ? लेवनानमा के भयो ? बोस्नियामा के भयो ?
चेच्न्यामा के भइरहेछ ? अमेरिकी नागरिकलाई इबोला भाइरस नलागेको भए इबोला अहिलेको तातो विषय बन्थ्यो ? इबोला हिजो मात्र आएको रोग हो ?
एउटा उतैको जोन उडले वर्षमा हजारौं वालवालिकालाई साक्षर बनाएर संसार बदल्ने कार्य गरिरहेका छन् । पचासौं वर्षदेखि स्थापित, अर्बौं डलर खर्च गरेका परोपकारी पश्चिमा संस्थाले के नापे ? तेस्रो विश्व जुन भन्छन् त्यहाँ भ्रष्टाचार संस्थागत गराउने ती डलरवाला संस्था होइनन् ?
त्यही भ्रष्टाचारको एउटा रुप हो वौद्धिक भ्रष्टाचार, जुन नेपालमा सर्वव्यापक छ । र, नेपालका वौद्धिक भनिएकाको बुद्धि अन्त कतैबाट आयात भएर आउँछ । जो आफ्नो ब्रह्म छ भन्ने जान्दैन, तीनले के सत्य र न्यायको कुरा गरुन् सञ्जिव जी ।
त्यसकारण गढिमाई वा अरु माई त्यँहा वलि किन दिइन्छ त्यसको परम्परा र इतिहास बुझौं । हामीलाई ठिक लाग्दैन भने के कसो गरेर ठिक हुन सक्ला त्यतातिर लाग्ने वातावरण बनाउँ । हाम्रो विषयमा हामी नै बोलौं । अर्काको लागि हामी नउफ्रिउँ । अर्काले केही भन्छ भने यो हाम्रो कुरा हो भन्ने अडान लिन सिकौं ।