दिपायलबाट स्याउलेबजार आउँदैगर्दा बाटोमा देखिएका मालबाहक ट्र्याक्टर |
असारको तेस्रो साता धनगढीबाट डडेलधुरा हुँदै बैतडी जाने र फर्केर डोटीको सदरमुकाम सिलगढी झर्ने कार्यक्रम तय भयो । भ्रमण छोटो, पूरा गर्नुपर्ने काम धेरै ।
तर, पनि केही समय निकालेर मान्छेहरूसँग गफ गर्ने र हाते फोनले फोटो खिच्ने मौका
मिल्यो । भ्रमणका अनुभव समेट्दै सुदूर-पश्चिमका विषयमा केही लेख्ने रहर थियो । यो
लेखमार्फत त्यही रहर पूरा गर्दैछु ।
सुदूर-पश्चिमको यो मेरो पहिलो यात्रा थिएन । डेढ
वर्ष जति अघि डडेलधुरा र बैतडी घुमेको थिएँ । तिहारको बेला भएकाले
त्यसबेला खुशीले भिजेको थियो सुदूर-पश्चिम । हरेक चोक-बजारमा मानिसहरू देउडामा नाच्दै
देउसी खेलिरहेका भेटिन्थे । भ्रमण टोलीका हामी सबैले बैतडीको सतबाँझमा तिहारका
लागि ओखर किनेका थियौँ । खोड्पेमा भेटिएको एउटा देउसे टोलीसँग हामी केहिबेर
नाच्यौँ पनि । चाडबाडको रमझममा मग्न सुदुर-पश्चिमलाई छोडेर तिहार मनाउन हामी
लक्ष्मीपूजाको दिन धनगढी झरिसकेका थियौँ ।
यसपटक चाडबाडको मौषम थिएन । त्यसैले,
सुदूर-पश्चिममा त्यो बेलाको जस्तो खुशी र उमङ्ग पनि थिएन । तराइबाट सामान बोकेर
धिमा गतिमा उकालो चढिरहेका मालबाहक ट्र्याक्टर, ठेउका खाएर आँखा राता पार्दै पसलमा
टोलाइरहेका लोग्नेमान्छे र टाउकामा सामानको गरुङ्गो भारी बोकेर दुर्बल शरीर
घिसारिरहेका महिला र केटाकेटी सबैले एकैप्रकारको नैराश्य प्रदर्शन गरिरहेझैं
लाग्थ्यो । यी सबैलाई चिर्दै हाम्रो गाडी हुँइकिरह्यो मानौं हामी कुनै नजानिदो
सङ्कटबाट भाग्न खोजिरहेका छौँ ।
बैतडीको सदरमुकान नजिकै साँझ घरफर्किरहेका महिला |
आफ्नै अनुभवका आधारमा भन्दा पूर्वी नेपालमा जुन
जीवितता छ, त्यो सुदूर-पश्चिममा छैन । पूर्वी नेपाल र पश्चिम नेपाल फरक हैसियत र
फरक सम्भावना बोकेर बाँचिरहेका छन् । संस्कृति र शभ्यतामा मात्र होइन कनैबेला
आर्थिक-राजनीतिक हिसाबमा पनि निकै सम्पन्न मध्य र सुदूर-पश्चिम आज आफ्नै इतिहासको
भारी बोक्न नसकेर लर्खराइरहेको भान हुन्छ ।
सतहबाट हेर्दा सुदूर-पश्चिमलाई तीन रोगले एकसाथ
गाँजेको छ । ति हुन् –रक्सीको दुर्व्यसन, तीव्र सामाजिक विभेद र भारतसँगको
निर्भरता ।
सुदूर-पश्चिमका मुख्य शहर, राजमार्ग छेउछाउका
बजार र गाँउबस्तीका होटलमा सबैभन्दा बढी कारोबार हुने बस्तु हो रक्सी । नाम,
उत्पादनकर्ता र उपभोग मिति नतोकिएका र तोकिए पनि त्यसको कुनै विश्वसनीयता नभएका
दर्जनौँ नक्कली ‘ब्राण्ड’का रक्सीको किनबेच हुन्छ सुदूर-पश्चिममा । स्थानीय
बोलचालको भाषामा ठेउका भनिने र स-साना बोतल र पाउचमा किन्न पाइने सस्ता रक्सी विशेषगरि
पुरुषहरूको मन भुलाउने र खल्ती रित्याउने मुख्य माध्यम हुन् । ठेउकाको व्यापकता
सुदूर-पश्चिममा यति धेरै छ कि यसको दुर्व्यसनमा नलाग्ने पुरुष अत्यन्त कम छन् ।
पसलमा सजाइएका सोफी र जुम्ली 'ब्राण्ड'का सस्ता रक्सी जुन प्राय सबै पसलमा किन्न पाइन्छ । |
रक्सी दुर्व्यसनको प्रभाव मात र पैसामा मात्र
सीमित छैन । यसले पारिवारिक वातावरण र सामाजिक सद्भावमा प्रत्त्यक्ष नकारात्मक
प्रभाव पारेको छ; घरेलु हिंसालाई बढावा दिएको छ र महिलाको जीवनलाई झनै दुखद् र
कष्टकर बनाएको छ । दुर्व्यसनको सबैभन्दा गहिरो प्रभाव मानव स्वास्थ्यमा परेको छ ।
सुदूर-पश्चिमको तुलनात्मक रूपमा अत्यन्त कम औसत आयुमा रक्सी दुर्व्यसनको देन
सम्भवतः सबैभन्दा बढी हुनसक्छ ।
सुदूर-पश्चिमको अर्को दुःख हो यहाँको अत्यन्त
जटिल र तीव्र सामाजिक विभेद ।
सुदूर-पश्चिममा हरेक गाउँबस्तीमा राजा, रान्सा
(रानीसाहेब), मैया र महारानीहरू छन् जसले सामाजिक प्रतिष्ठा र आर्थिक स्रोतमाथि
आधिपत्य जमाएका छन् । सबै राजा वा बाबुसाहेब आर्थिकरूपमा सम्पन्न नभए तापनि सीमित
उच्चजात वा पुरुषका लागि सुदूर-पश्चिम स्वर्ग नै हो । तर, अधिकांश दलित र महिलाका
लागि सुदूर-पश्चिम नर्क हो भन्दा फरक पर्दैन । सुदूर-पश्चिममा छाउ (महिनावारी) का
नाममा अझसम्म पनि महिलामाथि पशुसरहको व्यवहार हुन्छ । त्यसैगरि, यहाँको समाजमा
दलितको सामाजिक, आर्थिक र सांस्कृतिक हैसियत छैन । महिला र दलितमाथि हुने भेदभाव र
वञ्चनालाई पुरुषले मात्र होइन दलित र महिलाले पनि स्वभाविक ठानेर स्वीकारेका छन् ।
दिपायल बजारनजिकै साँझ घर फर्किरहेका बालिका |
छाउ भएका महिला र छाउ भएको आशंकामा अन्य
महिलामाथि हुने दुर्व्यवहार सुदूर-पश्चिमका पहाडी जिल्लामा सामान्य हो । दूधदही खान वा घरभित्र
बस्न पाउने अधिकार छाउ नभएका महिलामा मात्र सीमित छ । यही अन्धविश्वासका कारण
महिलाहरू पुरुषसरहको आत्मसम्मान र अधिकारबाट वञ्चित छन् । दैनिक घरव्यवहारमा पनि
महिलाले पुरुषका तुलनामा तीनगुना बढी काम गर्नुपर्छ । पुरुषले जोत्ने हलो घरबाट
खेतसम्म बोकेर लैजानेदेखि घाटमा शव जलाउन दाउरा बोक्ने जिम्मेवारीसमेत महिलाको
थाप्लोमा पर्छ । गाउँबस्ती घुम्दा चियापसलमा गफ मारिरहेका लोग्नेमान्छे र
खेतबारीमा परिश्रमका साथ काम गरिरहेका महिलाहरू एकसाथ देखिनु सुदूर-पश्चिमका लागि
सामान्य हो ।
सुदूर-पश्चिममको अर्को दुख हो –भारतसँगको
परनिर्भरता ।
यहाँका अधिकांश घरका पुरुष रोजगारीका लागि स्थायी
वा अस्थायीरूपमा भारतका विभिन्न शहरमा काम गर्छन् । सुदूर-पश्चिमबाट भारतमा रोजगारीका लागि जाने
श्रमशक्ति मूलत अदक्ष कामदारहरूको हो । यहाँबाट रोजगारीका लागि भारत जाने अधिकांश
नेपालीले पाउने काम कारखाना मजदुर, कुल्ली/भरिया, चौकिदार वा पसलका सहयोगीको हो ।
खेतिपातिबाट जीवननिर्वाह असम्भव भएकाले घर खर्चका लागि आवश्यक नगद जुटाउन यहाँका
मानिसका लागि भारत जानेबाहेक अन्य विकल्प छैनन् भने हुन्छ । कति सुदूर-पश्चिमवासी
स्थायी रूपमा भारतमा कार्यरत छन् भने बर्खामा रोपाईं सिध्याउना साथ घरमा ताल्चा
लाएर कामका लागि भारत जानेको सङ्ख्या पनि उल्लेख्य छ । भारतको तीव्र गतिमा विस्तार
भइरहेको अर्थतन्त्रले नेपालबाट सस्तो मूल्यमा अदक्ष र अर्धदक्ष श्रमशक्ति पाएको
छ यसलाई विश्व पुँजीवादमा नेपालको
‘योगदान’का रूपमा हेर्नसकिन्छ ।
एकातिर भारतले नेपालबाट सस्तोमा श्रमशक्ति
पाइरहेको छ भने अर्कोतिर आफ्ना प्रसोधित सरसामान बेच्ने सजिलो बजार ।
सुदूर-पश्चिमका तराइ र पहाडी जिल्लामा बेचिने फलफूल र तरकारीदेखि लिएर लुगाफाटा,
औषधी, विद्युतीय उपकरण, निर्माण सामग्री आदि सबै भारतबाटै आयात हुन्छन् । भौगोलिक
सामिप्यता र रोजगारीमा निर्भरताका कारणले सुदूर-पश्चिममा भारतीय सामग्रीकै बजार
ठूलो छ ।
सतहमा हेर्दा रक्सीको दुर्व्यसन, सामाजिक विभेद र
भारतसँगको परनिर्भरता सुदूर-पश्चिमका दुःखका स्रोत हुन् । तर, यी सबै चुनौती वा
दुःखका पछाडि एउटा भयंकर ठूलो परिस्थितिको हात छ –सुदूर-पश्चिमले भोगिरहेको
राज्यको उपेक्षा ।
दिपायलस्थित दलितबस्तीको एउटा घर |
सुदूर-पश्चिमका केही व्यक्ति राष्ट्रिय राजनीतिमा
निकै उपल्लो तहसम्म नपुगेका पनि होइनन् । शेरबहादुर देउवा र लोकेन्द्र बहादुर चन्द
यसै क्षेत्रबाट चुनिएर मुलुककै कार्यकारी प्रमुखको पदसम्म पुगेका हुन् । तर,
नेपालको राज्यसंरचना पूर्वतर्फ ढल्केको छ । राज्यको रुचि पश्चिमका गुनासा सुन्न
होइन, पूर्वका गीत सुन्नमा बढी छ । यहाँका नागरिकले राज्यबाट न त पहिचान पाएका छन्
न त सम्मान ।
नेपालको विगत ६० वर्षको विकास प्रयास र
सुदूर-पश्चिमको आजको परिस्थितिबाट एउटा गहन पाठ सिक्न सकिन्छ । त्यो हो -शिक्षा,
चेतना र सामाजिक सुरक्षा विकास र समृद्धिका लागि पर्याप्त छैनन् ।
सुदूर-पश्चिममा सडक र सञ्चार प्रविधिमा मानिसको
पहुँच सहज छ । अधिकांश जिल्लामा पक्कि सडक पुगेका छन् भने विजुलीबत्ती प्राय सबै
गाउँसम्म पुगेका छन् । मानिसका हातहातमा मोबाइल छन् । हरेक जिल्लामा कम्तीमा ५
एफएम रेडियो सञ्चालित छन् । शहरबजारका प्राय सबै घरमा टेलिभिजनका लागि डिसएन्टेना
जोडिएका छन् । राज्य र गैरसरकारी संस्थाका तर्फबाट चेतना अभिवृद्धिका प्रशस्त
प्रयत्न भएका छन् । सबै शहरमा उच्चमाध्यमिक विद्यालय छन्, सबै गाउँमा माध्यमिक
तहका विद्यालय । केही जिल्लाका र केही गाविसलाई अपवाद मान्ने हो भने
स्वास्थ्यसेवामा मानिसको पहुँच पहिलेको भन्दा निकै बढेको छ ।
बैतडीको पाटन बजार |
तर पनि सुदूर-पश्चिम फेरिएको छैन । यी सबै
परिवर्तनले मानिसको जनजीविकामा कुनै सकारात्मक योगदान गरेका छैनन् । मानिस न्युन
ज्यालाका कामको लागि भारत जाने प्रवृत्ति रोकिएको छैन, गरिबी घटेको छैन, सामाजिक
विभेद घटेको छैन, रक्सीको दुर्व्यसन घटेको छैन । यसको अन्त्यका लागि राज्य र यसका
अधिकारीहरू चेतनाको विकास र पूर्वाधार निर्माण विकासका पर्याप्त आधार हुन् भन्ने
भ्रमबाट मुक्त हुन आवश्यक छ ।
सुदूर-पश्चिममा गरिबी घट्न र मानिसको जीवनस्तरमा
सकारात्मक परिवर्तन आउन रोजगारीका अवसरको सिर्जना हुन आवश्यक छ । यसका लागि
स्थानीय वस्तुको मूल्यअभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार चाहिन्छ । सेवा र
उत्पादनमूलक उद्योगधन्धाका लागि आवश्यक लगानीअनुकुल वातावरण चाहिन्छ । श्रमशक्तिलाई
दक्ष बनाउन सीपमूलक व्यावसायिक तालिम चाहिन्छ । स्थानीय साधनस्रोत र तिनको
व्यावसायिक उत्पादन/प्रसोधानका लागि आवश्यक नीति चाहिन्छ । भारतबाट आयात हुने
वस्तुको प्रतिस्थापनका लागि स्थानीय व्यवसायलाई आवश्यक संरक्षण र सहुलियत चाहिन्छ
। आफ्नो आवश्यकता र प्राथमिकता आफैँ निर्धारण गर्नका लागि आवश्यक अधिकार र
संयन्त्र चाहिन्छ । सबैभन्दा प्रमुख कुरा, सुदूर-पश्चिमको दुःख सुदूर-पश्चिमकै
भाकामा सुन्न चाहाने कान र बुझ्नसक्ने मश्तिष्क चाहिन्छ ।
खोड्पेबजार नजिकै समय बिताइरहेका पुरुष |
रक्सीको दुर्व्यसनका लागि सुदूर-पश्चिमवासीलाई
दोष दिनु मुर्खता हो । उनीहरू राज्यको उपेक्षाका कारण सिर्जित गरिबी र अविकासबाट
ग्रसित छन् । यसको प्रभाव मानसिक स्वास्थ्यमा परेको छ र दुर्व्यसन यसको लक्षण
मात्र हो । सुदूर-पश्चिमलाई समग्र रूपमा गाँजेको ‘डिप्रेसन’का कारक तत्वलाई नबुझी
यहाँका यावत समस्याका लागि स्थानीय मानिसलाई दोष दिन मिल्दैन । रक्सी दुर्व्यसनका
लागि स्थानीय दुर्व्यसनी जति जिम्मेवार छन् नक्कली रक्सीको बेचबिखनमा संलग्न गिरोह
र नागरिकलाई अधिकार र अवसरबाट वञ्चित गर्ने राज्यसंरचना पनि त्यति नै जिम्मेवार
छन् ।
सामाजिक विभेदको अन्त्यका लागि पनि चेतनाको
विस्तारमात्र पर्याप्त छैन । विभेद कुनै अलग्गै परिस्थिति होइन, सामाजिक-आर्थिक
संरचनासँग जोडिएको कुरा हो । विभेदको अन्त्य त्यसबेला सम्भव छ जुनबेला समाजको
राजनीतिक-आर्थिक संरचनामा पनि परिवर्तन आउँछ । उदाहरणका लागि महिलामाथि हुने
भेदभावको अन्त्यका लागि महिलालाई आर्थिक र राजनीतिक रूपमा सक्षम बनाउने कार्यक्रम
चाहिन्छ । पर्चा बाँडेर वा रेडियोबाट चेतनामूलक सन्देश बजाएर भेदभावको अन्त्य
हुन्छ भन्ने कोरा सोचबाट हामी मुक्त हुन आवश्यक छ ।
बैतडीको दशरथचन्द नगरपालिकामा सार्वजनिक भ्यानबाट उत्रँदै यात्रु |
सुदूर-पश्चिमको यात्राको अन्त्यतिर बुढीतोला
बजारमा यात्रारत हामी दुईले ‘लोकल’ कुखुराको मासुको झोलसँग घिउभात खायौँ –थपीथपी ।
पैसा तिर्दा दुईजनाले दाल, तरकारी, घिउ र मासुसँग खाएको भातको बिल जम्मा २४०
रुपैंया आयो । भाँडकुँडा र बस्ने ठाउँलाई छोड्ने हो भने यति स्वादिलो खाना
दुईजनाले अघाउँजी खान काठमाडौँमा कम्तीमा १५०० तिर्नुपर्छ । मैले सोचेँ यो मूल्य
सुदूर-पश्चिमको अविकासको सानो उदाहरण हो । हामीले दुईदिनअघि खोड्पे बजारमा ४ जनाले
अघाउँजी खाएको रोटी, तरकारी र दहीका लागि जम्मा १६० तिरेका थियौँ । यसले
सुदूर-पश्चिममा मानिसको क्रयशक्ति कति कमजोर छ र आर्थिक गतिविधिमा यो क्षेत्र कति
पछाडि छ भन्ने देखाउँछ ।
pantikar jane bela ma nai sudurpaschhim negative kurako matrai katha bunchhu bhanera janubha jasto chhha, ho yi samasya chhan tara ramra kura pani chha ni.. jammai dukha payeka manchhe ka pictures matra chhan yo article ma....motercycle ma bihanai dudh bechan jane, machhha bechna jane andi office jane youth ka picture pani ta huna sakthe ni....kam besi ho,, garibi, bived ra pachutepan ta kun thauma chaina ra
ReplyDeleteSanjeev jee, I went through your blog. I think, this blog is all about an outsider's view and very superficial to describe the life in the far-west. For me it is a kind of romanticized writing which only highlights only the darker side of life. Even though I am not from that region, I have traveled extensively both eastern and western part of country and there are both aspects in the far-east and far-west.
ReplyDelete