"यो मन त मेरो
नेपाली हो ।"
धेरै नेपालीले गाएको
वा थाहा पाएको गीतको हरफ हो यो -1974
AD नामको संगीतसमूहले गाएको । तर जब म यो हरफ र
यसमा अन्तर्निहित भावनालाई गहिरिएर बुझ्न खोज्छु यसका अर्थहरू असहज प्रश्न बनेर मेरासामु
उभिन्छन् ।
नेपाली को ? नेपाल
कस्तो ? वा भनौँ नेपाली 'मन' कस्तो हुन्छ ? राष्ट्रका रूपमा नेपाल र जनसङ्ख्याका
रूपमा नेपालीको परिभाषा कसरी गर्ने ? नेपाली-पनका आधार के ? हामी सबैलाई नेपाली
केले बनाउँछ –निश्चित इतिहास ? भाषा ? रहनसहन, लवाइखुवाइ ? रूपरङ्ग ? सीमाना ?
धर्म ?
आजको नेपालका गहन
प्रश्न हुन् यी । 'नेपाली-पन'भित्र रहेको विरोधाभाषलाई हाम्रो समाजमा विद्यमान
संरचनागत द्वन्द्वका आधार भनेर व्याख्या गरेका छन् कतिले । दैनिक पत्रिकामा
प्रकासित अधिकांश लेखमा प्रत्तयक्ष वा परोक्षरूपमा केलाइने विषय पनि यिनै हुन् ।
सोसल मिडियामा भनाभन प्राय यिनै विषयमा हुन्छ ।
बेनेडिक्ट एन्डर्शन
भन्छन् –राष्ट्रहरू काल्पनिक समुदाय (Imagined
Communities) हुन् । एउटा राष्ट्रको
सीमानाभित्र बस्ने जनसङ्ख्यामा स्वभाविकरूपमा प्रशस्त असमानता हुन्छन् ।
उनिहरूबिचको अन्तर्क्रिया पनि सीमित हुन्छ, वा प्रत्त्यक्ष अन्तर्क्रिया हुँदैहुँदैन
। तर पनि उनिहरू एउटा निश्चित प्रकारको समुदायको सदस्य भएको 'कल्पना' गर्छन् ।
राष्ट्रियताको आधार यही कल्पना हो ।
एन्डर्सनले
राष्ट्रियतालाई कल्पना भने तापनि राष्ट्रियताको सोच कल्पनामा मात्र सीमित छैन । राष्ट्रका
निश्चित सीमाना र सार्वभौमिकताले राष्ट्रियतालाई ठोस यथार्थ बनाउँछन् । एउटा
निश्चित देशको नागरिक आफ्नो राष्ट्रियताको कल्पना गरेरमात्र बस्दैन –त्यसका लागि
आफू मर्न र अरूलाई मार्नसम्म तयार हुन्छ । आधुनिक राष्ट्रहरूको उत्पति र
विकासक्रमको छोटो इतिहासमा आफूले कल्पेको राष्ट्रका लागि नागरिकले ज्यान फालेका
प्रशस्त उदाहरणहरू देखेका छौँ हामीले ।
राष्ट्रियतालाई मूलत
सञ्चारमाध्यमले 'ठोस' बनाउँछन् । प्राय सबै सञ्चारमाध्यमले सम्बन्धित देशका
बासिन्दालाई 'एउटा जनसमूह'का रूपमा व्याख्या गर्छन् । निश्चित भू-भागभित्रका घटनालाई
देशका समाचारका रूपमा प्रेषित गरिन्छ –बाँकी समाचार 'अन्तर्राष्ट्रिय' बन्छन् । 'देश'का
कुरा प्रमुख हुन्छन्, 'विदेश'का कुरा कम प्राथमिकतामा पर्छन् । देशभित्रको कुनै
दुर्घटनामा १ दर्जन मानिस मर्दा ठूलो समाचार बन्छ, अन्य कुनै देशमा त्यसको दोब्बर
या तेब्बर मर्दा पनि त्यसले खासै ठूलो प्राथमिकता पाउँदैन । यसरी आफू र अर्कोको चेतना सञ्चारमाध्यमले भर्छन् हाम्रो दिमागमा ।
रोचक त अझ के छ भने आजभोलि मूलधारे सञ्चारमाध्यमका तुलनामा सोसल मिडिया राष्ट्रियताको भावना निर्माण र अभिव्यक्त गर्ने सशक्त माध्यम बन्दैगएका छन् । फेसबुक र ट्विटरमा पोखिने राष्ट्रवादले ओतप्रोत अभिव्यक्तिहरू हेर्दा लाग्छ राष्ट्रियता कुनै अमुर्त भावनामात्र हैन -दैनिक जीवनको एक महत्त्वपूर्ण आयाम हो ।
रोचक त अझ के छ भने आजभोलि मूलधारे सञ्चारमाध्यमका तुलनामा सोसल मिडिया राष्ट्रियताको भावना निर्माण र अभिव्यक्त गर्ने सशक्त माध्यम बन्दैगएका छन् । फेसबुक र ट्विटरमा पोखिने राष्ट्रवादले ओतप्रोत अभिव्यक्तिहरू हेर्दा लाग्छ राष्ट्रियता कुनै अमुर्त भावनामात्र हैन -दैनिक जीवनको एक महत्त्वपूर्ण आयाम हो ।
राष्ट्रियता
सञ्चारमाध्यम वा सोसल मिडियाले मात्र निर्माण र मलजल गर्ने कल्पना हैनन् । कला-साहित्यका अग्रज,
समाज वैज्ञानिक, अध्येता, धर्म गुरु आदिले पनि राष्ट्रसँग जोडिएको आफ्नो पहिचानलाई
गरिमाका रूपमा प्रस्तुत गर्छन् । आफ्नो राष्ट्रको प्राकृतिक सुन्दरता, त्यहाँको
कला, संस्कृति, इतिहास, मिथक आदिलाई विशिष्ट मान्छन् र सोहीरूपमा व्याख्या गर्छन्
। शायद संसारमा कुनै यस्तो मुलुक छैन होला जहाँका विद्वान र कलाकारहरूले आफ्नो
राष्ट्रलाई विशिष्ट वा अद्वितिय ठानेका नहुन् । समाज विज्ञान (जस्तै, मानवशास्त्र)मा देशलाई एकाइ मानेर अध्ययन गरिएका प्रशस्त अध्ययनहरूले राष्ट्रलाई यथार्थका रूपमा मान्यता दिएका छन् ।
तर सञ्चारमाध्यम, कलाकार, अध्येता वा विद्वान कसैले चर्चा गर्न नचाहने प्रश्न हो –राष्ट्रियताका आधार के ?
नागरिकहरूबीचको समानता के ?
नर्वेली
मानवशास्त्री फ्रेड्रिक बार्थको सैद्धान्तिक दृष्टिकोणका आधारमा राष्ट्रियताको
विश्लेषण गर्दा एउटा रमाइलो तथ्य उजागर हुन्छ । बार्थ भन्छन् जाति (वा समुदाय)को
चेतना पृथकताबाट आउने हो –कसैको पनि पहिचान स्वयंमा 'पर्याप्त' हुँदैन । हामी
आफ्नो पहिचान निर्माण गर्ने क्रममा आफूलाई अरूभन्दा कुन कुरामा पृथक छौँ भनेर
छुट्ट्याउने प्रयास गर्छौँ । जाति वा समुदायबीचका 'सीमाना' यसरी नै बन्ने हुन् । बार्थको
विचारमा यस्ता सीमानाहरू तरल हुन्छन् र निर्माण अनि पुनर्निमाण भइरहन्छन् । जब
सम्बन्धका अन्य आयामहरू (जस्तै स्रोतको बाँडफाँट, शक्तिको वितरण आदि) मा मतभेद
उत्पन्न हुन्छ त्यसबेला मानिसले यी सीमानाहरूलाई ठोसरूपमा देख्छन्, जुनबेला
सम्बन्धहरू सामान्य हुन्छन् त्यसबेला सीमानाको भेउ पाउन मुस्किल हुन्छ ।
बार्थका सीमानाहरू
पनि एन्डर्सनले भनेका कल्पना नै हुन् । पृथकताको कुरा गर्ने होभने हरेक मानिस
संसारका बाँकी सबै मानिसहरूभन्दा पृथक हुन्छ । समानताको कुरा गर्ने होभने पनि
संसारका सबै मानिसमा अनेकन समानताहरू हुन्छन् । समानता र पृथकता बुझाइमात्र हुन् ।
प्रमुख कुरा त यी बुझाइहरू समयसन्दर्भमा फरकफरक रूपमा कसरी सतहमा आउँछन् भन्ने नै
हो ।
आधुनिक सञ्चार र
त्यसैसँग जोडिएर आउने ज्ञान र चेतनासँगको सान्निध्यका कारण नेपालीहरू एउटा जटिल
प्रश्नको जवाफ खोज्दै भौंतारिरहेको जस्तो लाग्छ मलाई आजभोलि । त्यो प्रश्न हो –नेपाली
हुनुको अर्थ के हो ? देशभित्रको विविधताको उजागर; संसारका अन्य मुलुकसँगको बढ्दो
सामीप्यले सोचाइ, रहनसहन र व्यवहारमा पारिरहेको प्रभाव; र आफ्नै मुलुक आर्थिक र
राजनीतिकरूपमा अन्य मुलुकका तुलनामा क्रमश: पछि पर्दै गएको अवस्थाबाट उत्पन्न
हतोत्साहका कारण यो प्रश्नले झन् घोच्नथालेको देखिन्छ नेपालीलाई । फलस्वरूप,
राष्ट्रियता कहिले बुद्धको जन्मभूमी नेपाल भन्ने किचकिच बनेर रङ्गशालामा
झुल्किन्छ, कहिले 'प्रगतिशील राष्ट्रवाद'को नारा बनेर नेताका भाषण र दलको घोषणा-पत्रमा
।
भारतीय लेखिका
अरुन्धती रोयका कुरा सुन्ने हो भने राष्ट्रिय पहिचानप्रतिको गर्व गलत र हानिकारक छ
। उनी भन्छिन् राज्यसंयन्त्र र यसबाट प्रत्तयक्षरूपमा लाभान्वित कुलिन
राजनीतिकर्मी र कर्मचारीले आफ्नो फाइदाका लागि नागरिकहरूलाई मुर्ख बनाउन प्रयोग
गर्ने भावनात्मक अस्त्र हो राष्ट्रियता । नागरिकहरूलाई राष्ट्र र राष्ट्रियताप्रति
संवेदनशील बनाएर निश्चित वर्गले आफ्नो स्वार्थ सिद्ध गर्छ । हामी बेकारमा 'देशका
लागि' ज्यान दिन र लिन तयार हुन्छौँ । यो मुर्खता हो –रोयको विचारमा ।
मलाई रोयको यो तर्क
चित्त बुझ्छ । भारतजस्ता (वा नेपालजस्ता) मुलुक जहाँ नागरिक अधिकारलाई राज्यको 'निगाह'
ठानिन्छ र नागरिकहरू आफ्नै राज्यका प्रतिनिधिबाट शोषित हुन बाध्य छन् त्यहाँ
राज्यमाथिको स्वामित्वभाव कसरी आउँछ भन्ने मैले बुझ्न सकेको छैन । अझ भन्नुपर्दा
विदेशी बैंकमा अरबौँ रुपैयाँ थुपार्ने नेताका लागि पखालाको औषधी किन्न नसकेर मृत्युवरण
गर्नुपर्ने नागरिकले किन राष्ट्रवादी हुनुपर्ने हो ? मैले बुझ्न सकेको छैन ।
तर,
साहित्यकर्मी-कलाकारहरूसँग यसको पनि 'रेडिमेड' जवाफ नभएको हैन । बालकृष्ण समले भनेका छन् -देशभक्ति त मर्दैन चुत्थै देश भए पनि ।
भनिन्छ मानिससँग
मुर्खताका असीमित संभावना हुन्छन् । विकसित मगज (मानिसको मगजको Cranial Capacity हाल झन्डै ३३०० छ क्यारे) द्वारा सुसज्जित मान्छेसँग सोचविचार
गर्ने क्षमता जति प्रशस्त छ त्यति नै क्षमता गलत कुरालाई सही मानेर जीवन बिताउन सक्ने
पनि छ । तर, म जब कुनै राष्ट्रवादीलाई भेट्छु त्यसबेलामा एउटै प्रश्न
मनमा आउँछ : यो मानिस स्वार्थबाट
निर्देशित भइरहेको छ कि भावनाबाट ? आखिर राष्ट्रवाद 'मिराज'मात्र हो –एउटा रमाइलो भ्रम । यसको उपयोग बढीमा मनोरञ्जनका लागि हुनसक्छ । बाँकी त सबै बकबास ।
[नोट : यस लेखमा राष्ट्रवादका विषयमा गरिएको
टिप्पणीको अर्थ कुनै देशको सार्वभौमिकता वा राजनीतिक आर्थिक अस्तित्वसँग खेलबाड
गर्ने व्यक्ति र प्रवृत्तिलाई समर्थन गर्नु हैन । राज्यका सीमाना र
आर्थिक-राजनीतिक अस्तित्व नागरिकका दैनिक जीवनका ठोस आयामहरूसँग सम्बन्धित छन् जसको
उचित व्यवस्थापन र संरक्षण हुनुपर्छ । लेखको आसय राष्ट्रवादसँग जोडिएका सोचाइ र
भावनाका केही रोचक र पृथक पक्षहरूलाई केलाउने मात्र हो ।]
सर, तपाईंले सोच्ने बुझ्ने पनि भ्रम नै हो, तपाईंले जेलाई भ्रम ठान्नुहुन्छ, त्यो नि भ्रम नै हो । जस्ले तपाईंको बुझाईलाई भ्रम ठान्छन् त्यो पनि भ्रम नै हो । त्यही "भ्रम"लाई हामी कालान्तरमा सत्य ठान्छौं र अङ्गीकार गर्छौं जीवनको अभिन्न अङ्ग, नशा या बानीब्यहोराका रुपमा । पहिले यी कुराहरु सेलिब्रेटी, धर्मगुरु, राजनैतीक नेता, साँस्कृतिक उपनिवेशमार्फत थोपरिन्थे, अहिले सोसियल मेडिया थपिएको मात्रै हो ।
ReplyDeleteराष्ट्रियता पनि ती भ्रमहरुमध्यको एउटा भ्रम हो । म नित्से पढ्दैछु, मेरो दिमाग खराब छ । मेरा कुरालाई बाल दिनुहोला ! :)
संसारमा सबले सबलाई भुलाउने हो र त्यही क्रममा संसार चलेको छ र चलिरहने छ। शक्ती-सत्ता, यौन र अर्थका लागि सब कुरा हुने हुन, राष्ट्रियताको कुरो वा अरु कुनै भावनात्मक कुरो सब भुलाउने र भुल्ने क्रममा गरिन्छ। #मेरो बुझाई
ReplyDeleteसन्जिव जि, राष्ट्रियता हजुरले लेख्नु भएको भन्दा अनि अघै जतिल छ कि जस्तो लाग्छ! हजुर आफ्नो बेक्तिगत बिचार भन्दा पनि अरुको बिचार धेरै लेख्नु भयो कि जस्तो लाग्यो मलाई। एस्मा हजुर निस्कर्स भनेर आफ्नो बिचार लेख्नु भएको भये अघै सुन्दर अनि अनी भुग्न अलिक सरल हुन्थ्यो कि जस्तो लाग्यो मलाई! माफ गर्नु होला एदी मेरो बुझायि हजुर लाई चित्त भुजेन भने...
ReplyDelete