'लोकतन्त्रको संस्थागत
विकासका लागि नेपालमा आवश्यक वातावरण छैन' भनेर तर्क गर्नेहरूका लागि एउटा सशक्त
जवाफ हुनसक्छ जनप्रतिनिधिमूलक स्थानीय सरकार र स्थानीय स्वायत्त शासनका क्षेत्रमा
नेपालले विगतमा हासिल गरेको उपलब्धि ।
२०४६ सालमा बहुदलीय
व्यवस्थाको पुनर्स्थापना भएपछि स्थानीय निकायलाई सशक्त र अधिकारसम्पन्न बनाउने
दिशामा अत्यन्त प्रभावकारी काम भएका हुन् । नेपालको संविधान २०४७ ले स्थानीय
स्तरको विकास र नीतिनिर्माणका लागि गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास
समितिहरूलाई स्थानीय निकायका रूपमा परिभाषित गरेको थियो । यसै अवधारणाका आधारमा
२०४९ र २०५४ सालमा स्थानीय निकायमा लोकतान्त्रिक निर्वाचनका माध्यमले जननिर्वाचित
समितिहरू गठन भए । २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन जारी भएपछि स्थानीय
निकायहरू विधिवतरूपमा 'स्थानीय स्वायत्त सरकार'मा परिणत भए ।
स्थानीय तहमा भएका
विकासनिर्माणका गतिविधि र नीतिनिर्माणका प्रकृयामा आमनागरिकको सहभागितालाई हेर्ने
हो भने २०४९ देखि २०५८ सालसम्मको अवधिलाई एउटा सुवर्ण युग मान्न सकिन्छ । यस
अवधिमा आमनागरिकले राज्यका स्रोतसाधनलाई आफ्नो प्राथमिकताका आधारमा उपयोग गर्न
पाए, सरकारी सम्पत्तिको खर्चमा पारदर्शिता र जवाफदेहिता स्थापित हुनसक्यो, र
आमनागरिकले राज्यबाट प्रदान गरिएका सेवाहरू आफ्नै घरदैलामा सहजरूपमा प्राप्त गर्न
सके । यस अवधिमा पनि स्थानीय निकायको गठन र सञ्चालनमा प्रशस्त चुनौतिहरू नभएका
हैनन् । तर पनि स्थानीय सरकारको सशक्त भूमिकाका कारण नेपालीहरूले स्थानीय तहमा
प्रशस्त सकारात्मक परिवर्तन अनुभव गर्न पाए । सशक्त र अधिकारसम्पन्न स्थानीय
सरकारमा नेपालको विगतको अभ्यासलाई विश्वका विभिन्न मुलुकहरूले सफल उदाहरणका रूपमा
लिने गरेका छन् ।
छोटो अवधिमा निकै नै
लोकप्रिय र प्रभावकारी बनेका स्थानीय सरकारहरूले दुर्भाग्यवस निरन्तरता पाउन भने सकेनन्
। सरकार-माओवादी द्वन्द्वका क्रममा स्थानीय सरकारहरू निरन्तर माओवादी विद्रोहीका
तारो बने । स्थानीय सरकारका झण्डै दुईतिहाइ भौतिक संरचना माओवादीले बम पड्काएर
ध्वस्त बनाए । स्थानीय सरकारका प्रतिनिधिहरू माओवादीहरूको हत्या र आक्रमणको निशाना
बने । यही परिस्थितिमा म्याद सकिन लागेको स्थानीय सरकारको अर्को निर्वाचन गर्न
संभव नभएको निश्कर्षसहित शेरबहादुर देउबाको सरकारले २०५८ सालमा स्थानीय सरकारका
निर्वाचित समितिहरू भङ्ग गर्यो ।
परिणाम आज हाम्रो आँखा
अगाडि छ । स्थानीय निकायको निर्वाचन हुननसकेर विगत १३ वर्षदेखि रिक्त रहेका र
स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयले खटाएका कर्मचारीबाट सञ्चालित स्थानिय
निकायहरू आज कुशासन र बेथितिका केन्द्र बनेका छन् । विकासनिर्माणको त कुरै छोडौँ
सार्वजनिक सेवा प्रवाहको स्थिति पनि तहसनहस भएको छ । स्थानीय निकायहरू राजनीतिक
दलका स्थानीय प्रभावशाली नेता, ठेकेदार र कर्मचारीहरूका लागि 'कमाउने भाँडो' भएका
छन् । राज्यबाट पाउने सेवा र सुविधाको पहुँच साँघुरिँदा आमनागरिकहरू साँच्चिकै
रैति भएका छन् । यतिमात्र हैन, निर्वाचित प्रतिनिधिको अभावमा स्थानीय निकायहरूले
विकासनिर्माण र सेवाप्रवाहमा प्रभावकारी भूमिका खेल्न नसक्दा नेपालको राजनीति
संङ्क्रमण गरिब र सर्वसाधारण नेपालीहरूका लागि झनै कष्टकर बनेको छ ।
स्थानीय तहमा आमनागरिकको
दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारहरू आज यतिबिघ्न निकम्मा
बन्नुमा को कति दोषी छन् भन्ने इतिहासले बताउला । तर, स्थानीय निकायले भोगीरहेको
चुनौतिको अध्ययनले मुलुकको समग्र राजनीतिक अन्यौल र दुरावस्थालाई भने राम्रैसँग
चित्रण गर्नसक्छ ।
विगत १२ वर्षदेखि रिक्त
स्थानीय निकायहरूको निर्वाचन हुननसक्नुमा ठूला भनिएका सबै राजनीतिक दलहरू कुनै न
कुनैरूपमा अपजसका भागी छन् । तर, यसको प्रमुख अपजस माओवादी र मधेशवादी दलहरूले
लिनुपर्ने हुन्छ । संघीय प्रणालीलाई प्रमुख एजेण्डा बनाएका माओवादी र मधेशवादी
दलहरू स्थानीय सरकारहरूलाई अधिकारसम्पन्न बनाउने कुरामा अनिच्छुक छन् । स्थानीय
सरकारहरू अधिकारसम्पन्न भए प्रदेशका अधिकारहरू कुण्ठित हुने भयले माओवादी र
मधेशवादी दलका नेताहरू सार्वजनिकरूपमै स्थानीय निकायको निर्वाचन गर्नै नहुने र
गर्नै परे पनि नयाँ संविधान बनेपछि मात्र गर्न सकिने तर्क गरिरहेका छन् ।
विघटित संविधानसभामा
राज्यको पुनर्संरचना र शक्ति बाँडफाँटको विषयगत समितिमा रहेका माओवादी र मधेशवादी
दलका प्रतिनिधिहरूले स्थानीय सरकारको स्वरूप र क्षेत्राधिकार प्रदेशको जिम्मामा
रहनुपर्ने प्रस्ताव पेश गरेका थिए र उक्त समितिको प्रतिवेदन यही प्रावधानसहित
संवैधानिक समितिलाई बुझाइएको पनि थियो । यसले माओवादी र मधेशवादी दलहरू स्थानीय
सरकारलाई अधिकार प्रदान गर्ने कुरामा अनिच्छुक रहेको प्रस्ट बुझ्न सकिन्छ ।
संसारका अधिकांश सफल र
लोकतान्त्रिक संघीय मुलुकहरूमा स्थानीय सरकारहरूले संविधानप्रदत्त अधिकारको उपयोग
गर्न पाउँछन् । अझ कतिपय मुलुकमा त स्थानीय सरकारहरूको क्षमता र क्षेत्रभित्र
नपर्ने अधिकारहरूमात्र प्रदेश वा केन्द्र सरकारमा जाने प्रबन्ध छ । संसारको नयाँ
संघीय मुलुकहरूमध्येको एक दक्षिण अफ्रिकामा स्थानीय सरकारहरू आफ्नो तहमा स्वायत्त
र अधिकारसम्पन्नमात्र छैनन् केन्द्रको राष्ट्रिय सभामासमेत उनीहरूको प्रतिनिधित्व
छ ।
तर दुर्भाग्य नै भन्नुपर्छ,
विकेन्द्रीकरण र समावेशीकरणका कुरा गरेर कहिलै नथाक्ने हाम्रा राजनीतिक दलहरू
स्थानीय तहमा आमनागरिकलाई अधिकारसम्पन्न बनाउने कुरामा आनाकानी गरिरहेका छन् ।
यतिमात्र हैन, अधिकारसम्पन्न स्थानीय सरकारको मुद्दा उठाउनेहरू प्रतिगामी र
संघीयता विरोधी कहलिएका छन् । यसबाट राजनीतिक दलहरूको भनाइ र गराइका बीचमा रहेको
भिन्नता सहजै बुझ्न सकिन्छ ।
सशस्त्र द्वन्द्वको अन्त्य
र शान्ति प्रकृयाको विधिवत समाप्ति भएको यति लामो समय बितिसक्दा पनि स्थानीय निकायको
निर्वाचन हुननसक्नुको अर्को कारण राजनीतिक दल र यसका स्थानीय तहका प्रभावशाली
नेताहरूको साँघुरो स्वार्थ हो । स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि भएको अवस्थामा
राज्यकोष र विदेशी दाताबाट स्थानीय तहमा प्रवाह हुने स्रोतसाधनमा आफ्नो पहुँच
गुम्ने हुँदा राजनीतिक दलका स्थानीय कार्यकर्ता निर्वाचनका पक्षमा आवश्यक दबाब
सृजना गर्ने मनस्थितिमा छैनन् । आफ्नो स्वार्थ अनुकुल विकासनिर्माणका योजना
सञ्चालन गर्नपाइने र ठेकेदारसँगको मिलेमतोमा आर्थिकरूपमा पनि लाभान्वित हुनसकिने
वर्तमानको अवस्थाको अन्त उनीहरू चाहाँदैनन् । स्थानीय तहका कार्यकर्ताबाट
निर्वाचनको विरुद्धमा आएको सुझाव वा दबाबलाई झेल्न पनि राजनीतिक दलहरूलाई अप्ठेरो
परिरहेको हुनसक्छ ।
स्थानीय निकायमा हाल
भइरहेका अनियमितताको अर्को कारण सुशासन कायम गर्ने उद्देश्यमा सरकारको असक्षमता
पनि हो । स्थानीय निकाय सञ्चालनको गहन जिम्मेवारी बोक्ने सरकारी कर्मचारीहरूलाई
आवश्यक सीप र दक्षता प्रदान गर्ने र उनीहरूको जिम्मेवारी तोक्ने कार्यमा नेपाल
सरकारले आवश्यक नीतिनियम बनाउनसकेको छैन । गाविसका सचिव, नगरपालिकाका कार्यकारी
अधिकृत र जिविसका स्थानीय विकास अधिकारी विषयगत दक्षता वा सम्बन्धित क्षेत्रको
विशेष ज्ञानबीना नै मन्त्रालयले खटाएका 'कार्यालय'मा जान्छन् र काम गरेर फर्कन्छन्
। यस्तो परिस्थितिमा सम्बन्धित क्षेत्रका जनताको आवश्यकता र प्राथमिकतामा उनिहरूको
संवेदनशीलता र लगावको अपेक्षा गर्न सकिँदैन ।
प्रकृति संरक्षण, जनसंख्या
नियन्त्रण र प्राथमिक तथा माध्यमिक शिक्षामा आमनागरिकको पहुँचका लागि २० वर्षअघि
बनाइएका नितिको सकारात्मक परिणाम आज हामीले देखिरहेका छौँ । यी प्रयासहरूमा
स्थानीय समुदायको सहभागिताका कारण आज वन विनास रोकिएको छ, जनसंख्या वृद्धि दर २.६
प्रतिशतबाट घटेर १.४ प्रतिशतमा झरेको छ र प्राथमिक तहमा विद्यालय भर्ना ९२ प्रतिशत
पुगेको छ । तर, स्थानीय निकायको बेथितिका कारण आमनागरिकको आयआर्जन र विकासका
पूर्वाधार निर्माणका क्षेत्रमा काम हुन नसक्दा मुलुकको समग्र अर्थतन्त्र
रेमिट्यान्समा निर्भर हुनपुगेको छ ।
जनप्रतिनिधिमूलक स्थानीय
सरकारहरू गरिब तथा सर्वसाधारण नागरिकका भरोसाका केन्द्र हुन् । तर, स्थानीय
निकायको निर्वाचन तत्काल सम्पन्न गर्न राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन र
निकट भविष्यमा जुटिहाल्ने संभावना पनि देखिँदैन । संविधानसभाको दोश्रो निर्वाचनका
लागि विभिन्न राजनीतिक दहलरूबीच भएको सहमतिको ११ औँ बुँदामा २०७१ सालको
वैशाखसम्ममा स्थानीय निर्वाचन गर्ने सहमति उल्लेख त छ । तर, नेपालका कतिपय
राजनीतिक दलहरू स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउने कुरामा अनिच्छुक रहेकाले
यसको कार्यान्वयनमा प्रशस्त शंका गर्ने ठाउँ छ ।
आमनेपालीका लागि त आज संविधानसभाको निर्वाचनभन्दा पनि
स्थानीय निर्वाचनको खाँचो छ । तर, यो कुरा काठमाडौँले कहिले सुन्ने ?
No comments:
Post a Comment