Bluesky

@sanpokh.bsky.social

Monday, November 5, 2012

बसिबियाँलो - २

अघिल्लो बसिबियाँलो हतारमा लेखियो । कति कुरा अधूरा बसेछन् । कति ठाउँमा बान्की पनि मिलेनछ । पछि संपादन गर्न मन लागेन । म जे हुँ त्यहाँ त्यहि रूपमा छु जस्तो लाग्यो ।

कति मित्रहरूले मेरो गन्थनमा सुन्दरता देख्नुभो । मान्छेको मन मेरो पनि । खुशी लाग्ने नै भयो । अनि सोचें मेरो मनमा उत्ताल बगेर आउने त्यस्तै उट्पट्याङ् सोच अरू पनि छन् । किन नलेखौं ? आखिर बिग्रने केही हैन । प्रचार नगरौंला । मनको कुरा बाँधेर राखे गाँठो पर्छ भन्ने भावको पुरानो गीत सम्झें । फुकाइदिन मन लाग्यो ।

सपनाको कुरा गर्दैथें म ।

सपना र मबीच गहिरो नाता छ । किनकी सपनाले हिँडाएको छ मलाई अहिलेसम्म । मेरो जीवन यात्रालाई 'स्लिप वाकिङ्' भन्दा पनि हुन्छ । बेहोशीको यात्रा । अँध्यारोमा छामछामछुमछुम गर्दै हिंडेको । अगाडि के छ  थाहा नपाएको । सोध्ने कोही नभएको । सोच्ने समय नभएको । हिंड्दाहिंड्दै यहाँ आइपुगियो । कति ठाउँमा ठेस लाग्यो : कति गन्तव्यहीन बाटाहरू हिंडियो । अहिले विगतलाई सम्झिंदा पनि लाज लागेर आउँछ ।

मेरो मात्र हैन शायद । धेरैको जीवन यस्तै हुँदो हो । साम्युअल बेकेटको मर्फी भन्ने उपन्यासको मूल पात्रको झैं । हाँस उठ्दो ।

बेकेट भन्छन् जीवन 'अ्याब्सर्ड' छ । हामी दैनिक जीवनको भागदौडमा यो महसुस गर्दैनौं । तर, एकछिन घोरिएर हेर्ने हो भने जीवनको हाँसउठ्दो अ्याब्सर्डिटी सहजै अनुभव गर्न सकिन्छ । त्यसैले, बेकेटको तर्क छ, जीवनलाई वर्णन गर्ने कला र साहित्यले यसको अ्याब्सर्डिटी देखाउन सक्नुपर्छ ।

मर्फी भन्ने उपन्यासमा जीवनको अ्याब्सर्डिटी छताछुल्ल पारेर देखाएका छन् बेकेटले । एउटा बेरोजगार युवक छ । गरीबी र अभावबाट छुटकारा पाउन हरसंभव प्रयास गरिरहेको । जताततै असफलतामात्र पाउँछ । आफ्नै प्रेमिकाले बेश्यावृत्ति गरेर कमाएको पैसामा जीवन गुजारा गर्न बाध्य छ । बल्लतल्ल जागिर भेट्टाउँछ तर पागलखानाको कुरुवाको । एकदिन समय बिताउन एउटा पागललाई बोलाएर बुद्दिचाल खेल्छ, पागलले हराइदिन्छ । त्यसपछि पागलपन र सद्देपनसंबन्धी स्थापित मान्यताप्रति सशंकित हुन्छ ऊ । अन्त्यमा, खाना पकाउँदै गर्दा स्टोभ पड्केर मर्छ । कथा नरमाइलो लाग्न सक्छ तर उपन्यासमा मर्फीको जीवनका आरोहअवरोहमा भएका अ्याब्सर्डिटीलाई अत्यन्तै रमाइलो ढङ्गले प्रस्तुत गरेका छन् लेखले ।

मलाई जीवनप्रतिको बेकेटको 'अप्रोच' मन पर्छ । गम्भीर जीवन बाँचिरहेका हुन्छौं हामी सबै । तर कसैको दैनिक जीवनका घटना जोडेर एउटा उपन्यास बनाउने हो भने यसले अरू मानिसहरूलाई हँसाउन सक्छ । घरबाट अफिस आउँदा-जाँदा कहिलेकहीँ बाटोमा देखिने मानिसहरूमा अ्याब्सर्डिटी पढ्ने प्रयास गर्छु । बाटामा देखिने सबै मानिसलाई एकैछिनका लागि पागल भन्ठान्छु अनि हेर्छु उनीहरूको भागदौड । गजबको चित्र आँखा अगाडि आउँछ । पागलहरूको समुन्द्र देख्छु । सबै भागदौड हाँसउठ्दा लाग्छन् । मलाई यसरि हेर्दा अरूले पनि त्यस्तै मनोरञ्जन पाउँछन् होला ।

जीवनलाई हेर्ने यसप्रकारको दृष्टिकोण अङ्ग्रेजी साहित्यमा मात्र लोकप्रिय भएको हैन । नेपाली साहित्यमै पनि पारिजात र शंकर लामिछानेले जीवनको निस्सारताको चर्चा गरे -'शून्यवाद' भन्ने नाम दिएर । मानिस शून्यबाट आउँछ र शून्यमा बिलाएर जान्छ भने उनिहरूले । बाँकि सबै तपसिलका कुरा हुन् । हो पनि । तर, तपसिल नै प्रधान भएपछि के गर्नु ? जन्म र मृत्युका बारेमा सोच्ने फुर्सत त दार्शनिक र साहित्यकारलाई मात्र हुने हो । सामान्य मानिस त दौडँदादौडँदै मर्छन् ।

१५ वर्षजति अघिको कुरा । म कुलेश्वर डेरा गरि बस्थें । धनकुटाबाट राय थरका एकजना मित्र पाहुना आउनुभयो । पाहुनालाई सत्कार गर्न मासु खुवाउने विचार गरें र सँगै कुखुराको मासु किन्न अलि तल चोकमा झरियो । मूल बाटामा पुगेपछि एउटा ठेलामा १८-२० वर्षको एउटा केटो मासु बेचिरहेको भेट्यौं र किन्न थाल्यौं । कुखुरा भुत्ल्याउँदै गर्दा त्यो मासु बेच्ने ठिटो बङ्गाली भाषामा गीत गुनगुनाउन थाल्यो । उसले कसरि बङ्गाली भाषा सिकेछ ? भन्ने कौतुहलता भयो मलाई । सोधीखोजी गरें । उसले बतायो ऊ १० वर्षदेखि कलकत्तामा एउटा होटलमा काम गरिरहेको छ रे । बिदामा बावुआमालाई भेट्न घर आउँदा ल्याएको पैसा सकियो । काम गर्ने ठाउँमा फर्कन २५०० रुपैंया लाग्छ । त्यही पैसा कमाउन एक महिनादेखि ठेला भाडामा लिएर मासु बेचिरहेको ।

मासु किन्न मसंगै आउनुभएका पाहुना मित्र परिवारसहित बेलायत बसाइ सर्न भिजाको प्रक्रियाका लागि काठमाडौं आउनुभएको थियो । त्यसबेला लगभग ९-१० लाख रुपैंयाको खाँचो भएको कुरा गर्दै हुनुहुन्थ्यो । फर्किंदा हामी दुबै हाँस्यौं ।

बेलायत जान ९-१० लाखको खोजीमा रहेका मेरा पाहुना र कलकत्ता जान २५०० कमाउने धुनमा रहेको मासु व्यापारीका बीच के समानता थियो ? सोच्छु तर केहि नतिजा निकाल्न सक्दिन । उनीहरू बिल्कुल भिन्न थिए । उनीहरूका इतिहास र वर्तमान भिन्न थिए । प्राथमिकता र सपनाहरू भिन्न थिए । चेतना र बुझाइहरू भिन्न थिए । जीवनको अ्याब्सर्डिटीबाहेक अन्य कुनै समानता थिएन उनीहरूबीच ।

त्यसैले मलाई 'थ्यौरी' मन पर्दैनन् । हरेक मानिससंग आफ्नो अलग्गै इतिहास, चेतना र सपना हुन्छ । त्यसमाथि, चेतना र सपनाहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन् । त्यसैले, एउटा थ्यौरीले समाजलाई त के २ जना मानिसलाई पनि समग्रतामा व्याख्या गर्न सक्दैन भन्छु म । थ्यौरी बुद्दिविलास मात्र हो र यसलाई त्यहि रूपमा हेरिनु पर्छ । तर, दुर्भाग्य मानिसहरू थ्यौरीले सबैकुरा व्याख्या गरिदिन्छ भन्ठान्छन् । यसको सीमितता बुझ्दैनन् । कोही मार्क्सवाद भनेर कुद्छन् कोही विकासवादको भजन गाउँछन् ।

तर, आखिर बेकेटले भनेझैं संसार 'मुर्खता'हरूको योग न हो । सबैका मुर्खता एकआपसमा मिसिंदा जीवनले रङ्ग पाउँछ शायद । नत्र कति पट्ट्यारलाग्दो हुँदो हो जीवन ! मेरो एउटा छिमेकी हातमा लौरो बोकेर एकाबिहानै उसको अजङ्गको र घीनलाग्दो कुकुर डुलाउन मरो घर अगाडिको बाटोमा आउँछ । हरेक दिन लगभग आधा घण्टा कुकुरसंग बर्बराउँछ, २-४ ओटा चुरोट उडाउँछ र कुकुरलाई हगाएर बाटो लाग्छ । म केहि भन्न सक्दिन । मुखमुखै लाग्यो भने आफ्नै मन उदास हुन्छ । उसंग आफ्नो कुकुरलाई अरूका दैलामा हगाउने हिम्मत छ मसंग यसको प्रतिवाद गर्ने हुती छैन । विविधता भनेकै यहि हो । यसैले रमाइलो छ संसार । :-)

1 comment:

  1. गज्जबको छ हजुरको लेख । हजुरको लेख्ने शैली सार्है टेसिलो छ । हजुरको बसिबियाँलो मलाई साह्रै टेंस पर्यो

    ReplyDelete