Bluesky

@sanpokh.bsky.social

Thursday, November 1, 2012

बसिबियाँलो - १

मेरो ब्लग धमिराले खान लागिसकेछ । माया लाग्यो आज यसको । 'अकेजनल ब्लगर' भन्न पनि लाज लाग्ने भैसकेछ । मलाई कुनैपनि कोटीको ब्लगर भन्नु र कुनै सरकारी क्याम्पसमा भर्ना भएर राजनीति गर्ने 'विध्यार्थी' नेतालाई विध्यार्थी भन्नु उस्तै हो । ममा ब्लगर हुनका लागि चाहिने कमिटमेन्ट छैन । मलाई थाहा छ । तर, मैले जीवनमा धेरै त्यस्ता काम गरेको छु जसमा मेरो कमिटमेन्ट छैन ।

मानिस जीवनका खासखास चरणमा विचारशून्य हुन्छ कि !? मेरो प्रश्न । किनकि मलाई आजभोली यस्तै लाग्न थालेको छ । सबै कुरा पुराना लाग्छन् । कुनै विषयमा नौलो 'चार्म' पाउँदिन । सबै विषय घुमेर फेरि शून्यमा आएजस्तो । सबै तर्क एक्झस्टेड । आलु व्यापारी आलुदेखि वाक्क भएजस्तो भएको छ मलाई ।

कहिलेकाहिं कस्तो झोंक चल्छ भने यो पढ्ने, 'भलाद्मी' जागीर खाने र टुक्रे कुरामा बहस गर्ने पट्यारलाग्दो रुटिन चटक्क छोडेर काठमाडौं-कटारी चल्ने रात्रीबस चलाउँ । कति रमाइलो हुँदो हो ! म एकपटक रात्रीबसमा घर जाँदा हेटौंडा पुगेपछि डिकीमा सामान मिलाएर राख्न नजानेको निहुँमा डाइभरले खलासीलाई एक लात हानेको थियो । खलासी गुल्टेर ५ मिटर पर पुग्यो, तर जाइ लागेन । गर्मी महिनामा गन्जी र हाफ प्यान्टमात्र लाएर गाडी हाँक्ने त्यो डाइभरलाई सम्झँदा अहिले पनि मेरो छाती आनन्दले ढक्क फूल्छ ।

मैले जिन्दगीमा कसैलाई त्यसरी लात्ताले हान्न पाएको छैन । मजै हुँदो हो लात्ती हान्न । तर, बस किनिदिने कसले ? मलाई डाइभर राख्ने कसले ? बस चलाउने अभ्यास पनि छैन ।

रुटिन भागदौड र रुटिन विचारले जीवनलाई पट्यारलाग्दो बनाउँने रैछन् ।  निच (Nietzsche) ले भनेजस्तै 'डेन्जरसली' बाँच्न  पाए हुने । तर, सजिलो छैन । गुडमर्निङ्, काइन्ड रिगार्डस्, अल द बेस्ट, जय होस्, शुभकामना आदिले पछ्याउन छोड्दैनन् जहाँ गए पनि । झर्कालाग्दा इमेलको जवाफ पठाउनुपर्दा कहिलेकाहिं अन्तिममा 'काइन्ड रिगार्ड्स' को सट्टा 'यु आर अ्यान इम्पसिबल आसहोल' लेख्न मन लाग्छ, तर सकिंन्न । संसारमा बाँच्न कै लागि अधिकांश मानिस मन नपरेको बोल्न र मन नपरेको काम गर्न बाध्य छन् । कति त स्वस्थ रहन मन नपरेको खान पनि बाध्य छन् । म कसरि अपवाद हुनसक्छु ।

फ्रान्ज काफ्काको उपन्यास छ एउटा The Metamorphosis भन्ने । त्यसमा एउटा सामान्य जागिरे एक रात सुतेकै ठाउँमा अचानक किरामा रूपान्तरित हुन्छ । उपन्यासमा लेखकले अघिल्लो साँझसम्म सामान्य रहेको मानिस अचानक किरामा परिणत भएपछि अरूले उसलाई हेर्ने दृष्टिकोण र ऊ स्वयंको अरूलाई हेर्ने दृष्टिकोण कसरि फरक हुन्छ भन्ने कुरा रमाइलो ढङ्गले वर्णन गरेका छन् । दैनिक जीवनको मोनोटोनी हेर्दा त कहिलेकाहिं 'किरा भएर जीवन हेर्न पाएपनि हुने' भनेजस्तो लाग्ने । तर, उपन्यास उपन्यासै हो ।

ट्विटरमा पाखुरा सुर्केर समाज र राजनीतिका विषयमा चर्काचर्की गरिन्छ । यसमा भने आन्नद छ । तर, यसको पनि अर्थ छैन । म केमा विश्वस्त छु भने हाम्रो मुलुकको परिवर्तनको शैली र स्वरूप आजका विकसित युरोपेली र अमेरिकी मुलुकको भन्दा फरक हो । त्यसैले, धेरैले अपेक्षा गरेजस्तो हामी भविष्यमा उनिहरूजस्तो हुन संभव छैन । केहि समय पहिले फ्रेन्च इतिहासकार डोमिनिक लापोरको History of Shit भन्ने पुस्तक पढेको थिएँ । यसमा उनले युरोप (विशेषगरि फ्रान्स)मा कसरि १३ औं शताब्दिदेखि फोहरप्रतिको मानिसको धारणा परिवर्तन हुँदै गयो, र कसरि युरोपियनहरूले घर र सहर सफा राख्न सिक्दै गए भन्ने कुराको मसिनो विश्लेषण गरेका छन् । हाम्रा लागि यि कुरा झिनामसिना हुन् । हामी मार्क्सवाद, माओवाद, उदारवाद, उपभोक्तावाद आदि आदि ठूलाठूला कुरामा रम्ने मानिस जो पर्यौं । विदेशी दाताका पैसामा "खूला दिसामुक्त अभियान" चलाउन पाइन्छ भने बाँकी समय मार्क्सवाद वा उदारवादका मोटामोटा पुस्तक पढेर बसे भैगो । अनि अलिकति समय बाँकी रह्यो भने 'हाम्रो महान पूर्वीय सभ्यता पश्चिमी सभ्यताभन्दा बढी वैज्ञानिक र उन्नत छ' भनेर बोक्रे ध्वाँस लगाए पनि भयो ।

कहिलेकाहिं केहि मानिस "लेखेर राख अब यस्तो हुन्छ" भनेर गफ लाउँछन् । तिनले भनेको कुरा लेखेर राखेर पनि भनेको जस्तो भएन भने हुने केहि हैन । त्यसैले 'लेखेर राख्नु'को औचित्य छैन । तर, मलाई पनि भन्न मन लाग्छ कहिलेकाहिं "लेखेर राख, यो नेपाल सुध्रेर कहिलै रहरलाग्दो देश हुँदैन" । मसंग हजारौं उदाहरण छन् । मात्र एउटा : मैले काठमाडौँका सडकमा बत्ती नभएका ठाउँका जेब्रा क्रसिङ्गमा मलिन अनुहार लगाएर उभिंदा कुनै मोटर वा 'युवापुस्ता'का मोटरसाइकल चलाउनेले आफ्नो सवारीसाधन रोकेर 'बाटो काट' भनेको भेटेको छैन, अहिलेसम्म । यसो गरेको नजानेर हैन, गर्न मन नलागेर ।

सोमत सोमालियाको जस्तो भएपछि देश चाहिं स्विट्जर्ल्याण्डजस्तो हुने कुरा पनि भएन ।

मेरो पनि एउटा रहर छ । कुनै दिन एउटा गतिलो किताप लेख्ने । अलबेर कामुको दि आउटसाइडरजस्तै घच्चीको किताप लेख्ने । थाहा छ यसका लागि समय लाग्छ । कुनैदिन जागिर छोड्छु । अनि लेख्न थाल्छु । :-))

10 comments:

  1. best of luck for ur dream ...hope its come soon

    ReplyDelete
  2. यस्तै स्याम् स्याम् कुरो मेरो मना नि आम्च, तर क्यार्नु मनका कुरा सप्पै लेखिन्नन, किनकी पढ्न पाम्दा अरुका मना नि आफ्नै जस्तै कुरा खेल्दा रैचन् भन्नि लाग्दा अझ धेरै आनन्द आम्च। बढो गज्जप कुरो लेख्नु भयो सन्जिब सर ~~~~ फिमेल भएको भए यु आर रक्सी !! भन्न हुन्थ्यो, मेल पर्नु भयो त्यसैले "यु आर रक्स"!!!

    ReplyDelete
  3. साह्रै राम्रो लाग्यो, घत लाग्ने शब्द चयन गर्नु भएको छ । अब अकेज्नल मात्र भएर सु:ख पाउनु हुँदैन । नियमित लेख लेख्नु पर्यो भन्ने हाम्रो जोडदार माग रहेको जानकारी गराउदै राम्रो लेख्नु भएर हामीलाई पढ्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवादका आगामी दिनमा अझ राम्रा लेख नियमित पढ्न पाइने आशा राखेका छौ ।

    ReplyDelete
  4. "कुनैदिन जागिर छोड्छु । अनि लेख्न थाल्छु । :-))" यो वाक्य मथिंगलमा गज्जबले घुमिरको छ। मनपरो।

    ReplyDelete
  5. के भनौ? राम्रो लाग्यो, नियमित ईमेल लेखिरहनु पर्नेमा म पनि पर्छु, कहिलेकाही त दिनको २० वटा सम्म ठ्याक्कै शब्द आएको थिएन बट इभन आई सम्टाइम्स फिल लाइक राइटिंग 'यु आर अ्यान इम्पसिबल आसहोल'इन्स्टेड अफ काइन्ड रिगार्ड्स

    ReplyDelete
  6. The best captured Nihilism in a piece I have gone through by a Nepali author. What came in my mind while going through this small peace is the protagonist of The Outsider. If you start as a full time author, you could be the Nepali Camus, indeed!

    ReplyDelete
  7. सबैमा धन्यवाद । म लाजले रातोपिरो भैसकें यता । ;-))

    ReplyDelete
  8. hats off yestai cha yaha life ma ma pane sochchu desko lagi yesto garchu testo garchu tara afnai problem bhitra romalidai chu

    ReplyDelete