नेपालको समग्र अवस्था र आम निराशाका बारेमा अमीत ढकालको विस्तृत अनि रोचक लेख सेतोपाटीमा प्रकाशित भएको छ । अमीत ढकाल एक उम्दा अर्थशास्त्री र विश्लेषक भएको यो लेखले पनि पुष्टि गर्छ जस्तो मलाई लाग्छ । लेखमा उहाँले प्रस्तुत गर्नुभएका दृष्टिकोणमा मेरो पनि मत मिल्छ ।
‘गणतन्त्र आएपछि सबै कुरा खराब भइरहेको छ, नारायणहिटीमा राजा हुँदा सब ठिकठाक थियो’ भन्ने राजावादीहरूको dumb र boring तर्कलाई लेखले राम्रोसँग चिरफार गरेको छ ।
यो टपिकमा मैले पनि धेरथोर लेखिरहेको हुनाले अमीत ढकालको लेख पढेपछि मनमा आएका केही टिप्पणी यहाँ राख्दैछु । यसमा उहाँको लेखमा उठाइएका ती पक्षहरूको कुरा गर्नेछु जसमा मेरो केही फरक दृष्टिकोण छन् ।
अमीत ढलालको मूल तर्क छ -नेपालको अवस्था मानिसहरूले सोचेजस्तो खराब छैन । आशावादी हुने ठाउँ छ । यसका लागि सुधार आवश्यक छ । म यिनै माथिका उहाँका भनाइमाथि आफ्ना टिप्पणी राख्नेछु ।
के अहिले नेपालमा देखिएको आम निराशा केवल मानिसहरूको पर्सेप्शन मात्र हो त ?
मलाई लाग्छ -होइन । विप्रेषणबाट नेपालमा आइरहेको आम्दानीले अर्थतन्त्र चलायमान देखिएको त छ -तर, समग्र अर्थ प्रणाली आन्तरिक रूपमा कमजोर र जोखिमपूर्ण अवस्थामा छ । वित्तीय र मौद्रीक सुचकांकहरूले नेपालमा उत्पादनशील क्षेत्र धराशायी भएको देखाएका छन् । निजी क्षेत्रको भूमिका साँघुरो भएको छ । ठूला वाणिज्य बैंक मात्र नभएर साना तथा मझौला वित्तीय संस्थान (जस्तै, सहकारी, लघुवित्त, आदि) अभूतपूर्व संकटमा छन् । अर्थतन्त्र खराब अवस्थामा भएका कारण रोजगारी वा आयआर्जनका अवसरमा कुनै सुधार हुन सकेको छैन । दयनीय सार्वजनिक सेवा र सामाजिक सुरक्षाको अवस्थाका बिच अत्यन्त महँगो करले आम मानिसलाई थिचेको छ । मानिसहरूको निराशाको स्रोत यही हो जस्तो लाग्छ मलाई ।
विप्रेषणले अहिलेको आर्थिक संकटलाई धान्न मद्दत त गरेको छ तर अर्थतन्त्रको असफलताको समग्र बोझ विप्रेषणले धान्नु भनेको जोखिमको तीब्रता बढ्नु हो । विप्रेषणले अल्पकालमा देशको अस्तित्व बचाउन सघाए पनि यसले संरचनागत सुधारको सम्भावनालाई पर धकेलीरहेको हुन्छ ।
अर्को प्रश्न उत्तिकै पेचिलो छ -आशावादी हुने कि नहुने ?
साँच्चै भन्नुपर्दा -आशावादी हुँदा के फाइदा हुन्छ र नहुँदा के नोक्सान हुन्छ भन्ने बारेमा म बौद्धिक रूपमा प्रस्ट छैन । तर, मलाई लाग्छ नेपालमा संरचनागत सुधारको सम्भावना बलियो भएको छैन -झन् कमजोर भएर गएको छ । त्यसैले, म अहिलेको अवस्थामा निराश छु ।
एउटा सामान्य फ्लाइओभर तीन वर्षसम्म बनाउन नसकेर अन्तमा ठेकेदार नै भाग्नु; सार्वजनिक खरिद प्रक्रियामा दशकौँदेखि कुनै सुधार गर्ने तदारुकता नदेखिनु; सार्वजनिक सेवाका मूल क्षेत्र (शिक्षा, स्वास्थ्य, आदि)को अवस्था झन् खराब हुनु आदि नेपालको अवस्था झन् खराब हुँदै गएको संकेत मात्र होइनन् -सुधारको सम्भावना झन् जटिल हुँदै गएको संकेत पनि हुन् ।
खराब अवस्थालाई त्यही रूपमा बुझ्नुपर्छ । यसो गर्न सकिएन र खराबलाई सकारात्मकताको लेप लगाएर रम्न खोजियो भने समस्या समाधानका लागि आवश्यक ऊर्जा सङ्कलन गर्न सकिन्न -हुन त अमीत ढकालको आशय पक्कै त्यो होइन, उहाँले लेखमा खराब कुराहरूको पनि चर्चा गर्नुभएको छ । मलाई के लाग्छ भने केही आर्थिक सूचकांकबाहेक नेपालको समग्र अवस्था क्रमिक रूपमा खस्कँदै गएको छ । यो अवस्थाबारे थप नेपाली चिन्तित र निराश बन्नुपर्छ ता कि सुधारका लागि आवश्यक मानिसक ऊर्जा वा दबाब निर्माण हुन सकोस् ।
अब प्रश्न उठ्छ -सुधारको सम्भावना के छ र यो कसरी सम्भव छ ?
सर्वप्रथम हामी नेपालीले विश्व परिवेषमा नेपालको हैसियत र सिमितता बुझ्नुपर्यो । यसो गर्नसके अपेक्षाहरूलाई व्यवस्थित गर्न र समृद्धिको खाकालाई ग्राउन्डेड बनाउन सजिलो हुन्छ ।
उडुवा नेताका हावा गफबाट माथि उठेर हेर्ने हो भने नेपालमा देशको समृद्धिसँग जोडिएका जेजस्ता अपेक्षा छन् ती मध्ये धेरैजसो यथार्थपरक छैनन् । विश्वबजारको नियम सामान्य ढङ्गले पनि बुझ्न सकिन्छ -नेपालले अन्य देशलाई के बेच्न सक्छ ? र, नेपालका लागि बाहिरबाट के चाहिन्छ ? यी प्रश्नको उत्तर खोज्ने हो भने नेपाल यही ‘धिकिरधिकिर’ र खराब अवस्थामा दशकौँसम्म धकेलिन सक्ने सम्भावना प्रस्ट देख्न सकिन्छ । अवस्था थप खराब र भयावह हुनसक्छ ।
अस्वाभाविक अपेक्षा त्याग्न र सम्भावित जोखिमलाई मानसिक रूपमा स्वीकार गर्नु निराशावाद होइन, बुद्धिमानी हो । मानसिक रूपमा सकारात्मक हुँदा देशको विकास भइहाल्ने भए देशको विकास गर्ने जिम्मा लागि psychiatrists र therapists लाई दिँदा समस्या समाधान हुने थियो ।
तीव्र आर्थिक प्रगतिको कुरा छोडौँ -नेपालको अहिलेको चुनौति अर्थतन्त्रलाई जोगाइ राख्ने हो । आम मानिसको जीवन सहज र सुरक्षित बनाउने हो । वातावरणीय र प्राकृतिक जोखिमसँग लड्ने क्षमता निर्माण गर्ने हो ।
यसका लागि पनि तत्काल चाहिएको आमूल संरचनागत सुधार हो । अर्थतन्त्र वा सेवा प्रवाह जुनसुकै क्षेत्र होस् त्यसलाई प्रभावकारी बनाउन बृहत् र गहिरा सुधारको आवश्यकता छ । यसका लागि नीतिनिर्माण र कार्यान्वयनको स्पष्ट रोडम्याप चाहिन्छ । सुधारको समग्र चक्र पूरा गर्न गहिरा अध्ययन, गृहकार्य, बृहत् परामर्श, पारदर्शी कार्यान्वयनको आवश्यकता हुन्छ । उदाहरणबाट प्रस्ट पार्नुपार्दा थाइल्याण्ड वा फिलिपिन्सले Universal Health Coverage को मान्यतामा स्वास्थ्य विमा कार्यक्रम लागु गर्दा कस्ता नीतिगत सुधार र कार्ययोजना बनाएका थिए भनेर हेर्ने हो भने सुधारका कार्यक्रममा निहित जटिलता र त्यसका लागि चाहिने इच्छाशक्तिबारे बुझ्न सकिन्छ ।
मलाई लाग्छ सुधारको जटिलता बुझ्न, सुधारको रोडम्याप बनाउन र त्यसको कार्यान्वयन
गर्न आवश्यक पर्ने मानिसक र बौद्धिक क्षमता अहिलेका राजनीतिक पार्टीहरूसँग छैन ।
त्यसैले, नेपालको अवस्था चिन्ताजनक छ । नेपालका राजनीतिक पार्टीहरूलाई टालटुले,
पपुलिस्ट, अल्पकालिन, कमसल, सजिला र व्यक्तिगत रूपमा लाभ हुने परियोजनामा मात्र
रुचि छ । यो प्रवृत्तिको अन्त गर्ने राजनीतिक इच्छाशक्ति अहिलेसम्म कसैले देखाएको
छैन ।
इच्छाशक्ति देखिएका-सुनिएका केही कुराका उदाहरण यी हुन् -सडकमा एक करोडको रातो रङ्ग पोतेर 'BRT', सिमेन्टको धरहरा विकासको मोडेल, पानीजहाजका लागि अफिस र कर्मचारी, टुँडिखेलमुनि अन्डरग्राउण्ड कार पार्किङ !
अमीत ढकालको लेखमा नसमेटिएको तर बिर्सन नहुने कुरा नेपालका जोखिमहरू र त्यसका लागि आवश्यक पूर्वतयारी हो । आर्थिक र भौतिक विकास र यसका सम्भावनाका कुरा गरिरहँदा हामीले बिर्सन नहुने कुरा नेपालका सम्भावित जोखिमहरू हुन् । नेपालमा प्राकृतिक र जलवायु परिवर्तनका जोखिम अत्यन्त गम्भीर छन् । मैले माथि नेपालको आर्थिक भल्नरेबिलिटीको कुरा गरेँ । यही अवस्थामा नेपालले यदि कुनै ठुलो प्राकृतिक (जस्तै, भूकम्प) वा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको सामना गर्नुपर्ने अवस्था आयो भने समग्र अर्थतन्त्र धराशायी हुनसक्छ र मानवीय संकट उत्पन्न हुन सक्छ । समृद्धि बढाउने कुराकानीमा जोखिमको सामना गर्ने क्षमता बढाउने कुरा पनि गर्न आवश्यक छ ।
नेपालको अहिलेको अवस्थामा आशावादी हुन सजिलो छैन । तर, लोकतन्त्र र खुलापनले नेपाललाई सुधारका लागि अवसर उपलब्ध गराएको छ भन्ने अमीत ढकालको तर्कमा मेरो पनि मत मिल्छ । नेपालको राज्य संरचना र अर्थतन्त्रमा देखिएका समस्या समग्र समाजको असफलता र कमजोरीबाट सिर्जित भएका हुन् । तिनको समाधानका लागि पनि व्यापक सहकार्य र संलग्नताको आवश्यकता हुन्छ । कुनै जादुयी छडी वा प्रतिभाशाली व्यक्ति कुनै दरबारमा भएको भए हाम्रा समस्या कम हुन्थे भनेर कल्पना गर्नु मुर्खता मात्र हो ।
अहिलेको मुख्य आवश्यकता अमीत ढकालले लेखमा भने झैँ सुधारको योजना बनाउने र
लागु गर्ने हो ।